‘बल्छी धुर्बे’ र ‘बान्द्रे’का पाँच किस्सा ! | Khabarhub Khabarhub

कला

‘बल्छी धुर्बे’ र ‘बान्द्रे’का पाँच किस्सा !


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘मेरी बास्सै’बाट छुट्टिएको आठ वर्षपछि मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र सुरोज चापागाईं ‘बान्द्रे’ पुनः सहकार्यमा जुटेका छन् । ‘बल्छी धुर्बे’को निर्देशन रहेको सिरियल ‘हल्का रमाइलो’ मा बान्द्रे पनि जोडिएका हुन् ।

बल्छी धुर्बे र बान्द्रेबीच दाजु भाइको जस्तो सम्बन्ध छ । उमेर र कामले ‘सिनियर’ भएकाले बल्छीलाई बान्द्रेले ‘भाइ’ सम्बोधन गर्छन् । ‘मेरी बास्सै’मा ‘स्पट बोइ’का रूपमा ‘बल्छी धुर्बे’ छायाङ्कनमा आउँदा बान्द्रे चर्चित कलाकार भइसकेका थिए ।

त्यो समयमा काठमाडौं सहरमा टिक्न बल्छीलाई बान्द्रेले केही सहयोग गरेकाले उनीहरूको सम्बन्ध अहिले पनि कसिलो देखिन्छ । रित्तो हात सहर छिरेका बल्छी र बान्द्रे अहिले आर्थिक रूपमा केही सबल बनिसकेका छन् ।

दुवैले धेरै–थोरै आम्दानी जोगाएर सहरमा सम्पत्ति पनि जोडेका छन् । अर्थात्; आर्थिक र अन्य प्रगति गरेर सहरको सुरुवाती दिनका संघर्षलाई किस्सामा परिणत गर्न दुवै सफल भएका छन् ।

‘हल्का रमाइलो’को छायाङ्कनस्थल भक्तपुरको काँक्रेबारी पुगेर खबरहबले गरेको कुराकानीमा बल्छी धुर्बे र बान्द्रेले ती किस्साहरू सुनाए ।

हेर्नुहोस् भिडियो :

‘मेरी बास्सै’को तलब
बान्द्रे ‘मेरी बास्सै’मा लगभग सुरुवाती चरणमै जोडिएका हुन् । बल्छी केही पछि जोडिएका हुन् । कलाकारकै रूपमा मेरी बास्सैमा जोडिएका बान्द्रेको तलब मासिक ८०० रुपैयाँ थियो । अर्थात् प्रति भाग २०० रुपैयाँ !

‘स्पोट बोइ’ हुँदै कलाकार बनेका बल्छीको मेरी बास्सैमा सुरुवाती तलब मासिक १२०० सय रुपैयाँ थियो, अर्थात् प्रतिभाग ३०० रुपैयाँ । बान्द्रे भन्छन्, ‘बल्छी चाहिँ पछि तलब बढेपछि आइपुगेकाले १०० रुपैयाँ धेरै भएको हो ।’

बान्द्रे फुटपाथ पसलबाट बचेको समय सदुपयोग गर्न कलाकारितामा गएकाले तलबको खासै प्रवाह थिएन । बल्छी भने त्यसबेला आर्थिक अवस्था दयनीय भएको बताउँछन् ।

खर्च जोगाउन ‘बान्द्रे’को बाइक
‘मेरी बास्सै’मा धुर्मुस–सुन्तलीको बिहे भएको दिन ‘बल्छी धुर्बे’ जोडिएका हुन् । उनी ‘स्पट बोइ’का रूपमा ‘मेरी बास्सै’मा जोडिएका थिए ।

यो त्यो समयको कुरा हो – जुन बेला ‘बल्छी धुर्बे’ नयाँबजार र ‘बान्द्रे’ पानीपोखरीस्थित डेरामा बस्थे । ‘बान्द्रे’ बेलैमा सहर छिरेर फुटपाथ व्यापार गरेर बाइक चढ्ने हैसियत बनाइसकेका थिए । गोरखाको उत्तरी गाउँ ताकुकोटबाट काठमाडौं सहर छिरेका बल्छीसँग गाडी भाडा तिर्ने खर्च जुटाउन पनि धौ-धौ थियो ।

पासीकोटमा हुने सुटिङ स्पटसम्म पुग्दा लाग्ने गाडी भाडा बचाउन बान्द्रेकै बाइकमा ओहोरदोहोर गरेको बल्छी सुनाउँछन् । ‘बान्द्रे दाइको डेरासम्म जान्थेँ । अनि बाइकमा जान्थेँ । आउँदा पनि दाइको डेरासम्म बाइकमा आउँथें,’ बल्छी भन्छन्, ‘दाइलाई सेटमा देखिनँ भने कता जानु भयो, बेलुका गाडीमा जानुपर्ने भयो, पैसा खर्च हुने भयो जस्तो लाग्थ्यो ।’

उनले जीवनमा पहिलो पटक चढेको बाइक पनि बान्द्रेकै हो । सुरुसुरुमा बाइक चढ्दा कुममा समात्दा बान्द्रेले भन्थे रे, ‘मरिच कुममा नसमात त ! चलाउन गाह्रो हुन्छ ।’

जागिर काण्ड !
काठमाडौंमा बल्छीको दु:ख बिसाउने एकमात्रै व्यक्ति बान्द्रे थिए । मेरी बास्सैमा बढेको आत्मीयताले बल्छी आफ्ना दुःख खुलेर बान्द्रेसँग राख्थे रे !

कोठाभाडा तिर्न मुस्किल भएको दुःखेसो गरेपछि बान्द्रेले सामाखुशीको एक दोहोरीमा बल्छीलाई जागिर लगाइदिए । बल्छीको काम दोहोरीमा गीत गाउने थियो । त्यहाँ नयाँ कर्मचारी भनेर टिप्स नदिएपछि चित्त दुखेर बल्छीले काम छाडे ।

तर आर्थिक अवस्था नाजुक नै थियो । फेरि दुःखेसो गरेपछि बान्द्रले नयाँबजारको ‘डान्सबार’ काम लगाइदिए । त्यहाँ पनि बल्छी टिकेनन् ।

नटिक्नुको कारणबारे बल्छी भन्छन्, ‘पहिलो दिन रातिमा काम थियो । युवतीहरू बिकिनीमै नाचिरहेका थिए । पछि त्यो पनि खोलेर नग्न भइ नाच्न लागे। त्यस्तो ठाउँमा काम गर्‍यो भने त बाले मार्छन् भनेर टाप कसेँ ।’

महोत्सव किस्सा
बल्छीको दुखेसोले बान्द्रेलाई पनि केही गरिदिन पाए हुन्थ्यो भन्ने लाग्ने ! भर्खरै मेरी बास्सैमा आएका बल्छी धेरै दर्शकको नजरमा पनि परेका थिएनन्, तर बान्द्रे महोत्सवमा व्यस्त हुन लागिसकेका थिए ।

बान्द्रेलाई अत्तरियाको महोत्सवमा बल्छीलाई पनि लिएर जान मन लाग्यो । कारण थियो– बल्छीलाई दुई/पाँच हजार रुपैयाँ भने पनि राहत होस् !

बान्द्रेले आयोजककहाँ कुरा पनि राखे, तर बजेट छैन भन्ने जवाफ आयो । अनेक जोडबल गरेपछि आयोजकले बल्छीलाई पनि बोलाउने भयो, तर एक जनालाई मात्रै प्लेन टिकट दिने सर्त राख्यो ।

बान्द्रे भन्छन्, ‘बसमा जान्छौ त बल्छी ? भनेको हुन्छ भन्यो । म चाहिँ प्लेनमा गएँ । कार्यक्रमसँगै गरियो । फर्कंदा गाडीमा आयौं ।’

लुगाका किस्सा
बल्छी पात्रले लगाउने कपडा पनि हिट छ । बाह्रै महिना ऊनको कालो टोपी र कालो कट्टु लगाउँछन् । मेरी बास्सैदेखि उनी यही ‘गेटअप’ छन् । तर लुगा फाटेकाले नयाँ किनेका छन् । स्टकोट भने मेरी बास्सैकै छ ।

सेतो रङको स्टकोट च्यातिएर धुजाधुजा भइसकको छ । नहोस् पनि किन ? लगाएको १५ वर्ष भइसक्यो । ‘सबै लुगा फाटे र नयाँ किनेँ । टोपी भर्खरै फेरेँ । किन्न जाँदा बल्छी टोपी भनेर बेच्न राखेको रहेछ । म वास्तविक बल्छी बन्ने थाहा पाएपछि १० हजारको टोपी सित्तैमा दियो,’ बल्छी भन्छन् ।

त्यस्तै, बान्द्रेको पनि ऊनको क्याप र ‘स्वेट टिसर्ट’ हिट छ । नीलो टोपी ठीकठाक भएपनि टिसर्टको बाउला भने च्यातिएर त्यान्द्रा निस्कन थालेको छ । उनले पनि यो लुगा लगाएको १५ वर्ष नाघिसक्यो ।

बान्द्रेले सो टिर्सट आफैँले किनेका होइनन् । भिजेर एक जना दाइको डेरा पुग्दा लगाएर हिँडेका हुन् । यो यति पुरानो घटना हो कि ती दाइ अमेरिका बस्छन् कि अस्ट्रेलिया, उनले भुलिसके ।

‘दाइलाई भेट्न गएको, घरमा हुनुहुन्न रहेछ । भिजेर पुगेकाले भाउजूले दाइको लुगा लगाएर जान भन्नुभयो । लगाएर आएँ,’ उनी भन्छन्, ‘पछि मेरी बास्सैको क्यामेराम्यान दाइ भिजेर आएपछि त्यही टिर्सट दिएँ । उहाँले लामो समय लगाएर फिर्ता दिनुभयो । अनि मेरी बास्सैमा लगाउन थालेँ ।’

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ६ : ५६ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार