राष्ट्रियसभाको अनुहार : हार्नेलाई पुरस्कार, आफन्तलाई आशीर्वाद | Khabarhub Khabarhub

राष्ट्रियसभाको अनुहार : हार्नेलाई पुरस्कार, आफन्तलाई आशीर्वाद



काठमाडौं– राष्ट्रियसभा संसदीय व्यवस्थाको माथिल्लो सदन हो । यसले संसदको तल्लो सदन प्रतिनिधिसभालाई पनि ‘शक्ति सन्तुलन’को भूमिकामा लिएको हुन्छ । यतिमात्र होइन यसमा प्रतिनिधिसभामा छुटेका वर्ग, समुदाय र प्रतिभाहरूलाई राष्ट्र निर्माणमा समेट्ने लक्ष लिएको हुन्छ । राष्ट्रियसभालाई विज्ञ व्यवस्थापन गर्ने थलोका रूपमा लिइने गरिन्छ । संविधानको परिकल्पना अनुसार राष्ट्रियसभा सबैभन्दा ठूलो सौन्दर्य भनेको राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका र ख्याति कमाएका व्यक्तिहरूलाई समेटेर लाने र संसदको दुवै सदनको गरिमालाई उच्च बनाउने हो । तर, यसको परिकल्पना अनुसार काम हुन सकेको छैन ।

राष्ट्रियसभामा १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। यसका लागि आयोगले दिएको समय अनुसार सोमबार ५२ जनाको मनोनयन दर्ता भएको छ ।

राष्ट्रियसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्तरूपमा उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट कांग्रेसले १० सिटमा उम्मेदवारी दिएको छ । यस्तै नेकपा माओवादीले ६, जनता समाजवादीले १ र नेकपा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेले १९ जना आफ्नो पार्टीबाट उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सबै प्रदेशमा उम्मेदवार खडा गरेको छ । तर, दलहरुले राष्ट्रियसभाका लागि उम्मेदवार तय गर्दा त्यसको गरिमालाई ख्याल नगरेको र उम्मेदवार छनोट प्रक्रिया पनि अपरादर्शी भएको गुनासो पार्टीभित्रैबाट आएको छ ।

कांग्रेसमा खैलाबैला

नेपाली कांग्रेसले १० जना उम्मेदवार उठाएको छ । तर, उसले उठाएका १० उम्मेदवारका कांग्रेस नेताहरू नै असन्तुष्ट छन् । सभापति शेरबहादुर देउवाले आफूखुसी निर्णय गरेको भन्दै कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, अर्जुन नरसिंह केसी लगायतले लिखित असहमति जनाएका छन् ।

कांग्रेसले झापाबाट ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा हारेका कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी उम्मेदवार खडा गरेको छ । कांग्रेसको कार्यसम्पादन समितिको बैठकको अवसर नपाएका तथा नयाँ उम्मेदवारलाई पालो दिने भनेको थियो । तर, यो मापदण्ड मिचेर सिटौलालाई उम्मेदवार बनाइएको भन्दै पार्टीभित्र असन्तुष्टि देखा परेको छ ।

त्यसैगरी मधेसबाट नेपाली कांग्रेसले मधेसी समुदायबाट नभई खस आर्य समुदायबाट पूर्वसभासद आनन्दप्रसाद ढुङ्गानालाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् । समानुपातिकको बन्द सूचीमा नाम रहेका ढुंगालाई सूचीबाट नाम हटाएर उम्मेदवार बनाइएको हो । उनलाई उम्मेदवार बनाउने निर्णयमा नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीले लिखित असहमति जनाएका छन् । मधेस प्रदेशबाट मधेसी मूलका व्यक्तिलाई उम्मेदवार नबनाइएकोमा उनीहरूको आपत्ति छ ।

कांग्रेसले बागमतीबाट जितजंग बस्नेतलाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय सदस्य हुन् । बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत हुन् । सभापति शेरबहादुर देउवा निकट नेता भएकाले टिकट पाएको कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेसले महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाएको छ । पुडासैनी नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष हुन् । उनी नेता प्रकाशमान सिंह निकट हुन् ।

कांग्रेसमा उम्मेदवारी चयनको निर्णय न्याय संगत र समावेशी हुन नसकेको भन्दै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले लिखित असहमति राखेका छन्।

गण्डकीमा कांग्रेसले किरणबाबु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी प्रदेश कार्यसमितिका सचिव हुन् । शेखर र गगन समूहको कोटामा उनी उम्मेदवार बनेका हुन् । अपाङ्गतातर्फ छानिएका पदमबहादुर परियार कांग्रेस क्षेत्रीय प्रतिनिधि हुन् । उनलाई भने पार्टीले न्याय गरेको नेताहरुको भनाइ छ । उनी पनि शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् ।

लुम्बिनीबाट कांग्रेसले महिलातर्फ विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ । सापकोटा कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समिति सदस्य हुन् । उनी शेखर र गगन समूहबाट नै उम्मेदवार बनेकी हुन् ।

कर्णालीबाट कृष्णबहादुर रोकायालाई उम्मेदवार बनाएको छ । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी देउवाका पत्याइएका पात्र हुन् । त्यस्तै, सुदूरपश्चिमबाट कांग्रेसले बलदेव बोहरा र अपाङ्गतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ । भट्ट कांग्रेस पार्टीका कैलाली सभापति हुन् । बोहरा भने कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् । उनीहरू दुवै कांग्रेस देउवा पक्षका विश्वासिला पात्र हुन् ।

कांग्रेसमा उम्मेदवारी चयनको निर्णय न्याय संगत र समावेशी हुन नसकेको भन्दै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले लिखित असहमति राखेका छन्।
महामन्त्री शर्माले उम्मेदवार चयनकोसन्दर्भमा सभापतिको कार्यशैलीसँग असहमति जनाएका छन् । संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा बोर्डको व्यवस्था किन राखेको भन्दै शर्माले प्रश्न उठाएका छन् ।

अर्का महामन्त्री गगन थापाले पनि पार्टीको निर्णयमा विमति राखेका छन् । उनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेकोमा सो नभएको भन्दै फरक मत राखेका हुन् ।

माओवादीमा पनि केहीले दोहोर्‍याएर मौका पाएका छन् । जस्तो– पूर्वसभासद झक्कु सुवेदी रेणु चन्द दोहोर्‍याएर अवसर पाउने भाग्यमानी ठहरिएका छन् 

माओवादीमा पनि उस्तै

नेकपा माओवादीले उम्मेदवारी दिएका ६ जना जनयुद्धमा घाइते भएका तथा जनयुद्ध लडेका नेताहरू परेका छन् । तर, माओवादीमा पनि केहीले दोहोर्‍याएर मौका पाएका छन् । जस्तो– पूर्वसभासद झक्कु सुवेदी रेणु चन्द दोहोर्‍याएर अवसर पाउने भाग्यमानी ठहरिएका छन् ।

लुम्बिनी प्रदेशबाट उम्मेदवार भएका झक्कु सुवेदी माओवादीमा पटक–पटक अवसर पाएका नेता हुन् । उनले २०६४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट माधवकुमार नेपाललाई पराजित गरेका थिए । अहिले झक्कु माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि छन् । २०७० को निर्वाचनमा भने उनी पराजित भएका थिए ।

सुदूरपश्चिममा उम्मेदवारी दिएकी रेणु चन्द २०६४ सालमा बैतडी क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी नेकपा माओवादीकी केन्द्रीय सदस्य हुन् ।

बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारीलाई माओवादीले उम्मेदवार बनाएको छ । उनी पार्टीभित्र राम्रै अवसर नपाउने नेतामा पर्छन् । कोशी प्रदेशमा उम्मेदवारी दिएकी चम्पादेवी कार्की २०५४ मा जनयुद्धमा होमिएकी थिइन् । उनी लडाइँमा घाइते समेत भएकी थिइन् । २०५४ सालमा भएको स्थानीय चुनावमा एमालेबाट निर्वाचित उनी जनयुद्धमा माओवादी भएकी थिइन् । २०६४, २०७० र २०७९ मा पनि समानुपातिक सूचीमा परे पनि सांसद बन्न पाएकी थिइनन् ।

यस्तै, गण्डकीबाट माओवादीले मनरुपा शर्मा सुवेदीलाई उम्मेदवार बनाएको छ । उनी २०६४ को संविधानसभा चुनावमा पर्वत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी थिइन् । तर, निर्वाचन जितिनन् । उनी २०७९ निर्वाचनमा समानुपातिक सूचीमा परेकी थिइन् । उनी एकल महिला हुन् । उनका श्रीमान् विजय सुवेदी सेनाबाट मारिएका थिए ।

माओवादीले कर्णाली प्रदेशमा उम्मेदवार बनाएका विष्णु विक दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश इन्चार्ज र कालिकोट जिल्ला इन्चार्ज हुन् ।

एमाले एक्लै

गठबन्धन नगरी चुनावमा होमिएका नेकपा एमालेका नेताहरु कम चर्चित र अवसर कम पाएकालाई उम्मेदवार बनाएको दाबी गर्छन् । हार्ने सम्भावना बढी भएकाले पनि एमालेले राष्ट्रियसभामा यस्ता मान्छेहरू पठाएको हुन सक्ने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘एक दुईजना बाहेक गठबन्धनले पनि कम अवसर पाएकालाई समेटेको छ । संविधानले परिकल्पना गरे अनुसार विभिन्न जातजाति तथा समुदायलाई समेटेको कुरा जायज छ ।’

श्रेष्ठका अनुसार विज्ञता हासिल गर्न र राष्ट्रियसभाको मर्म अनुसार निर्वाचित भएर आउनेले काम गर्नुपर्ने हुन्छ ।

एमालेबाट कोशीमा नेकपा एमालेले अन्य कोटामा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

मधेसमा एमालेले राष्ट्रियसभाको एक उम्मेदवार परिवर्तन गरेको छ । मनोनयन दर्ताका दिन उम्मेदवार डा अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि विजाता झालाई उम्मेदवार बनाएको छ । यस्तै पर्साकी उषादेवी थरुनीलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली एमालेले तय गरेका नामहरू कम अवसर पाएका र राष्ट्रियसभाका लागि योग्य व्यक्ति भएको दाबी गर्छन् 

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि एमालेका चार नेताले उम्मेदवारी दर्ता गरेका छन् । एमाले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । चौलागाईंले महिला कोटाबाट मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपाङ्ग, विश्वकर्माले दलित र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशबाट नेकपा एमालेले गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।

कर्णाली प्रदेशका लागि नेकपा एमालेले हुम्लाकी विमला शाही, मुगु जिल्लाका डिल्लीप्रसाद भट्ट र दलितबाट दैलेख जिल्लाका हिक्मत विकले राष्ट्रियसभामा उम्मेदवारी दिएका छन् । शाही र भट्ट प्रदेश कमिटी सदस्य हुन् भने विक पार्टीको भातृ सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष हुन्।

लुम्बिनीबाट नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री जिसी र दाङकी तुलाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुदूरपश्चिममा एमालेले तीन पदका लागि तीन उम्मेदवारी दर्ता गराएको छ । अन्यबाट कञ्चनपुरका ईश्वरी प्रसाद खरेल छन् । खरेल केन्द्रीय लेखा आयोग सदस्य हुन् । महिलाबाट कैलालीकी सावित्री घिमिरे छन् । उनी अनेमसंघ कैलालीकी पूर्वअध्यक्ष हुन् । अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ । जोशी पार्टीको भ्रातृ सङ्गठन अपाङ्ग संघ का केन्द्रीय सदस्य हुन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली एमालेले तय गरेका नामहरू कम अवसर पाएका र राष्ट्रियसभाका लागि योग्य व्यक्ति भएको दाबी गर्छन् । उनले भने, ‘काहीँ कोही स्थानीय तहमा उठ्नु भएको थियो होला, तर समग्रमा हेर्दा हाम्रा उम्मेदवारहरू साँच्चिकै राष्ट्रियसभाका लागि योग्य छन् ।’

चुनाव हार्नेलाई पुरस्कार

जनता समाजवादी पार्टीले पनि २०७९ को निर्वाचनमा प्रदेश सभामा हारेकी पूजा चौधरीलाई राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बनाएको छ । चौधरी रौतहट क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र १ मा उम्मेदवार बनेकी थिइन् । उनी स्वतन्त्र उम्मेदवार केशव रायसँग हारेकी थिइन् ।

नेकपा एकीकृत समाजवादीको भागमा राष्ट्रियसभामा २ जना उम्मेदवार परेका छन् । बागमतीबाट दोलखाका घनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कर्णाली प्रदेशबाट एकीकृत समाजवादीले सावित्री मल्ललाई उम्मेदवार बनाएको छ । उनी नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज हुन् । उनी नारायण नगरपालिका दैलेखको निर्वाचनमा उपमेयर पदमा पराजित उम्मेदवार हुन् । उनले ०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट नगरपालिका उपप्रमुखमा जितेकी थिइन् ।

राष्ट्रिय जनमोर्चाले पनि गठबन्धनलाई नै साथ दिने भएको छ । यसवापत उसलाई राष्ट्रपतिबाट मनोनित हुने एक सिट दिने अनौपचारिक सहमति भएको नेताहरु बताउँछन् । सो सिटमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नीसमेत रहेकी जनमोर्चाकी उपध्यक्ष दुर्गा पौडेललाई पठाउने सहमति भएको स्रोतको भनाइ छ ।

पौडेल पूर्वसांसद समेत हुन् । पार्टीमा उनले दोहोर्‍याएर अवसर पाउँदा अन्यले सो अवसर पाएका छैनन्।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ४४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको