बारीमा तरकारी, घरमै रोजगारी « Khabarhub

बारीमा तरकारी, घरमै रोजगारी


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ ।

 उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। 

‘मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारीखेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु’, आफूले गरेको तरकारीखेती देखाउँदै टेकराजले भने, ‘आफ्नो घरमा बसेर तरकारीखेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ ।’

टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरुलाई पनि तरकारीखेतीको काममा लगाउने गरेका छन् । तरकारीखेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक करिब  १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताए । 

व्यावसायिक तरकारीखेतीमा दैनिक श्रम गर्ने उनलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ । विगतमा उहाँ निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । बाह्रैमास उहाँको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारीखेती गर्ने उनको दैनिकी पनि निकै व्यस्त हुन्छ । 

अहिले उनको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानीलगायत तरकारी बिक्री गर्ने अवस्थामा छन् भने घिरौँला, तोराय, लौका, तर्भुजलगायत तरकारी तयार हुँदै गएका छन् । रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि टेकराज प्रेरणाको स्रोत बनेका छन् । 

उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उनले बताए। ‘मेहेनत र काम गर्ने इच्छा शक्ति हुने होभने पैसा कमाउन विदेश नै जानुपर्दैन । यहाँ पनि सम्भावना छन् । मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ’, टेकराजले भने, ‘धनआर्जनका लागि सरकारी जागीर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग  छैन ।’ बारीमा तरकारी रोपेर पनि स्वरोजगार बन्न सकिने भन्दै उहाँले यसमा सरकारले प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए।

विगतमा गहुँ, मकै लगाउने जग्गामा टेकराजले अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो । 

टेकराजको तरकारीखेती देखेर अहिले ललही गाउँका अन्य किसान पनि व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने अर्का कृषक मधु थारूले बताए । 

राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई पाँच लाखसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले जानकारी दिए । 

उनका अनुसार यो वर्ष राप्ती सोनारी–५ बिनौनास्थित ललही टेकराज थारूको बगरखेती समूह र वडा नं १ का बगरखेती कृषक मानबहादुर रानामगरलाई रु पाँच लाख बराबरको अनुदानको सम्झौता गरिएको छ । 

बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरे।  

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : १० बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको