बारीमा तरकारी, घरमै रोजगारी « Khabarhub

बारीमा तरकारी, घरमै रोजगारी


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ ।

 उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। 

‘मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारीखेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु’, आफूले गरेको तरकारीखेती देखाउँदै टेकराजले भने, ‘आफ्नो घरमा बसेर तरकारीखेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ ।’

टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरुलाई पनि तरकारीखेतीको काममा लगाउने गरेका छन् । तरकारीखेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक करिब  १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताए । 

व्यावसायिक तरकारीखेतीमा दैनिक श्रम गर्ने उनलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ । विगतमा उहाँ निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । बाह्रैमास उहाँको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारीखेती गर्ने उनको दैनिकी पनि निकै व्यस्त हुन्छ । 

अहिले उनको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानीलगायत तरकारी बिक्री गर्ने अवस्थामा छन् भने घिरौँला, तोराय, लौका, तर्भुजलगायत तरकारी तयार हुँदै गएका छन् । रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि टेकराज प्रेरणाको स्रोत बनेका छन् । 

उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उनले बताए। ‘मेहेनत र काम गर्ने इच्छा शक्ति हुने होभने पैसा कमाउन विदेश नै जानुपर्दैन । यहाँ पनि सम्भावना छन् । मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ’, टेकराजले भने, ‘धनआर्जनका लागि सरकारी जागीर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग  छैन ।’ बारीमा तरकारी रोपेर पनि स्वरोजगार बन्न सकिने भन्दै उहाँले यसमा सरकारले प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए।

विगतमा गहुँ, मकै लगाउने जग्गामा टेकराजले अहिले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो । 

टेकराजको तरकारीखेती देखेर अहिले ललही गाउँका अन्य किसान पनि व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने अर्का कृषक मधु थारूले बताए । 

राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई पाँच लाखसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले जानकारी दिए । 

उनका अनुसार यो वर्ष राप्ती सोनारी–५ बिनौनास्थित ललही टेकराज थारूको बगरखेती समूह र वडा नं १ का बगरखेती कृषक मानबहादुर रानामगरलाई रु पाँच लाख बराबरको अनुदानको सम्झौता गरिएको छ । 

बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरे।  

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : १० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका