निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी « Khabarhub

निकुञ्जमा वन्यजन्तुका लागि कृत्रिम पोखरी


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

नवलपुर– लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिएको छ । खडेरीका कारण निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोतमा सतह घटेपछि दुई वटा पानी पोखरी निर्माण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी एवं वन संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीको मर्मत एवं व्यवस्थापन गरिएको बताए । “यस वर्ष विगतको तुलनामा निकुञ्जभित्रका ताल तथा पोखरीमा पानीको सतह घटेको छ”, उनले भने, “हामीले नियमित कार्यक्रमअन्तर्गत दुई वटा नयाँ पोखरी निर्माण गर्नाका साथै पाँच वटा पुराना पोखरी मर्मत गरेका छौँ ।”

वन्यजन्तुलाई पानी खानका लागि समस्या नहोस् भनेर पोखरी अभाव भएका स्थानमा नयाँ पोखरी निर्माण गरिएको भन्दै तिवारीले झारहरू आएर पुरिन लागेका तालको व्यवस्थापन र मर्मत गरिएको बताए । वन्यजन्तुका लागि पर्याप्त घाँसे मैदान बनाउन निकुञ्जमा नयाँ घाँसे मैदान निर्माण एवं व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए।

तिवारीका अनुसार राष्ट्रिय निकुञ्ज तथा आरक्षण आयोजनाअन्तर्गत तीन सय ७० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको छ । “अहिले ताल परियोजनाअन्तर्गत दुई हेक्टर घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ”, उनले भने, “यही परियोजनाबाट एक लाख नौ हजार चार सय वर्ग मिटर क्षेत्रफलमा सिमसार क्षेत्र व्यवस्थापनको काम भइरहेको छ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)बाट समेत निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापनको काम भइरहेको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार निकुञ्जभित्र कोषबाट करिब तीन सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भइसकेको छ ।

घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसेमैदानका रूपमा लिइन्छ । नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लाको नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा करिब १० प्रतिशत भूभागमा घाँसे मैदान रहेको छ ।

साना किरा फट्याङ्ग्रा, सरीसृपदेखि लिएर ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसे मैदान विचरण गर्न, खेल्न, हिँड्डुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी क्षेत्र मानिने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

“निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसेमैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, ढड्डी आदि पाइन्छन्”, तिवारीले भने, “निकुञ्जको घाँसेमैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो ।”

निकुञ्जमा माइकेनिया, काँडे वनमारा, पार्थेनियम, सेतो वनमारालगायत मिचाहा प्रजातिका झारका कारण घाँसेमैदानको क्षेत्रफल साँघुरिँदै गएको उनको भनाइ छ ।

सन् १९७० को दशकमा निकुञ्जको २० प्रतिशतभन्दा बढी भागमा घाँसे मैदान रहेको भए पनि प्राकृतिक चक्रका कारण घाँसेमैदानमा क्षेत्रगत एवं गुणात्मकरूपमा क्रमिक ह्रास हुँदा हाल १० प्रतिशतमा झरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ३० बजे

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप

चितवन– जिल्लाका छ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र

एघार करोडको लागतमा दूधमति नदीको उत्खनन

जनकपुरधाम– एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति