राजनीति

मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार, मन्त्रीको सङ्ख्या २० पुग्यो 

By खबरहब

August 06, 2024

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

 उनले आज ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले प्रदेशप्रमुख समक्ष शपथ ग्रहण गराएका छन् । 

१२ मन्त्रालय रहेको मधेशमा ५ जना राज्यमन्त्री  थपिँदा  मन्त्रीको सङ्ख्या २० पुगेको छ । यो अहिलेसम्मकै उच्च रहेको छ । मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २ र नेकपा एमाले, जनमत पार्टी र लोसपाका एक/एक राज्यमन्त्री थपेका हुन् ।

एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भु कुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री नियुक्त गरिएको छ।

कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजकलाई उर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । नवनियुक्त पाँचवटै राज्यमन्त्रीलाई मधेश भवनमै मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।