कांग्रेस नेता केसीको आक्रोस : नेतृत्वले माथिदेखि वडाध्यक्ष पदसम्म ब्रिफकेस अनिवार्य गरायो | Khabarhub Khabarhub

कांग्रेस नेता केसीको आक्रोस : नेतृत्वले माथिदेखि वडाध्यक्ष पदसम्म ब्रिफकेस अनिवार्य गरायो



कांग्रेस नेता जगदिशनरसिंह केसी कांग्रेसभित्रका प्रतिपक्षी मानिन्छन् । संस्थापन पक्षका गतिविधि विरुद्ध पहिलो पंक्तिमा उभिने उनी सभापति शेरबहादुर देउवाको विकल्प नखोजिए कांग्रेसले थप दुर्गति खेप्नुपर्ने निष्कर्ष निकाल्छन् । कांग्रेस नीति महाधिवेशनको संघारमा रहँदा नेता केसीसंग रेडियो क्यान्डिडका लागि सहकर्मी कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

यति लामो इतिहास बोकेको कांग्रेसमा आफूले अख्तियार गर्ने नीतिका विषयमा बल्ल बहस थालिनु भनेको लगनपछि पोते जस्तो भएन र ?

महासमितिको बैठक फागुन ७–१० गते गर्दैछौं । अहिले सम्म भएका समितिका निर्णय, पदाधिकारी र पूर्व पदाधिकारीका नाममा विधानमा नै नभएका नाममा बसेका बैठक र कार्य सम्पादन समितिको निर्णय र विधान संशोधन गर्नुपर्ने विषयलाई पनि महासमितिको बैठकमा छलफल गर्छौ ।

यो बैठकले यी विषयमा निस्किएका निष्कर्ष पास गर्छ । पार्टीको सबैभन्दा सर्वोच्च निकायको रूपमा महाधिवेशन पछिको अर्को सर्वोच्च निकाय महासमितिको बैठक हो ।

१४ औँ महाधिवेशन पछि गोलमटोलपूर्ण राजनीतिक परिस्थितिबीच गुज्रिराखेको पार्टी नेतृत्व वा पार्टी र अपेक्षा चाहिँ विधानमा यो यो छ  भनेर ठिकठाक गरेर विधान पछ्याइदिएको भए यो बहसको जरुरी नै थिएन जस्तो लाग्छ । त्यसो भए अबको अपेक्षा भनेको के हो ?

पार्टी नेतृत्वलाई पार्टी संगठन सशक्त बनाएर अघि बढाउनेमा चिन्तित पाएका छैनौं । जसरी हुन्छ सत्तामा पुग्ने र प्राप्त पदहरूलाई वडाध्यक्षदेखि माथिसम्म ब्रिफकेस चाहिने अनिवार्य परिस्थितिको निर्माण भयो । त्यसले पार्टीलाई  विकृत परिस्थितिमा पुर्‍याएको छ त्यसको नियन्त्रण समयमा नै हुन सकेन भने पार्टी संकटमा पुग्ने निश्चित छ ।

संस्थापक नेता बिपी कोइरालाले अनुहार नदेखिने ऐना नहेर र बिचार नमिल्ने राजनीतिक दलसँग सहकार्य नगर भनेर भन्नु भएको थियो । आज हामीले अनुहार हेर्न अभ्यस्त भएका छौँ ।  विचार नमिल्ने पार्टीसँग सहकार्य छ । आफूसँग असहमतलाई कसरी समाप्त गर्न सकिन्छ भन्नेमा नेतृत्वले ऊर्जा खर्चिएको छ ।

हामीले अघिल्लो पटक पनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी सभापति देउवाले महासमितिको बैठकमा पास भयो भनेर घोषणा गरेका विषयलाई आफैंले केन्द्रीय समितिबाट उल्टाउनु भयो ।

केन्द्रीय सदस्य भएपछि आजीवन महासमितिको पदीय सदस्य हुने व्यवस्था अन्त्य हुनुपर्छ । त्यसमा कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने व्यवस्थालाई फेरि हामी बुलन्द आवाज उठाएर महासमिति बैठकमा पास गरेर लागू गर्नुपर्छ भन्ने हाम्रो अडान हो ।

पार्टी राजनीतिभित्र समानान्तर शक्ति, धार, विचार समूह भनेर चलाइराखेकोमा यो पनि लेनदेन मिल्यो भने त्यही धारमा गएर भुत्ते हुने रहेछ हैन ?

नेपाली कांग्रेससँग चिन्ता, विश्वास, आस्था, सैद्धान्तिक विचार छ । त्यो सैद्धान्तिक विचारबाट कोही विचलित होलान्, कोही अवसरवादी निस्किएलान्, त्यस्ता प्रवृत्तिका मान्छेले स्वार्थको मोलमोलाहिजामा ल्याप्चे लगाउलान् । अर्कातिर जो मान्छे पार्टीको सैद्धान्तिक विचारको आधारमा चिन्तन गर्छन् , ती लोभमुक्त हुन्छन् ।

तर आजको नेतृत्वले हिजो आफू सभापति नभएर प्रतिस्पर्धी हुँदा गिरिजाप्रसादसँग ४० प्रतिशतको माग गरेर एक इन्च  पनि नछाडी पार्टीलाई भागबन्डामा ल्याउनु भयो । सुशील कोइरालासँग त्यसै गर्नुभयो । आज उहाँसँगै प्रतिस्पर्धी शेखर कोइलालाई चाहिँ किन पेल्नु पर्‍यो ? अर्कातिर यो देश भनेको भ्रष्टाचारीको देश जस्तो भइसक्यो । सर्वत्र काण्ड नै काण्ड भएका छन् । नेताप्रतिको घृणा कम गर्न पनि नीति महाधिवेशनको ध्यान जान जरुरी छ ।

कांग्रेसलाई विशुद्ध लयमा ल्याउन महासमिति बैठक सार्थक हुनेमा कति विश्वस्त हुनुहुन्छ ?

अहिले समुदायमा कांग्रेस भनेर ७७ जिल्लामा पार्टीका नेता खटाइएको छ । जुन स्वरूपको प्रभाव हुनुपर्ने त्यस्तो देखिएको छैन । यसका लागि पार्टीमा हरेक मान्छे सच्चिनु , सुधारिनु पर्छ ।

हरेक नेतृत्व विहीन तल्लो तहको कार्यकर्ता सम्मले आफूलाई हिजो जुन किसिमको परिस्थिति चलायो अब सच्चिनु पर्छ भनेर हामी ७ प्रदेश, ३६-३७ जिल्लामा नै पुग्यौँ । हाम्रो रूपान्तरण अभियानले साथीहरूमा एउटा ऊर्जा मिल्यो ।

किनकि पार्टीको नेतृत्वबाट जे जसरी पार्टी चले पनि अब यो रूपान्तरण अभियानले पार्टीलाई सुधार्नको लागि अघि बढ्यो सुध्रिनु पर्छ भन्ने सत्य बुझाएको छ । हाम्रो १४ औँ महाधिवेशनको लक्ष्य पनि त्यही हो । कांग्रेसको विचार मेट्न किमार्थ दिइन्न । संगठन हिजोकै अवस्थामा पुर्‍याउन इमानदार भएर लाग्छौँ ।

युवा महामन्त्रीहरूले आफ्नै मान्यता विपरीत चुनाव हारेका कृष्ण सिटौलालाई राष्ट्रियसभामा जिताएर समुदायमा कांग्रेस नाराकै धज्जी उडाएको भनेर सामाजिक सञ्जालमा बहस चलेको थाहा पाउनु भएन ? लाज नै लजाउनुपर्ने काम गर्न कांग्रेसलाई कस्तो बाध्यता छ ?

संयोग त्यस्तै मिल्यो । राष्ट्रियसभाको निर्वाचन सकिएको, नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दै गरेको समय मिल्यो र झापाबाट सुरु भएको समुदायमा कांग्रेस भन्ने कार्यक्रम । सिटौला नेपाली कांग्रेसको पूर्व महामन्त्री राष्ट्रिय सभामा निर्वाचित हुनु पर्थ्यो वा पर्दैनथ्यो बहस होला तर उहाँ निर्वाचित हुनुभयो ।

झापाबाट सुरु गर्दा सिटौलालाई त्यहाँ अनुपस्थिति गर्नुपर्ने भन्ने हैन, उहाँ त्यहाँ उपस्थित हुनुभयो । अभियान त्यहाँबाट सुरु भयो । त्यसले गर्दा ठिक बेठीक भनेर जनताले कार्यकर्ताले मूल्याङ्कन गर्ने समयले बताउला । चुनाव जित्दा वा हार्दा नेता त आखिर नेता नै हो ।

कुनै पनि विषयको व्याख्या र विश्लेषण समयसापेक्ष र व्यक्तिको अनुहार हेरेर हुने हो ?
गलत हो भनेर त हामीले राष्ट्रिय सभाको उम्मेदवारी चयन नहुँदा नै प्रश्न उठाएको हो । राष्ट्रिय सभामा पुगेको मान्छे भनेको विषय विज्ञ र पार्टीभित्र अहिले अवसर प्राप्त नभएकाहरूलाई राष्ट्रिय सभामा पुर्‍याउनु पर्ने हो । जब पार्टी नेतृत्वको निर्णय हाबी भएपछि यस्तो परिणाम आएको हो ।  अब त्यसको अध्याय सकिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ५१ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला