‘गृहमन्त्रालय लिँदैमा देश रूपान्तरण हुँदैन’ | Khabarhub Khabarhub

‘गृहमन्त्रालय लिँदैमा देश रूपान्तरण हुँदैन’

ओली र प्रचण्डको पुनर्मिलनमा ‘इगो’ को आशंका 



बाहिरी सतहमा हेर्दा नयाँ गठबन्धन बनेर बडो राम्रो काम भएको छ । कम्युनिस्टहरू फेरि एकजुट भएर अगाडि जान खोजेका छन् । भन्नकै लागि त केही दिनमा साह्रै राम्रा कुरा गरेका छन् । गलत आकांक्षाहरू धेरै घटायौँ, अब हातेमालो गर्दै अगाडि जान्छौँ र कम्युनिस्ट आन्दोलनलाई एकजुट गर्ने मात्र हैन, देशको बिग्रेको अनुहार र भ्रष्टाचारको जालो तोड्छौँ भनेका छन् । यो सुन्दर पक्ष हो सर्सर्ती हेर्दा ।

कम्युनिस्ट आन्दोलनमा प्रचण्ड, ओली र माधव नेपालको महत्वाकांक्षाले पछिल्लो चोटि कांग्रेसबाट मान्छे विकर्षण हुँदै वामपन्थीतिर आए । तर, वामपन्थीमा यी तीन नेताको निजी स्वार्थले यसलाई तहस–नहस बनाएर आम मतदाताले दिएको दुई तिहाइको समर्थनसहित तहस–नहस पारे । यी तीनै नेता घातका पोषक हुन् । भन्ने एउटा, गर्ने अर्को । त्यसैले देशको राजनीतिक माहौल पनि धुलो पारेका छन् ।

अब नयाँ सरकार आएपछि देशभित्र रोजगारी सिर्जना गर्नुपर्‍यो । शिक्षा र कर्मचारी प्रशासनमा भएको विकृति रोक्नुपर्‍यो । हिजो भ्रष्टाचारमा भएको खेललाई उदांगो पार्नु पर्‍यो । जो भ्रष्टाचारमा मुछिएका छन्, आफू पनि हतकडी लगाउन तयार हुनुपर्‍यो ।

राजनीति र अर्थतन्त्रजस्तै बिग्रिएको ठाउँ शिक्षा हो । यस्तो ठाउँमा अनुभवशून्य भएको मान्छेलाई मन्त्री दिएका छन् । यस आधारले हेर्दा यो खेल पनि शक्ति र सत्तामा जाने कटाक्ष हो । अब आउँदो चुनावमा चुनाव खर्च उठाउन त्यसमा लागेका छन् । काम गरेर देखाए त पत्याउला, नत्र यो ढाँटको नै खेती हो भन्ने मान्छेले बुझेका छन् ।

अब सच्चिनुपर्छ भनेर दिलबाट ठाने भने गर्न नसक्ने हैन । बाटो ठिक ठाउँमा छ  । किनकि, अब कांग्रेसले कांग्रेसको ब्लक र वामपन्थीले वामपन्थीको ब्लक राम्रो गर्ने हो भने दुई दलीय सिस्टम त्यसमा बलियो हुन्छ । र, सैद्धान्तिक रूपले सरकार चलाएर जनताले दिएको मतको आधारमा जिम्मेवारी पूरा गर्न सक्छन् ।

तर, त्यो ठाउँमा यी जान्छन् भन्नेमा थोरै विश्वास गर्नुपर्छ । जो नेता अहिले सत्तामा पुगेका छन्, यिनले पहिला आफ्नो टाउकोमा तातोपानी खन्याउन सक्छन् कि सक्दैनन् त ?

रास्वपामाथि प्रश्न

अहिले सरकारमा आएको रास्वपाले गृह मन्त्रालय लिएर रूपान्तरण गर्छु भन्ने अठोट कति व्यवहारिक छ ? किनकि गृह मन्त्रालय आफैंमा सुधारमूलक र आफैं निर्णय गर्न सक्ने क्षमताको मन्त्रालय होइन, मन्त्रिपरिषदभित्रको एउटा मन्त्रालय हो । किनकि हिजो नारायणकाजीले कति भ्रष्टलाई पक्रिन खोज्दा प्रधानमन्त्रीले रोक लगाएको कुरा त सबैलाई थाहा छ ।

त्यसैले अहिले पनि रविले साँच्चै केही भ्रष्टलाई समाउन खोजे भने ती भ्रष्टहरु कि एमाले, माओवादी वा कांग्रेसका छन् । तिनलाई समाउन क्याबिनेटले रविलाई स्वीकृति देला त ? यस्ता कुरा बुझिबुझी गृहमन्त्रालयमा गएर देश रूपान्तरण गर्छु भन्ने कथनी र करणी फरक हुन सक्छ । गृह मन्त्रालयमा पैसा कमाउन सक्छु भन्ने आम धारणा र अहिलेसम्मका गृहमन्त्रीहरूले बनाएका छन् ।

रवि लामिछाने गृह मन्त्रालयमा जाँदा उनका समर्थकहरू जय जयकार गर्दै अगाडि आए, त्यो जयजयकार पेटपूजा गर्न मात्रै हो कि, देश रूपान्तरणमा लामिछानेको भूमिका हुन्छ  ? यो विश्वास र  प्रयोग भोलिका दिनले नै बताउँछ । अहिले त यो अस्थायी खेल हो ।

केपी ओली किन मिले प्रचण्डसँग ?

केपी ओली हीनतावोधले ग्रसित भएर आफूलाई साथ नदिनेलाई पछार्न मनदेखि मुटुसम्मै आवेगले बनेको चरित्र हो । प्रचण्ड र माधव नेपाल केपी ओलीको इगोका तुष हुन् । त्यसैले यो इगो साँध्नको निम्ति खेलिएको कुनै खेल हो कि ?

नेपाली कांग्रेसले महासमितिको बैठकमा हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने जुन प्रस्ताव ल्यायो, त्यसलाई नेतृत्वले प्रयोग गरेन । छलफलमा नै आउनै दिएन । त्यसो हुँदा नेपाली कांग्रेस पश्चिमामुखी भयो भन्ने छिमेकीले अनुभूति गर्न सक्छ । त्यसैले, सायद अर्को परिवर्तन आउन सक्छ ।

देउवाले जुन मित्रलाई रिझाउनुपर्थ्यो, रिझाएनन् । यदि फेरि ती मित्रलाई रिझाउन सके भने यो गठबन्धन एकै रातमा बदलिन्छ । नेपालका सबै पार्टीहरू आफ्नै धरातलमा उभिने चरित्रका नै भएनन् । विदेशी सहयोग र आशीर्वादमा सत्तामा कसरी टिकिन्छ भन्ने खेल भयो ।

अहिले पनि भारतमा यहाँ पश्चिमा वा अमेरिकनको चलखेल धेरै चल्ने हुँदा नेपालमा यो गठबन्धन नयाँ जन्मेको छ । चाइनिजको प्रोजेक्ट बीआरआईलाई नेपाली कांग्रेसले अगाडि बढ्न नै दिएन । र, यहाँ पश्चिमा प्रभावलाई भित्र्याउने र चीनलाई परिबन्दमा पार्नेमा देउवाको नेतृत्वले ठूलो भूमिका खेल्यो । चाइनिजहरू नेपाली कांग्रेसको त्यो असन्तुष्टि प्रति सन्तुष्ट थिए ।

तर, चाइनिजले भनेर नै आन्तरिक स्थितिमा फेरबदल हुने कुनै स्थिति थिएन । ओली, प्रचण्ड वा माधव नेपालहरू चाइनिजको सल्लाहमा चल्दैनन् । यी तीनवटैको जरो त दक्षिणतिर मोडिएको छ । जबसम्म दक्षिणको संकेत र निर्देशन आउँदैन, तबसम्म यी चल्दैनन् ।

त्यसकारण, अहिले नयाँ गठबन्धन आएकोमा चिनियाँहरुलाई खुसी त लागेको छ । किनकि पश्चिमाहरूको प्रभाव कम हुने भयो ।

भारतीयहरूको प्रभाव भन्दा पश्चिमाको प्रभाव चीनका लागि खतरा हो । यही कारणले नयाँ गठबन्धनको सरकार आउने बित्तिकै चिनियाँ विदेश मन्त्रालयले यसलाई राम्रो कुरा हो भनेर संकेत गर्‍यो ।

यहाँ अमेरिकी सहयोग परियोजना एमसीसी ल्याएर पनि कमिसन खाने नै हो । नेपालका नेताहरूको काम भनेको जहाँबाट ल्याए पनि कमिसन खाने हो । आफ्नो हितमा खाने हो । तर, त्यो ल्याएर पनि काम भएन, समस्यामा परियो ।

यहाँ हालीमुहालीको रूपमा भन्नु पर्दा अहिले पनि राजनीतिको आन्तरिक पकड दक्षिणतिर नै छ । त्यसैका आधारमा अहिले गठबन्धन परिवर्तन भएको हो । नत्र  राष्ट्रिय चिन्ताका लागि यो गठबन्धन आएको हो भने त भोलि काम देखाएपछि मात्रै मान्न सकिन्छ ।

वाम एकता कति सम्भव ?

कम्युनिस्ट पार्टीका अहिलेका नेताहरू हिजोको बेइमानी छाडेर एकजुट भएर जानुपर्ने राष्ट्रको आवश्यकता हो । इमानदारीपूर्वक लाग्ने हो भने अब यी नेताहरूको पार्टी जीवनका प्रभावकारी हुन्थ्यो । तर गर्दैनन् । राष्ट्रिय चिन्तामा उभिने धरातल नै बनेन ।

राम्रो काममा जाने भन्दा पनि संकट नै निम्त्याउनेतिर गएका छन् । यो उहाँहरूको अन्तिम राजनीतिक जीवन होला, त्यसमा इमानदारितापूर्वक राष्ट्र र सिद्धान्तप्रति समर्पित भएर गरे भने कम्युनिस्ट आन्दोलन एकजुट हुने मात्रै हैन कि देशलाई बलियो बनाउने काममा पनि उहाँहरू लाग्नु हुन्छ तर अहिले नै त्यसो भन्ने अवस्था छैन ।

गठबन्धन कहिलेसम्म ?

सैद्धान्तिक आड नभएको हुनाले सत्तामा जने कुरामा भोलि कोसँग मिल्ने र कुन शक्तिलाई लिएर जाने भन्ने मान्यता अनुसार कसलाई समाउँदा सत्तामा पुगिन्छ, त्यतै लाग्ने हो । त्यसैले भोलि कता हुन्छ भनेर भन्न सकिँदैन । अहिले नै देउवालाई केही मधेसी नेताले भनेर ओलीसँग मिल्नुहोस् भनेर सुझाव दिए रे ।

अहिले प्रचण्डले तीनचोटि काँध फेरे, तर पनि केही गरेका छैनन् । भ्रष्टाचार नियन्त्रण गर्छु भनेर कोट्याए तर आफैंले छोपछाप गरे । हिजो पनि त्यही गरियो । अहिलेको जुन सरकार आउँछ, त्यसले पनि भ्रष्टाचार कोट्याउला र आफै छोपछाप गर्ला । त्यसैले आशाका दिन भन्दा पनि अझ राजनीति भ्रष्ट हुने, अझ अस्थिरता आउने र ढाँट्ने खेल चलिरहने स्थिति छ ।

देशमा  गणतन्त्रको विकल्प राजतन्त्र भनेर जुन मान्छेहरुले भनिरहेका छन् । अहिलेस्थापित भइसकेको छैन । किनकि राजतन्त्रको आधारमा त केही मान्छेमा आशा पलाएको होला तर त्यतिकै भरमा  विकल्प अगाडि आइसकेको छैन । एउटा अस्तव्यस्तता देशमा आइसकेपछि यसले निकास खोज्नैपर्छ ।

यी नेताले अहिलेको गठबन्धनले भनेबमोजिम आफूलाई विकल्प दिन सके भने गणतन्त्रको विकल्प गणतन्त्र नै भएर अगाडि जान्छ । तर, यी बेइमानको हातमा राजनीति परेको हुनाले यो गणतन्त्रलाई बलियो बनाउने भन्दा पनि यसलाई ध्वंश बनाउने काममा यिनीहरू लाग्छन् ।
जस्तो– गठबन्धन तोडियो । केन्द्र मात्र हैन । प्रान्तीय राज्यका समीकरण भत्कन लागेका छन् । धन्न, कानूनले गाउँपालिका पनि भत्काउने बनाएको रहेनछ । नत्र पालिका पनि भत्काउँथे । यसको अर्थ त देशमा अस्थिरता नै ल्याउने हो । मान्छेमा निराशा नै ल्याउने हो । मान्छेमा राजनीतिप्रतिको वितृष्णा ल्याउने हो । यसका विरुद्ध मुखले मिल्छौँ भन्ने मात्रै हो, तथ्यले पुष्टि गरेको छैन ।

(पूर्वएमाले नेता राधाकृष्ण मैनालीसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ५ : ०० बजे

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौं– साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, हालसम्म ४७ जनाको मृत्यु पुष्टि

सियोल– दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङ- खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

काठमाडौं– संयुक्तराज्य अमेरिकाका विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन

व्यावसायिक प्याज खेतीमा जुट्दै किसान

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक