कोदोको ७५० एमएल रक्सी ८६० रुपैयाँसम्म बिक्री गर्न सकिने | Khabarhub Khabarhub

अर्थ

कोदोको ७५० एमएल रक्सी ८६० रुपैयाँसम्म बिक्री गर्न सकिने

कोदो र मर्चाकै गुणस्तर बढाउन सुझाव


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रैथाने/स्थानीय/परम्परागत मदिरा तथा पेय पदार्थको अन्तर्राष्ट्रियस्तरमा बिक्री प्रवर्द्धन गर्ने सम्बन्धमा प्रस्ताव गरिएको मार्गचित्र (रोडम्याप) सम्बन्धी प्रतिवेदन पेश भएको छ ।

समृद्धि परियोजना, कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा तयार पारेको सो अध्ययन प्रतिवेदनले स्थानीय मदिरा उत्पादन र बेचबिखनलाई कानूनी दायरामा ल्याउने, उत्पादनमा गुणस्तर कायम गर्ने र ब्राण्डिङ गर्ने लगायत विषयमा विस्तृत अध्ययन गरेर सरकारलाई सिफारिस गरेको हो ।

इञ्जिनियर ऋषिराज कोइरालाको संयोजकत्वमा तयार गरिएको सो प्रतिवेदनमा नेपालमा जनजाति समुदायको ठूलो हिस्साले उत्पादन गर्दै आएको स्थानीय मदिरा अहिलेपनि अधिक मात्रामा अनौपचारिक रूपमै बिक्री-वितरण हुँदै आएको र त्यसलाई कानूनी दायरामा ल्याएर औपचारिक बजारमा प्रवेश गराउन गर्नुपर्ने कामहरू औंल्याएको छ ।

‘हाल नेपालमा सम्पूर्ण मदिरा खपतको दुई तिहाई (करिब ६५–६६ प्रतिशत) मदिरा अनौपचारिक क्षेत्रबाट (गैरकानूनी घरेलु उत्पादन र पैठारी) आपूर्ति भइरहेको छ भने आर्थिक मन्दीको यस घडीमा सो को मात्रा बढ्दो समेत रहेको छ’, प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनअनुसार हाल नेपालमा मूलतः ३ प्रकारका परम्परागत मदिरा (जाँड, रक्सी र तोङ्बा) जनजातिहरूले घरमै उत्पादन गरेर पिउने गर्छन्‌ । जसमध्ये रक्सी र जाँड विभिन्न अन्नहरूको प्रयोगबाट बनाइन्छ भने तोङ्बा कोदोबाट बनाइन्छ ।

अध्ययन गर्दा जाँड, तोङ्बा र मौवाको मदिराको आयुबारे थप अध्ययन गर्न आवश्यक देखिएको औंल्याइएको छ । कोदोको रक्सीको उत्पादन, ब्राण्डिङ र बजारीकरणको विषयमा पनि सरकारलाई अध्ययन सहितको सुझाव दिइएको छ ।

अहिले परम्परागत रूपमा उत्पादन गरिने रक्सीमा तीन पाने २५–३० युपीको, ५ पाने ५० युपीको र ७–९ पानेमा ७० युपी मात्रा रहने गरेको अध्ययनले देखाएको छ । संगठित संस्थाले उत्पादन गर्ने ७० युपी बाहेकका मदिरा गत वर्ष नै ३० प्रतिशतले घटेको र चालु आवमा १०–२० प्रतिशतले घट्ने देखिएको छ ।

पूर्वी जिल्लाहरूमा उत्पादन हुने कोदोको मदिरा नेपाल गुणस्तर ७०/२०४१ ले तोकेको मापदण्ड बमोजिम नै रहेको नमूना परीक्षणले देखाएको प्रतिवेदनमा उल्लेख छ । साथै हाल कोदोबाट मदिरा उत्पादन गर्दा १०० किलोबाट न्यूनतम २९ लिटर रेक्टिफाइड स्प्रिट उत्पादन हुनुपर्नेमा २० लिटर मात्रै रहेको देखिएकोले उत्पादन पक्षमा सुधार गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

जसको लागि कोदोको मदिरा उत्पादनमा प्रयोग गर्ने मर्चाको गुणस्तर वृद्धि गर्नुपर्ने, उपयुक्त घटकको छनौट, उत्पादन विधिमा सुधार र उपयुक्त भाँडाहरू प्रयोग गर्नुपर्ने अध्ययनले देखाएको छ ।

विश्वका धेरै मुलुकहरूमा स्थानीय मदिराको राम्रो ब्राण्डिङ गरेर बिक्री वितरण भइरहेको छ । जसले ती देशको अर्थतन्त्रलाई पनि राम्रो टेवा पुर्‍याइरहेको दाबी हुँदै आएको छ । रैथाने खानपान र मदिरा संस्कृतिका कारण विश्वका विभिन्न मुलुकका स्थानीय बस्तीहरू पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ ।

मन्त्रालयमा पेस भएको प्रतिवेदनमा कोरियाको सोजु, जापानको साके, बेलायतको स्कच ह्विस्की, अमेरिकाको डेनियल, मेक्सिकोको टकिला, गोवाको फेनी, फ्रान्सको स्याम्पेनको लगायतका मदिराहरूको ब्राण्डिङलाई हेरेर शिक्षा लिन सकिने उल्लेख छ ।

प्रतिवेदनले परम्परागत/स्थानीय/रैथाने मदिराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नको लागि ‘इकोसिस्टम अवधारणा’ अनुसार ६ वटा रणनीतिक पक्षलाई समेटेर अघि बढ्नुपर्ने निष्कर्ष देखाएको छ ।

३० युपीको कोदोको ७५० एमएल रक्सी ८६० मा बिक्री गर्न सकिने

अध्ययनले ३० युपी को कोदोको रक्सी ८६० रुपैयाँसम्म बिक्री गर्न सकिने देखाएको छ । धनकुटा र तेह्रथुम क्षेत्रमा गरिएको अध्ययनले ३० युपी रहेको कोदोको ७५० मिलिलिटर रक्सी ५११ रुपैयाँमा उत्पादन हुनसक्ने देखाएको हो ।

जसमा २५० रुपैयाँ अन्तःशुल्क र त्यसपछि १३ प्रतिशत भ्याट जोडेर ८६० रुपैयाँमा बिक्री गर्न सकिने सुझाव प्रतिवेदनले दिएको छ ।

त्यस्तै, ७५० मिलिलिटर कोदोको रक्सी ५० युपीमा ४१६ र ७० युपीमा २११ रुपैयाँमा उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । त्यस्तै अध्ययनअनुसार कनिकाको ५० युपी रहेको सोही परिमाणको रक्सी ३४९ रुपैयाँमा उत्पादन गर्न सकिन्छ ।

अहिले नै झण्डै दुई तिहाई मदिरा अनौपचारिक रुपले बिक्री वितरण भइरहेको अवस्थामा न्यून अन्तःशुल्क र भ्याट लगाएर घरेलु मदिरालाई बजारीकरण गर्दा राजस्व बढ्ने सुझाव प्रतिवेदमा औंल्याइएको छ ।

यस्ता छन्‌ सिफारिस

प्रतिवेदनमा रोड म्यापको सफल कार्यान्वयन गर्न व्यव्यावसायिक स्वरूप निर्धारण, प्राविधिक, कानूनी, आर्थिक तथा वित्तीय, बजारीकरण रणनीति र विविध प्रवर्द्धनात्मक कार्यहरू गर्नुपर्ने सिफारिस छ ।

जसमा स्थानीय मदिरा उत्पादन र बजारीकरणलाई व्यवसायिक स्वरूप दिन विद्यमान कानून संशोधन गर्ने, कर्तव्य र अधिकारको स्पष्ट खाका तयार पारी कार्यान्वयन गर्नुपर्ने औंल्याइएको छ ।

लोकल रक्सीको ब्राण्डिङ र बजारीकरण कति सम्भव ?

कोदोको मदिराको गुणस्तर सरकारी निकायले तोक्नुपर्ने, मार्केटिङ रणनीतिअनुरूप उद्योगहरूले पेटेन्ट, डिजाइन र ट्रेडमार्क संरक्षण गर्नसक्ने लगायतका विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनमा स्थानीय मदिरालाई विद्यमान अन्तःशुल्क दरबन्दी लगाउँदा प्रतिस्पर्धा गर्न नसक्ने स्थिति सिर्जना हुने भन्दै छुट्टै अन्तःशुल्कको दरबन्दी कायम गर्नुपर्ने सिफारिस गरेको छ ।

साथै; कोदोको मदिरा उत्पादन गर्न कोदोको अधिक खपत हुने हुँदा कोदोको खेती गर्नको लागि तीनै तहका सरकारले समन्वय गरेर आर्थिक प्रोत्साहन गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

तीनै तहका सरकारको चासो

पछिल्लो समयमा स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने विषयमा तीनै तहका सरकारको चासो तथा पहलकदमी देखिएको छ ।

संघीय तहको चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको दुवै बजेटमा स्थानीय मदिरालाई वैद्यानिक बनाउने विषयमा सम्बोधन गरिएको छ । आर्थिक विधेयक, २०८१ मार्फत् मदिरा ऐन समेत संशोधन भइसकेको छ ।

त्यस्तै केही प्रदेश सरकार र स्थानीय तहहरूले पनि स्थानीय मदिरालाई वैद्यानिक बनाउने विषयमा संघीय सरकारसँग समन्वय गरेर काम गर्ने विषयलाई बजेटमा समावेश गरेका छन् ।

जनजाति समाजमा जन्मदेखि मृत्युसम्म महत्व

विस्तृत अध्ययनका साथ तयार गरिएको प्रतिवेदनमा कुन जनजाति समुदायमा मदिरा कसरी जोडिएको छ भन्ने विषय समेत उल्लेख छ ।

‘नेपालमा बसोबास गर्ने करिब ३८ प्रतिशत जनजातिले परम्परागत संस्कृति तथा रीतिरिवाजको रूपमा रैथाने मदिरा उत्पादन तथा खपत गर्ने गरेका छन्’, अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

‘लिम्बूहरूको मुन्धुममा पृथ्वीको उत्पत्तिदेखि हावा, पानी, आगो, जीवन, विवाह र मृत्युजस्ता जीवन-जगतका सबै कुराका साथै मर्चा लगायत मदिराको उत्पादन कसरी गर्ने भन्ने वर्णन भेटिन्छ। लिम्बूहरूले तागेरा निड्वाफु माडलाई सबभन्दा ठूलो श्रृष्टिकर्ता मान्छन भने सोधुड्‌गेन लेप्मुहाङलाइ पनि श्रृष्टिकर्ता मान्दछन, जसले अन्न श्रृष्टि गरेर लिम्बूहरूलाई खेती गर्न र पकाएर खान सिकाएको मानिन्छ।

उनै सोधुड्गेन लेप्मुहाङलाइ सपनामा तागेरा निड्वाफु माडले उनलाइ चढाएको तर बिग्रिन लागेका भात, कोदो लगायत अन्नहरूलाइ कसरि लामो समयसम्म खान मिल्छ भनेर सपनामा सिकाएको ब्योहोरा वर्णित छ’, प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, राईहरूमा विभिन्न जातजातिअनुसार जाँडको भिन्नाभिन्नै नाम छ । चाम्लिङ राईहरू ‘वासिङ भन्छन् भने वाम्बुले राईहरू ‘चि’ भन्छन् । त्यस्तै, रक्सीलाई ‘अरक’भनिन्छ। बोलीचालीको भाषामा ‘आराख’ वा ‘आराखा’ भनिन्छ । मुन्दुममा भने ‘आरावा खारावा’ भनिएको छ । कतिपय राईहरूले रक्सीलाई ‘हेड्‌मावा’पनि भन्छन् ।

उनीहरूले प्रारम्भिक घरणमा बनाएको कागुनो र सायुड्‌माको जाँड–रक्सी हो । कागुनोलाई किराँतीहरू पवित्र अन्न मान्छन् । त्यसैले पितृ पूजा गर्दा सुरुमा कागुनोको जाँड अनिवार्य चढाउनुपर्छ ।

कागुनी र सायुड्‌मापछि किराँती राईहरू कोदोको जॉडलाई पवित्र मान्छन्। हिजोआज पवित्र र शुभकार्यका लागि कोदोको जाँड नै बढी चढाउने चलन छ । तर पूजाआजा र पितृकार्यमा चल्ने जाँड-रक्सी भने कोदो र कागुनीकै हो ।

प्रायः गुरुङहरू रक्सीलाई ‘पा’वा ‘प्हा’भन्छन् । जॉडलाई गुरुडहरू ‘क्इ पा’भन्छन् । गुरुङहरू रक्सीलाई अमृत वा शुद्ध पेय पदार्थका रूपमा लिन्छन् । जतिसुकै महँगो र ब्रान्डको रक्सी बजारमा भए पनि त्यसलाई स्थानीय कोदोको रक्सीजस्तो शुद्ध मानिन्न । जन्मिँदादेखि मर्दासम्म चाहिने भनेको हाम्रो स्थानीय रक्सी नै हो ।

नेवाः समुदायले रक्सीलाई सम्बोधन गर्ने नाम एउटै छ- अय्ला । जाँडलाई सामान्यतया थ्वं भनिन्छ। तर यसका विभिन्न प्रकार छन्- ह्याउँ थ्वं, अजि थ्वं, मूति थ्व, कर थ्वं, भ्यावर थ्वं, ताकु थ्वं, प्याः थ्वं आदि ।

नेवाः समुदायमा आफू राम्रो परिवारको हो भनेर देखाउन माछा, अन्डा, बारा, मासु, गेडागुडी लगायत परिकारसँगै भोजमा थ्वं र अय्ला अनिवार्य चाहिन्छ । यस बिना नेवाः समुदायको भोज सफल हुन्न । नेवाः समुदायलाई पनि जन्मदेखि मृत्युसम्म रक्सी नभई हुन्न ।

नेपालका आदिवासी जनजातिमध्ये तामाडहरू तेस्रो ठूलो जनजातिमा पर्छन् । तामाङहरू रक्सीलाई ‘आइराक’वा ‘ऐरक’भन्छन् । जाँडलाई सम्बोधन गर्ने नाम भने अनेक छन् । जाँड कसलाई खान दिइयो भन्ने आधारमा त्यसको नाम रहन्छ ।

जाँडको बनोट र खाने समयका आधारमा पनि नाम फरक पर्छ । तामाङ समुदायमा पूजाआजा र पितृ कार्य गर्दा रक्सीभन्दा जाँड चढाउने चलन छ । अन्य जनजाति जस्तै तामाङहरूलाई जन्मदेखि मृत्युसम्मका विभिन्न गतिविधिमा जाँड-रक्सी नभई हुन्न ।

थारू समुदायमा एउटा भनाइ प्रख्यात छ – जहाँ थारू, त्यहाँ दारू ! यो भनाइले पनि थारु समाजमा रक्सी कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ । थारूहरू रक्सीलाई मद वा दारू भन्छन् । देवतालाई चढाइने रक्सीलाई ‘छाँकी भनिन्छ । उनीहरूको जन्मदेखि मृत्युसम्म रक्सी आवश्यक पर्छ ।

यस्तै अन्य मगर, शेर्पा र शिल्पी समुदायहरूमा पनि रक्सी जीवन पद्दतीसँग जोडिएको पाइन्छ । जन्मदेखि मृत्युसम्म गरिने विभिन्न परम्परागत तथा सांस्कृतिक क्रियाकलापहरूमा रक्सीको विशेष महत्व रहेको मन्त्रालयमा हालै पेश गरिएको प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १ : ३५ बजे

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौं – बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी

पशुपतिमा साउने सोमबारको तयारी पूरा

काठमाडौं – सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको