भड्किलो र असभ्य बन्दै गएकै हो त तीज ? | Khabarhub Khabarhub

भड्किलो र असभ्य बन्दै गएकै हो त तीज ?


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आजभोलि तपाईँ सामाजिक सञ्जाल खोल्नुस् अथवा युट्युब। तपाईंको न्युज फिड र ब्राउजरमा जताततै श्रृंगारले भरिएका , गहना (सुन) ले झपक्क बलेका, राता साडी, ओठमा लाली, मुहारमा क्रिम पाउडर लगाएका सङ्गीतका विभिन्न भाका र लयमा तीजका गीतहरूले भरिभराऊ पाउनु हुन्छ । ती गीत सङ्गीतका, लय, भाका, साङ्गीतिक प्रस्तुति र श्रब्यदश्यहरू केही नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिने खालका छन् भने केही उछृंखल र यौनिक दृष्टिकोणबाट उद्वेलित जस्ता देखिन्छन् ।

यी सबै परिदृश्य हाम्रो सामाजिक मनोभावनाका प्रतीक हुन भन्न सकिन्छ । प्रत्येक गाउँमा तीज आउनु भन्दा महिनौँ पहिलेदेखि दर खाने, तीजको शुभकामना आदानप्रदान गर्ने कार्यक्रमहरू विभिन्न राजनीतिक दल, जनसङ्गठन र सामाजिक सङ्गठनहरूले आयोजना गर्ने प्रचलनकै रूपमा एउटा संस्कार विकास भएको छ । यसैबीच यिनै घटनाक्रमलाई लिएर तीजको ऐतिहासिक महत्त्व, धार्मिक औचित्य र अहिले तीज मनाउने तौरतरिकाबारे विभिन्न (सकारात्मक वा नकारात्मक) टीकाटिप्पणी भइरहेका छन् । तीज मनाउने वर्तमान तौरतरिका कति आधुनिक, कति भड्काव र उछृंखलताबारे यहाँ चर्चा गरिएको छ ।

धार्मिक सांस्कृतिक महत्त्व र नेपाली समाज

देवी पार्वतीले मन पराएका शिवजी (महादेव) प्राप्त गर्न सात जन्मसँग तपस्या गरेका कारण आठौँ जन्ममा महादेवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक मान्यताका आधारमा अविवाहित कन्याले महादेव जस्तो वर प्राप्तिका लागि व्रत गर्ने र विवाहित नारीले पतिको दीर्घायु र सातौँ जन्मसम्म साथका लागि निराहार, निर्जल व्रत राख्ने चलन छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमबार परेमा तीजको विशेष महत्त्व बढ्छ भन्ने धार्मिक विश्वास रहेको देखिन्छ । यी तीन चिज (भाद्र शुक्ल तृतीया, हस्त नक्षत्र र सोमबार) तीन चिजबाट उत्पत्ति भएका कारण संस्कृतमा तीज्र अपभ्रंश भएर तीज भएको हो । यी तीन चिजको संयोग परेको बेला व्रत उपवास गर्नाले थौरै परिश्रमले धेरै फल प्राप्त गर्न सकिन्छ भन्ने विषयको शिवगौरी संवादमा उल्लेख गरिएको पाइन्छ । यति मात्र नभइ यस समयमा उपासना र आराधना गर्नाले सम्पूर्ण पापराशीहरूबाट मुक्ति प्राप्त गर्ने हुनाले यस समयको व्रतलाई उत्तम कोटीको व्रत हुने पनि व्याख्या गरिएको छ ।

धार्मिक आस्थाका हिसाबले भन्ने हो भने तीज कसरी मनाउने भन्ने प्रक्रिया र पद्धति पनि स्पष्ट व्याख्या गरिएको । जयका अनुसार हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । वैज्ञानिक दृष्टिकोणले हेर्दा अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ ।

पञ्चमीका दिन अरुन्धतिसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । तीजमा प्रयोग हुने विभिन्न किसिमका विरत तथा आभूषण पनि धार्मिक महत्त्व रहेको देखिन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रङले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो ।

सामाजिक सांस्कृतिक महत्त्व

समाजशास्त्रीय दष्टिकोणबाट हेर्दा तीजले इष्टमित्रको सम्बन्धलाई जोड्न खोजेको देखिन्छ । प्रेम विवाहको संस्कार नभएको हिन्दु समाजमा कन्या केटीलाई नै दुई परिवारको आपसी समझदारीमा सानो उमेरमा नै विवाह गरिदिने चलन थियो । कन्यादानलाई हिन्दु परम्परामा विशेष सम्मान र गौरवका साथ लिइएको पाइन्छ ।

त्यस बेलाको समाज व्यवस्थामा सानो उमेरमा नै विवाह गरेर पराई घर गएकी छोरी चेलीलाई माइतीबाट दाजुभाइ गएर बोलाएर ल्याउने विषय चाहिँ छोरी चेलीलाई उसको घरमा कस्तो व्यवहार गर्छन् भन्ने विशेष निगरानीका लागि पनि पठाएको हो कि भन्ने विश्लेषण गर्न सकिन्छ । विवाह गरेर गएको पहिलो वर्ष तीजमा माइतीले छोरी चेली भेट्न जाँदा विभिन्न किसिमका कोसेली लिएर जानु पर्ने कुरा पनि उल्लेख गरेको पाइन्छ ।

११ किसिमका खानाका परिकार बनाएर लैजाने कुरा पनि छोरीलाई ११ किसिम कै खानाका परिकार बनाउन सिकाउने विषय हुन सक्छ । सानो उमेरमा नै विवाह गरेर दिन प्रचलनका कारण पाक कलामा भएको अपूर्णतालाई निपुण गराउन ती ११ परिकार पकाएर दिने प्रचलन रहेको मान्न सकिन्छ । साधारणतया कन्यादान गरिसकेपछि कन्याको दायित्व माइती पक्षबाट अर्को पक्षलाई हस्तान्तरण हुने धार्मिक विश्वास रहे पनि यस पर्वले माइती पक्षलाई बलियो रूपमा घर पक्ष र छोरीलाई माइतीसँग जोडेको देखिन्छ ।

स्वाभाविक रूपमा माइतीभन्दा घर छोरीका लागि फरक र नयाँ अवश्य हुन्छ । घेरै खालका सांस्कृतिक तथा परम्परागत भिन्नताहरू बुहारीका रूपमा घर भित्रिएका छोरीहरूलाई चुनौतीको पहाड हुने नै भयो । त्यो पुरातन सामाजिक चिन्तन बोकेको नेपाली समाजमा ती चुनौतीहरूको सामना गर्दै परिवारको सम्पूर्ण दायित्व बोक्ने विषय त्यति सहज र सरल हुने कुरा नै भएन ।

नयाँ परिवेश र असहज परिस्थितिमा छोरीले माइती सम्झिनु र त्यसको न्यस्रा लाग्नु स्वाभाविक विषय नै हुने भयो । त्यस कारण त्यस्तो परिवेशका गीत सङ्गीतहरू पनि स्वाभाविक रूपमा पीडा र रोदन बोक्ने, दु:ख पीडाको अभिव्यक्ति हुनु स्वाभाविक नै हुने भयो । नेपाली समाज कृषि प्रदान देश भएकाले कृषिमा नै जीवन निर्भर भएको त्यो दायित्व मूलत: बुहारीको हुने भएका कति पीडायुक्त जीवन महिलाहरूले व्यतित गर्नुपर्थ्यो त्यो अवस्था अहिले छैन । माइती र बाल्यकालको रमाइलो सम्झिएर रुनु भन्दा अर्को विकल्प महिलासँग नरहेको देखिन्छ तत्कालीन नेपाली समाजको ।

अहिले तीज आधुनिक कि असभ्य ?

धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा हेर्दा पछिल्ला केही वर्षहरूमा जुन तौर तरिकाबाट तीज मनाइँदै त्यो आधुनिक हो वा असभ्य वा उछृंखलता के हो त्यो विश्लेषण विषय बनेको छ । केहीले यसलाई आधुनिकताको लेप लगाइरहेका छन् भने समाजका केही विश्लेषकहरूले यो तौर तरिका विलकुलै असभ्य तथा भड्का र भड्किलोपनका रूपमा व्याख्या गरिएको पाइन्छ ।

यसको विश्लेषण गर्दा अहिलेको सामाजिक परिवेश त आज भन्दा पचास वर्ष पहिलेको नेपाल सामाजिक परिवेश, महिलाको जीवनशैली, शिक्षाको अवस्था, वैबाहिक रीतिथिति र परम्परा, आम नेपालीको जीवन निर्वाहको आधार तथा शिक्षा प्रणाली र त्यसले समाजमा पारेको प्रभावको विश्लेषण गर्नु पर्छ ।

पचास वर्ष पहिलेको सामाजिक परिवेश भनेको जीवन पूर्ण रूपमा कृषिमा आधारित थियो र निर्वाहमुखी कृषि प्रणाली नै थियो । संयुक्त पारिवारिक बसाई थियो । आर्थिक उपार्जनको मुल आधार नै कृषि थियो । परिवारका सबै सदस्यले अनिवार्य रूपमा कृषि नै गर्नु पर्थ्यो । श्रम बढी उत्पादन कम थियो । कृषि उत्पादनमा योगदान गर्ने गरी मल उत्पादनका लागि र पशु चौपाया पालन अर्को आधार थियो । यस्तो सामाजिक व्यवस्थामा महिलाको सामाजिक तथा पारिवारिक भूमिका चुलो चौका, पशु चौपाया पालन तथा कृषि नै थियो ।

अर्को भाषा भन्ने हो भने शारीरिक श्रम नै जीवन निर्वाहको आधार थियो । त्यो समाजमा महिलाको शिक्षा पहुँच लगभग शून्य नै थियो । शासक वर्गका घरपरिवारका छोरा मान्छेबाहेक अरूको शिक्षामा पहुँच नभएकै कारण जीवन निर्वाहको लागि शारीरिक श्रम गर्नु भन्दा अर्को विकल्प थिएन । त्यो समयको वैवाहिक परम्परा हेर्ने हो भने मागी विवाहमा आधारित थियो ।

कन्यालाई बर छान्ने अधिकारसमेत थिएन । त्यस्तो परिस्थितिमा प्रेम विवाह बहिस्कृत जस्तै थियो । वैवाहिक स्वतन्त्र यति धेरै कुण्ठित थियो की अधिकांश महिलाहरूको बाल विवाह नै हुन्थ्यो । रजस्वला हुनु पूर्व नै विवाह गरिदिने चलन थियो । श्रुति ज्ञानका रूपमा त्यो पनि ब्रह्माण परिवारमा हो भने महाभारत, रामायण, केही पुराणका अंश, श्रीमद्भागवत, गीता तंथा श्री स्वस्थानी व्रत कथाहरू प्रदान गरिन्थ्यो ।

समाज पूर्ण रूपमा पुरुष प्रदान थियो र महिलालाई पुरषकोको अन्धभक्त बनाउने खालको स्कुलिङ हुन्थ्यो । यी र यस्तै यावत कारणहरूले त्यो बेलाको तीजमा उमङ्ग, जोस, भड्का भन्दा बढी पीडा र दुखका वेदनाहरू सङ्गीतका माध्यमबाट प्रस्फुटित हुन्थ्यो । त्यो बेला अभिव्यक्तिका मान्यताहरू पनि लगभग शून्य नै थिए । तीज, रत्यौली र छटहरू मात्र समाजले प्रदान गरेको केही स्वतन्त्र र सामूहिक प्लेटफर्महरू थिए ।

अहिले समाज बदलिएको छ । जीवनशैली बदलिएको छ । सामाजिक सम्बन्धको आधार बदलिएको । विवाह परम्परा बदलिएको छ । शिक्षामा महिलाको पहुँच अप्रत्याशित रूपमा बढेको छ । अहिले महिलाहरू पुरुषमा निर्भर छैनन् । प्रेम विवाह संस्कारका रूपमा विकास भएको छ । महिलाहरू स्वतन्त्र र आत्मनिर्भर भएका छन् । विश्वभूमण्डलीकरणको पनि धेरथोर प्रभाव परेको छ ।

अहिलेका महिलाहरू महाभारत, रामायण, स्वस्थानी व्रत कथा पढेका छैनन् । बरु इममिली डिकेन्सन, भर्जिनिया वल्फ, जेन अस्टिनका क्रान्तिकारी वा अझ भनौँ उग्र नारीवादी साहित्य पढेर हुर्किएका छन् । अहिलेको समाज व्यवस्था नारी दासी र श्रीमान् शिरका स्वामी भन्ने कुरा र नारीको जन्मको औचित्य पुरुषहरूमा समर्पित हुनु हो भन्ने कुरा पढाउन र बुझाउन सकिँदैन र त्यस्तो गर्नु पनि हुँदैन ।

अहिले सबैका लागि अभिव्यक्ति स्वतन्त्रताका थुप्रै माध्यम उपलब्ध छन् । विश्व भूमण्डलीकरणको प्रभाव यति धरै परेको छ की सहर बजारमा विवाह गर्नेहरूको जस्तै संख्या लिभिङ टुगेदरमा बस्नेहरूको पनि देखिन्छ । पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाको सङ्ख्या तीव्र रूपमा बढ्ने देशहरूको लिस्टमा नेपाल परेको छ ।

यस्तो अवस्थामा जुनी जुनी सम्मका लागि महिलाहरू पुरुषमा समर्पित हुने कुरा कल्पना पनि गर्न सकिँदैन । विदेशी पाठ्यक्रमको नेपाली समाजमा पारेको प्रभावले नेपाली समाजलाई पुनर्जागरण गर्न लगभग असम्भव देखिन्छ । वास्तव मै भन्ने हो भने नेपाल सांस्कृतिक हिसाबले हेर्ने हो भने ‘स्टेट अफ आइडेनटिटी क्राइसिस’ बाट गुज्रिरहेको छ ।

अन्तमा तीजको आफ्नै महत्त्व छ । धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा तीजका विषेशतालाई कायम गरेर मनाउनतर्फ समाजलाई उन्मुख गर्दा सांस्कृतिक पहिचानका हिसाबले विशिष्टता र मोलिकता जीवित रहन्छ । जून विशिष्ट राष्ट्रिय पहिचानका आधार पनि बन्न सक्छन् ।

सामाजिक सद्भाव कायम गरी गरिने भड्किलोपनलाई समाजले स्वीकार गर्न सक्नुपर्छ भने मर्यादाविपरीत गरिने विषयमा कानुनी कारबाही गरिनु पर्छ । दरमा दारूको प्रवेश, महिनौँसम्म दरका भोज भतेर र नाचगान, गरगहनाको अस्वस्थ प्रतिस्पर्धा त्यसले समाजको तल्लो तप्कालाई सृजना गर्ने दबाब र ‘लो सेल्फ स्टिम’ र गीत संगीतमा श्रृंगारिक रसको प्रयोग र गीतहरूका भिडियोमा गरिने अङ्ग प्रदर्शन नेपालको विशिष्ट सांस्कृतिक पहिचानका बाधक तत्त्व हुन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ४ : २४ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन