प्रभावकारी बन्दै होमियोप्याथी उपचार | Khabarhub Khabarhub

प्रभावकारी बन्दै होमियोप्याथी उपचार

के हो होमियोप्याथी चिकित्सा ?


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रे घर भइ काठमाडौं बौद्ध बस्दै आएका ३२ वर्षीय सागर खड्काको हात खुट्टामा मुसा आएको थियो। हात खुट्टा नै कुरुप देखिने गरी लामो समयसम्म मुसा रहिरहेपछि उनी चिन्तित हुँदै अस्पताल धाउन थाले। अधिकांश अस्पतालका चिकित्सकले अप्रेशन गर्नुपर्छ भन्ने सुझाव दिए। धेरै भएकाले अप्रेशन गर्न पनि समस्या नै भयो।

त्यसपछि पशुपति होमियोप्याथिक चिकित्सलाय हरिहरभवनमा उपचार हुन्छ भन्ने थाहा पाएर त्यहाँ पुगेका सागर अहिले खुशी छन्। होमियोप्याथिक चिकित्सलायको औषधीले उनको हात खुट्टामा भएका सबै मुसा हराए।

त्यस्तै लामो समयदेखी माइग्रेनकी बिरामी ५५ वर्षीया एक महिला रोगबाट छुटकारा पाउँदा निकै खुशी छिन्। नाम नछाप्ने शर्तमा ती महिलाले भनिन्, ‘अनेक थरी चेकजाँच गराएँ। औषधी खाएँ तर निको भएन। अहिले होमियोप्याथी औषधी खाँदा अलि सहज भएको छ। यहाँ त औषधी पनि निःशुल्क पाउने रहेछ १५/१५ दिनमा आएर औषधी लिएर जान्छु पहिलेको भन्दा टाउको दुख्न धेरै कम भएको छ।

चिकित्सालयका कार्यवाहक प्रमुख डा. रामप्रसाद अधिकारी भन्छन्, ‘पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसप्रति चेतना बढेको छ। जसका कारण स्वास्थ्यमा सामान्य समस्या आउँदा तुरुन्तै यहाँ आउने र उपचार गराउने एकथरी मान्छे छन् भने अर्को थरी सबैतिर उपचार गराएर अन्तिम विकल्प के त भन्दा होमियोप्यथीमा आउँछन्।’

उनले क्यान्सरको अन्तिम अवस्थामा पुगेका बिरामीको उपचार गर्न पाउँदा खुशी लाग्ने गरेको बताए। मिर्गौलाको पत्थरी, पाठेघरमा सिस्ट पलाएको, प्रारम्भिक अवस्थाका पायल्स, फिस्टुला, हर्नियालगायत तत्काल शल्यक्रिया गर्नुनपर्ने खालका समस्या लिएर अधिकांश बिरामी कोमियोप्याथीमा पुग्ने गर्छन्।

के हो होमियोप्याथी उपचार पद्धति ?
डा. अधिकारीका अनुसार यो एकदमै आधुनिक र वैज्ञानिक चिकित्सा पद्धति हो। होमियोप्याथी, होमियो र प्याथिक दुई शब्दबाट बनेको हो। होमियोको अर्थ समान र प्याथिकको अर्थ बिरामी हो।

होमियोप्याथीमा प्रयोग हुने विभिन्न पदार्थलाई स्वस्थ्य मानिसको शरीरमा पार्ने प्रभावको परीक्षण प्रक्रिया गरी प्रयोगमा ल्याइएको डा. अधिकारीले बताए। होमियोप्याथी उपचार गर्दा औषधीको मात्रा न्यूनतम प्रयोग गर्नुपर्दछ, जुन मात्रा बिरामीको शरीरका लागि उपयुक्त हुन्छ।

सबै किसिमका रोगको उपचारमा प्रभावकारी
आकस्मिक दुर्घटना हुँदा, चोटपटक लाग्दा र तत्काल शल्यक्रिया गर्नुपर्ने बाहेक सम्पूर्ण प्राकृतिक रोगमा यो उपचार पद्धति सक्षम र प्रभावकारी भइरहेको डा.अधिकारीले बताए।

पिनास, श्वासप्रश्वास, दम, छाला, पेट, पत्थरी, हाडजोर्नी, बाथ, रक्तचाप, माइग्रेन, पायल्स, नाक, कान तथा घाँटी, यौनरोग, स्त्रीरोग, मानसिक रोगलगायतको समस्या लिएर टाढा टाढाबाट बिरामी आउने गरेको उनले बताए।

यस पद्धतिबाट उपचार गर्दा यो रोग निको भयो भने फेरि बल्झिने सम्भवना एकदमै कम हुने डा. अधिकारीको भनाइ छ। चिकित्सालयमा दैनिक तीन सय जनासम्म बिरामीले उपचार गराइरहेका छन्।

नेपालमा होमियोप्याथीको सुरुवात र अहिलेको अवस्था
डा. अधिकारीका अनुसार वि.सं २०१० सालमा पशुपतिको बज्रघरमा ६ शैय्याको अन्तरङ्ग सेवासहित स्थापना भएको प्रमाण छन्। त्यसपछि २०३८/४० सालतिर हरिहर भवनको ललितपुरमा आफ्नै भवनबाट यसको सेवा सुरु भयो। जुन निरन्तर चलिरहेको छ। सम्पूर्ण चेकजाँच तथा उपचार निःशुल्क रुपमा हुने गरेको उनले बताए।

नेपालमा यसको सुरुवात धेरै अगाडिबाट भए पनि प्रचारप्रसार हुन नसकेको उनको बुझाइ छ। अहिले पनि राज्यले यसलाई प्राथमिकतामा राखेको छैन। वैकल्पिक उपचार पद्धति भनेर एउटा कोठामा थनक्याएको अवस्था छ। पछिल्लो समय जनमानसमा यसको प्रभाव पुगेको उनले बताए।

होमियोप्याथीको विकासका लागि सरकाले गर्नुपर्ने काम
होमियोप्याथीको विकासका लागि स्वास्थ्य मन्त्रालयले अलिकति पहल गरेर वैकल्पिक चिकित्सा अन्तर्गत यो रोगको उपचार हुन्छ भनेर प्रचारप्रसार गर्नुपर्ने देखिन्छ। बिरामीले उपचारका लागि अस्पताल धाउँदाधाउँदै बढ्ने खर्च र समयलाई यो उपचार पद्धतिले घटाएको डा. अधिकारीको भनाइ छ।

‘अहिले चिकित्सालयको लामो प्रयासपछि मधेश प्रदेशका आठ जिल्लामा करार सेवामै भए पनि होमियो चिकित्साको एउटा युनिट राख्न सफल भएका छौं’, उनले भने। त्यस्तै बाग्मती प्रदेशको हेटौंडामा एउटा दरबन्दी छ त्यहाँ पनि यो सेवा सुरु भएको छ। सुदूरपश्चिममा धनगढी, कोशी प्रदेशको इटहरी, उर्लाबारी र मेची अञ्चल अस्पतालमा पनि यसको सेवा सुरु भएको छ।

धेरैलाई यो पद्धतिको बारेमा जानकारी छैन कतिपयले यसलाई आयुर्वेदिक उपचार पद्धति मानेका छन्। तर पछिल्लो समय सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट यसप्रति सचेतना बढेको पाइएको उनले बताए।

चिकित्सालयमा अहिले १८ जनाको दरबन्दी छ। त्यसमा दुई जना मात्रै होमियोप्यथिकसँग सम्बन्धी चिकित्सक छन् भने अरु अन्य चिकित्सातिरका कर्मचारी छन्। सबैभन्दा प्राथमिकतामा जनशक्ति रहेको डा. अधिकारी बताउँछन्। ‘पर्याप्त जनशक्ति नभएसम्म विस्तार गर्ने कुरा नारामा मात्रै सीमित रहन्छ’, उनले भने, ‘स्वास्थ्य सेवा भनेको आम नागरिकको हकको कुरा हो। यदि सरकारले जनशक्ति बढाएर सबै प्रादेशिक अस्पताल तथा जिल्ला अस्पतालमा एउटा मात्रै युनिट राखिदिए धेरै बिरामीले सेवा पाउने अवस्था बन्छ।’

औषधी कहाँबाट आउँछ ?
हरेक वर्ष करिब ५० हजार बिरामीलाई सेवा दिँदै आइरहेको चिकित्सालयले स्थापना कालदेखि नै औषधी निःशुल्क प्रदान गर्दै आएको छ। स्वास्थ्य मन्त्रालयले निश्चित बजेट विनियोजन गरेकोमा औषधीको लागि वार्षिक ५० लाख खर्च हुने गरेको डा. अधिकारीले बताए।

सेवा विस्तारका लागि सरकारले गरेको काम
हरेक वर्ष चिकित्सा प्रणालीलाई एकीकृत गर्ने, विस्तार गर्ने लगायतका कुरा नेपालको संविधानमै लेखिएका छन्। तर व्यवहारमा लागू नभएको उनले बताए।

‘हामी आफै पनि सरकारी कर्मचारी भएकाले के गर्यौं भन्ने कुराहरु आउला। तर हामीले आफ्नो तर्फबाट गर्ने क्रियाकलाप गरिरहेका छौं। जस्तै यहाँ बसेर सेवा दिने बाहेक उपत्यका वरपरका जिल्लामा होमियोप्याथी पद्धतिबारे प्रचारप्रसार गर्ने काम हामीले गरिरहेका छौं। हामीसँग भएको सीमित स्रोतले धेरै जनमानसमा पचारप्रसार गर्न सम्भव भएको छैन।’

‘सरकारको साधारण स्वास्थ्य सेवा भन्ने एउटा कार्यक्रम छ। त्यसमा होमियोप्याथीलाई पनि समावेश गरिएको छ। तर यो कार्यक्रम कार्यान्वयनमा आइसकेको छैन।’

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : ३८ बजे

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछाने विरुद्ध पुनरावेदन नगर्ने

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने

चाडबाडमा जुठो, सुतक : कति पुस्तासम्म बार्नुपर्छ ?

चाडपर्व, पूजाआजा, विहेबारीका मांगालिक कामको तामझाम चलिरहँदा झ्वाट्ट कतैबाट जुठो,