मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण | Khabarhub Khabarhub

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ ।  अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गरेको हो । 

एक वर्षअघि मुस्ताङमा संकलन गरेर मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा  पठाइएको भुवाको गुणस्तर परीक्षणसम्बन्धी प्रतिवेदन केही दिनअघि प्राप्त भएको नेपाल पश्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए  । 

परीक्षणपछि नेपालमा पश्मिनाको कच्चा पदार्थको भुवाको स्रोत रहेको अन्तर्राष्ट्रिय स्तरमा सन्देश प्रवाह भएको, च्याङग्रापालन बिस्तार र पश्मिना उद्योगको सम्भावना बढेको लामिछानेले बताए। 

लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङग्रा भुवाको आठ सय वटा नमुना संकलन गरी परीक्षणका लागि लगिएको थियो । चार वटै पालिकाका एक सय ६० किसानहरुले पालेका पाँच-पाँच वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङग्राको शरीरबाट  भुवा निकालिको थियो । 

संकलित नमूनालाई पश्मिनाको मोटाईलम्बाई मापन गर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए । 

प्राप्त प्रतिवेदनले च्याङग्राको नश्ल सुधार, गोठको संरचनालाई व्यवस्थित र आधुनिक बनाउन तथा भुवा निकाल्न आधुुनिक काँइयोको प्रयोग गर्न कृषकहरुलाई सुझाव दिएको छ । प्रतिवेदनको सुुझाव कार्यान्वयनका लागि कार्ययोजना बनाउन कृषक र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल शुरु गरिएको पश्मिना उद्योगी सङ्घले जनाएको छ ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले च्याङ्गापालनबाट कृषकहरुलाई मासुमा बिक्री र पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताए। च्याङग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र सङ्ख्या वृद्धि गर्न पहल गरेको अध्यक्ष बिष्टले बताए । 

प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्र्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । 

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक भुवाको धागो आयात हुन्छ ।

आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भिम शेरचनले बताए । 

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा संकलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।  

वैशाख–जेठ महिनामा च्याङग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङग्राको भुवा पस्मिनाका लागि ‘क’ श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ । 

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकहरुले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार यी स्थानमा ५२ हजार च्याङग्रा पालिएको छ । 

-रासस

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : २० बजे

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

बाँके– हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत

प्रचण्डको शासन, रासनविनाको भाषण

एकपटक सहरमा ठूलाबडाको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो। उसले आफ्नो

‘जैविक विविधता संरक्षणमा चुनौती’

कञ्चनपुर– वन डढेलो, अतिक्रमण, फँडानी, चोरी सिकारलगायत विविध कारणले जैविक

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिनलाई बन्द

वीरगञ्ज– भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् ।

बृहत् राष्ट्रिय एकतामा अग्रसर हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका