बङ्गलादेशलाई बेचिँदै नेपाली बिजुली, आगामी सातादेखि ४० मेगावाट निर्यात | Khabarhub Khabarhub

बङ्गलादेशलाई बेचिँदै नेपाली बिजुली, आगामी सातादेखि ४० मेगावाट निर्यात

भारतले स्वीकृति नदिँदा ढिलाइ



काठमाडौं– अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने भएको छ । नेपालले भारतपछि बिजुली तेस्रो देश अर्थात् बङ्गलादेशलाई बिजुली बेच्न लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साताभित्र ४० मेगावाट बिजुली निर्यात सुरु गर्ने गरी तयारी थालिएको छ। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बङ्गलादेशमा बिजुली निर्यात बिहीबारबाटै थाल्ने तयारी भए पनि भारतको स्वीकृति नआउँदा केही दिन ढिलाइ भएको खबरहबलाई जानकारी दिए ।

एक साताभित्रै बङ्गलादेशतर्फ ४० मेगावाट बिजुली निर्यात भइसक्ने उनले बताए । ‘४० मेगावाट बिजुली बिहीबारबाटै गर्ने तयारी थियो । तर भारतबाट स्वीकृति नआउँदा केही दिन ढिलो हुने भएको छ,’ उनले भने, ‘अर्को सातादेखि बङ्गलादेशमा बिजुली निर्यात सुरु हुन्छ ।’

नेपालले यसअघि भारतीय बजारमा मात्रै बिजुली निर्यात गर्दै आएको थियो । अब भने भारतको बाटो हुँदै बङ्गलादेशसम्म ४० मेगावाट बिजुली निर्यात सुनिश्चित भइसकेको छ ।

बङ्गलादेशमा बिजुली पठाउन नेपालले भारत सरकारको क्रसबोर्डरसम्बन्धी ऊर्जा व्यापार निर्देशिका बमोजिमका व्यवस्था पालना गर्नुपर्छ । नेपालको बिजुली भारतको ट्रान्समिसन लाइनमार्फत बङ्गलादेश पुग्ने भएकाले भारत सरकारको ऊर्जा व्यापार निर्देशिका पालना गर्नुपर्ने प्रवक्ता घोषले बताए । उक्त निर्देशिका भारत सरकारबाट स्वीकृत भइ नआइन्जेल केही दिन विद्युत निर्यातमा ढिलाइ भएको उनले बताए ।

त्रिदेशीय ऊर्जा व्यापार भएकाले केही दिन ढिलाइ भएको घोषको भनाइ छ । उनका अनुसार भारतका दुई सरकारी निकायहरू पावर मिनिस्ट्री र भारतको परराष्ट्र मन्त्रालयबाट उक्त निर्देशिका स्वीकृति भई आउनुपर्छ । नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको नेपाल विद्युत् प्राधिकरणले भारतीय सरकारी निकायसँग विद्युत् व्यापारका लागि अनिवार्य स्वीकृति लिनुपर्छ ।

गत असोज १४ गते नेपाल, भारत र बङ्गलादेशी प्रतिनिधिहरूबीच नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौता सम्पन्न भएको थियो ।

यो पनि –

बंगलादेशसँग विद्युत् व्यापार सम्झौता, १० वर्षमा ५ हजार मेगावाट लैजाने लक्ष्य

निकै कोशेढुंगा मानिएको उक्त त्रिपक्षीय सम्झौतापछि नेपालले ४० मेगावाट बिजुली निर्यातका लागि तयारी गर्दै आएको छ । बिजुली बिक्रिगरेबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीए), बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड(बीपीडीबी) र नेपाल विद्युत् प्राधिकरणबीच त्रिदेशीय सम्झौता भएको थियो ।

सम्झौतासँगै नेपालले वर्षायाममा ५ महिनाको बिजुली बङ्गलादेश पठाउने बाटो खुलेको छ । नेपाल र भारतको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बङ्गलादेश जानेछ ।

बिजुली निर्यात गर्न प्राधिकरणको विद्युत् मिटरचाहिँ मुजफ्फरपुरमा राखिएको छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइन बेहरामपुर–भेडामारा ४०० केभी प्रसारण लाइन हुँदै नेपालको बिजुली बङ्गलादेश पुग्नेछ ।

कुन–कुन आयोजनाबाट निर्यात ?

प्राधिकरणले भारतीय अनुदानमा निर्मित आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बेच्न लागेको हो ।

२५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट नेपालले ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्नेछ । ती दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेको प्राधिकरण स्रोतले जनाएको छ ।

यसअघि नेपालले बिजुली निर्यात निम्ति अनेक पहल र सम्झौता गर्दै आइरहेको थियो । अन्ततः नेपालले भारतपछि तेस्रो मुलुकमा बिजुली बेच्दैछ । यसले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन् ।

ऊर्जाविज्ञ सूर्य अधिकारीले भारतपछि नेपालले बङ्गलादेश बिजुली निर्यात सुनिश्चितता गर्ने प्राधिकरणको कदम स्वागतयोग्य रहेको बताए ।

‘बङ्गलादेश बिजुली निर्यात गर्ने कदम निकै स्वागतयोग्य छ । सरकारलाई धन्यवाद भन्नुपर्छ,’ उनले भने, ‘४० मेगावाट बिजुली बङ्गलादेशलाई बेच्दा नेपालको अर्थतन्त्रमा केही योगदान अवश्य पुग्छ ।’

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ३ : ३२ बजे

गैँडाको खागसहित एक जना पक्राउ

मनहरी – चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित

४१ देशका लागि संसदीय मैत्री समूह गठन

काठमाडौं– संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ

धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी

देउखुरी– धान झुल्ने खेत यतिबेला लटररम्म कागती दाना पहेँलै भएका

रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम अन्तर्गतको सबै जिल्ला