धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा « Khabarhub

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । 

विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरू ओझेलमा परेका हुन् । 

पदमार्गका प्रमुख आकर्षणको रुपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको अभावमा ओझेलमा परेको चिमखोलाका स्थानीय युवा ओम पुनले बताए ।

‘हिमालको फेदीदेखि पहाडका टाकुराहरुमा मनमोहक ताल छन्, तर आधार शिविर हुँदै यी तालमा पुग्न व्यवस्थित पदमार्ग निर्माणले पूर्णता पाएको छैन’, पुनले भने । धौलागिरि आइसफल आधार शिविरमा मनमोहक निली बराह ताल छ । धौलागिरिको फेदीमा रहेको यो तालले पर्यटक लोभ्याउने गरेको छ । यस तालको पानीको रङ्ग निलो छ । जमिनमाथि रहेको यो तालमा पानीको स्रोत नदेखिए पनि ताल कहिल्यै नसुक्ने विशेषता रहेको चिमखोलाका अगुवा गमबहादुर पुनले जानकारी दिए । 

धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ । वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित छ । अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ ।

आधार शिविर र चिमखोलाको कालीबराह खोलाको दोभानबाट एक दिनको पदयात्रामा पुग्न सकिने कालीबराहमा मुस्ताङको लेतेबाट परम्परागत गोठ र भोट जाने पदमार्ग जोडिएको छ । कालीबराहमा जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने गर्छ । 

यहाँ भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यहाँ  ताल परिसरमा बराह थानसमेत छ । कालीबराह नजिकै पहाडको टाकुरामा रहेको पहेँली बराह ताल समुद्री सतहदेखि चार हजार सात मिटर उचाइमा छ । हिउँदयाममा चिसोले जम्ने यो ताल पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ । यस पदमार्गमा निली बराह, कालीबराह, पहेँलीबराह तालसँगै लाटीबराह, सेतीबराहमनिबराह तालसमेत पदमार्गमा पर्ने स्थानीय कृष्ण पाईजाले जानकारी दिए।

यहाँका ताल तलैयामा हुने पानीको रङ र बराहको नामबाट तालहरुको नामाकरण गरिएको छ । स्थानीयले ताल तलैयामा भारा पूजा गर्ने चलन छ । 

धौलागिरि आइसफल पदमार्गअन्तर्गत अहिले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारादेखि धौलागिरि हिल भ्यू प्वाइन्ट सम्मको बाटोमा व्यवस्थित पदमार्ग निर्माण भएको छ । 

यसबीचमा रहेकोे कोखेभिर र धौलागिरि भ्यू प्वाइन्टबाट आधार शिविर जाने अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ ।  आधार शिविरबाट पहेँलीबराह, कालीबराह हुँदै लेते जाने परम्परागत गोरटो बाटोमा व्यवस्थित पदमार्ग बन्न नसकेको पाईजाले बताए ।

भिरमा पदमार्ग नहुँदा रघुगङ्गा नदीलाई दुई ठाउँ वारपार गर्नुपर्ने र भिरमा डोरीको सहायता लिनुपर्ने बाध्यता छ । यस पदमार्गमा कालीबराह खोला र धौलागिरि भ्यू प्वाइन्ट हिललगायतका ठाउँमा झोलुङ्गे पुलको अभाव छ । रघुगङ्गा गाउँपालिकाले एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको छ । 

डिपिआर अनुसार पदमार्ग, आश्रयस्थल, झोलुङ्गे पुललगायतका पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

‘आइसफल पदमार्गमा गत वर्षसम्म संघीय सरकारबाट पदमार्ग बनाउने योजना सञ्चालन भएको थियो, तर त्यसलाई पूर्णता दिन हामीले गुरुयोजना बनाएर स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा पहल थालेका छौँ’, अध्यक्ष भण्डारीले भने । 

धौलागिरि हिमालको आधार शिविर, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका मनमोहक हिमशृङ्खला, हिम चुचुराबाट हिउँ खसेको दृष्यसँगै ग्लेसियर, रघुगङ्गा नदीको मुहान, सुन छहरा, गुफा, ओढार र अग्ला डाँडाकाँडाको मनोरम दृष्यले यस पदमार्गमा आउने पर्यटकलाई लोभ्याउने गरेको छ। 

कमल खत्री- रासस

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १ : ०१ बजे

रुपन्देहीमा निर्वाचनको तयारी पूरा

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत

मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त

काठमाडौं– मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन