रविको पक्षमा किन उठेन आन्दोलन ? | Khabarhub Khabarhub

रविको पक्षमा किन उठेन आन्दोलन ?

विवादित छविले नयाँ शक्तिप्रति जनताको आश मर्‍यो : विश्लेषक



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । कात्तिक २ गते पार्टी कार्यालय चमतीबाट पक्राउ परेका लामिछानेको तेस्रो पटक म्याद थपिएको छ। उनी शुक्रबारसम्म कास्की प्रहरीकै हिरासतमा छन् । लामिछानेको गिरफ्तारीपछि आन्दोलन उठ्न सक्ने अनुमान सत्तापक्ष र रास्वपा दुबैको थियो ।

लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले रुपन्देहीको बुटवल लाने तयारी गरेको छ । तर, कास्कीको अनुसन्धान अझै टुंगिएको छैन । रुपन्देहीस्थित सुप्रिम सहकारीको बचत ठगीमा अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

लामिछानेलाई सहकारी ठगीसम्बन्धी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा एकसाथ कारबाही अगाडि बढाउने तयारी सरकारले गरेको छ ।

लामिछाने पक्राउ परेपछि कात्तिक २ गतेयता राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर आन्दोलनमा छ । उनी पक्राउ पर्ने दिन पार्टी कार्यालय चमतीमा पनि नाराबाजी र हुटिङ भएको थियो । पक्राउ गर्न लागेको सूचना पाएपछि रवि र अन्य नेताले कार्यकर्तालाई कार्यालयमा बोलाएका थिए ।

त्यस कार्यकर्ता र शुभचिन्तकले रविलाई पक्राउ गर्न नदिनेसम्मको कोसिस गरेका थिए । तर रास्वपा प्रवक्ता मनिष झाले रविलाई कानुनी हिसाबमा कारबाही अगाडि बढाउन दिन आग्रह गरेका थिए ।

त्यसपछि कात्तिक २ गते साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले रविलाई पक्राउ गरेर स्थलमार्ग हुँदै कास्की प्रहरीमा पु¥याएको थियो । त्यसयता रास्वपा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलित छ ।

करिब ४ हजार कार्यकर्ता देशभरबाट बोलाएर एक साता पोखरामा आन्दोलन गरेकोे रास्वपा अहिले काठमाडौंकेन्द्रित छ । उसले कात्ति ९ गतेबाट काठमाडौंमा आन्दोलन थालेको थियो । पोखरामा कार्यकर्तालाई राख्नै मुश्लिक परेपछि काठमाडौंकेन्द्रित भएको रास्वपाले यहाँ पनि आन्दोलन उठाउन सकेन ।

केही दिन माइती घरमण्डल र बालुवाटार क्षेत्रमा नारा जुलुस गरेपछि त्यसपछि रास्वपाको आन्दोलन करिब सेलाएको छ । कात्तिक १३ गते गरिएको बालुवाटार घेर्ने आन्दोलनमा पनि प्रहरीले धरपकड गरिदियो । बालुवाटारको आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै सांसदसहित १७ जनाभन्दा बढी नेता कार्यकर्ता समातिए । त्यसपछि रास्वपाको आन्दोलन सुस्ताएको छ ।

त्यसअघि कात्तिक १२ गते पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले बालुवाटार आन्दोलनबारे गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए । तर पनि प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै हस्तक्षेप गर्यो ।

पोखरा र माइतीघरबाट आन्दोलन चर्काउन खोजिए पनि प्रहरीको कडा निगराीका कारण अघि बढ्न सकेन । चितवनमा एक दिन आन्दोलन भए पनि अन्य क्षेत्रमा रास्वपाका शुभचिन्तक र कार्यकर्ता सडकमा निस्किएनन् ।

यसबीचमा तिहार र छठ आएपछि सोचेजस्तो आन्दोलन गर्न नसकिएको रास्वपा प्रवक्ता मनिष झाले स्वीकारे । रवि हिरासतमा हुँदा पार्टीको नेतृत्व गरिरहेका पार्टी उपसभापति अर्याल छठपछाडि आन्दोलनले थप गति लिने बताउँछन् । उनले देशभर आन्दोलनको लहर चर्किसकेकाले छठपछाडिका सशक्त हुने बताउँछन् ।

उपसभापति अर्यालले यसो भने पनि रवि पक्राउ परेपछि देशभर आन्दोलन उठ्न सकेन । रविमाथि वित्तीय अपराधबारे अनुसन्धान भइरहेका बेला देशभरबाट जनलहर उठ्ने सम्भावना नरहेको राजनीति विश्लेषकहरू बताउँछन् । रास्वपाले राजनीतिक रंग दिन खोजे पनि अदालतमा पुगिसकेको विषयमा जनता सडकमा निस्कन तयार नभएको उनीहरूको भनाइ छ ।

कता गए ११ लाख ३० हजार मतदाता ?

२०७९ को निर्वाचनमा रास्वपाले देशभरबाट समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको थियो । पहिलो पटक निर्वाचनमा होमिएको नयाँ शक्तिले जनताबाट यति मत पाउनु चानचुने थिएन । त्यही मतले ऊ देशको चौथो ठूलो शक्ति भएको थियो । रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्दा समानुपातिकतर्फ १३ सहित २० सांसद थिए ।

तनहुँ १ बाट कांग्रेस सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछिको उपनिर्वाचनमा रास्वपाले १ सिट थप्यो । त्यहाँबाट विजयी रास्वपा नेता डा. स्वर्णिम वाग्ले उपसभापति छन् ।

रास्वपाले पाएको ११ लाख ३० हजार मत चानचुने थिएन । तर पनि पुराना दलप्रति जनताको निराशा र दिक्दारीको मत भएकाले सबै पार्टीको मतका रुपमा ठोकुवा गर्न नहुने राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन् ।

लाभका अनुसार जनताले रास्वपा पार्टीलाई भन्दा सभापति रविकै अनुहार हेरेर मत दिएका हुन् । सार्वजनिक जीवनमा विवादित व्यक्ति भएकाले मत दिने जनता सडकमा आएर रविको पक्षमा नारा गुञ्जाउन नसकेको लाभ बताउँछन् । रविको छवि नराम्रो हुँदा जनता दिक्दार भएर समर्थनमा ननिस्केको उनले बताए ।

‘रवि पुराना दलभन्दा विवादित मान्छे रहेका जनताले बुझिसकेछन् । उनी जता गए पनि काण्डै काण्ड, विवादै विवादमा घेरिएका व्यक्ति भए । त्यसकारण जनता उत्साहित भएर साथ दिने अवस्थामा नपुगेका हुन्’, लाभले खबरहबलाई भने, ‘वित्तीय अपराधमा मुछिएको, सामाजिक अपराध गरेको र पारिवारिक विवादले पनि रविको पक्षमा जनलहर देखिएन । अब झन् उनको अवस्था खस्किँदै जाने खतरा छ ।’

‘रविले आफ्नो पदको महत्व राम्रोसँग नबुझेका कारण उनको पक्षमा लहर नखेरिएको हो । राजनीति गर्ने भएपछि दुईचार कुरा सहनुपर्छ । उनी आफ्नो आलोचना नसुन्ने देखिए’, लाभले भने, ‘पार्टीमा पनि व्यक्तिवाद हाबी भयो ।’

अर्का राजनीतिक विश्लेषक इन्द्र अधिकारी पनि रविमा यो संकट आउने आंकलन पहिले नै भइसकेको बताउँछिन् । तर यति छिटो यस्ता काण्ड बाहिर आउने अनुमान नगरिएको उनको तर्क छ । तर उनको व्यक्ति चरित्र र सत्तामुखी स्वभावका कारण जनताले साथ नदिएको अधिकारी बताउँछिन् ।

‘रवि पुराना दलको विकल्प थिए । तर उनले आफूलाई सर्वेसर्वा ठाने । कानुनी राज्यमा बसेपछि जुनसुकै व्यक्तिले कानुन पालना गर्नुपर्ने हुन्छ । उनले आफूलाई कानुनले नछुनेजस्तो गरे’, अधिकारीले खबरहबलाई भनिन, ‘हामी सबै उनको उदयमा खुसी थियौँ । देशमा केही होला भन्ने विश्वास जनतालाई थियो । तर एकपछि अर्को विवाद आयो । एकपछि अर्को सरकारमा जाने क्रम भयो । पुरानाले केही गरेनन् भनेर गाली मात्रै गर्नु गलत थियो । उनी टेलिभिजनमा हुँदा भूकम्पका बेला राम्रो काम गरे तर राजनीतिमा आएपछि काण्ड नै काण्ड भेटिए । उनी त पुराना नेताभन्दा खतरनाक भएर निस्के । यो गलत भयो ।’

नयाँ शक्तिप्रति आशा मर्‍यो : विश्लेषक

जनताले नयाँ दलप्रति ठूलो आशा र भरोसा राखेका थिए । नयाँ दलले नेपालमा बढ्दो वैदेशिक रोजगारी रोक्ने, स्वरोजगारको बातावरण बनाउने शिक्षा स्वास्थ्यमा सुधार गर्ने भनेर जनताले आश राखेका थिए । तर, नयाँ दलले पनि जनतालाई निराशामा धकेलेको राजनीतिक विश्लेषक लाभ र अधिकारी दुवैको तर्क छ ।

‘जनतामा व्यापक निराशा थियो । त्यसपछिको वैकल्पिक शक्तिलाई जनताले विश्वास गरेर मत दिए । तर रास्वपाको मत रविको मात्रै गरिनु गलत छ । रविलाई अनुसन्धानमा तान्दा पनि रास्वापालाई कुनै वैचारिक र राजनीतिक चरित्र भएकाले सम्हाल्ने आँट गरेको देखिएन’, उनले भने, ‘यतिका समय पार्टीमा रवि नभए हामी छौँ भन्ने आवाज उठेन । सबै नेताहरू निराश देखिए । यो बेला हामी पार्टी हाक्छौँ भनेर लागे जनता जाग्ने थिए । तर अन्यमा पार्र्टी हाँक्ने तागत देखिएन । यसले नयाँ पार्टीप्रति जनताको आश तुहियो ।’

लाभले सहकारी विवादमा परेपछि रविको असली रूप जनताले थाहा पाएको तर्क गरे । ‘आफू ठूला कुरा गर्ने, आफ्नो आङको भैँसी नदेख्ने, अरूको आङको जुम्रा देख्ने प्रवृत्ति गलत भयो’, उनले भने, ‘रविले आफूलाई सच्याउन जानेनन् । अब उनको लोकप्रियता के होला भन्न सक्ने ठाउँ नै भएन ।’

अर्का विश्लेषक अधिकारी पनि रविले आफ्नो मात्रै नभएर नयाँ शक्तिका धेरै ऊर्जावान् मान्छेको जोशसमेत निमोठेको बताउँछिन् ।

‘रवीन्द मिश्रले पनि नयाँ शक्तिका नाममा जनतालाई एक पटक ढाँटिसक्नु भएको छ । रविजीले पनि जनतालाई ढाँटेको त उहाँको नागरिकता काण्ड, सहकारी काण्ड लगायतले पुष्टि गरे । यो जनताप्रति ठूलो घात हो’, उनले भने, ‘रविजीले मात्रै पार्टीलाई पेवा बनाइरहेको जस्तो देखियो । यो बेला त्यो पार्टीमा फरक विचार भएका नेता हुनुपर्ने । सभापति विवादमा मुछिँदा नेतृत्व गरेर जान सक्ने हुनुपर्ने थियो । डा. स्वर्णिमप्रति जनताको ठूलो भरोसा थियो । उहाँहरू जस्ता नेताले वैचारिक दिशा दिएर पार्टी हाँक्नु पथ्र्यो । तर रवि दोषी नभएको भन्दै अल्मलिनुभयो । रविबारे अदालतले फैसला गर्छ । तर ११ मतदाताको नेतृत्व रास्वपाले गर्नुपर्ने थियो, त्यो त देखिएन ।’

रवि सहकारी विवादमा परेपछि जनता दिक्क भएको उनको तर्क छ । ‘जनताले साथ दिने बाटो नै देखिएन । रास्वपाका अन्य नेता पनि रानो हराएको मैरी जस्तो हुनुभयो । यो गलत छ । वैचारिक पार्टीमा यस्तो हुँदैन’, उनले भने, ‘रविको उमेरमा त पुराना दलका नेता देशका लागि ज्यान जोखिममा राख्न तयार थिए । तर रविजी व्यक्तिगत लाभमा लाग्नुभयो । उहाँले आफू नै सबथोक भन्ने भ्रम बोक्नुभयो ।’

आन्दोलन उठ्न नसक्नुका कारण

१. वित्तीय अपराध

रवि नागरिकता विवादमा पर्दा पनि मतदाताको राम्रो साथ पाए । चितवनको उपनिर्वाचनमा पनि लोकप्रिय मत ल्याएर विजयी भए । उनलाई त्यसबेला पनि देशभरबाट साथ मिल्यो । तर वित्तीय अपराधमा मुछिएपछि उनको पछि लाग्ने भिड हराएको राजनीतिक विश्लेषक लाभ बताउँछन् ।

‘जनताले सहकारीमा एक एक रूपयाँ बचत गरेका थिए । तर सहकारी ठगी नेटवर्कमा रवि नै मुछिएपछि साथ दिने अवस्था भएन’, लाभले भने, ‘यो कुरा चानचुने होइन,। जनतासँग प्रत्यक्ष जोडिएको छ । उहाँको गल्ती थियो भने चुपचाप स्वीकारेर अनुसंधानलाई सघाउनुपर्ने थियो । पहिला नै म फसेँ भन्नुपर्ने थियो ।’

२. नयाँको साथ मिलेन

रवि पक्राउ परेपछि नयाँ स्वतन्त्र व्यक्ति र दलले आन्दोलनमा साथ दिने अपेक्षा रास्वपालाई थियो । तर नयाँ भनिएकाले पनि साथ दिएनन् । त्यहीकारण रास्वपाको आन्दोलन देशभर फैलिने अवस्थामा छैन ।

काठमाडौंका मेयर बालेन्द्र शाहले साथ दिने आकलन रास्वपाको थियो । बालेन्द्र र नेकपा एमालेबीच नदी किनारको ४० मिटर जग्गालाई लिएर विवाद भएको थियो ।

यस्तै धरहराको पार्किङलाई पनि मेयरले प्रयोगमा ल्याउँदा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग विवाद भएको थियो । यहीकारण बालेनमाथि रास्वपाको आस थियो । तर बालेनले रास्वपालाई साथ दिएनन् ।

यस्तै, मधेसमा नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति रास्वपाको भरोसा थियो । रवि पक्राउ पर्दा राउतले फेसबुकमा लेखेका थिए, ‘‘२१ सिटको नयाँ पार्टीका सभापति रविजीको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ । सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो । भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमै हत्या गर्न खोजिएको हो । यो पक्राउ राज्यद्वारा ‘फ्रेमिङ’ गरिएको हो ।’

उनले यति लेखेपछि रास्वपा साथ पाइने आशमा थियो । खबरहबसँगको संवादमा रास्वपा सांसद हरि ढकालले पनि राउतले साथ दिने दाबी गरेका थिए । तर सीके त्यसपछि मौन छन् । सचिवालयका अनुसार रास्वपाको आन्दोलनमा जनमत पार्टीले साथ दिँदैन । जनमतका एक नेताका अनुसार वित्तीय अपराधमा मुछिएको बेला कुनै पनि व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने मान्यता सीकेको छ । अर्कातिर जनमतले केपी ओली नेतृत्वको सरकारलार्य समर्थन गरेको छ । मधेस प्रदेशमा मुख्यमन्त्री जनमतकै शतिश सिंह छन् । उनलाई एमाले र कांग्रेस दुवैको साथ छ ।

रास्वपाले चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पनि साथ पाउने आश गरेको थियो । एमालेबाट कारबाहीमा परेपछि प्रसाईँ राजा फर्काउने आन्दोलनमा छन् । उनी र प्रधानमन्त्रीबीच विवाद थियो । त्यहीकारण रास्वपाले प्रसाईँ र उनका समर्थकले साथ दिने आकलन गरेको थियो । तर प्रसाईँले पनि सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएको व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने तर्क गरेर पन्छिए ।

३.विपक्षी गठबन्धन मौन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिने कुरामा रास्वपा ढुक्क थियो। आफू पक्राउ परेपछि दुईतिहाइको सरकार ढल्ने भन्दै रविले कात्तिक २ गते पार्टी कार्यालय चमतीबाट भाषण गरेका थिए ।

तर, वित्तीय अपराधमा मुछिएपछि कुनै पनि नेताले कानुनअनुसार सजाय भोग्नुपर्ने माओवादीका दोस्रो तहका नेताको अडानपछि प्रचण्डले चुप बसे । उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन तथा सचिव राम कार्की लगायत नेताहरूले प्रचण्डलाई रोक्दा रवि एक्लिएका छन् ।

अघिल्लो शनिबार माओवादीले काठमाडौँमा खबरदारी सभा गरेको थियो । त्यसमार्फत नेताहरूले राजनीति प्रतिशोध नसाँधी सत्तापक्ष र प्रतिपक्ष दुवैमाथि छानबिन हुनुपर्ने बताएपछि रास्वपा माओवादीसँग बिच्कियो । लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक राखेर प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य नभएको निष्कर्ष निकाल्यो ।

माओवादी उपाध्यक्ष श्रेष्ठले खबरहबसँग कुरा गर्दै नेता कृष्णबहादुर महरा विवादमा मुछिनेबित्तिकै अनुसन्धानको घेरामा पुगेकाले रास्वपा सभापति लामिछानेको हकमा पनि त्यही हुनुपर्ने पक्षमा रहेको बताएका थिए ।

उनले सत्तापक्षीय नेताहरू ऋषिकेश पोखरेल र धनराज गुरुङ पनि अनुसन्धानमा तानिनुपर्ने भन्दै सरकारलाई ध्यानाकर्षण गराए ।

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि रविमाथि अनुसन्धान अगाडि बढ्नु सकारात्मक भएको बताएको छ । तर विवादमा मुछिएका सत्तापक्षीय नेताहरूमाथि पनि अनुसन्धान हुनुपर्ने अध्यक्ष लिङ्देन बताउँछन् ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सत्ता र प्रतिपक्षी दुवै पक्षका नेताहरूमाथि सहकारी प्रकरणबारे छानबिन हुनुपर्ने बताउँछन् । उनी सत्ताको आडमा कुनै नेता छुट्न नहुने तर्क गर्छन् ।

यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि लामिछानेमाथिको अनुसन्धानलाई सकारात्मक रूप लिएको छ ।

४. चार्ड पर्व

रास्वपाको आन्दोलन चर्किन नसक्नुको कारण चाडपर्व पनि हो । रास्वपाले कात्तिक १३ गतेदेखि छठसम्मलाई पोखराबाहिरको आन्दोलन रोकेको छ । पार्टी उपसभापति तथा आन्दोलनका संयोजक डीपी अर्यालले चाडपर्वमा कास्कीबाहिरको आन्दोलन रोकेको बताए । छठ पनि सकिएकाले आन्दोलनले देशभर नै गति लिने उनी बताउँछन् ।

‘साथीहरू त आन्दोलन रोक्ने योजनामा हुनुहुन्न थियो । हामील ै चाड मान्न रोकेका हौं । छठ सकियो, अब आन्दोलन चर्कन्छ । देशभर आन्दोलन चर्किन्छ । राजनीतिक प्रतिशोधविरुद्ध एक भएर जान्छौं’, उनले भने ।

५. विवादित छवि

रवि कानुन पालनामा कमजोर देखिएका छन् । अरूको कुरा नसुन्ने र विवादमा परिरहेकाले पनि एकजना व्यक्तिका लागि जनता आन्दोलनम आउन नचाहेको अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

‘विवाह पनि विवादित रहेछ । सामाजिक जीवन, वित्तीय जीवनमा पनि विवादित भएकाले रविबारे जनताले बुझेरै आन्दोलन नजागेको हो’, उनले भने, ‘जहाँ जहाँ हात लगाएका छन्, त्यहाँ विवादै ववाद छ । त्यहीकारण उनी साँच्चिकै गलत रहेको आंकलन जनताले गरे । आन्दोलन तात्ने र तत्कालै सरकार ढल्ने सम्भावना छैन । उनी दोषी हु्न भने कारबाही भोग्नुपर्छ ।’

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ७ : ४५ बजे

दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्रे

वेदकोट– कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्रे गर्ने

प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन

सुर्खेत- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइने

काठमाडौं– रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी

काभ्रेको महाभारत जंगलमा लागेको आगलागी आएन नियन्त्रणमा 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै

चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा कमजोर, ३१ प्रतिशत मात्रै उत्तीर्ण 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको