महिलाले महिलामाथि गर्ने विभेदको ओखती के ? | Khabarhub Khabarhub

महिलाले महिलामाथि गर्ने विभेदको ओखती के ?



मानिसका लागि यात्राका क्रममा पहाड नभएर जुत्तामा अड्किएको सानो ढुंगा बाधक बन्ने गर्छ । मानिस ठूलो पहाडसँग ठोक्किएर किमार्थ यात्रा मोड्दैन । सफल मानिसका पछाडि एउटै मात्र रहस्य लुकेको हुन्छ । त्यो हो– कुनै बाहना नबनाउनु । नेपाली समाजमा असहज चुनौतीपूर्ण बाटो रोजेर सफलता हात पार्ने यस्ता पात्रहरु छन् , जसले आफ्नो इतिहास आफैँ निर्माण गरेका छन् ।

घरपरिवार, सन्तान, सामाजिक दायित्वसंगै व्यावसायिक जीवनमा अब्बल ठहरिएका केही महिला जो प्रेरक भूमिका निर्वाह गरिरहेका छन् । यद्यपि महिलालाई उसको लिङ्गका आधारमा नभई क्षमताका आधारमा अवसर दिइनुपर्ने उनीहरुको मत छ । अझ महिलाले महिलालाई नबुझ्दा समस्या जटिल बनेको विश्लेषण यी कामकाजी महिलाले सुनाए ।

विदुषी राणा, गोल्डस्टार जुत्ता, निर्देशक
महिला समानताका लागि चाहिने मुख्य आधार शिक्षा हो । अहिले गाउँ गाउँमा पनि छोरी पढाउनुपर्छ भन्ने छ । पहिले सानैमा बिहे गर्दिने अर्थात बालविवाहको चलन थियो । त्यसले गर्दा महिला शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था थियो । अर्को आर्थिक रुपले आत्मनिर्भर हुन आवश्यक छ ।

यही हिसाबले परिवर्तन हुँदै जाने हो भने समानताको संघर्ष केही वर्षभित्रै सफल भएको देख्न सकिन्छ । छोरीले पनि कमाएर घरमा दुईपैसा ल्याओस् भन्ने अभिभावकमा छ । अहिले अभिभावकले छोरीहरुलाई त्यसरी नै हुर्काइरहेका छन् ।

व्यक्तिगत रुपमा महिला भएकै कारणले विभेद भन्दा पनि सहयोग र साथ पाएको छु । म र मेरो भाइमा पनि मलाई नै धेरै बुवामुवाले प्राथमिकता दिएको लाग्यो । छोरीले भनेको विषय पढ्न दिनुपर्छ, उसले गर्छु भनेको काम गर्न दिनुपर्छ भन्नेमा हुर्किएकी हुँ । व्यवसायीकतामा पनि विभेद भोग्नु परेन ।

मैले आफ्नो कार्यालयमा पनि महिला र पुरुष भनेर तलबमा विभेद गरेको छैन । काम हेर्ने हो, क्षमता हेर्ने हो । महिलाको क्षेत्रमा काम गर्दा मैले बुझे अनुसार प्रहरीमा महिला हिंसाको उजुरी जम्मा १० प्रतिशत मात्रै आउछ ।

हिंसा प्रायः घरभित्रैका सदस्यहरुबाट हुने हुँदा परिवारको दबाबले पनि प्रहरीकोमा जान नसकेको अवस्था छ । महिलाले पिटाइ खाएमा त्यसको बोली व्यवहार ठिक थिएन भनेर उसैलाई दोष लगाउने चलन छ । महिला आफू सक्षम नभएपछी हिंसामा परेपनि बोल्न सक्दैनन् । शिक्षा र आर्थिक पाटोलाई बलियो बनाउन सक्नुपर्छ ।

पुरुषलाई हिंसा गर्न हुँदैन भनेर सिकाउन सकिएको अवस्था छैन । कतिपय ठाउँमा महिलाबाटै महिला हिंसामा परेका छन् । तर धेरै पुरुषबाटै हुने गरेको छ । अब घरमै हामीले छोराछोरी हुर्काउँदा उनीहरुलाई दुवै समान हो भन्ने शिक्षा दिन आवश्यक छ । नैतिक शिक्षा परिवारबाट सुरु हुनुपर्छ ।

बुवाले आमालाई दुव्र्यवहार गरेको देखेको छ भने, त्यो छोरा हिंस्रक बन्न सक्ने सम्भावना हुन्छ । महिलालाई कस्तो व्यवहार गर्ने भन्ने कुरा छोरालाई आमाबुवाले सानैदेखि सिकाउनु पर्छ । घरको काम सिकाउनुपर्छ ।

प्याट्रेसिया फन्नाडेस् पाचेको, युनाइटेट नेसन्स वुमन नेपाल प्रतिनिधि
नेपालमा ८० प्रतिशत महिला आज पनि बेतलबी काम गरिहेका छन् । श्रम शक्तिमा उनीहरुको योगदान छैन । महिलाको कामलाई तलबी बनाउनुु आवश्यक छ । आमाको काम श्रममा मान्यता प्राप्त हुनुपर्छ । महिलाहरुले गरिरहेको कामलाई श्रममा परिणत गर्नुपर्छ ।

घरमा सबैभन्दा पहिले उठ्ने र अन्तिमा सुत्ने आमालाई हामीले ‘हाउसवाइफ’ अर्थात केही पनि गर्नुहुन्न भनिदियौँ । आमाहरुको श्रम शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा अर्थतन्त्रमा उनीहरुको मुख्य भुमिका रहेको छ । विना पारिश्रमिक काम गरिरहँदा उनीहरुले अर्थतन्त्रमा योगदान पुर्याएका छन् । तर त्यसको नजरअन्दाज गरिएको छ ।

लैङ्गिक समानता महिलाको लागि मात्रै फाइदाजनक छैन । समाज, राष्ट्र र विश्वको लागि पनि आवश्यक छ । महिलामाथि लगानी, परिवारमा लगानी तलबी हेरचाहको मुख्य विषय हो । इतिहास हेर्ने हो भने महिलाले पुरुषलाई हेर्नुपर्ने कुरा प्राकृतिक मानिएको छ ।

अर्को सामाजिक सुरक्षाको विषय महत्वपूर्ण छ । पुरुषको तुलनामा महिलाको आयआर्जन निकै कम छ । बालबालिका भएका महिलाको अवस्था झनै दयनीय छ । उनीहरु अनौपचारिक क्षेत्रमा भुलिरहेका छन् । श्रमबजारमा महिलाको सहभागिता बढाउन सकियो भने मात्रै विभेद न्युनिकरण हुँदै जान्छ । तर यो निकै चुनौतिपूर्ण रहेको छ ।

मर्यादित काममा महिलाको संलग्नता आवश्यक छ । मर्यादित भनेको श्रमिकको न्युनतम आवश्यकता पूरा गर्ने अवस्था हो । बजेट ल्याउदा महिलामैत्री बजेट ल्याउनुपर्छ । सीप विकास, रोजगार र उत्पादनमा लगानी प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

ग्रामिण क्षेत्रका महिलाको अवस्था अझै दयनीय छ । घरभित्रको काम महिलाले नै गर्नुपर्छ भन्ने परम्परागत धारणा व्याप्त छ । यो पूर्वाग्रह सोच हो । नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत छ । तर राजनीतक सहभागिता जम्मा ३३ प्रतिशत गरिएको छ । यो कोटा यतिमै रोकिनुहुँदैन । जनसंख्याको आधारमा कोटा बढ्दै जानुपर्छ ।

साबित्रा ढकाल महिला अधिकारकर्मी
हाम्रो समाज यसरी संगठित छ कि यहाँ विभेदलाई हदैसम्म सामान्यीकरण गरिएको छ । लैंगिकता असमानता र विभेदलाई संस्थागत गर्ने सबै भन्दा प्राचीन र सर्वव्यापी अभ्यास हो ।

हामी लैंगिक सामाजिकीकरणमा यतिसम्म अव्यस्त छौँ कि एउटै परीवारमा आफैँले जन्माएका छोरा र छोरीलाई फरकफरक हैसियतको मानवको रुपमा निर्माण र स्वीकार गर्छौँ । यसो गर्नमा हामीलाई अलिकति पनि ग्लानी हुँदैन ।

समाजले छोरा र छोरीलाई तोकेका अपेक्षित भिन्न भूमिका, जिम्मेवारी र व्यवहारलाई हामी नै हरेक दिन अनुमोदन गर्छौँ । र पैत्रिक सम्पत्तिदेखि महत्वपूर्ण सार्वजनिक श्रोत र सेवाहरुमा उनीहरूको फरक पहुँच स्थापित गर्छौँ । फेरी गर्वका साथ भन्छौँ, छोरी लक्ष्मी हुन् ।

लैंगिक असमानताको अन्त्यका लागि प्रयासहरु नभएका होईनन् । तर हाम्रा प्रयासहरु यति एकांकी छन् कि असमानताका बहुआयामिक चरित्रलाई सम्बोधन गर्न प्रयाप्त छैनन् । हाम्रा लैंगिक व्यवहार, परिवर्तनसँग लय मिलाउन नसकेका परम्परागत शैली, समाज र राज्यको पितृसत्तात्मक चरित्र सबै यसका लागि जिम्मेवार र दोषी छन् ।

विगतका प्रयासबाट परिवर्तन सम्भव छ भन्ने उदाहरणहरु सेट भएका छन् । विगतका सफल प्रयासमा व्यापकता ल्याउन, यसलाई गति दिन सचेतना र नवीन प्रयास जारी राख्न जरुरी छ । महिला पछाडी पारिएका छन्, त्यसैले त मानवता धरापमा छ । महिलामा लगानी मानवतामा लगानी हो ।

अनिता विन्दु, सञ्चारकर्मी
२५ वर्षदेखि यस क्षेत्रमा छु । हिट हुने गरी विभेद व्यक्तिगत रुपमा भोग्न परेन । तर मैले भोग्न नपरे पनि धेरै देखेको छु । काम गर्दा कार्यालयहरुमा ‘जेण्डर पे’ अर्थात लिङ्गका आधारमा तलब निर्धारण गर्ने प्रवृत्ति छ ।

भर्खरै क्रिकेट खेलाडीहरुलाई निर्धारण गरिएको तलबको कुरा हेरौँ । आखिर इफोर्ट त एकै हो महिला र पुरुष खेलाडीको । तर किन महिला खेलाडीलाई पारिश्रमिक कम ? निर्णय गर्ने ठाउँमा भएका पुरुषहरुको एटिच्युड हो त्यो ।

महिला आफ्नो अनुकुल हुन सक्दैन भनेर प्रेस युनियनको अध्यक्ष पदमा हराइएको सुन्न पर्यो । चुनावी मैदानमा उत्रिएपछि कि हार वा जित हुन्छ । तर महिला भनेर कम आँकलन गरिएको पाएँ ।

अर्को महिलालाई हराउनकै लागि पुरुषहरु विभिन्न खालका काल्पनिक कुराहरु सिर्जना गरिदिन्छन् । जिम्मेवार व्यक्तिहरुबाट पनि झुट कुराहरु फैलाइदिएको पाएँ । चुनाव स्वच्छ प्रतिस्पर्धाबाट जाने कुरा हो भन्दाभन्दै पनि प्रवेश नै गर्न नमिल्ने र नहुने कुरामा बहस चल्छ ।

लैङ्गिक समानताका विषयमा महिला र पुरष दुवैले सोचलाई फराकिलो बनाउन आवश्यक छ । नेपालको सन्दर्भमा परम्परागत सोच कायम रहँदा त्यसले अवरोध पुर्याएको छ । अझै पनि महिलाले गर्न सक्दैनन् भन्ने छ । महिला भएर त्यस्तो गर्ने भनेर आत्मसाथ गर्नुभन्दा आलोचना गर्न खोजिएको छ ।

महिलाले महिलामाथि नै विभेद गर्दै आएका छन् । मुख्य कुरा यो विभेद हटाउन सकियो भने पुरुषसँगको समानताको बहस गर्न धेरै दुःख छैन । छोरी र बुहारीबीचको विभेदले पछाडी धकेल्छ । परिवारसँगै लड्दै काम गर्नुपर्यो भने महिलालाई धेरै गाह्रो हुन्छ । परिवारले साथ दिएको खण्डमा महिलाले निकै उत्साहका साथ काम गर्न सक्छन् ।

महिलाहरुमा लगानी गर्ने भन्ने कुरा छ । उनीहरुलाई प्रगतिको गतिशित बनाउने हो । हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्नुपर्छ । नीति निर्माण तहमा महिला नै हुँदा त्यो कुराहरुलाई समेट्न सकिन्छ ।

ज्यास्मिन ओझा, सामाजिक अभियन्ता
१३ वर्षको उमेरदेखि नै महिला अधिकारको क्षेत्रमा काम गर्नुपर्छ भन्ने लाग्यो । करिब ९ वर्ष भयो । स्कुल पढ्दाताको महिला बालबालिकमाथि हुने हिंसाको बारेमा पढ्ने गर्थेँ । उनीहरु समाजमा हेपिएको न्याय नपाएको अवस्थामा छन् । उनीहरुको लागि काम गर्नुपर्छ ।

बुवा विदेशमा आमा र हजुरआमासँगै उनको बाल्यकाल बित्यो । महिला पात्रसँगकै हुर्काइले होला महिलाप्रति बुझाइले र भोगाइले छुन्थ्यो । हिंसामा परेका महिलाहरुलाई अदालतसम्म कसरी जाने भन्ने नै धेरैलाई थाहा छैन । त्यसैले त्यस्ता पिडितहरुका लागि ‘गाइड’ गर्नुपर्छ ।

महिलाले आफ्नो समस्याको समाधान कानुनी रुपमै खोज्नुपर्छ । अदालती प्रक्रियाको बारेमा पिडितहरुलाई परामर्श गर्दै उनीहरुसँग सडक आन्दोलनमा पनि सहभागि छु । कानुनको विद्यार्थी भएकाले आज सडकबाट र भोली अदालतबाटै न्यायका लागि लड्छु ।

महिला हौ तिमीले सक्दैनौ भनेर धेरै ठाउँमा सुन्नुपरेको छ । आफ्नो नाम सिफारिस भएको ठाउँमा पछि पुरुषलाई राखेर आफूलाई हटाएका छन् । सेटलमेन्टको कुरा गर्दा महिला पछाडी राखिन्छ ।

लैंगिक समानताको लागि सबैभन्दा पहिले सोचमा परिवर्तन आउनुपर्छ । महिलाको काम नहेरी मूल्याङकन गर्ने होइन । महिला र पुरुष भनेको लिङ्ग मात्रै हो । त्यसको आधारमा क्षमता छुट्याउन हुँदैन । महिलालाई नेतृत्व गर्न दिनुपर्छ । महिलाको बारेमा बोल्ने सबै डलरबाटै सञ्चालन भएका हुँदैनन् ।

अवसर काठमाडौँमैै केन्द्रित हुन भएन । मधेशका छोरी, कर्णालीका छोरीका समस्या झनै भयावह छ । हरेक महिलाले कहीँ न कहीँ कुनै प्रकारले असमानता तथा विभेद महसुस गरेको, भोगेको हुन्छ । मैले पनि भोग्नुपर्यो, त्यसकारण अरुले भोग्न नपरोस् भनेर यस क्षेत्रमा काम गरेको छु ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १ : ४५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार