बुद्धदेव भट्टाचार्य : जसको हारसँगै पश्चिम बंगालमा ढलेको थियो ३४ वर्ष लामो कम्युनिस्ट शासन | Khabarhub Khabarhub

बुद्धदेव भट्टाचार्य : जसको हारसँगै पश्चिम बंगालमा ढलेको थियो ३४ वर्ष लामो कम्युनिस्ट शासन


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री एवं कम्युनिस्ट नेता बुद्धदेव भट्टाचार्यको बिहीबार निधन भएको छ ।

भट्टाचार्यको ८० वर्षको उमेरमा कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निवासमै स्थानीय समयअनुसार बिहीबार बिहान ८.२० बजे निधन भएको हो ।

उनी लामो समयदेखि बिरामी थिए । उनको श्वासप्रश्वासमा समस्या थियो । त्यसकै कारण उनलाई कयौँ पटक अस्पतालमा भर्ना गरिएको थियो। उनको निधनको खबरले पश्चिम बंगालको राजनीतिक जगतमा शोक छाएको छ । बुद्धदेवको निधनको पुष्टि छोरा सुचेतन भट्टाचार्यले गरेका छन् ।

भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको सातौँ मुख्यमन्त्री बनेका थिए । उनी एक चर्चित भारतीय राजनीतिज्ञ तथा मार्क्सवादी कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य थिए ।

उनले जाधवपुर विधानसभा क्षेत्रबाट १४ मे २०११ सम्म विधायक रहे। २४ वर्षसम्म विधायक रहेपछि उनी आफ्नै सरकारका पूर्व मुख्य सचिव मनीष गुप्तासँग पराजित भए ।

उनी आफ्नै विधानसभा क्षेत्रमा हार्ने पश्चिम बंगालका दोस्रो मुख्यमन्त्री थिए । उनीभन्दा अघि प्रफुल चन्द्र सेन सन् १९६७ मा आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका थिए ।

बुद्धदेव भट्टाचार्य पश्चिम बंगालका पूर्वमुख्यमन्त्रीसँगै एक प्रमुख कम्युनिस्ट राजनीतिज्ञ थिए । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का वरिष्ठ नेता उनको जन्म १ मार्च १९४४ मा भएको थियो । उनले पाँच दशकभन्दा लामो समय राजनीतिमा बिताए ।

खुला व्यापार नीतिका पक्षपोषक

बुद्धदेव ब्यापारप्रति आफ्नो अपेक्षाकृत खुला नीतिका लागि परिचित थिए । उनले आफूलाई भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) पार्टीले पारम्परिक रूपमा अंगाल्दै आएको पुँजीवाद विरोधी धारबाट विपरीत उभ्याएका थिए । मुख्यमन्त्रीका रूपमा उनको कार्यकालमा भूमि अधिग्रहणबारे भएको विरोध दबाएको र प्रदर्शनकारीविरुद्ध हिंसा गरेको आरोप सामना गर्नुपर्‍यो । सन् २०११ कव चुनावमा उनको हारको कारणमध्ये यो पनि बन्यो ।

यस हारले पश्चिम बंगालमा वाम मोर्चाको ३४ वर्ष लामो शासन पनि समाप्त गरिदियो । जुन लोकतान्त्रिक रुपमा चुनिएको विश्वकै सबैभन्दा लामो कम्युनिस्ट सरकार थियो। भट्टाचार्य पश्चिम बंगालमा मार्क्सवादी पार्टीका अन्तिम मुख्यमन्त्री बने । उनी चर्चित कम्युनिस्ट नेता ज्योति बसुका उत्तराधिकारी थिए । बसुका उत्तराधिकारीका रुपमा उनले सन् २०११ सम्म सत्ता सम्हाले । त्यसबेलासम्म ममता बनर्जीको तृणमूल कांग्रेस (टीएमसी) सत्तामा आउन सकेन ।

ज्योति बसुका उत्तराधिकारी

बुद्धदेव भट्टाचार्य सन् २००० देखि सन् २०११ सम्म बंगालका मुख्यमन्त्री थिए । उनले माकपाका वरिष्ठ नेता ज्योति बसुको स्थान लिएका थिए । बुद्धदेव भट्टाचार्य भारतको पूर्वी राज्यको अन्तिम वामपन्थी मुख्यमन्त्री थिए । त्यसपछि पश्चिम बंगालमा कम्युनिस्टले टाउको उठाउन सकेनन् ।

सन् २०११ को विधानसभा चुनावमा वर्तमान मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टीएमसी) सँग उनी र उनको दल नराम्ररी हार्‍यो । यससँगै पश्चिम बंगालमा वामपन्थीको ३४ वर्ष लामो शासन पनि पतन भएर गयो ।

उनको कार्यकाल ममता बनर्जीको नेतृत्वमा उद्योगका लागि भूमि अधिग्रहणलाई लिएर भएको प्रदर्शनबाट परिभाषित हुन पुग्यो । उनले सन् २०१५ मा माकपा पोलिटब्यूरो र केन्द्रीय समितिबाट राजीनामा दिए । उनले त्यसको ३ वर्षपछि पार्टीको राज्य सचिवालयको सदस्यता पनि छाडे ।

पछिल्ला केही वर्षमा बुद्धदेव भट्टाचार्य ज्यादाजसो सार्वजनिक कार्यक्रमबाट परै रहे । उनी दक्षिण कोलकाताको पाम एभेन्युमा आफ्नो दुई कोठे सरकारी फ्ल्याटमै सीमित भए ।

उनको अन्तिम सार्वजनिक उपस्थिति सन् २०१९ को लोकसभा चुनावअघि कोलकातामा भएको थियो । त्यसबेला उनले अक्सिजन सपोर्टसहित ब्रिगेड परेड ग्राउन्डमा वामपन्थीको र्‍याली अघोषित रूपमा पुगेर आफ्ना पार्टी कार्यकर्तालाई चकित बनाइदिएका थिए ।

सत्ताबाट बहिर्गमन

राज्यमा तीव्र गतिको औद्योगिकीकरणका लागि भट्टाचार्यको प्रयास नै सीपीएमलाई सत्ताबाट बाहिरिने कारण बन्यो । पश्चिम बंगाल लागतार ३४ वर्षसम्म दुई कम्युनिष्ट मुख्यमन्त्रीको अधीनमा थियो । भट्टाचार्यले वाममोर्चा सत्तामा फर्किएपछि टाटा मोटर्सलाई हुगलीको सिंगुरमा अटोमोबाइल कारखाना बनाउन भनेका थिए । तर उनको त्यही कार्यकाल नै पश्चिम बंगालमा कम्युनिस्ट शासनका लागि अन्तिम बन्यो ।

ममता बनर्जी र एक इन्द्रधनुषी गठबन्धनको नेतृत्वमा सिंगुर र नन्दीग्राममा भूमि अधिग्रहण विरोधी आन्दोलनले वाम मोर्चा शासनलाई नउठ्ने गरी समाप्त गरिदियो ।

सन् २०२४ को लोकसभा चुनावका क्रममा सीपीएमले बंगालका मतदातालाई सम्बोधन गर्ने भट्टाचार्यको एआई निर्मित भाषण जारी गरेको थियो । जसमा उनले मतदाताहरूलाई भारतीय जनता पार्टी र तृणमूल दुवैलाई खारेज गरिदिन भनेका थिए। उत्कृष्ट कवि र अनुवादक भट्टाचार्य एक सौखिन पाठक पनि थिए। उनी गेब्रियल गार्सिया मार्केजलाई आफ्नो आदर्श मान्थे ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  २ : १२ बजे

पोम्पेओ र हेलीलाई ह्वाइट हाउसको नयाँ टोलीमा समावेश नगरिने : राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो प्रशासनका दुई

इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

गाजा– गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा

हवाई भाडा महँगिएको भन्दै सांसद बजगाईँले गरे माइतीघरमा विरोध

काठमाडौं– हवाई भाडा महँगो भएको भन्दै कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र

विदेश जाने नेपाली युवालाई निःशुल्क योग सिकाइने

काठमाडौं– विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले विदेश जानुअघि

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डिपी अर्याल

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी)