चिनौं प्रचण्डको क्याबिनेटका दशथरी मन्त्री ! | Khabarhub Khabarhub

चिनौं प्रचण्डको क्याबिनेटका दशथरी मन्त्री !



काठमाडौं – नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग गठबन्धन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार २० सदस्यीय मन्त्रिपरिषद बनाएका छन् ।

संविधानअनुसार बढीमा २५ जनाको मन्त्रिपरिषद बनाउन पाइन्छ । प्रधानमन्त्री दाहालले अब वन र स्वास्थ्यमन्त्री बनाउन बाँकी छ । यी मन्त्रालयमा जनता समाजवादी र अन्य साना दलको दाबी छ । यसपछि संविधानतः तीनजना राज्यमन्त्रीहरु थप्न मिल्छ ।

दाहालको मन्त्रिपरिषदमा तीनजना उपप्रधानमन्त्री बनेका छन् । अब जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यसहित उपप्रधानमन्त्री बन्न गए भने उपप्रधानमन्त्रीको संख्या चार पुग्ने छ । तर, जसपाले कसलाई सरकारमा पठाउने भन्ने टुंगो लगाएको छैन ।

बुधबार विस्तारित मन्त्रिपरिषदमा एमाले नेता रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्रालय लिएर पहिलो बरियताको उपप्रधानमन्त्री बनेका छन् ।

दोस्रो बरियतामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री छन् भने तेस्रो बरियताको उपप्रधानमन्त्रीमा गृहमन्त्री रवि लामिछाने छन् । अर्थमन्त्री बनेका वर्षमान पुन भने उपप्रधानमन्त्री बनेनन् ।

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा दोहो¥याएर मन्त्री बन्ने भाग्यमानी ठहरिएका छन् । एमालेले प्रायः गत ०७९ पुसमा मन्त्री बनाइएका नेताहरुलाई नै दोहो¥याएको छ ।

नयाँ गठबन्धनमा बनेका केही मन्त्रीहरुको विवरण यस्तो छ–

वर्षमान पुनलाई ढुकुटीको जिम्मा

 

माओवादीका उपमहासचिव वर्षमान पुन दोस्रोपटक अर्थमन्त्री बनेका छन् । उनी जनयुद्धको उद्गम थलो रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित हुन् ।

संविधानसभा निर्वाचन २०७० मा मोरङ क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बुसँग पराजित भएका पुन झलनाथ खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए । यस्तै २०६८ भदौ १२ मा गठित डा बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।

पुनले कानुनमा स्नातकसम्म अध्ययन गरेका छन् । संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट उनी विजयी भएका थिए । उनी तेस्रोपटक मन्त्री भएका छन् । उनी राजनीतिमा अवसर पाउने नेताका रुपमा परिचित छन् ।

पहिलोचोटि अर्थमन्त्री र त्यसपछि उर्जामन्त्री बन्दा खासै विवादमा नआएका पुन पछिल्लोपटक भने एयरपोर्टको सुनकाण्डमा जोडिएका व्यक्तिसँगको फोटो सार्वजनिक भएपछि भने विवादमा छन् ।

सुन तस्करीमा संलग्नलाई जोगाएको उनीमाथि आरोप लागेका कारण उनी अर्थमन्त्री बन्दै गर्दा समाजिक सञ्जालमा चर्को आलोचना र व्यंग्य भइरहेको छ । यो स्थितिमा पुनको अर्थमन्त्रालयको जिम्मेवारी निकै नै चुनौतीपूर्ण देखिन्छ ।

डा. बाबुराम भट्टराईको प्रधानमन्त्रित्वकालमा अर्थतन्त्रको अवस्थामा सुधार आएको, राजस्व पनि राम्रो उठेको र डा. भट्टराईको विज्ञताले गर्दा पुनलाई काम गर्न सहज भएको थियो । अहिले भने अर्थतन्त्र धरापमा रहेको र जनतामा निराशा व्याप्त रहेकाले पुनको कार्यकाल थप चुनौतीपूर्ण देखिन्छ ।

एमालेका महासेठलाई विकासे मन्त्रालयको ठेक्का

सरकारमा नेकपा एमालेको नेत्तृत्व गरेर गएका रघुवीर महासेठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार एवं यातायात मन्त्री बनेका छन् । उनी यो मन्त्रालयमा दोस्रो पटक भित्रिएका हुन् ।

महासेठ ओली सरकारका पालामा २०७४ सालमा भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्योबेला उनलाई कमजोर कार्यसम्पादन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीबाट हटाइएको थियो ।

महासेठले ०७६ सालमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी पाएका थिए । धनुषाबाट निर्वाचित महासेठ एमालेमा पटक–पटक अवसर पाउने नेतामा पर्छन । उनी ओलीका विश्वावसिला पात्र हुन् । धनी संसदका रुपमा परिचित उनको निर्माण व्यवयायमा समेत संलग्नता छ ।

यसअघि कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे र त्यसपछि एकीकृत समाजवादीका प्रकाश ज्वालाले सम्हालेको यो मन्त्रालय यसपटक फेरि स्वार्थ बाझिने गरी महासेठको भागमा परेको छ । यसले प्रधानमन्त्री प्रचण्डले लगाउँदै आएको सुशासनको नारा प्रभावित हुने जोखिम बढाएको छ ।

रवि लामिछानेको कमब्याक

टेलिभिजन पत्रकारिताबाट राजनीतिमा उदाएका रास्वपा सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभा निर्वाचन जितेका छन् ।

पत्रकारिता गर्दा वैदेशिक रोजगारीमा गएका नेपालीको पीडा, देशको अनियमितताविरुद्ध आवाज उठाएको र देशको सार्वजनिक र सामाजिक काममा सक्रिय भएको कारण धेरै मतदाताले उनलाई रुचाएका थिए ।

उनी पुस ११ मा बनेको प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री भएका थिए । नागरिकता विवाद पनि उनी ३२ दिनमा मन्त्रीबाट बाहिर निस्कनुपरेको थियो । हाल उनी गृह सहित पुन अर्थ मन्त्रालयमा गएका छन् । उनी रास्वपा सभापति हुन् ।

सुमना श्रेष्ठ : कडा कुरा गर्नेलाई शिक्षाको साँचो

रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ज्म्मिेवारी पाएकी छिन् । उनी संसदमा रहेको शिक्षा समितिकी सदस्य समेत हुन् । त्रिभुवन विश्व विद्यालयको उपकुलपति नियुक्तिबारे खरो आवाज उठाउँदै आएकी सुमनाले अब सोही भाउँतो सम्हाल्नुपर्ने भएको छ ।

सुमना २०७२ सालमा नेपालमा संविधान बन्दै गर्दा अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुपमा परामर्शदाताका रूपमा कार्यरत थिइन् । उनले अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटी स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेकी छिन् ।

सुमना संसदमा होस् या शिक्षा समितिको बैठकमा खरो रुपमा राजनीतिक मुद्दामा उभिँदै आएकी जोशिली युवा हुन् । अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी उनी रास्वपाको स्थापना कालबाटै पार्टीमा जोडिएकी हुन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा प्रवेश गरेकी हुन् । उनी रास्वपाकी सहमहामन्त्री समेत हुन् ।

माओवादी छाडेकी ज्वालाकुमारीलाई कृषिको जिम्मा

पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साह नेकपा एमालेका तर्फबाट कृषिमन्त्री बनेकी छिन् । उनी पनि ०७९ पुस १० को प्रचण्ड सरकारमा ४२ दिन कृषि तथा पशुपंक्षी विकास मन्त्री भएकी थिइन् ।

साह नेकपा विभाजन भएपछि प्रचण्डको साथ छाडेर एमालेमा प्रवेश गरेकी हुन् । उनी ०७४ सालमा मधेस प्रदेशसभामा निर्वाचित भएकी थिइन् । माओवादी छाडेर एमालेमा लागेपछि उनको प्रदेससभा सदस्य पद खारेज भएको थियो ।

विद्यालय पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य बनेकी थिइन् । उनी २०६६ मा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन् ।

पूर्वमाओवादी नेतालाई क्याबिनेटमा पठाएर ओलीले प्रचण्डलाई मनोवैज्ञानिक दबाव दिन खोजेको कतिपय नेताहरुको बुझाइ छ । साह खरो स्वाभाविकी नेतृ हुन् ।

गच्छदार हराउने भगवतीलाई महिला मन्त्रालयको जिम्मा

सुनसरीबाट विजयकुमार गच्छदारलाई हराएर सांसद बनेकी एमाले नेतृ भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा दोहोरिएकी छिन् । २०७० सालको संविधानसभा निर्वाचनमा उनी गच्छदारसँग पराजित भएकी थिइन् ।

प्रचण्ड सरकारमा ४२ दिन महिला मन्त्रालय सम्हालेर गठबन्धन फेरिएपछि बाहिरिएकी उनी फेरि कुर्सी सम्हाल्न आइपुगेकी हुन् ।

सेनाको सलामी थाप्ने ठाउँमा हरि उप्रेती

एमालेले सांसद हरि उप्रेतीलाई रक्षा मन्त्रालयमा पठाएको छ । प्रचण्ड सरकारमा उनी यसअगाडि पनि ४२ दिन मन्त्री भएका थिए । उनी सर्लाही जिल्लाको निर्वाचन क्षेत्र न ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । उनी ०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाहीबाट निर्वाचित भएका थिए ।

विद्यार्थी राजनीतिबाट आएका उनले स्नातक सम्मको अध्यान गरेका छन् । ०३७ सालमा हरिवनस्थित चतुर्भुजेश्वर माविबाट अनेरास्ववियु बाट निर्वाचित हुँदै राजनीतिमा आएका हुन् । उनले ०४४ सालमा पार्टीको सदस्यता लिएका थिए ।

खेलकूदको जिम्मा विराजभक्त श्रेष्ठलाई

रास्वपाबाट खेलकुद मन्त्रीमा नियुक्त भएका बिराजभक्त काठमाडौं क्षेत्र नं ८ बाट नेकपा एकीकृत समाजवादीका उम्मेद्वार जीवनराम श्रेष्ठलाई हराउँदै सांसद बनेका हुन् ।

एमालेका शिवसुन्दरराज वैद्य र लौरोका उम्मेदवार सुमन सायमीलाई हराउँदै प्रतिनिधि सभाको यात्रा तय गरेका श्रेष्ठ त्यसअघि साझा विवेकशील पार्टीबाट बागमतीका प्रदेश सभाका सदस्य थिए ।

विवेकशील साझाबाट राजनीतिक यात्रा तय गरेका उनी काठमाडौंमा भएको गुठी विधेयक विरुद्धको आन्दोलनमा अग्रमोर्चामा खटिएका व्यक्ति हुन् । अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका श्रेष्ठ रास्वपा संसदीय दलका उपनेता हुन् ।

२०७४ सालको निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशीलको अभियानमा उनी अग्रमोर्चामा थिए । तर, थापाको निधनपछि उनले पार्टी छाडे र रवि लामिछानेसँग जोडिए ।

गिरीलाई कानुन मन्त्रालयको जिम्मा

पर्वतबाट निर्वाचित एमाले सांसद पदम गिरीले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । गिरीले ०७९ पुस ११ मा बनेको प्रचण्ड सरकारमा स्वास्थ्य र जनसंख्या भएर माघ ३ गते शपथ लिएका थिए । तर, गठबन्धन फेरिँदा उनले १५ फागुनमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । उनी जम्माजम्मी ४२ दिन मन्त्री भएका थिए ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा जन्मिएका गिरी ०४६ सालको जनआन्दोलनका बेला १४ बर्षका थिए । तत्कालीन अखिल पाँचौंमा संगठित उनी विद्यार्थी आन्दोलनको राजनीतिबाट आएका नेता हुन् । उनी पर्वतबाट दोस्रोपटक निर्वाचित सांसद हुन् । २०७४ सालमा पनि उनी निर्वाचित भएका थिए ।

उद्योगको जिम्मा दामोदरलाई

नेकपा एमालेले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका बैतडीका दामोदर भण्डारी ०७९ मा प्रचण्ड सरकारमा ४२ दिने मन्त्री बनेका थिए । उनी त्योबेला पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नै भएका थिए ।

भण्डारी ०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री भएका थिए । ०७० र ०७४ सालमा पनि उनी सांसद बनेका थिए । भण्डारी ०७९ मा ४ को निर्वाचनमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने माओवादीसँग पराजित भएका थिए ।

बलराम अधिकारीलाई जग्गा हेर्ने जिम्मा

एमालेले बलराम अधिकारीलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारीमा पठाएको छ । उनी ११ पुसमा बनेको प्रचण्ड सरकारमा मन्त्री हुने लाइनमा थिए तर अन्तिममा नाम काटेर परराष्ट्रमन्त्रीमा विमला राई पौडेललाई पठाइएको थियो ।

एमालेबाट बनेका मन्त्रीहरु

प्रतिनिधि सभा निर्वाचन, २०७९ मा अधिकारीले कपिलवस्तु १ बाट माओवादी केन्द्रका चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले पराजित गरेका थिए । उनी एमालेबाट अवसर नपाउने नेतामा गनिन्छन् । उनी पूर्वसांसद एवं संविधानसभा सदस्य समेत हुन् ।

‘म्यान अफ द इलेक्सन’लाई खानेपानी

धनकुटाका एमाले सांसद राजेन्द्र राई खानेपानी मन्त्री बनेका छन् । धनकुटामा एमालेको खम्बा मानिएका राईलाई २०७४ सालमा ओलीले ‘म्यान अफ द इलेक्सन’को उपाधि दिएका थिए ।

त्यसपछि उनले २०७९ को निर्वाचनमा पनि एमालेबाट राम्रो मत ल्याएर जितेका थिए । ०७९ पुस ११ मा बनेको प्रचण्ड सरकारमा उनी ४२ दिन विनाविभागीय मन्त्री बनेका थिए ।

उनी २०७४ सालमा पनि सांसद निर्वाचित भएका थिए । उनी धनकुटामा सूर्यबहादुर थापा र सुनील थापाको बिरासतको राजनीति तोड्न सफल मानिन्छन् ।

माधव नेपालको पार्टीबाट जोशी र बुढा

 

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री जोशी २०७९ मा बझाङ १ बाट प्रतिनिधि सभामा निर्वाचित ।भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य जोशी ।

एमालेमा रहेर साढे ४ दशक राजनीति गरेका नेता हुन् । उनले २०३६ सालमा नेपालगन्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ थिए ।

जोशी २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडेका थिए तर झिनो मतले पराजित भए । उनी २०६४ सालपारि संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । ०६८ वैशाख २१ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा झलनाथ खनालको क्याबिनेटका वन तथा भू–संरक्षण मन्त्री बनेका थिए ।

जोशी हाल प्रतिनिधि सभामा शिक्षा समितिको सभापति थिए । उनलाई नेकपा एकीकृत समाजवादीले न्याय गरेको छ ।

त्यस्तै सहरी विकाश मन्त्रीमा शपथ दिएका एकीकृत समाजवादीका धनबहादुर बुढा डोल्पा–१ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन। ओली मन्त्रिपरिषद्मा समेत काम गरेका छन् । त्यो बेला उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रूपमा काम गरेका थिए। हाल उनी एकीकृत समाजवादीमा छन् ।

२०७९ निर्वाचनमा बुढाले एमालेका उम्मेदवार गणेश बहादुर शाहीलेलाई हराएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट बहुमतले निर्वाचित भएका उनी ०७४ मै नेकपा एमालेबाट ८१ प्रतिशत मतसहित विजयी भएका थिए ।

बुढाले राप्रपाबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । उनी ०७० मा दोस्रो संविधानसभाको निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए ।

डोलप्रसाद अर्याललाई श्रमको साँचो

रास्वपाका समानुपातिक संसद तथा उपसभापति डोलप्रसाद अर्याल बुधबार श्रम मन्त्रीको शपथ लिएका छन् । २०७९ माघमा २० दिनका लागि प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए ।

२०७९ माघमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध घोषित गर्दै उनलाई सबै सार्वजनिक पदबाट हटाएपश्चात् छोटो समयका लागि सो पार्टीको कार्यवाहक अध्यक्ष नियुक्त भएका थिए । उनी सभापतिका नजिकका नेता हुन् ।

धादिङका अर्याल २०४९ सालपछि काठमाडौँमा आएका थिए । २०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान पुगेका अर्यालले जापानमा करिब ८ वर्ष काम गरेका छन् । जापानबाट फर्किएपछि पर्यटन पेसा र कन्सल्टेन्सी सहकारी र शिक्षा क्षेत्रमा पनि एकैपटक लगानी गरेका थिए ।

रेखा शर्मालाई दोहोरो अवसर

सन्चार मन्त्रीमा दोहोरिएकी रेखा शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । शर्मा यसअघि पनि केन्द्र सरकारको मन्त्री भएर जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी हुन सफल रेखा शर्मा माओवादीबाट प्रत्यक्षमा चुनाव जित्ने एक्लो महिला संसद हुन् ।

माओवादी केन्दले ८ जना महिलालाई टिकट दिएको थियो । तर निर्वाचनमा रेखाले मात्र माओवादीको विरासत बचाउन सकिन् । २०२६ सालमा दाङमा जन्मिएकी शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी हुन् । २०५३ सालदेखि ०५८ सम्म उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहिन् ।

एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी हाल माओवादीको स्थायी कमिटी सदस्य छिन् । २०७० बाट संसदीय यात्रा सुरु गरेकी शर्मा २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् ।

२०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत थिइन् । उनी प्रचण्ड सरकारमा पुस ११ बाट नै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त छिन् । आज पुन उनी सोहि मन्त्रालयमा नियुक्त भएकी छन् ।

सुदन किरातीको ठाउँमा हितबहादुर तामाङ

प्रचण्डको मन्त्रिपरिषदमा यसअघि सुदन किरातीले सम्हालेको पर्यटन मन्त्रीको जिम्मेवारी नुवाकोटे नेता हितबहादुर तामाङले सम्हालेका छन् । नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका तामाङले ०३६ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि उनी भूमिगत भएका थिए । द्वन्द्वकालमा उनी २५ महिना जेल परेका थिए ।
विगतमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला युवा तथा खेलकुद मन्त्री समेत बनेका तामाङले नुवाकोट क्षेत्र नं १ बाट कांग्रेसनेता रामशरण महतलाई हराएर आफ्नो संसदीय यात्रा तय गरेका हुन् ।

सुदन किरातीभन्दा सोझो देखिने उनी पर्यटन मन्त्री बने पनि मन्त्रालयको तालाचाबी यसअघि जस्तै प्रधानमन्त्री प्रचण्ड र गंगा दाहालले चलाउने र स्वार्थ समूहको चलखेल बढ्ने जोखिम रहेको सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : १४ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही