निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण, फेरियो स्थानीयको दैनिकी | Khabarhub Khabarhub

निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण, फेरियो स्थानीयको दैनिकी


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छ । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ–घर गर्थिन् । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो । तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ ।

पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको  दैनिकी नै सहज बनेको छ । अधिकांश समय बारी र गोठामा बिताउने उहाँ दिनमा १०–१२ पटक खोला वारपार गर्छिन । पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उनीमा अझै छ । तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन । खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ ।

पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उनको भनाइ छ । पहिले बर्खाको समयमा धेरै पशुचौपाया खोलाले बगाई दिएको घर्ती मगरले बताइन् । उनले विगतको सम्झना गर्दै भनिन्, ‘हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे ।’

विसं २०७६ पछि निसीखोलामा झन्डै दुई दर्जन झोलुङ्गे पुल निर्माण भएका छन् । जसले यहाँका हजारौँ स्थानीयको दैनिकी सहज बनाइदिएको छ ।

गाउँपालिकाको ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

निसीखोला गाउँपालिका–४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्ने गथ्र्यो तर पुल नहुँदा स्थानीयले झन्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए ।

अहिले जोगिथुम्पाका–बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुङ्गे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ । पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोला नै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दङ्ग परेको स्थानीय तीर्थबहादुर क्षेत्रीले बताए ।

पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएको स्मरण गर्दै अहिले हिउँद, बर्खा बाह्रै महिना वारपारमा सहज भएको उनी बताउँछन् ।

चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुङ्गे पुल बनेका छन् । आर्थिक वर्ष २०७५–७६ देखि हालसम्म वडा नं १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाटआठबोरघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं २ मा खोर्घाघाट, धौलाघाटखग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।

उनका अनुसार वडा नं ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाटमगराखोलाघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं ३ मा गहतेराखोलाघाटढुवाखोरघाट, वडा नं ४ मा कारीखोलाघाट, वडा नं ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नं ५ मा यारीखोलामा झोलुङ्गे पुल निर्माण गरेको गौतमको भनाइ छ । सङ्घीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उनको भनाइ छ ।

उनले पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको बताए । आर्थिक वर्ष २०७९–८० देखि हालसम्म निर्माण भएका सातवटा झोलुङ्गे पुलको एक करोड ७६ लाख भुक्तानी दिन बाँकी रहेको गौतमले बताए । सङ्घीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकिएको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विगतमा यस गाउँपालिका पछाडि पर्दा झोलुङ्गे पुल बन्न नसकेको भन्दै स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको बताउँछन् ।

उनले नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको भन्दै अब कुनै पनि नागरिकले पुल नभएका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताए ।

निसीखोलामा स–साना दर्जनौँ खोला रहेको भन्दै सबै ठाउँमा पुल निर्माण गर्दै आएको उनको भनाइ छ । पुल निर्माण भएपछि घण्टौँको यात्रा पाँच–दश मिनेटमै छोटिएको अध्यक्ष घर्ती मगरले बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ५१ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ