प्रचण्डको धुन : पिउदिनँ भन्दाभन्दै पिलायो साथीले... | Khabarhub Khabarhub

प्रचण्डको धुन : पिउदिनँ भन्दाभन्दै पिलायो साथीले…


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिव परियारको चर्चित गीत छ–

‘पिउदिनँ भन्दाभन्दै पिलायो साथीले / म छु भनी भरोसा दिलायो साथीले…………।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काम गराइको धुन यही गीतजस्तो भएको छ ।

कार्यकालको एक वर्ष पूरा भएको उपलक्ष्यमा पुस १० गते प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्वोधन गर्दा के भनेका थिए ? एकपटक सम्झौैं–

‘आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो पनि एउटा प्रस्थानविन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ ।’

प्रधानमन्त्री दाहालले यो पनि भनेका थिए, ‘अब म एक– एकवटा कामलाई बेग्लाबेग्लै डालोमा राख्ने अनि समस्याको जरो छाडेर हाँगा छिमल्ने गल्ती गर्दिँनँ ।’

प्रधानमन्त्री दाहाल अब अति आवश्यक नभई कार्यक्रमहरुमा जाँदैनन् र कार्यालय समयमा सिंहदरबार गएर सुशासनसहितको सेवामा लाग्ने कुरामा उनका समर्थक आशावादी थिए । तर, प्रधानमन्त्रीको सम्बोधनबाट उत्साही बनेका नागरिकको उत्साह भने २४ घण्टा पनि टिक्न सकेन ।

पुस १० पछि प्रधानमन्त्री दाहालले के–के गरे त ? एकपटक हेरौं ।

–पुस ११ गते गोरखाको बारपाक सुलिकोटमा आयोजित कार्यक्रममा सहभागी ।
–पुस १४ गते संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा राष्ट्रिय सभामा आयोजित कार्यक्रममा सहभागी ।
–पुस १८ गते १६ औं राष्ट्रिय इञ्जिनियरहरुको सम्मेलनलाई सम्वोधन
–पुस १९ गते रोमछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उदघाटन ।
–पुस १९ गते रामेछापको बेथानमा २७ औं बलिदानी दिवसमा सहभागी ।
–पुस २३ गते राष्ट्रिय नाचघरमा आयोजित माओवादीको वागमती स्तरीय बैठकमा सहभागी ।

अत्यावश्यक बाहेक उदघाटन तथा अन्य काममा बाहिर नजाने घोषणा गरेका दाहाल घोषणाको २४ घण्टा नबित्दै आफू निर्वाचित जिल्ला गोरखा पुगे । हेलिकोप्टर चढेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रममा पुगेका प्रचण्ड भर्खरै बैवाहिक बन्धनमा बाँधिएकी नातिनीको घरसम्म पुगे । सामाजिक सञ्जालमा उनी नातिनीको घर पुगेकोदेखि नातिनी ज्वाइसँगको परिवारसँग खिचेको तस्बिरलाई लिएर आलोचना भयो । उनको सचिवालयले स्पष्टीकरण नै दिनु पर्ने अवस्था आयो ।

आफ्नै बोलीमा २४ घण्टा टिक्न नसकेका प्रधानमन्त्री दाहाल पुस १९ गते रामेछाप पुगे । सरकारी स्रोत साधन खर्च गरेर रामेछापमा प्रधानमन्त्री नै जानुपर्ने आवश्यकता के थियो ?  त्यहाँ रामेछापको सुनापति गाउँपालिकाले भवन उदघाटन कार्यक्रमको आयोजना गरेको थियो । गाउँपालिका भवनको उद्घाटनमा प्रधानमन्त्री नै पुग्नुपर्ने हो त ? के यसरी प्रधानमन्त्री दाहाल सबै पालिकाको भवन उद्घाटनमा पुग्न सम्भव हुन्छ ? यो बहसको विषय हो ।

गाउँपालिकाको कार्यालय उद्घाटन गर्न आवश्यक ठानेका प्रधानमन्त्री दाहालले धरान उपमहानगरपालिकाको स्थापना दिवसको निम्तोलाई चाहिँ रामेछापको भन्दा महत्वपूर्ण ठानेनन् । किनभने, प्रधानमन्त्रीलाई बेथानमा पार्टीको कार्यक्रममा जाने बाहना चाहिएको थियो, त्यसका लागि पालिकाको भवन उद्घाटन गर्ने र त्यही सरकारी खर्चमा सरकारी हेलिकोप्टर चढेर पार्टीको कार्यक्रममा सहभागी हुने ‘सेटिङ’ मिलाइयो ।


धरानमा चाहिँ काठमाडौंका मेयर बालेन्द्र शाह सहभागी भए र धरानेहरुको विश्वास जितेर स्वतन्त्र जनमतलाई ‘क्यास’ गरेर आए ।

यो पनि-
बालेन्द्रले यसरी गरे हर्क साम्पाङ र धरानबासीको प्रशंसा

प्रधानमन्त्री दाहालले पुस १० को सम्वोधनमा भनेका थिए, ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ ।’
यसबीचमा प्रधानमन्त्री कार्यालयमा रहेका दरबन्दीमध्ये तीनजना सचिव र सात सहसचिवसमेत ६८ जनाको दरबन्दी कटौती गरिएको र खाजा खर्च जोगाइएको प्रधानमन्त्री सचिवालयको भनाइ छ । यो प्रयास भने सकारात्मक नै देखिएको छ ।

त्यस्तै, दुई साताकोबीचमा प्रधानमन्त्री दाहालले सिँचाइ मन्त्रालयका अधिकारीहरुलाई बोलाएर ब्रिफिङ लिने काम गरे । त्रिविको उपकुलपति नियुक्तिको सूचना सच्याउन शिक्षा मन्त्री अशोक राईलाई बोलाएर निर्देशन दिए । भारतले नेपालमा गरिएको २० करोड खर्च गर्न पाउने गरी भएको सम्झौताबारे संसदको राज्यव्यवस्था समितिमा उपस्थित भएर जवाफ दिए । संवैधानिक परिषदसम्बन्धी विधेयक समितिमा टेबल गरे । यही साताबाट सरकारको नीति कार्यक्रम र बजेटको प्रक्रिया सच्याउने कामको थालनी गरिएको उनले बताएका छन् ।

कहिलेसम्म ओगटिरहने ?

प्रधानमन्त्री दाहालले पुस १० को सम्वोधनमा कार्यसम्पादन राम्रो नदेखाउने मन्त्रीलाई हटाउने संकेत गरेका थिए । काम गर्न नसके आफूले पनि पद ओगट्न नहुने प्रधानमन्त्रीको भनाइ थियो । सम्वोधनमा उनले भनेका थिए–
‘आज म जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरुलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिका माथि न्याय गर्नैपर्ने नैतिक दबावमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनुहुँदैन, छाडिदिनुपर्छ ।….देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिइरहन जरुरी छैन ।’
काम गर्न नसकेका मन्त्रीलाई प्रधानमन्त्रीले अब कहिलेसम्म कुर्लान् ? यो भने हेर्न बाँकी छ । तर, स्वयं प्रधानमन्त्री आफैंले पनि बोलेका कुरा पूरा गरेको देखिँदैन ।

अन्त्यमा, फेरि उही शिव परिवारकै गीतको एक अन्तरा–

पिएर नसा चढ्दा के होसमा हुन्थ्यो कोही
बेहोसीमै पनि नजर मिलायो साथीले
पिउदिनँ भन्दा भन्दै पिलायो साथीले……

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : २३ बजे

पुराण वाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिँदै

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणका कथा वाचन गर्ने

चिसोले श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी– निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका

म्याग्दी महोत्सवमा १० करोडको कारोबार

म्याग्दी– म्याग्दीको बेनीमा आयोजना भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा– शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएका माछा बिक्रीमा रोक लगाएको

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको