धान चामल आयात ४०% घट्यो, भन्सार छली कि उपभोग कटौती ? | Khabarhub Khabarhub

धान चामल आयात ४०% घट्यो, भन्सार छली कि उपभोग कटौती ?



काठमाडौं– नेपालमा अघिल्लो अवधिको तुलनामा गत आर्थिक वर्षमा धान चामल आयात ४० प्रतिशतले घटेको छ । यसरी आयात ह्वात्तै घट्नुमा व्यापारीले बदमासी गरेका या उपभोग नै कटौती भएको भन्नेबारे सरकार अनभिज्ञ देखिएको छ ।

भन्सार विभागको वार्षिक तथ्याङ्कअनुसार आघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा नेपालमा धान चामलको आयात मूल्यका आधारमा ४० प्रतिशतले घटेको देखिएको हो ।

विभागले तयार गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष ०८०/८१ मा नेपालमा २१ अर्ब ३४ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको छ । जुन धानको बिउ र कनिका बाहेकको मूल्य हो । जब कि अघिल्लो आर्थिक वर्ष ०७९/८० मा नेपालमा ३५ अर्ब ६२ करोड ११ लाख ६८ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको थियो ।

गत आर्थिक वर्षभित्र अघिल्लो अवधिको तुलनामा समग्र वस्तु आयात १.१६ प्रतिशतले घट्दा अन्नजन्य वस्तुको आयात १९ प्रतिशतले घटेर ४५ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ । सोही समूहमा पर्ने धान तथा चामलको आयात पनि ४० प्रतिशतले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

फाइल फोटो

किन घट्यो चामल आयात ?

धान चामल मुख्यतः दैनन्दिन नियमित उपभोग हुने खाना बनाउनकै लागि आयात गरिन्छ । एकै आर्थिक वर्षमा धान चामल आयातमा ठूलो परिमाणले भएको गिरावटमा चाहिँ प्रश्नचिह्न लागेको छ ।

पछिल्लो वर्षमा आयात भएको अन्नबालीको तथ्याङ्कले कतै नेपालीले दैनिक खाने खानाको मात्रा नै घटाइरहेका छैनन् भन्ने लाग्छ । नेपालीहरूले धेरै उपभोग गर्ने अन्नबालीमा धान पर्छ ।

नेपालमा धान उत्पादनको अवस्था र नेपालबाट बाहिरिने नेपालीको संख्यालाई हेर्दा धान चामलको आयातमा भएको कमी स्वाभाविक मान्न पनि सकिँदैन ।

आर्थिक वर्ष ०७९/८० मा वैदेशिक रोजगारीमा जान ७ लाख ७१ हजार ३२७ जना नागरिकले श्रम स्वीकृति लिएका थिए । त्यस्तै; गत आर्थिक वर्ष अर्थात् ०८०/८१ मा ७ लाख ४१ हजार ३९७ जना नेपालीले विदेश जानको लागि श्रम स्वीकृति लिएका लिएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो ।

आर्थिक वर्ष ०७९/८० मा नेपालबाट विभिन्न देशमा अध्ययन गर्न १ लाख १० हजार २१७ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए । सो संख्या गत आवमा १ लाख १२ हजार ५९३ जना रहेको थियो । आव ०७९/८० को तुलनामा गत आवमा जम्मा २ हजार ३१७ जना बढी विद्यार्थीले विदेश अध्ययन गर्नको लागि एनओसी लिएको देखिन्छ ।

औपचारिक रूपमा विदेश काम गर्न जाने कामदारको संख्या र एनओसी लिएर विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या हेर्दा अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा गत आवमा २७ हजार ६१६ कम व्यक्तिहरू विदेश गएको देखिन्छ ।

अनौपचारिक माध्यमबाट विदेश जाने नेपालीको तथ्याङ्क राज्यसँग नभएपनि २०७८ सालको जनगणनाको तथ्याङ्कले नेपालको जनसंख्या वृद्धिदर १.७ प्रतिशत भएकोले भात खाने मान्छे ४० प्रतिशत घटेको देखिँदैन ।

कृषि विभागको तथ्याङ्कअनुसार नेपालमा आर्थिक वर्ष ०७९/८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन भएको थियो भने गत आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिकटन उत्पादन भएको थियो । गत आर्थिक वर्षमा ०७९/८० को तुलनाम २ लाख ३७ हजार ८०७ मेट्रिकटन धान उत्पादन भएको विभागको तथ्याङ्कले देखाएको छ ।

कृषि मन्त्रालयकाअनुसार नेपालीलाई प्रतिव्यक्ति १३७ केजी चामल आवश्यक पर्छ । औसतमा एक क्वीन्टल राम्रो धानबाट ६० केजी चामल उत्पादन हुने गर्छ । गत आवमा बढी उत्पादन भएको धान बराबर गत आर्थिक वर्षमा धान नै कम आयात भएको पनि तथ्याङ्कले देखाएको छ ।

गत आवमा आव ०७९/८० को तुलनामा २ लाख ३६ हजार ८५७ मेट्रिकटन कम धान आयात भएको थियो । त्यस्तै, गत आवमा सो भन्दा अघिल्लो आवको तुलनामा १ लाख ३६ हजार ३४७ मेट्रिकटन कम चामल आयात भएको थियो ।

आयात घटेकोबारे के भन्छ सरकार ?

सरकारी पक्षले भने गत आवमा ठूलो मात्रामा भएको धान चामलको आयातको गिरावटको कुनै वास्तविक कारण खोजेको छैन ।

कृषि विभागका प्रवक्ता डा. अरूण काफ्लेले धान चामलको आयातमा ठूलो मात्रामा भएको गिरावटबारे विभागले अनुसन्धान तथा विश्लेषण नगरेको बताए ।

बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका अधिकारी बलराम अधिकारी पछिल्लो समयमा नेपाली धानले राम्रो मूल्य प्राप्त गरेको तर, आयातमा भएको गिरावटबारे स्पष्ट अध्ययन नभएको बताउँछन्‌ ।

‘पहिले किसानहरूको धान समयमा बिक्री नहुने र उचित मूल्य नपाउने अवस्था थियो । अहिले चैते धान र वर्षे धान दुवैको किसानले राम्रो मूल्य प्राप्त गरेका छन् । तर, आयातमा भएको गिरावटबारे भने हामीले अनुसन्धान गरेका छैनौं’, उनले भने ।

भन्सार विभागका सूचना अधिकारी हरिहर पौडेलले पछिल्लो समयमा भारतले चामलको निर्यातमा बढाएको भन्सार करका कारण आयातमा केही भएको हुनसक्ने बताए । तर, अन्य कारणहरूको विषयमा भन्सारलाई जानकारी नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १ : ५१ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट