बहसमा आर्थिक कूटनीति : भारतलाई हेर्ने भाष्य बदल्न माग « Khabarhub

बहसमा आर्थिक कूटनीति : भारतलाई हेर्ने भाष्य बदल्न माग


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतसँगको आर्थिक सम्बन्धलाई बलियो बनाउन नेपालले उसलाई हेर्ने भाष्यमा नै परिवर्तन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

‘इस्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च’ (आईएसएसआर) तथा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक एण्ड इन्भारोमेन्टले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल–भारत व्यापारको आर्थिक कूटनीति स्थिति’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले ५० वर्षदेखि नेपालले भारतलाई हेर्ने दृष्टिमा परिवर्तन गर्न नसकेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीश पोखरेलले आर्थिक कूटनीतिलाई राजनीतिक ढंगले व्याख्या गर्दा समस्या देखिएको बताए । देशको मुख्य प्रशासनिक केन्द्र पुरानै ढर्राबाट माथि उठन नसक्दा नीतिगत रुपमा उल्लेख्य परिवर्तन हुन नसकेको उनको भनाइ छ ।

पोखरेलले भने, ‘लामो समयदेखि हामीले कूटनीतिक तवरबाट जे गरिरहेका छौं, यसमा पश्चाताप मान्नुपर्ने अवस्थाको सिर्जना भएको छ । यो हाम्रो नीतिगत तहमा देखिएको समस्या हो ।’

डा. पोखरेलले नेतृत्व सामाजिक सञ्जाल तथा नकारात्मक पक्षसँग डराउँदा सही कुरा बोल्न डराएको तर्क गरे । नीतिगत तहमा बस्ने व्यक्ति बाह्य पक्षबाट प्रभावित हुँदा भारतसँगको आर्थिक कूटनीति कमजोर भएको पोखरेलको भनाइ छ ।

कार्यक्रममा बोल्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ५० वर्षअघिको सोचबाट ग्रसित हुँदा देशले कुनै पनि पक्षमा फड्को मार्न नसकेको तर्क गरे ।

सांसद यादवले भने, ‘पछिल्लो समय नेपालमा राष्ट्रवादको गलत परिभाषा गरिएको छ, यसबाट सारा देश ग्रसित छ । फलस्वरुप सामान निर्यात गनुपर्ने ठाउँमा हामीले युवालाई निर्यात गरिरहेका छौं ।’

पूर्ववाणिज्य सहसचिव रविशंकर सैंजुले नेपाल–भारतबीच हाल कायम रहेका भन्सार बिन्दु धेरै रहेको तर्क गरे । अनावश्यक भन्सार हुँदा नियमन गर्न समस्या हुने उनको तर्क थियो । भारतसँगको आर्थिक गतिविधिलाई सहज बनाउन अहिलेको राजस्व नीतिमा परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।

पाम तेलका कारण भारतसँग बढेको निर्यातले नेपालको व्यापार घाटा नघटने बताउँदै सैंजुले भने, ‘भारतमा जे कुराको माग छ, हामीले सोही कुराको उत्पादनमा जोड दिनुपर्छ । माग अनुसारको उत्पादन गर्दा मात्रै भारतसँगको आर्थिक पक्षलाई सहज बनाउन सकिन्छ ।’

कार्यक्रममा बोल्दै राजनीति विश्लेषक अरुण सुवेदीले नेपालको व्यापार साझेदार भारतबाहेक अर्को प्रमुख देश नभएको बताए । उनले भने ‘कूटनीतिक रुपमा यो सम्बन्धलाई सुमधुर बनाउनुपर्ने देखिएको छ ।’

नेपालको राजनीतिक इतिहास हेर्दा भारतलाई शत्रुता करार गर्ने देखिएको भन्दै सुवेदीले राजनीतिक कारणले हरेक नेपालीको भारतलाई हेर्ने नजर गलत भएको बताए । उनले भने, ‘जबसम्म हामीले भारतलाई हेर्ने भाष्य जनस्तरसम्म परिवर्तन गर्न सक्दैनौं, तबसम्म भारतसँगको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्ध स्थापित हुन सक्दैन ।’

कार्यक्रममा बोल्दै आर्थिक मामिलाका जानकार विनोद कुमार सेटियाले नेपालको भन्सार प्रणालीमा समस्या हुँदा आर्थिक गतिविधि प्रभावित बन्न गएको बताए ।

नेपालले भारतसँग प्रतिस्पर्धा गरेर उत्पादन गर्न र व्यापार गर्न नसक्ने अवस्थामा उर्जा र पर्यटनलाई आर्थिक पक्षको बलियो पाटो बनाउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो ।

सेटियाले भने, ‘हाल नेपालको पर्यटन उद्योगमा भारतले ३० प्रतिशत हिस्सा ओगटेको छ । यसलाई बढाउन हामीले नीतिगत रुपमा काम गर्नुपर्नेछ । भारतीय पर्य्टकलाई नेपालमा धेरैभन्दा धेरै खर्च गर्न दिइनु पर्ने भए पनि उताबाट ल्याउन दिने रकमको सीमा न्यूनतम बनाइएको छ । जसले आर्थिक गतिविधिमा प्रभाव पारेको छ ।’

आर्थिक कूटनीतिका जानकार शतिश जोशीले आर्थिक कूटनीतिमा देश पछाडि रहेको बताए । पछिल्लो समय भारतसँग गरिएको उर्जा सम्झौता १० वर्ष अगाडी नै गर्नुपर्ने भन्दै यो निकै ढिला भएको र यसको कार्यान्वयनमा अहिले पनि शंका उब्जिएको तर्क गरे ।

नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सिर्जना राणाले भारतसँगको आर्थिक कूटनीतिलाई मजबुद बनाउन पहिला देशको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताइन् ।

कूटनीतिक तबरमा काम गर्न खोलिएका सरकारी कार्यालयको जिम्मेवारी के हो भन्ने विषयमा नै अन्योल रहेको भन्दै त्यस्ता कार्यालयबाट प्रदान हुने सेवाका विषयमा र सो कार्यालयले गर्ने कामका विषयमा सबै जानकार हुनुपर्ने उनले बताइन् ।

उनले धार्मिक पर्यटनको विकास र पूर्वाधारको संरचनात्मक सुधारमा जोड दिइन् ।

यो पनि- 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : २८ बजे

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको