एकीकृत समाजवादी फुटाएर एमाले ठूलो दल हुन खोज्दैछ : सञ्जय गौतम | Khabarhub Khabarhub

एकीकृत समाजवादी फुटाएर एमाले ठूलो दल हुन खोज्दैछ : सञ्जय गौतम

समयमा संविधान संशोधन नभए देश अफगानिस्तान बन्छ


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको १८ महिनाबीचमा धेरै राजनीतिक उतारचढाव आइसकेका छन् । संसद्भित्रको समीकरण फेरबदल भएको छ । त्यसका बाछिटाका रुपमा एकपछि अर्को गर्दै अस्थिरताका सङ्केतहरू सबै प्रदेशमा देखिएका छन् । राजनीतिक स्थिरताका लागि समृद्धिका नारा लगाउँदै राजनीतिक नेतृत्वले हरेक कालखण्डमा समीकरण फेर्ने, आफूअनुकूल सरकार बनाउने क्रम जारी छ । त्यही राजनीतिक परम्पराबाट गुज्रिएको शृङ्खलाको अर्को अध्याय अहिलेको नयाँ समीकरण हो । सत्ता समीकरणमा तलमाथि हुँदा त्यसको असर प्रदेशमा लगातार परिरहेको छ । उता एमाले–माओवादी समीकरण भत्काएर नेपाली कांग्रेस नयाँ सरकार गठनको कसरत गर्दै छ । यीसहितका विषयमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेस अहिलेको समीकरणविरुद्ध सत्ताको नयाँ ढोक्सा थापिरहेको छ । उपेन्द्र यादवलाई प्रधानमन्त्रीको ललिपप देखाउँदा जनता समाजवादी पार्टी नेपाल फुट्यो । अहिले माधव नेपाललाई त्यही देखाउँदै छ भन्ने छ । फेरि सत्ता समीकरणको ढोक्सा थापेर हिँड्नु भएको हो ?

यस्तो कुरा अरुले काम नपाएर, आफूतिरको विरोधलाई पन्छाउन गरेको हल्ला हो । कांग्रेसले सत्ताको ढोक्सा थाप्नु पर्ने आवश्यकता छैन । अहिले मतलब पनि छैन, हामी बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्दैछौँ ।

पछिल्लो समयमा संसद्को गतिरोध हटेको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिले काम पनि थालेको छ । त्यसको नतिजा प्रतिक्षाको विषय बनेको छ । अब

कांग्रेसले माधव नेपाललाई बोलाएर प्रधानमन्त्रीको प्रलोभन देखाउन किन लागेको ?

दलगत राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गरेर नयाँ गठबन्धन निर्माण गर्नु भएको हो । हामीले त पहिला गठबन्धनबाट चुनाव नै लडेका हौँ । तर बीचमा पार्टी टुट्यो । पछि एमाले र माओवादीको नयाँ समीकरण बन्यो । यसले राजनीतिलाई अस्थिरतामा लगेको देखियो ।

यो गठबन्धनले नयाँ चमत्कार गर्छ भन्नेमा हामी छैनौँ । यो अस्वाभाविक छ, अप्राकृतिक छ । हामीलाई यो धेरै टिक्दैन भन्ने लाग्छ । यो आफ्नै कारणले नासिने, मासिने र सिद्धिने बाटोमा जान्छ । ठूलो पार्टीको हैसियतले कांग्रेसले मुलुकलाई नेतृत्व गर्नुपर्ने अवसर चाडै आउँछ ।

सिंगो राजनीति सत्ता समीकरण फेरबदल र सरकार परिवर्तनमा मात्रै केन्द्रित भयो होइन त ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल गत वैशाख २३ गते विभाजित भइसकेको छ । त्यसको मार अध्यक्ष उपेन्द्र यादवलाई परेको छ । ठूलो राजनीतिक मारमा परेका उनी सरकारबाट पनि बाहिरिएका छन् । जसपा जस्तै तनाव नेकपा एकीकृत समाजवादी पनि छ । यसलाई फुटाउन हरसम्भव प्रयास भइरहेको चर्चा छ । त्यसको पछाडि एमालेको ठूलो पार्टी बन्ने दाउ रहेको छ । ठूलो दल बन्ने ध्येयले समाजवादी फुटाउने भित्री अभिष्ट एमालेमा देखिन्छ । त्यसैले माधवकुमार नेपालले अहिलेको समीकरणमा ढुक्क भएर बस्न मुस्किल छ । उहाँले आफूलाई सुरक्षित राख्न खोज्नु गलत छैन । त्यसलाई कांग्रेससँग जोड्नु हुँदैन । प्रचण्डजी अहिले यति आत्तिनुपर्ने अवस्था थिएन, तर उहाँले आत्तिएर आफूकेन्द्रित राजनीति गर्नुभयो ।

अहिलेको प्रणालीलाई व्यवस्थित बनाउन हामीले समय कहिले खर्च गर्ने ?

अहिले यो सबै नास भएको छ । नेपाली जनता निराश छन् । सुशासनको प्रत्याभूति पाएका छैनन् । खाली कुर्सी मात्रै केन्द्रित, जनताको मतलब छैन । देश राम्रो बाटोमा हिँडेको छैन ।

अहिलेकै प्रतिनिधि सभाबाट संविधानको धारा ७६ को ५ सम्म मुलुकले राजनीतिक अभ्यास गर्दै जान सक्ला ?

यो संविधान निर्माण गर्ने शक्तिहरू आज एक ठाउँमा छैनन् । तिनीहरू नै यो संविधानको हुलमुलमा सामेल भएका छन् । यसको उदाहरण कोशीमा हेर्न सकिन्छ । सन्तान जन्माएर मात्र हुँदैन । पालन पोषण गर्नुप¥यो । सडकमा लावारिस छोडिदिने हो भने आवारा हुन्छ । संविधानलाई पनि लावारिस छोडेका छौँ । कमी कमजोरी सुधार्ने, करेक्सन गर्ने सोचेका छैनौँ । को प्रधानमन्त्री हुने के हुने भन्ने मात्रै छ, त्यसैले अब हामीलाई पशुपतिनाथले मात्रै बचाउलान् ।

कांग्रेसले देश बिगार्छ भनेर वामपन्थीहरूले आरोप लगाइरहेका छन्, कांग्रेसले मुलुक जोगाउने कि आफू जोगिने ?

कम्युनिस्टले राज गर्ने, सत्ता चलाउने, एक ठाउँ बस्ने, कहिले गठबन्धन गरेर चलाउने, दोष चाहिँ कांग्रेसको थाप्लोमा दिने गरेका छन् । कांग्रेस चोखो भन्ने होइन, केही गल्ती गरेको छ । अहिले राज्य उहाँहरूले चलाएर जोगाउने हो, सबै दोष कांग्रेसलाई दिनु हुँदैन ।

यो प्रणाली जोगाउन प्रजातान्त्रिक विचारकहरूको रणनीति के त ?

हामी यो प्रणाली बचाउन चाहन्छौँ । यो प्रणालीको बेथिति हटाउन संविधान संशोधन आवश्यक छ । हामीले उहाँहरूलाई यो स्वरूपको संघीयता थाम्न सक्दैनौँ भनेर बुझाउँदै छौँ ।

हामीले संविधान त बनायौँ । यो आमजनताको हो । यसमा समयसापेक्ष संशोधन आवश्यक छ । तर, हामी संशोधनतिर नगएर अर्को बाटो हिँडेका छौँ ।

सबैभन्दा पहिला संघीयता र प्रदेशको समीक्षा गर्नु पर्ला होइन ?

अहिल्यै हुँदैन, केन्द्रमा समीकरण बदलिँदा सातै प्रदेश अस्थिर छन् । पार्टी फुटाउनेतिर मात्रै दलहरू लाग्यौँ । व्यक्तिगत रूपमा यो आवश्यक छैन । तर संस्थागत रूपले संघीयतामा गइसकेपछि त्यतिकै हटाउन सकिँदैन । त्यसैले यसलाई पुनःस्थापित गर्नु आवश्यक छ । हाम्रो चालु खर्च धेरै भयो । थेग्न सकेका छैनौँ । राजनीति गर्दा गल्ती हुन्छ तर समयमा करेक्सन गर्नु पर्छ । सबैले देशलाई केन्द्रबिन्दुमा राख्नु पर्छ । नत्र हिजो राजाले, राणाबाट जोगाएको देश हामीले जानी नजानी बिगार्दै छौँ ।

निर्वाचन प्रणालीको समीक्षा गर्ने कि सिंगो गणतन्त्रको ?

निर्वाचन प्रणालीको समीक्षा गर्नु पर्छ । समानुपातिक निर्वाचन प्रणाली आफैँमा खराब होइन रहेछ । हाम्रो देशमा यो प्रणाली सफल देखिएन, त्यसैले प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्ष निर्वाचित बनाएर राष्ट्रिय सभालाई पूर्ण समानुपातिकमा लानुपर्छ । संघीयता राख्ने हो भने सानो बनाउनु पर्छ । सबै प्रदेशमा योजना आयोग चाहिँदैन ।
हामीले विचार पुर्‍याएर समयानुकूल संविधान संशोधन गरेनौँ । निर्वाचन प्रणाली संशोधन गरेनौँ । यही रूपले गयौँ भने अफगानिस्तानको बाटोमा पुग्छौँ । त्यसैले संविधान, देश र प्रणाली जोगाउनु पर्छ । संविधान नजोगिए देश कहाँ पुग्छ थाहा छैन ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १० : ०६ बजे

इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह

काठमाडौं– हिजबुल्लाहले इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ।

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न

दसैँ अवधिभर कोशीमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा– दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि-२०

म्याग्दीका छ वडामा स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण