घरायसी किचलोमा रमाइरहेको सञ्जाल ! « Khabarhub

घरायसी किचलोमा रमाइरहेको सञ्जाल !

समाजशास्त्री भन्छन् – ‘विक्षिप्त मानसिकता रोक्न मनोपरामर्श आवश्यक’



काठमाडौं – सामाजिक सञ्जाल व्यक्ति र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम हो । यसले जानकारी, विचार, रूचि र अभिव्यक्ति सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ । आफ्नो विचारलाई क्षणभरमै सञ्चार गर्ने सुविधा यसमा छन् ।

आफ्ना विचार तथा उत्पादन बजारमा पुर्याउन यो निकै प्रभावकारी माध्यम हो । तर केही मानिसहरूले सामाजिक सञ्जालको प्रयोगमा चुकेको पाइन्छ । सञ्जालमा के–कस्ता विषय सम्प्रेषण गर्ने र नगर्ने भन्ने कुराको हेक्का कम देखिन्छ । अझ पछिल्लो समय घरपरिवारको झगडासमेत सञ्जालमा हुन थालेका छन् ।

सञ्जालमा आएका घरझगडामा ‘को पीडित’ र ‘को पीडक’ भनी छुट्याउनै मुस्किल पर्छ । त्यसकारण नाम उल्लेख नगरी यहाँ केही घटना जोड्ने प्रयास गरेका छौ ।

घटना एक

टिकटकमा एक युवाले आफ्नी आमाले सानैमा छोडेर गएको र आफू आमा हुनुको जिम्मेवारी पूरा नगरेको आरोप लगाएका छन् । आमाले छाडेर त गइन् साथै आफ्नो अंशसमेत बेचेर खाइदिएको छोराको गुनासो छ ।

उनले भर्खरै एक नयाँ घर किनेका छन् । उनका समर्थकहरूले ‘त्यति ठूलो घरमा आमालाई किन नराखेको ?’ भन्ने जिज्ञासा राखेका थिए । आफ्ना समर्थकहरूलाई जवाफ दिँदै गर्दा उनले आमाले अर्को बिहे गरेको र अरू छोराछोरी जन्माइसकेको बताए ।

एक बच्चालाई जतिबेला आमाको माया ममता र स्याहारको आवश्यकता पर्छ – त्यो समयमा आमाले हजुरआमाको जिम्मेवारीमा सन्तान छोडेर आफ्नो खुसीको बारेमा सोचिन् । त्यसकारण उक्त आमाप्रति आफ्नो धेरै जिम्मेवारी नभएको उनको प्रतिक्रिया थियो । बुवाको देहान्तपछि आमाले अर्को बिहे गर्नु सन्तानप्रतिको बेवास्ताका रूपमा उनले बुझेका छन् ।

साथै, उनकी आमाले पनि सञ्जालमा छोरासँग सवालजवाफ गरेकी छन् । उनले रुँदै सञ्जालमार्फत ‘आमालाई चरित्रहीन देखाएर छोराले के पायो ? अब मैले यो समाजमा के मुख देखाएर हिँड्ने ?’ भनी प्रश्न गरेकी छिन् ।

टाढा भए पनि आफूले सन्तानको शिक्षादीक्षा र लालनपालनको जिम्मेवारी उठाएको उनले दाबी गरेकी छिन्‌ ।

घटना दुई

सङ्गीतको एक विधा र्‍याप आफ्नो भविष्य बनाउँदै गरेका युवकले केही समय अगाडि आफ्नी आमा चरित्रहीन भएकी बताए ।

उनको आमा बुवा दुवै जना सम्बन्धबिच्छेद गरी अलग भइसकेका थिए । हाल उनी बुवासँग बस्छन् । सामाजिक सञ्जालमा उनकी आमाले पूर्वपतिको बारेमा केही न केही लेखिरहन्थिन् ।

तर, एक दिन अचानक उनको छोराले आमा बाहिर–बाहिर हिँड्ने गरेकी, बाहिरी पुरुष साथीसँग विवाहेतर सम्बन्ध राख्ने गरेकी र छोराछोरी राम्रोसँग नहेरेकी जस्ता अर्थ लाग्नेगरी र्‍याप गीत सार्वजनिक गरे ।

आमा पनि छोराको आरोपलाई खण्डन गर्दै सामाजिक सञ्जालमा आइन् । आफूलाई चरित्रहीन नै साबित गरेर गीत गाएको छोरालाई उनले गाली गरिनन् । छोरा मानसिक रूपमा अस्वस्थ रहेको र यस्तो हालतमा उसकै बावुले पुर्‍याएको उनको आरोप थियो ।

घटना तीन

एक युवक आफ्ना बुवाआमाले आफ्नो लागि केही धनसम्पतिको व्यवस्था नगरिदिएको भन्दै सञ्जालमा चिच्याए । आमाले बिहे गर्ने बेलामा गलत मान्छे रोजेको भन्दै उनी आमामाथि नै खनिए ।

‘डाक्टर या पाइलटसँग बिहे गरिदिएको भए आज म डाक्टर, पाइलटको छोरा हुन्थेँ’ भन्ने उनको तर्क थियो । अझ आमा नर्स र बुवा अधिकृत भइदिएको भए आज आफ्नो इज्जत हुने उनले दावी गरे ।

‘आफू कामबाट फर्केर बेलुका घर पुग्दा खानासमेत बनाएर नदिने ‘पापिनी आमा’ थिइन् । मैले पैसा कमाएर मोज गरौंला भनेर जन्माएका थिए । मैले त्यसो हुन दिइनँ, मैले पैसा कमाइनँ, बाउआमालाई ठीक्क पर्‍यो’ भन्दै उनी सञ्जालमा चिच्याएको भिडियो भाइरल छ ।

तर, उनको जवाफको प्रतिक्रिया दिन उनको बुवा जीवित छैनन् र आमा पनि ओछ्यानमा सिकिस्त छन् ।

घटना चार

एक एकल महिला पडकास्टमा सन्तानले आफ्नो दुःख नबुझेको भन्दै रोइन् ।

सानो उमेरमा श्रीमानको देहान्तपति उनी एक्लै सन्तानको लागि खम्बा बनेर उभिनुपर्‍यो । आमा र बुवा दुवैको जिम्मेवारी उनैले सम्हाल्नुपर्‍यो ।

तर, त्यो संघर्ष हुर्कदै गएको सन्तानले नबुझेको उनको आरोप थियो । सन्तानको सुखको लागि विदेशको भूमिमा पसिना बगाइरहेकी उनले पडकाष्टमा सन्तानले दिएको दुःखले रुँदारुँदा आँखाबाट आँसुसमेत सकिएको बताएकी थिइन् । साथै, आफ्नो लासमा दागबत्तीसमेत नदिन सन्तानलाई चेतावनी दिइन्‌ ।

०००

यी केही प्रतिनिधि घटना हुन् । सञ्जालमा आएका यस्ता पारिवारिक झैझगडा कति सत्य हुन् भन्ने कुनै आधिकारिक प्रमाण हुँदैन । विना प्रमाण कसैलाई पीडक र पीडित मानिहाल्ने अवस्था रहँदैन ।

तर, यस्ता झगडाले समाजलाई कता मोडिरहेको छ ? कस्तो समाजको निर्माणमा हामी परिवारको असन्तुलन सञ्जालमा पोखिरहेका छौ ? सञ्जालले हामीलाई न्याय दिन्छ ? हाम्रो पारिवारिक/सामाजिक समस्याको समाधान यही हो ?

समाजशास्त्री निर्मला ढकाल घरपरिवार भित्रको झगडा सामाजिक सञ्जालमा पोख्नु विक्षिप्त मानसिकताको प्रतिक भएको बताउँछिन् । के बोलें थाहा नहुने, तर सञ्जालमा टिक्न बोलिने यस्ता सस्ता झगडा मानसिक रूपमा कमजोर मानिसहरूले मात्रै गर्न सक्ने उनले बताइन्‌   

महिला अधिकारकर्मी सावित्रा ढकाल सामाजिक सञ्जालले न्याय नदिए पनि आजको आधुनिक मानिस कस्तो छ भनेर बुझ्न सहयोग गर्ने बताउँछिन् । साथै, यस्ता प्रवृत्तिका सन्तानहरू आमाको कोखबाट नभएर समाजबाट जन्मिने बताउँछिन् ।

उनी भन्छिन्, ‘आमाको कोखबाट एक मानिसको जन्म हुन्छ । उ कस्तो हुने र के हुने भन्ने कुरा समाजले डोहोर्‍याउने हो ।’ पितृसतात्मक समाजले जन्माएका छोराछोरीहरूले आमाको चरित्रको लक्ष्मणरेखा कोर्ने उनी बताउँछिन् ।

‘आमाको योगदानको कदर गर्ने भन्दा आफूले कोरेका लक्ष्मणरेखा नाघ्ने आमालाई क्षणभरमै चरित्रहीन आइमाइ करार गर्छन्’, उनले भनिन्, ‘जस्तोसुकै परिस्थितिमा पनि आमाले आँसु पिएर बसेको देख्न रुचाउने समाजको संरचना छ ।’

ढकालले थपिन्, ‘त्यो संरचनाभन्दा फरक गएर कुनै आमाले कदम चालेको, आफ्नो इच्छालाई प्राथमिकतामा राखेको वा महिलाले खुसी भएको समाजले देख्न सक्दैन । यही समाजका उपार्जन हुन् सन्तान । उसले पनि आमा खुसी भएको देख्न सक्दैन र चरित्रमाथि धावा बोल्न थाल्छ ।’

समाजशास्त्री निर्मला ढकाल घरपरिवार भित्रको झगडा सामाजिक सञ्जालमा पोख्नु विक्षिप्त मानसिकताको प्रतिक भएको बताउँछिन् । के बोलें थाहा नहुने, तर सञ्जालमा टिक्न बोलिने यस्ता सस्ता झगडा मानसिक रूपमा कमजोर मानिसहरूले मात्रै गर्न सक्ने उनले बताइन्‌ ।

मानिसले आफ्नो धरातल बिर्सिएपछि यस्ता प्रतिक्रिया दिने ढकालको तर्क छ । ‘केही व्यक्तिहरू आफू कसरी जन्मिएँ ? कसरी हुर्किएँ ? परिवार के हो ? परिवार कसरी बन्छ ? भन्ने कुराको हेक्का राख्न नसक्दा यस्ता प्रतिक्रिया आउँछन्’, उनी भन्छिन, ‘हाम्रो समाजमा परिवार अथवा अभिभावकको महत्व धेरै मजबुत छ । परिवारको महत्व बुझेको मान्छे सञ्जालमा घरको कुरा लिएर आउँदैन ।’

यस्ता व्यक्तिहरूलाई गाली गर्नुभन्दा पनि मनोपरामर्श र उपचार आवश्यक पर्ने ढकालको भनाइ छ । सामाजिक सञ्जाल के हो ? यहाँ बोलिएका कुराहरूले भविष्यमा कस्तो अप्ठ्यारो हुनसक्छ भन्ने कुराहरू पनि बुझाउनुपर्ने उनले बताइन्‌ ।

गल्ती नै गरेको मान्छे पनि सुध्रिने, तर सञ्जालमा गालीगलौजमा उत्रिएपछि गल्ती गर्नेले सच्चिने मौका नै नपाउने ढकाल बताउँछिन् । पारिवारिक पुनर्मिलनको सम्भावना नै अन्त्य हुने उनको भनाइ छ ।

परिवारभित्रको कुरा लिएर सञ्जालमा आउन नहुने ढकालको सुझाव छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १ : १३ बजे

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको