सिजनमै किन घट्दैछ शेयर बजार ? लगानीकर्ता भन्छन् : अर्थमन्त्रीले ‘सिटामोल’ दिए, ‘किमोथेरापी’ चाहियो | Khabarhub Khabarhub

सिजनमै किन घट्दैछ शेयर बजार ? लगानीकर्ता भन्छन् : अर्थमन्त्रीले ‘सिटामोल’ दिए, ‘किमोथेरापी’ चाहियो


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) ३३ अंकले बढेको थियो । गत साता अन्तिम दिन अर्थात् बिहीबारदेखि घट्न सुरु नेप्से यो साताको २ दिन ओरालो लागिरह्यो । आइतबार २४.५८ अंकले घटेको नेप्से सोमबार पनि १५.६२ अंकले घट्यो । समग्रमा गत सातामा बढेको नेप्से यो साताको दुई दिनमै त्यसभन्दा धेरै घट्न पुगेको छ ।

वैशाख १५ वा २० गतेयताको समयलाई शेयर बजारमा सिजनको समयका रुपमा हेर्ने गरिन्छ । यसबेला प्रत्येक कम्पनीको तेस्रो त्रैमास रिपोर्ट अर्थात् ९ महिनाको वित्तीय विवरण सार्वजनिक हुने गर्छ ।

त्यसपछि कुन कम्पनीले लगभग कति नाफा गर्छन् वा कुन कम्पनी घाटामा जान्छन् भन्ने लगानीकर्ताले सहजै अन्दाज गर्न सक्छन् । 

वैशाख २० यता अधिकांश कम्पनीको चैतमसान्तसम्मको वित्तीय विवरण सार्वजनिक भइसकेको छ । कतिपय कम्पनीले केही ढिला गरे पनि वैशाखभित्र सबै कम्पनीको वित्तीय विवरण सार्वजनिक हुन्छ ।

विवरण सार्वजनिक भएका कम्पनीहरू नाफामै रहेका छन् । कम्पनीले सार्वजनिक गर्ने त्यस्ता वित्तीय विवरण अडिट नगरेका भए पनि राम्रा कम्पनीको रिपोर्टमा अडिटपछि पनि धेरै परिवर्तन नहुने विगतले देखाएको छ ।

तर, शेयर बजारमा कम्पनीहरूको वित्तीय विवरण सार्वजनिकले केही काम गर्न सकेको देखिँदैन । शेयरको सिजन सुरु भए पनि लगातार नेप्से ३ दिनयता घटिरहेको छ । लामो समयदेखि नेप्से परिसूचक पनि १९ सयदेखि २१ सय आसपास छ । 

नेप्सेले वैशाख १८ गते २ हजारको बिन्दु पार गरे पनि अधिकांश कम्पनीको वित्तीय विवरण आउँदासमेत बजार वैशाखयता १९ सय र २ हजारको बीचमा छ ।

शेयर बजार घट्न वा बढ्न कम्पनीको वित्तीय विवरणले मात्रै भूमिका नखेलेको लगानीकर्ताको भनाइ छ । बजार बढ्ने वा घट्ने कुरामा धेरै पाटामध्ये कम्पनीको वित्तीय विवरण एउटा मात्रै पाटो रहेको बजार विश्लेषक दिनेश आचार्य बताउँछन् । 

अधिकांश कम्पनीको वित्तीय विवरण राम्रो वा ठिकै आएको भएपनि बजार बढिहाल्छ भन्न नसकिने उनको तर्क छ । 

‘कम्पनीको वित्तीय विवरण भनेको ५० वटा पाटामध्ये एउटा पाटो हो’, आचार्यले खबरहबसँग भने, ‘त्यसैले यसैलाई आधार मान्न हुँदैन ।’

बजार घटबढ हुनुमा मुख्य गरेर नीतिगत र त्यसलाई कार्यान्वयन गर्ने निकाय (नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकाय) ले मुख्य भूमिका खेलेको हुनसक्ने आचार्यको भनाइ छ ।

राजनीतिक परिवेश, लगानीकर्ताको मनस्थिति र बजारको माहोल जस्ता कुराले बजार घटबढमा भूमिका खेल्ने उनको तर्क छ । 

नेप्से २ हजारको बिन्दुमा जानु र १९ सयको तहमा झर्नुले बजारमा धेरै परिवर्तन आएको भन्न नमिल्ने आचार्य बताउँछन् । ‘बजार अलिकति माथि गएको थियो, अहिले करेक्सन भएको हो’, उनले भने ‘अहिलेको अवस्थालाई बजार तलै गएको भन्न पनि मिल्दैन ।’

विगतमा १ अर्बको हाराहारीमा कारोबार हुने गरेको थियो । बजार घटे पनि कारोबार बढेर ३-४ अर्बको हाराहारीमा भएकाले तल गएको बेलामा लगानीकर्ताले शेयर किनिरहेको उनले बताए ।

अहिले देखिएको राजनीतिक कारण जसपा फुट्नु, वामदेव गौतमले एमालेमा जाने र नेकपा एकीकृत समाजवादी पनि फुट्ने कुराले पनि बजारमा असर गर्ने आचार्यको भनाइ छ । पार्टीहरूमा हुने विभाजनले सरकारमा फेरबदल ल्याउन सक्ने भएकाले बजारमा असर गर्ने उनको अनुभव छ । 

बजारलाई असर गर्ने नीतिगत विषय नै भएको आचार्यको भनाइ छ । नियमन निकायले कुनै कम्पनीको साधारणसभाले लाभांश पास गरेर कारोबारमा वृद्धि भएपछि त्यस्ता लाभांशमा नियामक निकायले कैँची चलाउने गर्दा लगानीकर्ताको मनोबल खस्किएको उनको अनुभव छ ।  

लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित नदेखेकाले बजारमा उत्साह नदेखिएको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । पोखरेलले नीतिगत विषयले नै शेयर बजारमा असर पर्ने भएकाले कम्पनीको वित्तीय विवरण राम्रो आउँदैमा बजार नबढ्ने बताइन् । 

राजनीतिक शक्ति सन्तुलन जसरी फेरबदल हुन्छ, त्यसरी नै शेयर बजारमा परिवर्तन हुने भएकाले बजार लामो समयदेखि बढ्न नसकेको उनको बुझाइ छ । 

‘क्यान्सर लागेको शेयर बजारलाई सिटामोलले मात्रै निको बनाउन सक्ने अवस्था छैन’, पोखरेलले खबरहबसँग भनिन्, ‘अर्थमन्त्री वर्षमान पुन अनन्तले शेयर बजारलाई सिटामोलै मात्र दिनु भएको छ, अब बजारलाई केमोथेरापी चाहिन्छ ।’ 

मौद्रिक नीतिको समीक्षा पनि समयमा नआउने, आए पनि कपी पेस्ट जस्तो आउने गरेका पनि बजार माथि उठ्न नसकेको पोखरेलको बुझाई छ ।

‘राष्ट्र बैंकले साना लगानीकर्तालाई हेरेर नीति बनाएका छौँ भन्छ,’ उनले भनिन्, ‘तर  ठूला लगानीकर्ता नआएसम्म बजारले गति कसरी लिन्छ ? साना लगानीकर्ताको पैसाले मात्रै बजार बढ्न सक्दैन ।’ 

धितो राखेर शेयर बजारका लागि जति पनि ऋण लिन पाउनुपर्ने पोखरेलको माग छ । यदि उक्त व्यवस्था भएमा बजारमा विश्वास बढेर लगानीकाे वातावरण पनि बन्ने उनले सुनाइन् । 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ४३ बजे

सभामुखले दलका मुख्य सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको