काठमाडौं– बाँके र चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतको रूपडिया बजारबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका-७ बुद्दचोक डेरा गरी बस्ने कालिका नगरपालिका-४ पदमपुर घर भएका २६ वर्षीय अनोज स्याङबोको कोठाबाट नियन्त्रित लागूऔषध ट्माडोल २ हजार १ सय २० ट्याब्लेट र एनारगन २ हजार २० ट्याब्लेट सहित भरतपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय शेखर बहादुर श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अनोजको कोठामा लागूऔषध किनबेच भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार अनोजको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया