‘कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरौं’ | Khabarhub Khabarhub

‘कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरौं’

‘निर्वाचन प्रणाली फेरेर चुनावमा जाऔं’



नेपाली कांग्रेस र नेकपा एमालेबीच आजको दिनमा कसले कसलाई झुक्याउने भन्ने प्रतिस्पर्धा छ । संविधान बनाइसकेपछि हामीले एकले अर्कालाई झुक्याउने काम गर्‍यौं  ।

केपी ओलीजी प्रधानमन्त्री हुनुभयो । उहाँ प्रधानमन्त्री भइसकेपछि माओवादीलाई ब्रेक गरेर हामीले प्रचण्डजीलाई प्रधानमन्त्री बनायौं । हाम्रो पालामा प्रधानमन्त्री चलाउँदा चलाउँदै प्रचण्डजीका मान्छेहरु ओलीजीले लिएर जानुभयो । ओलीजीले गठबन्धन गरेर चुनाव लड्नुभयो ।

चुनावपछि उहाँहरु (ओली र प्रचण्ड) मिल्न सक्नुभएन । फेरि हामीले उहाँहरुका फुटेका र छुट्टिएका मानिसहरु भेला गरेर संविधान जोगाउने नाममा सरकार बनायौं । सरकार बनाएर गठबन्धन बनायौं अनि चुनाव लड्यौं । चुनावमा जयनेपाल भनेको लालसलाम हो, लालसलाम भनेको जयनेपाल हो भन्यौं हामीले ।

चुनावपछि सरकार बनाउने बेलामा फेरि प्रचण्डजी हामीलाई छाडेर ओलीको समर्थनमा प्रधानमन्त्री बन्नुभयो । फेरि हामीले तपाईलाई ओलीले फसाउनुहुन्छ भनेर प्रचण्डजीलाई फकायौं । उहाँ फेरि हामीतिर आउनुभयो । हामीसँग बस्दाबस्दै प्रचण्डजीलाई फेरि अर्कोतिर गएर सजिलो काँधमा चढिहालौं जस्तो लाग्यो ।

अब यो परिस्थितिलाई कांग्रेस र एमालेले एकचोटि गम्भीरतापूर्वक सोच्नुपर्नेबेला आयो । हामीले यही खेल खेलिराख्ने हो कि होइन ? यही खेल खेलिराख्ने हो भने सधैं यही खेल चल्छ । यही खेल चलिरह्यो भने आज मुलुकमा जुन तहको निराशा छ, त्यो बढेर जान्छ ।

किन बढिरहेको छ  निराशा ?

म अहिले मुलुकको अर्थतन्त्र त्यत्रो खराब अवस्थामा देख्दिनँ । कोभिड आयो । कोभिड पछाडि रुसले युक्रेनमाथि गरेको आक्रमणबाट दुनियाँको अर्थतन्त्रमाथि समस्या आयो । त्यसको असर हामीकहाँ पनि आउँदा पर्यटन लगायतका क्षेत्रमा केही समस्याहरु आए । यो बाहेक अहिले हाम्रो अर्थतन्त्र ठीक ठाउँमा हिँड्न सक्ने अवस्थामा पुगेको छ ।

तर, यति हुँदाहुँदै पनि जनतामा निराशा यति हदसम्म चुलिएको छ कि मान्छे यहाँबाट निस्केर जहाँ जान पाए पनि तयार छ । हरेक दिन दुई हजार÷बाइस सय मान्छे निस्केर (विदेश) गइरहेका छन् । दिनको तीन सय विद्यार्थी बाहिर जाने परिस्थिति छ । एकातिर देशको आधारभूत तथ्यांक हेर्‍यो भने त्यत्रो खराब देखिन्न । तर, यो देशमा बसेर पार लाग्दैन भनेर मान्छेमा मनोवैज्ञानिक त्रास बढ्दै गएको छ ।  यो किन भइरहेको छ भने जनतालाई यो लागेको छ कि राजनीतिक दलहरु हाम्रो समस्याका बारेमा गम्भीर छैनन् । राजनीतिक दलहरु एक अर्कालाई झुक्याएर सत्तामा बस्ने कुरामा मात्रै केन्द्रित छन् ।

आज अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने भन्दा पनि यो चाँडै सुध्रिँदैन भन्ने मानिसहरुमा चिन्ता छ । सरकारमा भएका दलहरुको सत्तामा कसरी टिक्ने, कसले कसलाई झुक्याउने अनि यसले मलाई धोका दिन्छ कि भनेर बस्ने स्थिति छ ।

गठबन्धन बनाएर बस्नेले अर्कालाई झुक्याउन र छक्याउन सकिन्छ कि भनेर होसियार हुनुपरेको छ । बाहिर हुने दलले कहिले फुटाउन सकिन्छ भनेर खेलेर बसिराख्नुपर्ने स्थिति छ । यसले गर्दा कसैमा पनि ढुक्क साथ देशका बारेमा सोचौं, जनताका बारेमा सोचौं भन्ने भएन । आफ्नै पद जोगाउने बाहेक अरु चिज हुन सकेन ।

यसले गर्दा देश विकासको, निर्माणको कुरा प्राथमिकताभन्दा बाहिर पर्‍यो । एकछिन भाषण गर्ने बेलामा देश विकासको कुरा गर्ने, घर फर्केर आउनेवित्तिकै आफ्नो जागिर के हुन्छ, प्रधानमन्त्री पद रहन्छ कि रहँदैन, भोलि मेरो भागमा प्रधानमन्त्री आउँछ कि आउँदैन, अरुले खेल्न थालेको छ कि छैन, यही चिन्तामा बसेपछि त काम नहुने भयो नि ।

अर्को, देशमा यति हदसम्मको भ्रष्टाचार भएको छ कि अर्थतन्त्रमा पनि त्यसको प्रभाव देखिएको छ । जसका घरमा चोरीबाटोबाट आउने कमाइ पुग्दैन, चाहे व्यवसाय गरेर होस्, चाहे राजनीतिक, प्रशासनिक ओहोदामा रहेको मान्छे होस्, अथवा बाहिरबाट आउने बिप्रेसनको आम्दानी नपाउने मान्छे होस्, उसका लागि त अहिले सबैतिर अन्धाकार जस्तो छ । सबैतिर मान्छे खर्च गरिराखेको छ, सँगै आफूचाहिँ कुनै पनि बाटो देख्दैन, ऊ आत्तिएर निराश हुने गरेको छ । यस्तो किसिमको परिस्थिति छ कि चोरी गर्नेबाहेक केही पनि छैन ।

अहिले नेताहरुले किन डराउनुपर्‍यो ? जनता रिसाएर उनीहरुको सत्ता जाँदैन ।

नेपाली कांग्रेसको ७ प्रतिशत कम मत खस्यो तर, २३ सिटबाट हामीले ५७ सिट जित्यौं । संसदको सबैभन्दा ठूलो पार्टी बन्यौं, यसकारण कि हामीले गठबन्धन गर्‍यौं । ७ प्रतिशत भोट घट्दा पनि सबैभन्दा ठूलो पार्टी बनियो । एमालेको पनि भोट भट्यो । यसरी कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपाको भोट घट्ने तर मत प्रतिशत घट्दाखेरि पनि गठबन्धन भएको कारणले गर्दा कोही चाहिँ सत्तामा पुग्ने । विगतमा एमाले र हाम्रो बराबरीजस्तो मत थियो, हामीले २३ सिट जित्यौं, एमालेले ८० सिट जित्यो ।

यो ठाउँबाट राजनीतिलाई झिक्नुपर्ने छ । यो झिक्न सकियो भने मात्रै शासन ठीक ठाउँमा आउँछ । जनतातर्फ ध्यान हुन्छ । विकास र समृद्धितर्फ ध्यान हुन्छ । आर्थिक कार्यक्रमतर्फ ध्यान हुन्छ । काठमाडौंका बैठकतिर ध्यान हुन्न । त्यसैले अब कहीँ न कहीँ हामीले गम्भीरतापूर्वक सोच्नुपर्‍यो र यसरी नजाने किसिमको राजनीति सिर्जना गर्नुपर्‍यो ।

त्यस्तो राजनीति कसरी सिर्जना गर्न सकिन्छ ?

यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेले संरचनागत रुपमा बराबरी हैसियतको खेल मैदान तयार पार्नुपर्‍यो । कसैका लागि भिरालो नहुने गरी राजनीति खेल्ने ठाउँ बनाउनुपर्‍यो । यसका लागि अहिलेको निर्वाचन प्रणालीमा केही समस्याहरु छन् ।

अहिलेको निर्वाचन प्रणालीबाट बहुमत नआएपछि कांग्रेसले गठबन्धन बनाउन सके कांग्रेसले र एमालेले बनाउन सके एमालेले अनि दुइवटैको काँध फेर्दै चढ्ने माओवादीकै हैसियतको १०–११ प्रतिशत भोट ल्याउने अर्को पार्टी पनि आउला । यसलाई हटाउनका लागि २७५ सदस्यीय प्रतिनिधिसभालाई सानो संख्यामा घटाउनुपर्छ ।

प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रलाई घटाउन सकिँदैन, ११० सिटको समानुपातिकलाई घटाउनुपर्ने हुन्छ । समानुपातिक प्रणाली हामीले यसकारण ल्याएको हो कि विभिन्न पहिचानका समुदायहरुको प्रतिनिधित्व होस् । महिला, दलित, अल्पसंख्यक वा पहाड र मधेसका समुदाय, जसलाई प्रतिनिधिसधामा चुनिएर आउन कठिन छ, त्यो समुदायलाई सहजरुपमा प्रतिनिधिसभामा आउने बाटो बनाउनुपर्छ । उनीहरु आउन सकेनन् भने साँच्चैको अर्थमा प्रतिनिधिसभा हुँदैन । यही भनेर हामीले मिश्रित निर्वाचन प्रणाली अपनाएको हो । त्यसैले हामीले समानुपातिकतर्फको ११० सीटलाई कतिसम्म घटाउँदा महिला, दलित र पहाड तथा मधेसका अल्पसंख्यकहरुलाई दुष्प्रभाव नपर्ने गरी घटाउन सकिन्छ, त्यतातिर जानुपर्छ ।

यसमा मलाई के लाग्छ भने ०४७ सालको संविधानमा महिलाका लागि प्रतिनिधिसभाको उम्मेदवारीमा ५ प्रतिशत सिटमा आरक्षण थियो । पछि संविधानसभामा १० प्रतिशत थियो, त्यसलाई हामीले एकाएक झिकिदियौं । एकातिर राष्ट्रियसभा र प्रतिनिधिसभामा महिलाहरुको एक तिहाई संख्या सुनिश्चित गर्नुपर्‍यो भनेका छौं, अर्कोतिर प्रतिनिधिसभामा चुनाव लडाउँदा महिलाका लागि यति सिट दिनुपर्छ भन्ने चाहिँ उनीहरुको भाग झिक्यौं, त्यसो गर्नु भएन ।

कांग्रेस र एमाले सत्ता र बलियो प्रतिपक्षमा बस्नुपर्छ भन्ने विचारलाई केही समयलाई थाती राखेर यो अव्यवस्थालाई ठीक बाटोमा ल्याऔं र संविधान जोगाऔं

प्रत्यक्षमा हिजो महिलालाई १० प्रतिशत दिएका थियौं भने त्यसलाई २० प्रतिशत बनाऔं । राजनीतिक पार्टीले आफू जति सिटमा चुनाव लड्ने हो, त्यसको एक चौथाई या ३३ जनालाई चुनाव लडाउनुपर्ने व्यवस्था गरौं । महिलालाई चुनाव लडाउनैपर्ने बाध्यता हुनेवित्तिकै कम्तिमा १५/१६ सिटमा महिलाले जित्छन् । ७ वटा प्रदेशबाट २१ जना आउने भइसकेपछि समानुपातिकबाट अहिलेको जस्तो ठूलो संख्यामा ल्याउनुपरेन, त्यसलाई घटाउन सकिन्छ ।

समानुपातिकमा दलितहरुको संख्या नघटाऔं । अल्पसंख्यक मधेसी पनि नघटाऔं । अल्पसंख्यक पहाडी समुदाय पनि नघटाऔं । तर, खसआर्यमा घटाउन सकिन्छ । जनजातिमा पनि जुन जातिहरु सहजरुपमा निर्वाचन जितेर आउँछन्, तिनलाई घटाउन सकिन्छ । मधेसमा पनि सहजरुपमा चुनाव जितेर आउने जातिको संख्या घटाउन सकिन्छ । यसो गरियो भने हामीले अहिले ११० सिट रहेको समानुपातिक सांसदको संख्या ६० मा झार्न सक्छौं । दलितको पनि प्रतिशत घट्दैन, महिलाको पनि घट्दैन । र, कांग्रेस–एमालेजस्ता पार्टीहरु बहुमत वा बहुमतको नजिक पुग्ने अवस्था आउँछ ।

यो भयो भने कांग्रेस वा एमाले कसैले पनि गठबन्धन बनाएर चुनाव लड्दैनन् । गठबन्धन बनाएर चुनाव नलड्नेवित्तिकै कसले कसलाई झुक्याउने भन्ने राजनीति पनि समाप्त हुन्छ । त्यसपछि जनता खुशी भए सत्ता पाइने, जनता रिसाए सत्ता जाने भएपछि जनताको काम गर्ने कुरामा दलका नेताहरुको ध्यान जान्छ । अर्को पार्टीको नेतालाई खुशी पारेर सत्ता लिने भन्दा जनतालाई खुशी पारेर सत्ता लिने बाटोमा हामी जान्छौं । र, सही बाटोमा राजनीतिलाई सोझ्याउन सकिन्छ भन्ने लाग्छ । तर, यो निर्वाचन प्रणालीलाई नसच्याउने हो भने सत्ताबाट अलिकति केही हुँदाखेरि पनि चिप्लिने स्थिति आइरहन्छ । यसैगरी चिप्लिने हो भने देशको हालत के होला ?

ओलीले संसद विघटन गरेकै बेला मध्यावधिमा जानुपर्नेरहेछ

केपी शर्मा ओलीले गरेको संसद विघटन गल्ती थियो, संविधानसम्मत थिएन भनेर नेपाली कांग्रेसले विघटनमा असहमत हुने दलहरुसँग मिलेर दुईपटक प्रतिनिधिसभा पुनःस्थापना त गरायो । तर, त्यसपछि संविधान तलमाथि नभए पनि सरकार/सत्ताको आनन्द र ढलिमली गरेर बसेपछि सिद्धान्त बिर्सेर जो जोसँग पनि मिल्न सक्ने भनेर सरकार बनाउन थालियो ।

कांग्रेस र माओवादी एक ठाउँमा बसेर गठबन्धन बनाइयो । त्यतिमात्रै होइन, केही दिन अघिसम्म सत्तामा सँगै भएको उपेन्द्र यादवजीको पार्टी ओलीजीकहाँ पुग्यो । लोसपा यतातिर गयो । जसले जता गए पनि हुन्छ भन्ने भयो ।
भनेपछि, हाम्रो पार्टी के कारणले छ ? के कारणले बनाइएको पार्टी हो यो ? समाजलाई कुन बाटोमा लिएर जान खोजेको हो ? यी सबैचिज बिर्सेर सत्ता कसरी प्राप्त हुन सक्छ भन्ने बाहेक अरु चिज हेरिएन । त्यसकारण अब सत्ताको लोभको कारणले चिप्लिने अवस्थाबाट पनि हामी बाहिर निस्कन जरुरी छ ।

म प्रधानमन्त्रीसँग संसद विघटन गर्ने केही अधिकार हुनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । तर, संविधानमा त्यो लेख्न खोज्दाखेरि मुख्यतः माओवादी र एमालेले त्यो लेख्न पाइँदैन भनेर कुनै पनि हालतमा बहुमतको सरकार बन्ने अवस्थासम्म संसद विघटन गर्न नपाइने प्रावधान लेख्नुभयो । त्यही प्रावधानअनुसार नै संसद पुनःस्थापना हुनुपर्छ भनेर म चर्कोसाथ लडें ।

तर, अहिले फर्किएर हेर्दाखेरि संविधानअनुसार नभए पनि मध्यावधि निर्वाचन गराउन दिएको भए के हुन्थ्यो त ? जुनबेला ओलीले संसद विघटन गर्नुभएको थियो, निर्वाचन निष्पक्ष हुने ग्यारेन्टी गरेर चुनावमा गएको भए यो फजुलको गठबन्धन गर्ने धन्दा त त्यहीबेला सकिन्थ्यो ।

त्यसैले, अहिले फर्किएर हेर्दाखेरि संविधान र कानुनका निष्प्राण र निर्जीव अक्षरहरुबाट मात्रै राजनीतिक समाधान खोज्न नहुनेरहेछ । हामीले अक्षरशः त्यसको समाधान खोज्ने कोसिस गर्‍यौं । त्यसको सट्टा केही दिन राजनीति संविधानभन्दा बाहिर गए पनि जनताले निर्वाचनबाट एउटा निर्णय गरेर पठाउने थिए र यो फजुलको संस्कृति सदनका लागि अन्त्य हुन्थ्यो । त्यसबेला ओली पनि गठबन्धन गर्न तयार हुनुहुन्नथ्यो, हामी पनि तयार थिएनौं । उहाँहरु (एमाले–माओवादी) पनि भर्खर छुट्टिनुभएको थियो, हामी पनि गठबन्धन गर्ने अवस्थामा थिएनौं ।

संविधानमा संसद विघटन गर्न पाइँदैन लेखेकै थियो, अदालतले त्यही कुरा दुई–दुईपटक प्रमाणित गर्‍यो। तर, त्यो निर्जीव र निष्प्राण अक्षरहरुभन्दा राजनीतिक समाधान खोज्नुपर्नेरहेछ । त्यो बेला हामीले राजनीतिक समाधान खोज्न सकेनौं ।

बिरालाको घाँटीमा कसले बाँध्ने घण्टी ?

संविधान संशोधन गरेर निर्वाचन प्रणालीलाई बदल्न कसले सक्छ ? जसले दुईतिहाई मत जुटाउन सक्छ उसैले सक्छ । आजको दिनमा कांग्रेस र एमाले सँगै नआइकन दुईतिहाई मत जुट्न सक्दैन । त्यसैले मैले देखेको अबको समाधान भनेको संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्ने नै हो ।

पहिले अर्को गठबन्धन थियो, अहिले अर्को गठबन्धन बनेको छ । भोलि यसले अर्को स्वरुप लेला, यी सबै कुरा त समय सन्दर्भमा फेरिइराख्ने भए, तर नेपालमा हामीले जुन किसिमको संविधान बनाएका हौं, त्यो कांग्रेस र एमालेकै नेतृत्वमा बनेको हो ।

यही संविधान अनुसारको व्यवस्था चलाउने हो भने म फेरि दोहोर्‍याएर भन्छु– एकपल्ट दुईवटा पार्टीले कसैलाई भिरालो र अक्कर पर्नेखालको नभइकन बराबरीको मैदानमा ‘लेबल प्लेइङ फिल्ड’ मा राजनीतिक प्रतिस्पर्धा गर्न सक्नेखालको व्यवस्था निर्माण गरौं । र, केही समयका लागि कांग्रेस र एमाले एकठाउँमा आएर मुलकमा चाँडै एउटा स्वस्थ निर्वाचन गरौं यो बाहेक अर्को समाधान छैन ।

आजको दिनमा कांग्रेस र एमालेको प्रतिस्पर्धा छ भनेर होइन कि यो संविधानलाई जोगाउनका लागि संविधान संशोधन तुरुन्त गर्नुपर्ने आवश्यकता भएको छ । त्यसकारण कांग्रेस र एमाले सत्ता र बलियो प्रतिपक्षमा बस्नुपर्छ भन्ने विचारलाई केही समयलाई थाती राखेर यो अव्यवस्थालाई ठीक बाटोमा ल्याऔं र संविधान जोगाऔं ।

निर्वाचन प्रणाली आगामी निर्वाचनभन्दा अगाडि संशोधन गर्नुपर्छ । त्यो संशोधन गर्नका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ

नभए थरीथरीका, दाहिनेतर्फका र देबे्रतर्फका उग्रवादीहरु अथवा जातजातिका विभिन्न नाममा राजनीति गर्नेहरुको एकछिनको भडकावमा साह्रै दुःख गरेर बनाएको संविधान जोखिममा पर्छ भन्ने चिन्ता छ । यस अर्थमा समाधान खोज्नुपर्छ । आज जसको सरकार भए पनि केही फरक परेन, छिटै देशको राजनीति त्यो बाटोमा पुग्नुपर्छ भन्ने लाग्छ ।

कांग्रेस र एमालेको ‘लेबल प्लेइङ फिल्ड’ भनेको त्यही निर्वाचन प्रणाली हो । यसमा प्रचण्ड फकाएर, ओली फकाएर, देउवा फकाएर, उपेन्द्र फकाएर, महन्थ फकाएर, रवि फकाएर सरकारमा बस्न सकिन्न, जनता फकाएर मात्रै बस्न सकिन्छ । उत्तरदायित्व जनतासँग हुनेवित्तिकै नेताको ध्यान नै जनता खुशी पार्ने हुन्छ ।

आज जनता खुशी पार्नेतिर ध्यान छैन । बालुवाटारमा बसेर एक अर्काको रसायनलाई कसरी प्रगाढ बनाउने भन्नेमा मात्रै ध्यान छ । त्यसकारण शासन बिग्रियो । राजनीति बिग्रियो । जनतामा निराशा चुलियो । यी नेताले अहिलेसम्म गरेनन् भन्ने भन्दा पनि अब पनि कहिल्यै गर्दैनन् भन्ने चिन्ता जनतामा देखियो । मेरो प्रधानमन्त्री पद जान्छ भन्ने चिन्ता गरेको नेताले मेरो रोजगारीको के चिन्ता गर्छ भन्ने जनतालाई लागेको छ । त्यसकारण, हुलका हुल देश छोडेर हिँडेका छन् ।

संविधानका अरु विषय पछि संशोधन गरौंला

संविधान संशोधनको एकदमै सीमित कुरा भनिरहेको छु मैले, संविधान संशोधनको थुप्रो कुरा होइन, निर्वाचन प्रणालीका लागि मात्रै संशोधन गरौं । यसका लागि कांग्रेस र एमालेलाई इन्सेन्टिभ छ । अहिले आएका नयाँ दलहरुले पनि हामी कांग्रेस एमाले भन्दा ठूलो हुन्छौं र बहुमत लिएर आउँछौं भन्नुहुन्छ भने यही निर्वाचन प्रणालीबाट त बहुमत ल्याउनुहुन्न । बहुमत ल्याउने र एकमना सरकार चलाउने इच्छा छ भने त उहाँहरुले पनि निर्वाचन प्रणाली परिवर्तन गर्न तयार हुनुपर्‍यो।
निर्वाचन प्रणालीका बारेमा मात्र संविधान संशोधन गरौं भन्दा अरु विषयउ पनि गिजोलेर ल्याउनु भनेको भाँड्ने कुरा हो । संशोधनका सयवटा कुरा निकाल्न सक्छन् । पहिले पनि निकालेका हुन् । त्यसैले यो निर्वाचन प्रणाली संशोधनको विषय अर्को निर्वाचनपछि गरौं भन्दा अर्को पाँच वर्ष खेर जान्छ । अर्को पार्लियामेन्ट पनि यस्तै गठबन्धन बनाएरै चुनाव लड्ने खालको हुन्छ । फेरि समय खेर जान्छ ।

त्यसैले निर्वाचन प्रणाली आगामी निर्वाचनभन्दा अगाडि संशोधन गर्नुपर्छ । त्यो संशोधन गर्नका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ । कांग्रेस र एमाले एकठाउँमा उभिएर डिफाइन गरेको बाटो चाहिँ । हो, संविधान हामीले बनाएका हौं । अहिलेको अनुभवले संविधानको यत्तिचाहिँ बदल्नुपर्ने रहेछ, अरु बदल्दै जाऔंला भन्नुपर्छ ।

संविधानका अन्य विषयमा आयोग बनाएर छलफल गर्दै गर्न सकिन्छ । तर, आउने निर्वाचनभन्दा अगाडि निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ ।

(नेपाली कांग्रेसका नेता रिजालसँग खबरहबले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ११ : ०५ बजे

नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं– नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली

आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौं– साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, हालसम्म ४७ जनाको मृत्यु पुष्टि

सियोल– दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङ- खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस