जनकपुरधाम– विवाहपञ्चमीको रौनकता अहिले जनकपुरधामसहित पूरै मिथिलाञ्चलमा छ । जनकपुरधामस्थित जानकी मन्दिरमा विवाहपञ्चमीका लागि विशेष तयारी नै गरिएको छ । आज बिहानैदेखि मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरूकाे भिड छ । विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन सीतारामको विवाह हुनेछ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैँठौ दिन ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ । आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।
स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ । जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ । रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरूले गीतनाच गाउने गर्छन् ।
विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गलौच गर्नेसमेत परम्परा छ । मन्दिरका पुजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ ।
हेर्नुहोस् तस्बिरहरु :
प्रतिक्रिया