मौरी व्यावसायबाट लाखौं आम्दानी « Khabarhub

मौरी व्यावसायबाट लाखौं आम्दानी


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरी पालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा  दस हजारको लगानीमा दुई वटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रूपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ ।

‘मौरीको स्थानीय स्रोत केन्द्रका रूपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ’, ४२ वर्षीय लामिछानेले भने, ‘उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४/२५ लाख जति आम्दानी छ ।’ उद्योगमा छ जनाले रोजगारी पाएका छन् । लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लीन छन् ।

कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिएका लामिछाने अहिले आफै रोजगारदाता बन्न सफल भएका हुन्। ‘यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ’, उनले भने, ‘कुनै याममा त गोलासहितको मौरीघारको माग पुर्‍याउनै धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एक छिन फुर्सद हुँदैन ।’

मौरीसहितको आधुनिक घारको बजार मूल्य दस हजार रुपैयाँ र घारको मात्र चार हजार रुपैयाँ तोकिएको उनले बताए । ‘गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरूबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ’, उनले भने । मह मात्रै बेचेर वर्षमा आठदेखि दस लाख रुपैयाँसम्म कमाइ हुने गरेको लामिछानेले सुनाए ।

उद्योगबाट प्रतिकिलो एक हजार पाँच सय रुपैयाँमा मह बिक्री हुने गरेको छ । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उनको भनाइ छ । उनका अनुसार उद्योगमा अहिले तीन सय ५० घार मौरी छन् । वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ । मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उनको भनाइ छ । वर्षको दुई याममा मह उत्पादन हुन्छ । उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टापीलगायत सामग्री पनि बेच्ने गरिएको छ ।

लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका छन् । स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उनको भनाइ छ । स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेका उनले बताए । उनले मौरीपालन गर्न चाहने किसानलाई तालिम पनि दिन्छन् । उत्कृष्ट मौरीपालक किसानका रूपमा उनी देश विदेशमा सम्मानित भएका छन् ।

विसं २०७३ मा राष्ट्रिय युवा परिषद्ले ५० हजार रुपैयाँ नगदसहित उनलाई सम्मानित गरेको थियो । ‘सम्मान ग्रहणका लागि जापान पनि पुगेँ’, उनले भने, ‘मह सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकालगायत युरोपका विभिन्न देश घुम्ने अवसर पाएँ ।’ मौरीलाई शरीरमा राखेर पनि उनी बेलाबेलामा चचार्मा आउने गर्छन् । उनको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो ।

‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । ‘महानगरले पनि किसानलाई उनकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको छ, यहीँ स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ’, उनले भने ।

प्रमुख कडरियाले मौरी पालनमा लाग्न चाहने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताए । ‘उहाँ धेरै ठाउँमा पुरस्कृत र सम्मानित भइसक्नुभएको छ, उहाँ मौरीपालन सम्बन्धी तालिमका लागि पनि पोख्त हुनुहुन्छ’, प्रमुख कडरियाले भने, ‘मौरीपालन व्यवसाय प्रवर्द्धनका गतिविधिमा पनि उनको सक्रियता राम्रो छ ।’

महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घारलगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उनको भनाइ छ । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरी पालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताए ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : २६ बजे

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको