नवीन सुब्बा : लामो आयुका फिल्म बनाउने निर्देशक | Khabarhub Khabarhub

नवीन सुब्बा : लामो आयुका फिल्म बनाउने निर्देशक


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम तर लामो आयु फिल्म बनाउने निर्देशक हुन्– नवीन सुब्बा । उनले निर्देशन गरेका तीनवटा फिल्म प्रदर्शनमा आए । ती हुन्– खांग्री, नुमाफुङ र गुडबाई काठमाडौं ।

सुब्बको अर्को फिल्म प्रदर्शनको संघारमा छ । ‘गाउँ आएको बाटो’ जेठ २५ देखि प्रदर्शनमा आउँदैछ । उनले यो फिल्म सात वर्षपछि ल्याउँदै छन् ।

फिल्म निर्माण गर्दा उनी दुई मान्यतालाई ध्यान दिन्छन् । ती हुन्– सशक्त कथा र निर्माणका लागि उपयुक्त समयावधि । छिटो छायांकन गरेर हतारमा फिल्म ल्याउने प्रवृत्तिलाई उपयुक्त ठान्दैनन् ।

यी दुई विषयालाई प्राथमिकतामा राखेर बनाउँदा फिल्मको आयु लामो हुने उनको बुझाइ छ ।

‘कथा राम्रो र समय लगाएर फिल्म निर्माण गरिए अन्तर्राष्ट्रिय बजारमा लैजान सक्ने बन्छ । जसले अवार्डदेखि व्यापार पनि राम्रो गर्छ,’ उनी प्रष्ट छन्, ‘म कम्तीमा एउटा फिल्म बनाउन ५–७ वर्ष राख्छु । बनाएको २७ वर्ष बित्दा पनि मेरो फिल्म हेरिन्छ ।’

फिल्म निर्माणमा नौलो अभ्यास गरिरहेका हुन्छन् नवीनले । नेपालमा पहिलो पटक ‘कास्टिङ’ निर्देशकको अवधारणा ल्याउने निर्देशक पनि उनै हुन् । सन् १९९६ मा बनेको ‘खांग्री’बाट उनले यो अभ्यास भित्र्याएका हुन् ।

नेपाली फिल्म निर्माणमा ‘वर्कशप’ थिति बसाल्ने जस पनि उनैलाई जान्छ । यसको सुरुवात उनैले त्यही फिल्मबाट गरेका हुन् ।

निजी लगानीमा बनेको पहिलो फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा लैजाने निर्देशकको जस पनि उनैलाई जान्छ ।

नौलो प्रयोगको अभ्यासलाई उनले ‘गाउँ आएको बाटो’मा पनि निरन्तरता दिएका छन् । यस फिल्ममा उनले ‘डाइलेक्ट कोच’का रुपमा डा. तारामणि राईलाई राखेका छन् । जसको काम मुख्यतः संवाद शैली र भाषाको शुद्धता हेर्ने हुन्छ ।

आलोचनाको जवाफ दिन फिल्ममा

ताप्लेजुङको लाहुरे परिवारमा जन्मेका नवीनको बाल्यकाल विदेशकेन्द्रित थियो । तर उनको रंगकर्ममा यात्रा धरानबाट सुरु भएको हो ।

धरानमा नाटकलाई संगठितरुपमा विकास गर्न महत्वपूर्ण योगदान दिए । धरानमा उनीहरुले सुरु गरेको नाट्य समूह हो– ‘अनाम नाट्य जमात’ ।

पछिल्लो पुस्तालाई रंगकर्मको काम हस्तान्तरण गरेर उनी पत्रकारिताका लागि ०४८ सालमा काठमाडौं आए । यही पेसाले फिल्म निर्देशनमा जान बाध्य बनाएको उनी सुनाउँछन् ।

‘त्यसबेला बलिउड फिल्मका कथा नक्कल गर्ने प्रवृत्ति हाबी थियो । ती फिल्महरु नेपाली होनन् भन्नेमा म प्रष्ट थिएँ । त्यही कुरा प्रकाशन गर्थेँ,’ उनी भन्छन्, ‘धेरै आलोचन गरेर लेख्न थालेपछि मेकरहरुले सक्छस् भने आफैँ बनाएर देखा भन्न थाल्नुभयो, अनि फिल्ममा आएँ ।’

यसरी फिल्म निर्माणमा होमिएका नवीन नेपाली फिल्मलाई विश्वबजारमा परिचित गराउने प्रयासमा छन् । उनी विश्वबजारमा बिक्ने सक्ने स्तरीय फिल्म निर्माणको उद्देश्यले निर्देशकहरुलाई प्रशिक्षण पनि दिन्छन् ।

उनी स्वयम्ले निर्माण गरेका फिल्म पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लैजान्छन् । उनको फिल्म ‘नुमाफुङ’ टारोन्टोमा वल्र्ड प्रिमियर भएको थियो । यो अवधिमा विश्वबजारमा नेपाली फिल्म पुग्न सक्नुको पछाडि उनले महसुस गरेको करा हो, ‘सपनाको खडेरी ।’

अर्थात्, सम्भावित बजारका दर्शकसम्म पुग्ने लक्ष्य बहुसंख्यक नेपाली फिल्म ‘मेकर’ राख्दैनन् । उनी भन्छन्, ‘हामीले त्यो सपना नराखेर सम्भावित बजारका दर्शकलाई यहाँ फिल्म बन्छ भने जानकारी नै छैन । उनीहरुले नेपालमा फिल्म बन्छ र ? भनेर मलाई नै प्रश्न गरेको उदाहरण छ ।’

उनले थाहा पाएका थप प्रमुख दुई कारण पनि छन् । ती हुन्, निर्माण क्षमतामाथि नउठ्नु र छोटो अवधिमै फिल्म निर्माण गर्नू ।

‘सिनेमा निर्माणमा हाम्रो लेखन र प्राविधिकस्तर पनि माथि उठ्न सकेन,’ उनी भन्छन्, ‘प्रदर्शन मिति तोकेर हतारमा फिल्म छायांकन गर्दा प्रशस्तै छिद्र भेटिन्छन् ।’

यी दुई पक्षलाई मनन गरी निर्माण गर्दा भाषाकै कारण नेपाली फिल्मले विश्व बजारमा स्थान नपाउने समस्या नहुने उनको बुझाइ छ ।

‘स्तरीय फिल्म निर्माण गरेकाले अन्य देशका मेकर हलिउडमा गएर काम गरिरहेका छन्,’ उनी उदाहरण दिन्छन्, ‘भाषाको कुरा गर्दा कोरियन सिनेमा नेपालीले पनि हेर्छन् । ती सिनेमाले ओस्कर जितेकै छन् ।’

कमब्याकको आरोप

७ वर्षपछि फिल्म ‘गाउँ आएको बाटो’ लिएर दर्शकमाझ आउन लागेका नवीनलाई ‘कम ब्याक’को आरोप लागेको छ । तर, उनी त्यसलाई स्वीकार्न तयार छैनन् ।

एउटा फिल्म निर्माण गर्न कम्तीमा ५–७ वर्ष लाग्ने भएकाले आफू निरन्तर यही कर्ममा रहेको उनको तर्क छ । व्यापार, अवार्ड र स्तरीय फिल्म बनाउने हो भने हतार गर्नु नहुने उनको तर्क छ ।

यो फिल्म टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा एसियन प्रिमियर र मामी मुम्बईमा साउथ एसियन प्रिमियर भएकाले उनको यो तर्क बलियो देखिन्छ । यसबाहेक दर्जनौँ महोत्सवमा फिल्म छानिएको उनी बताउँछन् ।

‘मलाई एउटा सिनेमा बनाउन कम्तीमा ५–७ वर्ष लाग्छ । यो अवधिमा म कतै गएको होइन । सिनेमाहरुमै काम गरिरहेको छु,’ उनी स्पष्ट पार्छन्, ‘सिनेमाको उमेर लामो हुनुपर्छ भनेर समय पनि लगाउँछु । त्यही भएर मेरो पहिलो सिनेमा २७ वर्षपछि पनि हेरिन्छ ।’

कोरोना महामारीबीच भोजपुरको दुर्गम गाउँमा छायाँकन गरिएकाले पूर्वाधार अभावका कारण यो फिल्म केही ढिला बनेको उनले स्वीकारे ।

‘हामीले लोकशन हेर्दा जिप कुद्ने बाटो खुलेको थियो । दुई वर्षपछि सुटिङमा जाँदा गाडी नकुदे पनि त्यो बाटो पुरानो भएको रहेछ । नयाँ बाटो देखाउन फेरि खन्नुप¥यो । यस्ता समस्याले केही ढिला भयो,’ उनले ढिलाइको कथा सुनाए ।

पहिलो लकडाउनमा छायाँकन जारी रहेकाले ‘सुटिङ युनिट’का ५ जना कोरोना संक्रणसमेत देखियो । त्यसले निर्माणमा ढिलाइ भएको उनी सुनाउँछन् ।

कोरोनाकै कारण तेस्रो फिल्म ‘गुड बाइ काठमाडौं’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा लैजान नपाएकाले यो आरोप लागेको हुनसक्ने उनको बुझाइ छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : ४८ बजे

डोटीका किसान काउली खेतीतर्फ आकर्षित

दिपायल – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका

कोदो उत्पादक किसानलाई गाउँपालिको अनुदान 

पर्वत– रैथाने वालीको रुपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरूको आकर्षण बढाउनका

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल