भाजपाले बहुमत नल्याउँदा मुस्किलमा मोदी, साना दललाई चित्त बुझाउनै पर्ने बाध्यता | Khabarhub Khabarhub

भाजपाले बहुमत नल्याउँदा मुस्किलमा मोदी, साना दललाई चित्त बुझाउनै पर्ने बाध्यता


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


14.9k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतमा लोकसभा चुनावको नतिजा आइसकेको छ । चुनावी नतिजासँगै नरेन्द्र मोदीले तेस्रो कार्यकालको तयारी थालिसकेका छन् ।

तर उनको तेस्रो कार्यकाल सहज भने देखिएको छैन । सन् २०१४ र २०१९ मा भारतीय जनता पार्टीले बहुमत ल्याउँदा एकछत्र शासन गरेका मोदीलाई यस पटक सुरुबाटै मुस्किल आइलागेको छ ।

अहिले मोदी ३.० को तयारी चलिरहेको छ । त्यही तयारीअनुसार नरेन्द्र मोदी आगामी प्रधानमन्त्रीका रुपमा यही शनिबार शपथ लिने तयारीमा छन् ।

उनले त्यसका लागि दिल्लीमा भब्य तयारी पनि थालेका छन् । नेपाल र बंगलादेशसहित कयौँ छिमेकी मुलुकका सरकार प्रमुखलाई निम्ता पनि गरिएको छ ।

तर उनको तेस्रो कार्यकाल पहिलो र दोस्रोभन्दा कयौँ हिसाबमा फरक छ । यसको मुख्य कारण हो, यस पटकको चुनावमा भारतीय जनता पार्टी बहुमत ल्याउन असफल हुनु । यस पटकको चुनावमा भाजपा पूर्ण बहुमतबाट ३२ सिटले पछाडि परेको छ । अर्थात् भाजपासँग अहिले २४० सिट मात्रै छ जबकि बहुमतका लागि २७२ सिट चाहिन्छ ।

यस्तोमा मोदी ३.० मा भाजपाका लागि राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का सहयोगी दलहरूको साथ लिनु अनिवार्य भएको छ । यस कुरामा एनडीएका अन्य घटक दलहरू राम्ररी जानकार छन् ।

यहीकारण एनडीएका घटक दलहरू अहिले मोदी ३.० मा भाजपा नेतृत्वको सरकारमा सहभागी हुनुअघि आफ्ना अलग अलग माग राखिरहेका छन् ।

समाचारअनुसार यसरी माग राख्नेमा सबैभन्दा अगाडि बिहारका मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको जनता दल युनाइटेड छ। जनता दल युनाइटेडसहित घटक दलले आखिर भाजपासँग के के माग्दैछन् त ?

चार सांसदबराबर एक मन्त्री माग्दै नीतिश

समाचारअनुसार नीतिश नेतृत्वको जनता दल युनाइटेडकाले मोदी ३.० लाई आफ्नो समर्थन दिइसकेको छ । तर समर्थन दिने क्रममा नीतिशले आफ्ना हरेक चार सांसद बराबर एक मन्त्री चाहिने माग गरेका छन् ।

यसका साथै जेडीयुले वित्त, कृषि र रेल मन्त्रालय पनि मागेको छ । लोकसभा चुनावमा जेडीयुले बिहारबाट १२ जना सांसद जिताउन सफल भएको छ।

जेडीएसले माग्यो मन्त्री

समाचार अनुसार जनता दल सेक्युलर (जेडीएस) ले पनि एनडीए गठबन्धन घटकका रुपमा भाजपालाई समर्थन गर्ने क्रममा आफ्नो शर्त राखेको छ ।

जेडीएसले आफ्ना दुई सांसदलाई मन्त्री बनाउनुपर्ने माग गरेको छ । जेडीएसले आफ्ना दुई सांसदका लागि स्वास्थ्य र कृषि मन्त्रालय मागेको छ । जेडीएसले यस पटक तीन सिटमा चुनाव लडेको थियो, जसमा दुई सिट उसले आफ्नो पोल्टामा पारेको छ ।

चन्द्रबाबु नायडुको माग

बुधवार नै टीडीपीका प्रमुख चन्द्रबाबु नायडले भाजपालाई समर्थन गर्ने क्रममा आफ्ना केही शर्त राखेको खुलेको छ। नायडुले आफ्ना हरेक तीन सांसद बराबर एक मन्त्रालय मागेका छन् । यसका साथै उनले लोकसभा अध्यक्ष आफ्नो पार्टीबाट हुनुर्ने पनि शर्त राखेका छन् ।

तर यो समाचार आइसकेपछि नायडुले एनडीएको सरकार बनाउनका लागि भाजपासामु आफूले कुनै शर्त नराखेको स्पष्टीकरण दिएका थिए ।

शिवसेनाले एक मन्त्री र दुई राज्यमन्त्री

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे नेतृत्वको शिवेसनाले पनि एनडीए सरकारका लागि भाजपालाई आफ्नो समर्थन घोषणा गरेको छ ।

समाचारअनुसार भाजपालाई समर्थन दिने क्रममा एकनाथ शिन्देले भाजपासँग केन्द्र सरकारका एक क्याबिनेट र दुई राज्यमन्त्री बनाउनुपर्ने माग राखेका छन् ।

तर यसबारेमा शिवसेनाकोतर्फबाट अहिलेसम्म आधिकारिक धारणा भने आएको छैन। शिवसेनाले महाराष्ट्रपमा सात सिट जितेको छ ।

उता चिराग पासवान नेतृत्वको एलजेपीले पाँच लोकसभा सिट जितेको छ । दक्षिण भारतीय अभिनेता पवन कल्याणको जनसेनाले पनि लोकसभामा दुई सिट जितेको छ । उनीहरू दुवैले केन्द्रमा के भूमिका खोजे भन्ने खुलेको छैन ।

यसअघि दुई पटक नरेन्द्र मोदी सरकारमा अपना दल (सोनेलाल) की नेतृ अनुप्रिया पटेल मन्त्री भएकी थिइन् । यस पटक उनको दलको सिट १ मा झरेको छ । सन् २०१९ मा उनको सिट २ थियो । उनले मन्त्री पद कायमै राख्छिन् या गुमाउँछिन् भन्ने शनिबारसम्म थाहा हुनेछ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १ : २५ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने