रविलाई चितवनबाट रातारात पोखरा लगेर प्रहरीले गल्ती गरेकै हो ? | Khabarhub Khabarhub

रविलाई चितवनबाट रातारात पोखरा लगेर प्रहरीले गल्ती गरेकै हो ?



काठमाडौं– यही मंसिर १९ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बयान सकेर रातारात पोखरा लगियो ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मध्यराति १२ बजेर ५ मिनेटमा पोखरा पुर्‍याइएपछिको घटनाक्रमले नेपालको राजनीति पनि गर्माएको छ ।

लामिछानेलाई पोखराको सूर्यदर्शनसँगै सहारा चितवन बहुउद्दश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा अनुसन्धान गर्न चितवन पुर्‍याइएको थियो ।

त्यहाँ दुई दिनको बयान सकेर प्रहरीले शान्ति सुरक्षाको कारण देखाउँदै रातारात पोखरा लगेको थियो । राति नै लैजानुको कारण थियो चितवनमा रास्वपा कार्यकर्ताले करिब ५० जना घाइते हुने गरी सडकमा गरेको बबाल ।

जिल्ला सरकारी वकिल कार्यालयमा बयान चलिरहँदा बाहिर समर्थकका नाम प्रहरीसँग भिड्ने काम भएको थियो । दुवै दिन भरतपुरमा बबाल गरिएपछि प्रहरीले उनलाई २० गते मध्यराति नै पोखरा अड्डासार गरेको थियो ।

यसबारेमा जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले आइतबार वक्तव्य नै निकालेका छन् । उनले रविकोबारेमा सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाइएको पनि बताए ।

‘पोखरामा उपस्थित गराउने क्रममा प्रहरी कर्मचारीले राति सुतेको बेला हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्‍वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले मापसे गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा, भ्रमपूर्ण विचारहरू टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन् ।

मंसिर २० गते दिउँसो सरकारी वकिलकहाँ बयान चलिरहँदा क्रममा सुरक्षाकर्मी र रास्वपा प्रदर्शनकारीबीच झडप भएको थियो । दिनभर भरतपुरमा तनाव भएपछि दुई दिने बयान सकेर प्रहरीले रविलाई रातारात पोखरा पुर्‍यायो । रविलाई पोखरा लानेबित्तिकै मंसिर २१ देखि भरतपुरको माहोल पनि शान्त भयो ।

यही विषयमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ । त्यसो त सहकारी ठगी प्रकरणमा रविमात्रै नभएर उनका साझेदार छविलाल जोशीसहितलाई पनि प्रहरीले पोखराबाट अन्यत्र लाँदै बयान लिइरहेको छ । तर रविलाई नै प्रहरीले दुर्व्यवहार गरेको विषय रास्वपाका नेताहरूले पनि चर्काइरहेका छन् ।

यस प्रकरणमा प्रहरीले हिरासतमा रहेका व्यक्तिलाई मध्यरातमा ओसारपसार गर्नुलाई कानुनद्वारा बर्जितका रुपमा संविधानका जनकार डा. भीमार्जुन आचार्यले टिप्पणी गरेका छन् । आचार्यले अपवादबाहेक नागरिकलाई मध्यराति पक्रने, बयान लिने,ओसारपसार गर्ने सबै काम कानुनतः बर्जित भएको जिकिर गरेका छन् ।

‘शाही आयोगले मध्यराति शेरबहादुर देउवालाई गिरफ्तार गरेकोविरुद्ध ०६२जेठ १ गते नेपाल पत्रिकामा मेरो लेख प्रकाशित थियो । अपवादबाहेक नागरिकलाई मध्यराति पक्रिने, बयान लिने,ओसारपसार गर्ने काम कानुनतः बर्जित छ’, उनले तर्कसहित भनेका छन्, ‘रवि लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुन:लज्जित पारेको छ।’

लेखक एवम् पत्रकार विजयकुमार पाण्डे पनि हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई चितवनमा मध्यराति सुतेकाबेला प्रहरीले जबरजस्ती उठाई पोखरा अड्डासार गरिएको घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीको दाग देखिन सक्ने बताएका छन् । उनले आफूलाई कुनै दिन ओलीले सुनाएको हरिभक्त कटुवालको कविता ‘जूनलाई धेरै नजिकबाट नहेर, दाग देखिन सक्छ त्यसमा…’ याद आएको उल्लेख गरेका छन् ।

नेपालको कानुनअनुसार रविलाई अदालतले दोषी नभनेको पनि तर्क कानुनविद्को छ । संविधान र, अदालतले दोषी घोषणा गरेकाहरूको वा जेल चलान भइसकेकाहरूको पनि मानवअधिकार सुरक्षित राखेको उनीहरूले औँल्याएका छन् ।

यता नेपाल प्रहरी प्रधान कार्यालय स्रोतकाअनुसार १९ र २० गते दिउँसो प्रदर्शनमा उत्रिउएका रास्वपा कार्यकर्ताले अवरोध गरेर झडप हुने जोखिमका कारण रविलाई राति नै पोखरा लगिएको हो । एक प्रहरी अधिकारीले सम्भावित तनाव र क्षतिलाई रोक्न यो कदम चालिएको बताए । रास्वपा कार्यकर्ता सडकमा निस्किएर आक्रमणमा उत्रिन सक्ने सुइँको पाएपछि सुरक्षाको ख्याल गर्दै यस्तो कदम चालेको उनी बताउँछन् ।

‘विशेष, विशेष बेलामा यस्तो हुने गरेको छ । अराजकता मच्चिने अवस्थामा उहाँकै सुरक्षाको लागि यसरी लानु परेको हो । प्रहरी पनि त रातभर नसुती काम गरेको छ। उस पनि अनेक चुनौती होलान्,’ ती प्रहरी अधिकारी भन्छन् ।

‘नोट पेपर’ गायब ?

फोटोकपी पेपरमा लेखिएको आफ्नो नोट बुक प्रहरीले गायब पारेको आरोप रविले लगाएका छन् । चितवनबाट पोखरा पुग्दा आफ्नो ‘नोट पेपर’ गायब पारिएको जानकारी रविले पार्टीका सह-कोषाध्यक्ष दीपक बोहरालाई मंसिर २० गते दिएका थिए ।

बोहराले काठमाडौं र चितवन जाँदा रविको ‘नोट पेपर’ ब्यागमा रहेको अवस्थामा चितवनबाट पोखरा जाँदा प्रहरीले जफत गरेको रविले बताएको बोहराले सुनाए । बोहराका अनुसार रविले उक्त डायरीमा हिरासत अनुभव र अन्य विभिन्न विषय नोट गरिरहेका थिए ।

बोहराका अनुसार अहिलेसम्म ‘नोट पेपर’ रविलाई फिर्ता भएको छैन । बोहराले आइतबार खबरहबलाई भने, ‘उहाँले ‘नोट पेपर’मा महत्त्वपूर्ण कुरा लेख्नुभएको थियो । फोटोकपी पेपरमा लेखिएका ती कुरा पोखरा पुग्दा हराएका थिए । तर काठमाडौंबाट चितवन जाँदा झोलामा सुरक्षित रहेको सभापतिले सुनाउनुभएको छ । उहाँका अनुसार प्रहरीले नै त्यो ‘नोट पेपर’ गायब गरेर फिर्ता गरेको छैन ।’

कति पन्नाको ‘नोट पेपर’ थियो भन्ने पश्नमा बोहराले भने यति नै भन्ने थिएन । निकै संग्रह थियो क्यारे । सरकार कागजमा लेखिएको कुरासँग डराउनुपर्ने कारण थिएन ।

यस्तै बोहराले मध्यराति रविलाई उठाएर लैजाने बेला चितवनबाट प्रहरीका एक अधिकारीले रक्सी पिएर गाली गरेको दाबी गरे । उनले रक्सी पिएका प्रहरीले गाली गर्दै सभापतिलाई उठाएको आरोप लगाए । बोहोराले रविको भनाइ उद्धृत गर्दै भने, ‘प्रहरीका कर्मचारीले रक्सी पिएर सभापतिलाई गाली गरेको हो । उहाँको नाम थाहा भएन । तर बाहिर पूरै मुख दङदङ गन्हाएको थियो ।’

के भन्छ प्रहरी ?

‘नोट पेपर’ गायब पारेको र रक्सी पिएर गाली गरेको कुरा झूट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा बताउँछन् । उनी यस्ता कुरामा प्रतिक्रिया दिँदै हिँड्न नहुने बताउँछन् ।

उनी यस्ता कुरामा प्रहरी एकदमै संवेदनशील हुने भन्दै कसैले नोट गरिरहेको कागज प्रहरीले बरामद गर्‍यो भन्नु कु-तर्क भएको बताउँछन् । शर्माले भने, ‘कुनै प्रहरीले यस्तो काम गर्छ ? बेकारमा जे पायो त्यही आरोप लगाउने? प्रहरीले कसरी आफ्नो दायित्वभन्दा बाहिरको काम गर्ला ?’

रविलाई किन रातारात प्रहरीले चितवनबाट पोखरा लगेको भन्ने प्रश्नमा शर्मा भन्छन्, ‘उहाँको सुरक्षालाई मध्यनजर गर्दै त्यसो गरिएको हो । प्रहरीले जहिले जनतालाई सुरक्षा दिन्छ ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले पनि आइतबार विज्ञप्ति जारी गरेर पोखरामा उपस्थित गराउने क्रममा प्रहरीले सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मदिरा पिएको जस्ता भ्रामक, झुट्टा र भ्रमपूर्ण भएको बताएका छन् ।

मंसिर १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा बयान कार्य भइरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरी माथि ढुंगा मुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्ने लगायतको कार्य समेत भएको चितवन प्रहरीको भनाइ छ ।

मौसम हवाई उडानका लागि प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सीमित हद म्याद रहेको विषय समेतलाई मध्यनजर गरी र१९ गते २१:३० बजेको समयमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा बयान सकिएपछि जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा नलगी आफन्त भेटघाट कक्षमा राखेको  प्रहरीले जनाएको छ ।

रविले भेटघाट कक्षमा आफन्त तथा शुभचिन्तकसँग भेट गरिसकेपछि भेटघाट कक्षबाटै नेपालको प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई चितवनबाट सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको विज्ञप्तिमा भनिएको छ ।

यसो भन्छन् पूर्वडीआईजी मल्ल 

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्तप्रकाश मल्ल यसलाई सामान्य लिनुपर्ने बताउँछन् । उनी शान्ति सुरक्षालाई ध्यान दिएर प्रहरीले यस्तो काम गरेको दाबी गर्छन् ।

‘रविको पक्षमा सबैभन्दा ठूलो आन्दोलन चितवनमा भयो । प्रहरी र आन्दोलनकारी घाइते भए’, उनले भने, ‘दिउँसो लगेको भए आन्दोलन उग्र हुने र शान्ति सुरक्षाको अवस्था भयावह हुन सक्ने अवस्थालाई मध्यनजर गरेर यो काम गरिएको हो ।’

पूर्वडीआईजी मल्ल रविलाई अरू थुनुवाभन्दा अझ राम्रो व्यवस्था गरिएको बताउँछन् । ‘रविलाई अहिले पनि प्रहरीले विशेष कोठामा राखेको छ । पाउने सुविधा पाइराख्नु भएको छ । उहाँलाई हतकडी पनि लगाइएको छैन’, उनले भने, ‘शान्ति सुरक्षालाई ध्यानमा राखेर योभन्दा पहिला पनि यस्ता कदम चालिएको छ। प्रहरीले जहिले पनि सुरक्षा अवस्थाको उच्च मूल्यांकन गर्छ । त्यतिकै गर्न मिल्दैन ।’

मल्लले रविलाई चितवनबाट रातारात पोखरा लगेर प्रहरीले कुनै किसिमको अपराध नगरेको पनि बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : १३ बजे

तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट

सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

बेरुत – बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर

कर्णाली डेभलपमेण्ट बैंकको कारोबार रोक्का 

काठमाडौं– शेयर बजारमा कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको कारोबार रोक्का भएको

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल

सहकारी ठगीमा रविसहितका प्रतिवादीको बयान जारी

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि