‘माओवादी केन्द्रका सबै नेतामा बोसो लागेको छ’ | Khabarhub Khabarhub

‘माओवादी केन्द्रका सबै नेतामा बोसो लागेको छ’


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र) ले प्रतिपक्षीको भूमिकामा पुगेपछि संसदमा विभिन्न प्रश्नहरू उठाइरहेको छ । उक्त पार्टीका नेता एवम् प्रतिनिधि सभाका सदस्य छिरिङ डम्डुल लामा (भोटे) ले संसद बैठकमै नेकपा (एमाले) का सचिव योगेश भट्टराईलाई हतियार तस्करको आरोप लगाएपछि संसदमा निरन्तर खैलाबैला मच्चिइरहेको छ । प्रतिवादमा एमालेका सांसदहरूले माओवादी नेतृत्वमा भएको १० वर्षीय सशस्त्र संघर्षलाई ‘माओवादी हिंसा’ का ट्याग लगाउन खोजेका छन् ।

लामाले भट्टराईमाथि लगाएको ‘जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको’ आरोप र लगातारको सत्ताभोगपछि बाध्यतावश प्रतिपक्षी हैसियतमा पुगेको माओवादी केन्द्रको अबको भविष्य लगायत विषयमा लामासँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंश:

तपाईंले संसदमा योगेश भट्टराईलाई ‘जनयुद्ध हामी गरिराखेका थियौं, तिमी हतियारको तस्करी गर्थ्यौ, चन्दा आतङ्क फैलाइराखेका थियौ’ भनी आरोप लगाउनुभयो । प्रमाण भएरै बाेल्नुभएको कि आरोपका लागि मात्रै ?

यो हामीले मात्रै भनेको होइन, विश्वले नै थाहा पाइसकेको कुरा हो । क्याम्पसमा चन्दा असुल्ने गरेको त एउटा विद्वानले नै भनेका हुन्‌ । हतियार तस्करी गरेको कुरा उनको पार्टीका पूर्वअध्यक्ष माधवकुमार नेपालले नै भनेको कुरा हो । यी तथ्यकै आधारमा हामीले भनेका हौँ ।

उहाँ (योगेश) ले हाम्रो महान् जनयुद्धलाई हिंसा भन्नुभयो । तर त्यो हिंसा हुँदै होइन । जहानियाँ एकातमक शासन प्रणालीको विरुद्धमा हो । हरेक देशमा विद्रोह हुन्छ, नेपालमा पनि एउटा विद्रोह भयो ।

वि.सं. २००७ सालदेखि ज-जसले जे-जे गरे, त्यसलाई मैले सम्मान गर्छु । तर ती विद्रोहीहरूले आफूले विद्रोह गरेको राम्रो र अरूले गरेको कुरालाई नराम्रो हिंसा भन्ने कुरा न्यायोचित हुँदैन । एउटा दलको नेता हुँ भन्ने मान्छेले विचार गरेर बोल्नुपर्छ । उहाँले त्यहाँ असाध्यै गैरजिम्मेवार तरिकाले बोल्नुभएको छ ।

त्यसमा मैले उहाँले गर्दै आएको हतियार तस्करीको सन्दर्भ निकालेको हुँ । हतियार तस्कर गर्नेलाई शान्तिको प्रतीक भन्न मिल्छ त ? शान्तिको प्रतीक हुँ भन्ने आँट र हिम्मत उहाँमा छ त ? त्यो हतियार तस्करी मात्रै हैन, दलाली पनि हो । जानाजान मान्छेमाथि खतरा पार्ने कुरा; यो पाप पनि हो ।

हतियार तस्करी तपाईंहरूका लागि कि राज्यका लागि भएको थियो ?

जहाँ पनि राज्य पक्षले आफ्नो वर्गको पक्षधरताका लागि लडाइँ गर्छ भने विद्रोहीहरूले पनि आफ्नै वर्गका लागि अधिकारको लडाइँ लड्छन्‌ । यी दुईबीच हतियार उठ्नु एउटा स्वाभाविक प्रक्रिया हुन्छ ।

अरू बिचौलिया दलाल-तस्करहरू यताबाट पनि हत्या गर्न लगाउने, उताबाट पनि हत्या गर्न लगाउने गर्छन्‌ । तिनै बिचौलिया दलालले राज्य र विद्रोही दुबैलाई हतियार उपलब्ध गराउँछन्‌ ।

हतियार भित्र्याउने र ओसारपसार गर्ने आफैँमा अपराधी पनि हुन्‌ । उनीहरू न विद्रोही पक्ष, न त सरकारी पक्षका नै हुन्छन्‌ । त्यस्तो दलालले झन्‌ घातक काम गरिरहेको हुन्छ । हिंसालाई थप चर्काउन सक्छ । हिंसाको वास्तविक नाइके उही हुन्छ ।

तपाईंहरूमाथि भारत–चीनबाट हतियार तस्करी गरेर हिंसा मच्चाएको आरोप लागिरहेका छ । त्यसो हो भने त तपाईंहरू पनि त्यही कोटीमा पर्नुभयो होला नि !

हामीले हिंसा गरेका हैनौँ, सशस्त्र युद्ध गरेका हौँ । हतियार सहितको राज्यको विरुद्धमा लडिएको युद्ध हो । देशभित्र लड्नेलाई ‘जनयुद्ध’, ‘सशस्त्र युद्ध’ या ‘सङ्घर्ष’ इत्यादि भनिन्छ ।

हाम्रा आफ्नै लिडरहरूभित्र एउटा लिडर छैन । सबै लिडरमा बोसो लाग्यो । हामीमा ‘यस्तो हुँदो रहेछ, यस्तो पाइँदो रहेछ, मैले नै नेतृत्व गर्नुपर्छ’ भन्ने अहमता पलायो । त्यसो भएपछि जनता र अरू पार्टीले केही गर्नैपरेन

जब अधिकार मागेर प्राप्त हुँदैन, तब लडेर लिनुपर्छ भन्ने मान्यतामा आधारित भई हामीले गरेको विद्रोहलाई हिंसा भन्न मिल्दैन । तर अरूलाई चाहिँ हतियार दिने, अनि आफू चाहिँ फेरि हिंसा भन्ने ! त्यसो भन्न नैतिकताले दिँदैन । त्यो पनि एउटा जिम्मेवार व्यक्तिले बोल्ने ! त्यस्तो बोल्नु शोभनीय भएन ।

उहाँहरूले वा त्यो सर्कलले ल्याएको हतियार तपाईंहरूसम्म आइपुगेको परिस्थिति थियो ? तपाईंहरूलाई नै ल्याएर दिएका हुन् र ?

हामी (माओवादी केन्द्र) र नेकपा (एमाले) एकता भएपछि बनेको सरकारका पूर्वमन्त्री (प्रेम आले) ले भन्नुभएको छ । हामीले प्रमाणबिना बोल्न मिल्दैन ।

एकजना विद्वान सरले पनि चन्दा असुलीमा लागेको भन्नुभएको छ । त्यो चन्दा किन असुल्यो त ? त्यसो गर्नु बिचौलिया, दलाली र तस्करी गरेको हो । तै पनि हामी यसलाई यसरी नलिइयोस्‌ भन्ने चाहन्थ्यौँ । तर उहाँले त्यो कुरा निकालेपछि यो कुरा भन्न बाध्य भएका हौँ ।

आरोप-प्रत्यारोपका लागि मात्रै भन्नुभएको हो कि ?

वि.सं. २००७ सालमा कांग्रेसको मुक्ति सेनाले जे-जे घटना घटाए पनि ती सबैलाई जहानियाँ राणा शासनको विरुद्धमा लड्ने लडाइँ भएकाले हामी सम्मान गर्छौं । जनताको अधिकार खोस्ने शासकविरुद्ध लड्नु नै पर्छ । त्यस्ता संघर्षलाई म हिंसा भन्दिनँ ।

कसैले गिराउने र होच्याउने खालको अभिव्यक्ति दिन्छ भने उसले गरेको सो कामलाई पनि हिंसा नै भन्नुपर्ने होला । एउटा तहमा पुगेको मान्छेले यस्ता कुरा गर्न सुहाउँदैन ।

एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम्‌ काँग्रेस सभापति शेरबहादुर देउवा पुग्दा नाराबाजी गरे । आफ्नो रोष पोखे । त्यसरी रोष पोख्न पाउने, त्यसका लागि हिम्मत र साहस जुटाउने चेतना माओवादी आन्दोलनले नै सृजना गरेको हो

यो त अब उहाँहरूको भाष्य भइहाल्यो। अब अर्को प्रश्न तपाईंले जोडिहाल्नुभयो । २००४ सालमा जन्मेको कांग्रेस पार्टीले २००६ सालमै देशव्यापी रूपमा हतियार सहितको क्रान्ति कसरी गर्‍यो होला ? उसको पनि हतियारको उपलब्धताका विषयमा यस्तै तस्करी र माफियाको कुराहरू जोडिएर आउलान् ।

तपाईंहरू आफूले क्रान्ति गरेको भन्नुहुन्छ, तर जनताले तपाईंहरूलाई नै एक पछि अर्को चरणमा दण्डित गरिराखेका छन्, किन ?

म दण्डित महसुस गर्दिनँ । नेपाली जनताले माओवादी पार्टीलाई एकपटक अवसर दिएको हो ।

हाम्रा आफ्नै लिडरहरूभित्र एउटा लिडर छैन । सबै लिडरमा बोसो लाग्यो । हामीमा ‘यस्तो हुँदो रहेछ, यस्तो पाइँदो रहेछ, मैले नै नेतृत्व गर्नुपर्छ’ भन्ने अहमता पलायो । त्यसो भएपछि जनता र अरू पार्टीले केही गर्नैपरेन । नेतृत्वपङ्क्तिको त्यो अहमताले नै पार्टीभित्र आन्तरिक कलह उत्पत्ति भई पार्टी टुटफुट भयो । माओवादी विभाजन गर्न अरू कसैले द्वन्द्व गराएको हैन ।

तपाईंहरूको पार्टी संरचनामै खोट लागेको हो ?

पार्टी संरचनामा भन्दा पनि त्यो बेलाको नेतृत्वहरूमा खोट भयो । भाइ-भाइ भएर छुट्टिए । अहिले जुट्न लागेका छन्‌ ।

अब पहिलाकै जसरी बहुमत ल्याउने तरिकाले अघि बढ्न हामी लागिपरेका छौं ।

‘बाघको छालामा स्यालको रजाइँ’ भने जस्तो तपाईंहरूले के-के रोप्नुभयो, अर्कोले बाली लिएर गयो भनेको सुनिन्छ । तपाईंहरू यतिखेर तरबारको धार माथिको यात्रा जस्तो परिस्थितिबाट गुज्रिनु परिराखेको हो ?

बाघको छालामा स्यालको रजाइँ त अहिले भइरहेको छ । गणतन्त्र, संविधान सभा, नयाँ संविधान, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायत उपलब्धि माओवादीकै नीति हो । अरू दलहरूले अहिले माओवादीको त्यही नीतिमा रजाइँ गरिरहेका हुन्‌ ।

कांग्रेसको पालामा गाविसमा तीन लाख रुपैयाँमात्रै बजेट जान्थ्यो । एमालेको पालामा ५ लाख  जान्थ्यो । माओवादीले लडेर ल्याएको सङ्घीयताका स्थानीय तहमा एउटै पालिकामा १५ देखि ८० करोडसम्म, नगरपालिकामा अर्बौं रुपैयाँ पुग्न थालेको छ

त्यही माओवादीलाई अहिले अपमानित गर्ने कार्य भइरहेको छ । त्यति मात्रै होइन; कुलमान घिसिङजस्ता कर्मचारीलाई पनि लपेट्ने काम भइरहेको छ । प्रहरी प्रमुखजस्ता व्यक्तित्वको ‘जिब्रो थुत्ने’ कुरा बोलेर अहिलेको सरकार आफैँ गिरिरहेको छ । हामी त माथि उठ्दैछौँ ।

अहिले निर्णायक मतदाता पुस्ताले १० वर्षे सशस्त्र सङ्घर्ष देखेन, राजाको निरङ्कुशता पनि भोगेन । त्यो पुस्तामा माओवादी संघर्ष अनावश्यक थियो भन्ने नकारात्मकता उत्पन्न भएको हो कि तपाईंहरूले बुझाउन नसक्नुभएको ?

नयाँ युवा पुस्ता माओवादी प्रति नकारात्मक छैनन् । पछि जन्मने पुस्ताका लागि अगाडीका घटना इतिहास नै हुन्छ । पढेका, तर भोगेका हुँदैनन्‌ ।

युवाहरूको एउटा पङ्क्तिले चाहिँ बहुदलीय भनिएको व्यवस्था रहँदाको अलिअलि अनुभव लिएका छन् । उनीहरू गणतान्त्रिक आन्दोलन पनि देखे । तर त्यसको आधार १० वर्षे जनयुद्धमा सहभागी भएनन्‌ । उनीहरूमा अब के गर्ने भन्ने उकुसमुकुस छ ।

त्यसैले एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम्‌ काँग्रेस सभापति शेरबहादुर देउवा पुग्दा नाराबाजी गरे । आफ्नो रोष पोखे । त्यसरी रोष पोख्न पाउने, त्यसका लागि हिम्मत र साहस जुटाउने चेतना माओवादी आन्दोलनले नै सृजना गरेको हो ।

नयाँ युवालाई गाँस, बास र कपास जुटाउन रोजगारी अभाव छ । यो समस्यालाई सम्बोधन गर्नेगरी काम नगरे कुनै पनि पार्टीले सुख पाउँदैनन्‌ । यसतर्फ अघि नबढे अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश त के ! फ्रान्सेली राजा लुई सोह्रौंलाई झैँ युवाहरूले नेताहरूको टाउको काटेर फुटबल खेल्छन् भन्ने कुरा मैले राखिसकेको छु ।

तीन महिना अघि तपाईंको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन सरकारका प्रधानमन्त्री हुँदै गर्दा हरेक मञ्‍चमा पुग्नासाथ देशमा कायापलट भएको दाबी गर्नुहुन्थ्यो, तपाईंहरू सरकारबाट बाहिरिनेबित्तिकै लुई सोह्रौंको उदाहरण किन दिनुपर्ने ?

माओवादी पवित्र संगठनबाट आएको पार्टी हो । त्यसको नेतृत्व कालापानी र बाँसबारी छालाजुत्ता कारखाना बेचेर आएको हैन । हामी उद्योगधन्दा बेचेर आएको हैनौँ ।

भारतमा प्रचण्ड नबोल्नु कूटनीतिक कुरा हो । हामीले देश त बेचेको छैनौँ । चुच्चे नक्साको जस एमाले अध्यक्ष ओलीले लिन खोजिरहन्छन्‌ । ‘हामीले गर्‍यौँ’ भन्छ । उसले गरेको हो भने जमिन पनि फिर्ता गर्नुपर्‍यो नि

कांग्रेसको पालामा गाविसमा तीन लाख रुपैयाँमात्रै बजेट जान्थ्यो । एमालेको पालामा ५ लाख  जान्थ्यो । माओवादीले लडेर ल्याएको सङ्घीयताका स्थानीय तहमा एउटै पालिकामा १५ देखि ८० करोडसम्म, नगरपालिकामा अर्बौं रुपैयाँ पुग्न थालेको छ ।

त्यो माओवादीको पालामा अर्थमन्त्री डा. बाबुराम भट्टराई हुँदा गरिएको हो । देशैभर माओवादीले सडक बनायो, कुलमानले लोडसेडिङ हटाए । हामी सत्तामा नभएको बेला पनि र सत्तामा भएको बेला पनि राम्रो ढङ्गले काम गरेका छौँ ।

तपाईंले अघि नै नेतृत्वमा बोसो लाग्यो भन्नुभयो, राष्ट्रियताका सवालमा पनि प्रचण्ड प्रखर देखिनुहुन्न । ‘कालापानी, लिम्पियाधुरा लिपुलेक नेपालको हो’ भनेर उहाँले दिल्ली पुग्दा पनि बोल्न सक्नुभएन । यस्तो व्यवहारको हिसाबकिताब समेत थपेर नागरिकले माओवादीलाई थप दण्डित गर्छन्‌ भन्ने लाग्दैन ?

प्रचण्डले दिल्लीमा बोल्नु/नबोल्नु एउटा कुरा हो । जहाँ मन लाग्यो, त्यहीँ बोल्नु पनि हुँदैन ।

चुच्चे नक्सा निकालेर मात्रै हुन्छ र ? काम गर्नु परेन ? चुच्चे नक्साको जस एमाले अध्यक्ष ओलीले लिन खोजिरहन्छन्‌ । ‘हामीले गर्‍यौँ’ भन्छ । उसले गरेको हो भने जमिन पनि फिर्ता गर्नुपर्‍यो नि !

भारतमा प्रचण्ड नबोल्नु कूटनीतिक कुरा हो । हामीले देश त बेचेको छैनौँ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १२ : ०५ बजे

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न

प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँड गर्न जोड

काठमाडौं– दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र

लडाकु विमानवाहक युद्धपोत बनाउन भारतको सहयोग लिने इण्डोनेशियाको इच्छा

काठमाडौं – नौसैनिक क्षमता वृद्धि गर्न इण्डोनेशियाले आफ्नै पहलमा लडाकु

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

ढोरपाटन– बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका

धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता

काठमाडौँ– धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमणका घटना बढिरहेको भन्दै पाकिस्तानको मानव अधिकार