नीलगिरिखोला-२ को प्रसारण लाइनको परीक्षण सफल | Khabarhub Khabarhub

नीलगिरिखोला-२ को प्रसारण लाइनको परीक्षण सफल


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । 

नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ । 

नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए । ४२ मेगावाट क्षमताको नीलगिरिखोला पहिलोको विद्युत्गृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७.४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ ।  

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सबस्टेसनदेखि नीलगिरि दोस्रोको विद्युत्गृहसम्म प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराएर परीक्षण गरिएको हो ।  प्रसारण लाइनको परीक्षण सकिए पनि आयोजनाको सुरुङको परीक्षण भने जारी रहेको छ ।  

सुरुङमा पानी हालेर परीक्षण गर्ने समय तालिका २०८० साल फागुन १५ गतेसम्म लम्ब्याइएको आयोजनाका आधिकारिक प्रतिनिधि गौतमले बताए।

नीलगिरिखोला दोस्रो म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि परीक्षणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी) मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत्गृहसम्म चार हजार दुई सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ । 

विद्युत्गृहछोटेपाको बाँधसहित पाँचवटा अडितबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । दुईवटै आयोजनाको प्रवर्द्धक कम्पनी एउटै हो । 

नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको छ । दुई हजार मिटर लामो सुरुङलाई प्लास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । 

नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुई वटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । बस्तीदेखि टाढा रहेको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । 

१३ अर्ब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् ।  नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडाअध्यक्ष श्याम पुर्जाले बताए।  

९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको एक सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : १७ बजे

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि