शेखर–गगन : न सम्बन्ध, न सम्बन्ध विच्छेद | Khabarhub Khabarhub

शेखर–गगन : न सम्बन्ध, न सम्बन्ध विच्छेद

शक्ति बढाउँदै शेखर, सभापतिलाई सघाउँदै गगन


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको तीन वर्ष पूरा हुँदैछ । ०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित भएका थिए । महाधिवेशनमा डा. शेखर कोइरालालाई पराजित गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका थिए ।

कोइराला सभापतिमा पराजित भए पनि उनको समूहबाट चुनावी मैदानमा होमिएका धनराज गुरुङ र गगन थापा क्रमशः उपसभापति र महामन्त्रीमा निर्वाचित भएका थिए । तर, महाधविशेनमा एकै समूहबाट प्रतिस्पर्धामा उत्रिएका उनै कोइराला र थापाबीच यतिबेला दूरी बढेको चर्चा कांग्रेसवृत्तमा चुलिएको छ ।

पछिल्लो समय नेता कोइराला र महामन्त्री थापा सार्वजनिकरुपमा एउटै मञ्चमा उभिएको दृष्य बिरलै देखिन्छ । मंसिर १८ मा इतर समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला आयोजना गर्दा महामन्त्री थापा अनुपस्थित थिए । तथापि, थापा शनिबार बिराटनगरमा हुने कोशी प्रदेश सम्मेलनमा सहभागी हुनेछन् ।

के कोइराला र थापाबीच पछिल्लो समय दूरी बढेकै हो त ? महामन्त्री थापानिकट एक नेता भन्छन्, ‘शेखर कोइरालाले नै गगनसँग दूरी बढाइरहेजस्तो देखिन्छ । किनकि उहाँले कुनै पनि केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाको पक्ष लिनुभएको छैन । गगनले नेता मान्ने तर उहाँ (शेखर)ले अभिभावकत्व नदेखाएको जस्तो देखिन्छ ।’

संसदीय दलको चुनावको ‘तुष’

शेखर र गगनलगायतका नेताहरूबीचको सम्बन्ध १४ औँ महाधिवेशन सकिएको एक वर्षसम्म राम्रैैसँग चल्यो । उनीहरूले मिलेरै ०७९ पुस ६ मा संसदीय दलको निर्वाचनमा सभापति देउवाविरुद्ध प्रतिस्पर्धा गरे । भलै, चुनावी परिणाम आफूअनुकूल बनाउन भने सकेनन् ।

संसदीय दलको नेताका लागि देउवालाई चुनौती दिएका महामन्त्री थापाले कूल खसेको ८९ मतमध्ये २५ मत मात्र पाए । संस्थापन इतर समूहले गरेको अपेक्षाविपरीत चुनावी परिणाम आयोे । किनभने, ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जितेका भनिएका इतर समूहका ३२ सांसदमध्ये ७ जनाले थापाको पक्षमा मतदान नगरेको विश्लेषण तत्कालीन समयमा भएको थियो ।

तर, संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको परिणाम प्रतिकूल आए पनि इतर समूहले यसबारेमा कहिल्यै समीक्षा गरेन । यहीँबाट कोइरालासँग थापाको मन भाँचिन थालेको कांग्रेस नेताहरु बताउँछन् ।

संसदीय दलको चुनावमा आफूमाथि अन्तरघात किन भयो र आफ्नै समूहका सांसदले किन मत दिएनन् भन्नेबारे डा. शेखर कोइरालाले समीक्षा गर्नुपर्ने थियो, तर वास्तै नगरेको गुनासो थापानिकट नेताहरुको छ ।
महामन्त्री थापानिकट एक नेता भन्छन्, ‘संसदीय दलको चुनावमा एक भएर लड्नु त भयो तर नतिजा राम्रो आएन । किन राम्रो आएन भनेर आजका दिनसम्म पनि समीक्षा भएन ।’

कतिपय नेताहरू चाहिँ ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणको प्रक्रियाबाटै कोइराला र थापाबीचको सम्बन्ध चिसिन सुरु भएको दाबी गर्छन् । ती नेता भन्छन्, ‘०७९ को चुनावमा टिकट बाँड्दा पनि उहाँ (कोइराला) र महामन्त्री (थापा)बीच सरसल्लाह भएन ।’

दुई नेताबीच दुरी बढेको भनिए पनि १४ औँ महाधिवेशनमा एकसाथ उभिएका नेता कोइराला र महामन्त्री थापाले आपसी सम्बन्धबारेमा सार्वजनिकरुपमै चाहिँ केही भनिहालेका छैनन् ।

तर, पछिल्लो समय शेखर कोइरालाले महामन्त्री थापासँगको सम्बन्ध र आगामी सहकार्यका बारेमा एक टेलिभिजनसँगको अन्तर्वार्तामा केही सांकेतिक अभिव्यक्ति दिए ।

नेता कोइरालाले केही समयअघि कान्तिपुर टीभीको टक शो ‘फायर साइड’मा आगामी १५ औं महाधिवेशनतर्फ लक्षित गर्दै भनेका थिए, ‘को कहाँ जान्छ अहिले भन्न सक्ने अवस्था छैन । शेरबहादुरजीले गगनजीलाई नै (सहयोग) गर्नुभयो भने पनि मलाई चिन्ता छैन । भोलि पार्टी बचाउनका लागि कसले सक्छ भन्ने कार्यकर्ताहरूले हेर्दैछन् ।’

जब शेखर देउवासँग नजिकिए…

०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपश्चात नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ समीकरण बनेपछि सभापति देउवा प्रधानमन्त्रीबाट बाहिरिनुपरेको थियो । उनी सत्ताबाट बाहिरिएसँगै धुम्बाराही (तत्कालीन निजी निवास) मा नेता कोइरालाको आउजाउ बढ्न सुरु भयो । ०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणदेखि दुई नेताबीचको भेटवार्ताले तीव्रता पाउन सुरु गरेको नेताहरु बताउँथे ।

महाधिवेशन सम्पन्न भएको झण्डै एक वर्षसम्म प्रतिस्पर्धी नेता कोइरालालाई पार्टीको आन्तरिक छलफलमा बेवास्ता गरेका सभापति देउवाले पछिल्लो समय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकहरुमा पनि आमन्त्रण गर्दै आएका छन् । त्यसअघि आफू प्रधानमन्त्री हुँदा सभापति देउवाले शीर्षतहका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाउँदा कोइराला भने छुट्ने गर्दथे ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि नेता कोइराला सभापति देउवाकै ‘लाइन’ मा उभिएका थिए । आफ्नै समूहबाट महामन्त्रीमा निर्वाचित थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले फरक मत दर्ज गराए पनि कोइराला विश्वासको मत दिने ‘लाइन’ मा सभापति देउवासँगै उभिए ।

०७९ गत माघ ८ गते बत्तिसपुतलीमा बसेको इतर समूहको बैठकमा शेखरले विश्वासको मत दिएर गल्ती गरिएको अभिव्यक्ति दिएको समाचार बाहिरिएको थियो । तर, माघ ९ गते धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कोइरालाले विश्वासको मतबारे आफूले बोल्दै नबोलेको कुरा बाहिर आएको प्रष्टीकरण दिएका थिए ।

उनले माघ ९ गते देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो नभनेको प्रस्टीकरण नै दिएका थिए ।

उक्त बैठकपछि नेता कोइरालानिकट मानिने सहमहामन्त्री बद्री पाण्डेले पनि विश्वासको मतबारे सञ्चार माध्यममा आएजस्तो समूहको बैठकमा कुरा नउठेको दाबी गरेका थिए ।

समूहको बैठकमा भएको छलफलबारे सञ्चार माध्यममा त्यस्तो समाचार आएपछि इतर समूहले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको भोलिपल्ट अर्थात माघ १० का लागि तय गरिएको बैठक अन्तिम समयमा आएर स्थगित गरेको थियो । उक्त बैठक सभापति देउवाको आग्रहमा नेता कोइरालाले स्थगित गरेको चर्चा चलेको थियो ।

१४ औँ महाधिवेशनमा पराजित गरेपछि पार्टीकोे परम्पराअनुसार स्थान दिन अनिच्छुक देखिए पनि देउवाले एक वर्षपछि नेता कोइरालालाई ‘स्पेस’ दिएर नजिक्याउन सुरु गरेका थिए ।

कांग्रेसमा १० औँ महाधिवेशनबाट सभापतिमा पराजित नेतालाई छुट्टै कार्यकक्षको व्यवस्था गर्ने परम्परा सुरु गरिएको थियो । तर, १४ औँ महाधिवेशनमा देउवाले सो परम्परा टुटाएका थिए । महाधिवेशनको एक वर्षपछि भने देउवाले पार्टी कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरिदिएका थिए ।

दोस्रो कार्यकालका लागि १४ औँ महाधिवेशनमा सभापतिमा विजयी भएपछि विगतको परम्परा ‘ब्रेक’ गरेका देउवाले एक वर्षपछि कोइरालाका लागि छुट्टै कार्यकक्ष तयार पारिदिएपछि दुई नेताको सम्बन्ध सुमधुर बन्दै गएको अड्कल गरिएको थियो । तर, देउवा र शेखर नजिकिँदा महामन्त्री थापा भने शेखरसँग थप टाढिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्रीहरु पठाउँदा आ–आफ्नो समूहमा एकलौटी गरेको आरोप खेपेका सभापति देउवा र इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला एउटै मञ्चमा देखिएका थिए ।

महामन्त्री थापा नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला सभापति देउवानिकट प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जिल्ला सम्मेलनको अवसर पारेर दुवै नेता (देउवा–कोइराला) लाई एकै मञ्चमा उभ्याएका थिए ।

भक्तपुरको कालोपाटीस्थित एक ब्याङक्वेटमा ०८० जेठ २७ गते आयोजित जिल्ला सम्मेलनमा सभापति देउवालाई प्रमुख अतिथि र इतर समूहको नेतृत्व गरिरहेका नेता कोइरालालाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो ।

१४ औँ महाधिवेशनमा एकअर्कासँग प्रतिस्पर्धा गरेका सभापति देउवा र नेता कोइरालाले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री पठाउँदा आ–आफ्नो समूहमा आफूखुसी गरेको गुनासो गगन थापा पक्षको थियो । कांग्रेसबाट चार चरणमा मन्त्रीहरु सरकारमा पठाउँदा दुवै नेताले आ–आफ्ना विश्वासपात्रलाई मात्रै पठाएको गुनासो कांग्रेसभित्र चुलिएको थियो ।

तत्कालीन समयमा कांग्रेसले पाएका ९ मन्त्रालयमध्ये सभापति देउवाले संस्थापनबाट ६, संस्थापन इतर समूहबाट २ र राष्ट्रपतिनिकट १ जनालाई मन्त्री बनाउँदा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको रोजाइका कोही पनि नेता परेका थिएनन् ।

सभापति देउवा र नेता कोइरालाले मन्त्री बनाउँदा एकलौटी गरेको भन्दै महामन्त्रीद्वय थापा र शर्मा असन्तुष्ट देखिएका थिए । उनीहरुले मन्त्रिपरिषद्का लागि पार्टीबाट नाम पठाउँदा गरिएको एकलौटीप्रति सभापति देउवासँग पदाधिकारी बैठकमै असहमति जनाएका थिए ।

सभापति देउवाले मात्रै नभएर आफ्नै समूहका नेता कोइरालाले समेत मन्त्री बनाउने विषयमा छलफल र परामर्श नगरेपछि महामन्त्री थापाले सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरेका थिए ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्दति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन् । धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु । एउटा सीमा छ,’ थापाले ०८० वैशाख २४ गते सामाजिक सञ्जालमा लेखेका थिए, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ । तर अब त अति भयो ।’

देउवा–थापा मिलेको चर्चा

पछिल्लो समय एकाएक सभापति देउवासँग महामन्त्री थापाको ‘केमेस्ट्री’ मिलेको देखिन थालेको छ । नेकपा एमालेसँगको सत्ता साझेदारी सफल बनाउन सभापति देउवालाई महामन्त्री थापाले साथ दिइरहेका छन् । यसले गर्दा कांग्रेसको आन्तरिक राजनीतिक वृत्तमा महामन्त्री थापा अब सभापति देउवासँग नजिकिएको विश्लेषण हुन थालेको छ ।

के महामन्त्री थापा सभापति देउवानिकट भएकै हुन् त ? थापानिकट युवा नेता शंकर तिवारी सभापति देउवासँगको पछिल्लो सम्बन्धलाई कार्यगत एकता र षडयन्त्रका रुपमा हेर्न नहुने तर्क गर्छन् ।

‘उहाँहरूबीच पछिल्लो समय देखिएको सम्बन्धलाई हेरेर कार्यगत एकता वा यो–त्यो भनेर षडयन्त्रका रुपमा हेर्न जरुरी छैन,’ तिवारीको तर्क छ, ‘पार्टीलाई सफल बनाउन उहाँहरूले मिलेर काम गरिरहनुभएको हो ।’

पार्टीलाई सफल बनाउनका लागि महामन्त्री थापा र सभापति देउवाले विगतमा सैद्धान्तिक विमति हुँदाहुँदै पनि सँगसँगै काम गरेको अवस्था स्मरण गर्नुपर्नेमा तिवारीको जोड छ ।

सैद्धान्तिक विमति नहुँदा सभापति र महामन्त्री मिलेका हुन् कि भन्नेजस्तो मात्रै देखिएको उनको दाबी छ । ‘महामन्त्रीको जहिले पनि सभापतिसँग व्यक्तिगतभन्दा पनि सैद्धान्तिक विमतिहरू थिए । महासमितिबाट महामन्त्रीले राखेका प्रस्तावहरू अनुमोदन भएपछि सभापति र महामन्त्रीका बीचमा कुनै पनि सैद्धान्तिक विमति छैन,’ तिवारीले खबरहबसँग भने, ‘महासमिति पछि पार्टीमा अरु पनि फरक मत कम छन् । अहिले महामन्त्रीले सभापतिलाई पार्टीको सफलताका लागि राजकाजमा सघाएको हो ।’

कांग्रेसकै एकथरी नेताहरू भने सभापति देउवाले आफ्नो स्वार्थपूर्तिका लागि मात्र महामन्त्री थापालाई विशवासमा लिएर अघि बढेको तर्क गर्छन् ।

‘पार्टीका पदाधिकारीहरू र संसदमा रहेका नेताहरूमध्ये गगन काबिल नेतामा पर्छन्,’ संस्थापन पक्षीय एक नेता भन्छन्, ‘काम निकाल्न सकिने काबिल नेता भएर नै शेरबहादुर दाइले गगनजीलाई हातमा लिनु भएको हो ।’

ती नेताको आरोप के छ भने डा. शेखर कोइरालाले चाहिँ देउवालाई ऐन मौकामा सहयोग गर्नुको साटो विरोध मात्रै गर्दै आएका छन् । जस्तो आम निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री दिनुहुँदैन, कांग्रेसले लिनुपर्छ भन्नेमा शेखर अग्रपंक्तिमा थिए । कांग्रेसको यही अडानका कारण प्रचण्ड बिच्किएर बालकोट पुगे र ०७९ पुसमा एमालेको साथ पाएर प्रधानमन्त्री भए ।

पछि प्रचण्ड–देउवा गठबन्धन बनेर कांग्रेससमेत सरकारमा गएका बेला फेरि डा. शेखरले एमाले कांग्रेस मिल्नुपर्छ भनेर सभापतिलाई अप्ठ्यारोमा पारेको संस्थापन पक्षको बुझाइ छ । यसको रिहर्जल कोशी प्रदेशमा भयो र कांग्रेस–एमाले गठनन्धनमा शेखर निकटका केदार कार्की मुख्यमन्त्री बने । शेखरको यही नीतिले गर्दा कांग्रेस–माओवादीबीच दुरी बढायो ।

अहिले कांग्रेस–एमालेको गठबन्धन सरकार छ । यो सरकार डा. शेखर कोइरालाकै लाइन अनुसार बनेको हो । तर, शेखर कोइरालाले सरकारको आलोचना गर्दै हिँडेको अनि गगनलेचाहिँ सभापतिलाई साथ दिएको संस्थापन पक्षका नेताहहरुको बुझाइ छ ।

‘ग्राउण्ड’बाट व्यंग्यवाण

अहिलेसम्म गगन थापा र शेखर कोइराला सार्वजनिक रुपमै आरोप–प्रत्यारोपमा उत्रिइसकेका छैनन् । तर, शेखर कोइराला निकटका नेताहरुले सार्वजनिक भाषणबाटै महामन्त्रीको आलोचना गर्न थालिसकेका छन् ।

नेता कोइराला र महामन्त्री थापाबीचको सम्बन्ध १४ औं महाधिवेशनको समयताकाको जस्तो नभएको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिले पनि पुष्टि गर्दछ ।

कोइरालाले मंसिर १८ मा विराटनगरमा आयोजित प्रदेशस्तरीय पालिका सभापतिहरूको भेलामा महामन्त्री थापाको नाम नलिएर दुई नेताबीचको सम्बन्ध उप्काएका थिए ।

‘धेरै जोडले बोलेर, धेरै अरुलाई गाली गरेर नेपाली कांग्रेसको संगठन कमजोर बनाएर, नेपाली कांग्रेसको संगठन बनाउन बिर्सिएर, भाइरल बनेर कांग्रेसको भोट बढ्दैन,’ भेलामा कार्कीको भनाइ थियो, ‘कांग्रेसको भोट बढाउन कांग्रेसका जनताको घरमा जानुपर्छ । जनताको दुःख हेर्नुपर्छ ।’

पूर्वमुख्यमन्त्री कार्कीले विराटनगर भेलामा सहभागी इतर समूहका नेताहरूलाई काठमाडौं फर्किएर केन्द्रीय कार्यसमितिलाई विधान पढाउन सुझाउँदै महामन्त्री थापाप्रति ब्यंग्य गरेका थिए । महामन्त्री थापाले १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसका मतदाता बढाउनका लागि आफूले आगामी दिनमा गर्ने कामबारे दिएको अभिव्यक्तिमाथि उनको ब्यंग्य थियो ।

‘तपाईंहरूले केन्द्रीय समितिमा विधान चैं पढाउनुहोला । अहिलेको नयाँ पढेका जान्नेहरूलाई, बाहिरका अहिले जेल–जेल दौडिरहेका चटकेहरू भन्दा हामी जान्ने छौँ भनेर भन्नेहरूलाई पनि विधान पढाउनुहोला,’ कार्कीले भने, ‘१५ लाख भोट बढाउँछु भनेर पार्टीका पदाधिकारी बन्नेहरूलाई कोशी प्रदेशको अस्ति भएको सानो उपनिर्वाचनमा कति भोट बढ्यो भनेर सोधिदिनुहोला । कति भोट बढ्यो भन्नुहुन्छ कि घट्यो भन्नुहुन्छ ? यदि त्यो पनि जोड्न आउँदैन भने विधानसँग–सँगै क्याल्कुलेटर पनि पठाइदिउँ ।’

उता, गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने क्रममा अवधारणा–पत्र सार्वजनिक गर्दै चुनाव आफैँ जित्ने जनताको रोजाइको कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको बताएका थिए । ‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैँ जितिन्छ । आफैँ आउँछन् मतदाता । लाइन लागेर आउँछन् । कांग्रेसलाई छान्न आउँछन्, रोज्न आउँछन् । कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’

पार्टी सभापति शेरबहादुर देउवासँग ‘संघर्ष–एकता–संघर्ष’को नीति लिएका नेता कोइराला र महामन्त्री थापा दुबैजना पार्टीभित्र प्रभावशाली नेताका रुपमा परिचित छन् ।

महामन्त्री थापा समग्र देशैभरिका युवाबीच लोकप्रिय छन् । उनको राजनीतिको केन्द्रभाग काठमाडौं हो । उता, १४ औं महाधिवशेनमै देउवालाई चुनौती दिएर देशैभरि प्रभाव बढाएका कोइरालाले पनि काठमाडौंलाई काउन्टर गर्ने गरी कोशी प्रदेशमा शक्ति बढाएका छन् । मंसिर १८ को पालिकास्तरीय भेला त्यसैको उदाहरण हो ।

शेखर कोइराला र गगन थापाबीचको यो अमूर्त शक्ति–संघर्ष र चिसिँदो सम्बन्धले नेपाली कांग्रेसभित्र एउटा यक्ष प्रश्न जन्माएको छ – आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिका लागि यी दुई नेतावीच प्रतिस्पर्धा हुन्छ या बीचमा कुनै सम्झौताको बिन्दु भेटिन्छ ?

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : १४ बजे

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

काठमाडौं – नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई

महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरु)

काठमाडौं – देशभरका शिवालयमा बुधबार महाशिवरात्रि मेला लाग्दैछ । सोही

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं – महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा

केआईआईटीबाट फर्किएका विद्यार्थीलाई त्रिविले क्रेडिट ट्रान्सफर गरिदिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल