अर्थसंक्षेप : मौद्रिक नीति खुकुलो आउन नहुने अर्थविद्को भनाइ, भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशतमात्रै | Khabarhub Khabarhub

अर्थसंक्षेप : मौद्रिक नीति खुकुलो आउन नहुने अर्थविद्को भनाइ, भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशतमात्रै


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थविदहरुले राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउन नहुने बताएका छन् । आज सुनको मूल्य घट्यो । आज नेप्से झिनो अंकले घट्यो । साथै देशैभर ३८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

आजका प्रमुख आर्थिक समाचार : 

‘घरजग्गा कारोबार खुकुलो बनाउनु हुँदैन’

मुलुकको अर्थतन्त्रको आन्तरिक पक्ष चलायमान नभए पनि फेरि घरजग्गामा ऋण प्रवाह हुनेगरी मौद्रिक नीति आउन नहुने अर्थविद्हरूको धारणा छ । पूर्व अर्थ सचिव रामेश्वर खनालले अर्थतन्त्रका बाह्य सूचक र बैकिङ क्षेत्रमा नदिएको निक्षेपको अवस्थालाई हेर्दा केही सहज देखिए पनि खुकुलो मौद्रिक नीति अख्तियार गर्न नहुने धारणा राखेका छन् ।

‘अहिले अलिकति खुकुलो गर्नपर्ने अवस्था चाहिँ हो तर, विगतको लगानी ज्यादै खराब भएकाले खुकुलो मौद्रिक नीतिले फेरि तिनै खराब ऋणीहरूलाई थप ऋण दिने अवसर सिर्जना गर्छ’, खनालले भने, ‘त्यसो भएर अहिले खुकुलो मौद्रिक नीति ल्याउन मनासिब छैन ।’

अहिले शेयर धितो कर्जामा ४९१२ क्याप र १२५ प्रतिशत जोखिम भार रहेको छ । जुन विषयमध्ये ४९१२ को क्याप भने मौद्रिक नीतिको कार्यक्षेत्र नपर्ने खनालले तर्क गरेका छन् । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अपनाउँदै आएको व्यवस्थालाई हटाउँदा राम्रो हुने बताए ।

त्यस्तै, पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पनि नेपालको अर्थतन्त्रमा जोखिम कायमै रहेको भन्दै खुकुलो मौद्रिक नीति आउन नहुने बताएका छन् । अर्थतन्त्रका परिस्थितिलाई सच्याउने मुख्य भूमिका मौद्रिक नीतिको नभएको उनको तर्क छ ।

‘अहिलेको परिस्थितिलाई सच्याउन मौद्रिक नीति जिम्मेवार हो की होइन’, प्रश्न गर्दै उनले भने, ‘मौद्रिक नीति भनेको ब्याजदर हो, विनिमय दर हो ।’ उनले कर लगायत विषयमा राष्ट्र बैंकले सरकारलाई सुझाव दिन सक्ने बताउँदै कार्यान्वयन गर्ने नगर्ने सरकारको जिम्मा भएको बताए ।

‘मौद्रिक नीतिले अहिले बजेटमा लिइएको ६ प्रतिशतको आर्थिक वृद्धिका लागि कति चाहिने हो भन्ने लक्ष्य राखेर उपयुक्त किसिमको नीति लिन्छ’, उनले भने, ‘त्यो उपयुक्त किसिमको नीति भनेको मैले के ठान्छु भने खुकुलो र लचिलो आउँदैन ।’

झिनो अंकले घट्यो नेप्से, १४१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट

सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा झिनो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २१।२७ अंकले बढेको नेप्से सोमबार भने ४।६२ अंकले घटेको हो । सोमबार नेप्सेमा भएको कारोबारमा ९५ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने १४१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

त्यस्तै सोमबार १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर अवस्थामा रह्यो । आज नेप्सेमा १ करोड ४ लाख ७५ लाख १८१ कित्ता ५९ हजार ९७४ वटा कारोबार हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भयो ।

जसमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

सुनको मूल्य घट्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ । यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

समयमै वर्षा भएसँगै मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिलकराज चौलागाइँले जानकारी दिए। सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ ।

आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा २५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्यांकमा उल्लेख छ ।

देशभर रोपाइँ हुने क्षेत्रफल कूल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ । सबैभन्दा धेरै मधेसमा तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ । अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल ९४२।९ प्रतिशत० मा रोपाइँ सम्पन्न भएको थियो ।

नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । माग ६२ लाख मेट्रिक टन रहेको छ । नेपालमा गत वर्ष अपेक्षाअनुसारको मात्रामा धान उत्पादन भएको र यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने सूचना अधिकारी चौलागाइँले बताए।

यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको हो । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा सामान्यतया मनसुन अवधि सरदर जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । यद्यपि मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ ।

नवलपुरमा व्यावसायिक स्याउ खेती

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो ।

एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिए।

‘यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ’, उनले भने, ‘बिरुवा रोपेको दुई वर्षमा नै फल दिन थालेको छ ।’

एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दानाहरू फुटेको उनले बताए। यहाँ लगाइएको स्याउको फल पहेँलो रङ  र स्वाद फुजी स्याउको जस्तै हुने उनको भनाइ छ ।

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ ।

एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा किटाणुरहीत वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ ।

टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उनले बताए  ।

केराको बिरुवा प्रतिगोटा ३५ देखि ६० सम्म र बाँसको बिरुवा प्रतिगोटा एक सय ३० मा बिक्री गरिन्छ । स्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ ।

भुक्तानीको अन्तिम दिन पुँजीगत खर्च ५२ प्रतिशतमा सीमित

चालु आर्थिक वर्षको (आव)को भुक्तानीको लागि अन्तिम दिन मानिने आज सोमबार पौने ४ बजेसम्म सरकारले १३ खर्ब २२ अर्ब ६० करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । सोही समयसम्म सरकारले राजस्व, गैर राजस्व र अनुदान बापत १० खर्ब २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६८.०९ प्रतिशत मात्रै आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको आज दिउँसोसम्मको आम्दानी र खर्चको अवस्था सरकार ३ खर्ब १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँले घाटामा रहेको देखिएको छ ।

सरकारले आजसम्म गरेको खर्चमध्ये पुँजीगत खर्चतर्फ १ खर्ब ५७ अर्ब ६९ करोड ९ लाख अर्थात् विनियोजित रकमको जम्मा ५२.२ प्रतिशत भएको छ । त्यस्तै सोही सम्म सरकारले चालु खर्च बापत ९ खर्ब २४ अर्ब ३२ लाख अर्थात् सो शीर्षकमा विनियोजित कुल रकमको ८०.९३ प्रतिशत चालु खर्च गरेको छ ।

सरकारले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको खर्च लक्ष्य राखेकोमा बजेटको अर्धवार्षिक समीक्षामार्फत् ८७.३ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको थियो । सरकारले विगत लामो समयदेखि पुँजीगत खर्चमा सुधार गर्न सकेको छैन । पछिल्लो ४ वर्षको तथ्यांकलाई हेर्दा सरकारको पुँजीगत खर्च सुधारोन्मुख भएको देखिँदैन ।

अघिल्लो आव ०७९/८० मा सरकारले पुँजीगत शीर्षकमा विनियोजित ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेटमध्ये जम्मा १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख अर्थात् ६१.४४ प्रतिशत मात्रै खर्च गरेको थियो । त्यस्तै सरकारले आव ०७८/७९ का लागि पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोमा सो आवको असार मसान्तसम्म जम्मा २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख ५७।२३ प्रतिशत मात्रै खर्च गरेको थियो ।

आव ०७७/७८ मा पनि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रकम विनियोजन गरेकोमा सो आवको असार मसान्तसम्म २ खर्ब २८ अर्ब ३० करोड ६ लाख अर्थात् ६४.६९ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।

आजसम्मको पुँजीगत खर्च ५२ प्रतिशतमा सीमित भए पनि आवको अन्तिम दिनसम्म ६० प्रतिशतसम्म पुग्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले खबरहबसँग कुरा गर्दै आवको अन्तिम दिनसम्म ६० प्रतिशत पुग्ने अनुमान रहेको बताए । साथै उनले हिजोआजका दिनमा पनि खर्च नभएका शीर्षकबाट बढी खर्च भएको शीर्षकमा रकमान्तर गर्ने काम भइरहेको बताएका छन् । कति रकमान्तर हुन्छ भनेर भने भन्न नसकिने उनले बताए ।

‘अहिले पनि खर्च नभएका शीर्षकहरूबाट बढी खर्च भएका शीर्षकहरूमा रकमान्तर भइरहेको छ, मेरो अनुमानमा पुँजीगत शीर्षकमा ६० प्रतिशतसम्म खर्च हुन्छ होला ।’

महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी सूचना अधिकारी ओमप्रसाद रिजालले भने आज साँझ ५ बजेसम्म भुक्तानी प्रक्रियामा नआएका बिलहरुको सन्दर्भमा सरकारले निर्णय गरेर मात्रै भुक्तानी हुने बताए ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ६ : २५ बजे

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार

काठमाडौं– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लेबनान र इजरायलमा रहेका नेपालीले आफ्नो अवस्था अपडेट गर्नू : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका

पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान

माले– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आइतबार प्रथम महिला साजिदा मोहम्मदसँग

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरू संवेदनशील हुन आवश्यक छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको 

सर्लाहीमा बाढी : मृतकका परिवारलाई जनही दुई लाख सहयोग

बरहथवा– बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका