भाइरलको लोभमा ‘मृत्यु’ खिच्ने होड, वकिल भन्छन्-पुलिसले चाहे दुरुत्साहनको मुद्दा लाग्छ | Khabarhub Khabarhub

भाइरलको लोभमा ‘मृत्यु’ खिच्ने होड, वकिल भन्छन्-पुलिसले चाहे दुरुत्साहनको मुद्दा लाग्छ



काठमाडौं- गत असार १६ गते सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । दोलखाको तामाकोशी बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेको भिडियोमा देख्न सकिन्छ ।

किनारबाट हिँड्दै तामाकोशीतिर अघि बढिरहँदा माथिबाट भिडियो खिचिरहेका र अन्यले उनलाई त्यता नजान भनिरहेका छन् । तर उनी एकसुरमा नदीतिर अघि बढिरहिन् । भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै रोक्ने कोसिस पनि भयो ।

तर कसैले रोक्न सकेनन् । नदीतिर अघि बढिरहेकी उनलाई रोक्न एकजना युवक किनारमै पुगे पनि केही सेकेन्डले तामाकोशीमा हेलिएर बेपत्ता भइन् । माथिबाट एक युवक दौडिएर उनलाई बचाउन पुगेको देखिन्छ । तर भिडियो खिच्नेले कोसिस गरेको भए बचाउन सकिन्थ्यो । एक्लोभन्दा सामूहिक प्रयास सार्थक हुने थियो । तर ती व्यक्ति मान्छेले आत्महत्या गरेको भिडियो बनाउन तल्लिन भए । 

तामाकोशीमा हेलिएर प्राण त्याग गरेकी उनी मेलुङ गाउँपालिका–४ भेडुप निवासी करिब ६५ वर्षीया ओमाकुमारी तामाङ (माया) भएको खुलेको छ । 

मुटु हल्लाउने त्यो दृश्य

भारतको मुम्बई नजिकै लोनावलास्थित नदीमा बिदा मनाउन गएका एकै परिवारका पाँच जना सदस्यले बगेर ज्यान गुमाए । गत आइतबार छुट्टीको दिन परिवारका १९ सदस्य लोनावाला पुगेका थिए । तीमध्ये १२ जना झरनाको पानीमा खेल्न गए । एक रुखमुनि झोला, लुगा र जुत्ताचप्पल निकालेर बच्चासहित झरनाको पानीमा पुगेका थिए । 

पानीको बहाव सानो थियो र ठूल्ठूला ढुङ्गा थिए । त्यही समय ठूलो पानी पर्न थाल्यो । झरना र ढुङ्गाहरु देखेर लाग्दैन, त्यहाँ कुनै मान्छे बग्न सक्छ वा डुब्न सक्छ । ९ जना एकै ढुङ्गामाथि अडिएर बसिरहेका बेला अचानक ठूलो भेल आएको देख्न सकिन्छ । पानीको तीव्र बहावले उनीहरू पारी जान न वारी आउन सक्ने अवस्थामा फसे । 

तर पहाडमाथि निकै ठूलो पानी परिरहेको थियो । पानीको स्तर बढ्दै थियो । उनीहरूले १० देखि १५ मिनेटको झरीले यति भयानक बाढी आउन सक्ने अनुमान गर्न सकेनन् । घटनालाई लिएर भारतीय नागरिकहरूले प्रशासनको निकै आलोचना गरेका छन् । वर्षाको समयमा त्यहाँ किन कुनै कुनै सतर्कताको बोर्ड वा सूचना राखिएन भन्ने छ । त्यहाँ उद्धारको लागि कुनै संयन्त्र थिएन । झरना भुसीड्याम अर्थात् ठूलो तलाउमा गएर मिसिन्छ । 

 डोरी, लौरो र चुन्नीको सहायता दिने प्रयास गरिरहेका थिए । सहयोगको प्रयासभन्दा धेरै त्यहाँ भिडियो बनाउनेहरू थिए । सबै एकजुट भएर प्रयासमा लागेको भए सायद तिनीहरूलाई बचाउन सकिने थियो । तर १० मिनेटसम्म भेल थेग्न नसकेर बगे । पाँच जनाले अनाहकमा ज्यान गुमाउन पर्‍यो ।

आलोचनाले अस्ताएका कार्टर

१९९३ मा सुडान (अहिले दक्षिण सुडान) को अयोडमा भोकमरी चलिरहेको थियो । त्यहाँ मानिसले खान नपाएर कुपोषणबाट ज्यान गुमाइरहेका थिए ।

भोकले आकुलव्याकुल एक बालक संयुक्त राष्ट्रसंघको खानपान केन्द्रमा पुग्ने प्रयास गर्दै थियो । तर केही अगाडि पुगेपछि बच्चा हिँड्न सकेन । भोकले ऊ प्राण त्याग्ने स्थितिमा पुग्यो । ऊभन्दा थोरै पछाडि एउटा गिद्ध बालकको प्राण कतिबेला जान्छ र आफ्नो आहारा बनाउँछु भन्ने शैलीमा ढुक्न थाल्यो । 

यो दृश्य फोटो पत्रकार केविन कार्टरले खिचेका थिए । जुन पहिलो पटक २६ मार्च १९९३ मा द न्यूयोर्क टाइम्समा छापिएको थियो । यस तस्बिरले १९९४ मा फिचर फोटोग्राफीको ‘पुलित्जर’ पुरस्कार जितेको थियो । जुन भोकले कमजोर एक बालकको तस्बिर थियो ।

उक्त फोटो छापिएपछि कार्टरको निकै आलोचना भयो । बच्चाको उद्धार गर्न छोडेर फोटो खिच्नुलाई मानवता हराएको पत्रकारको रुपमा आलोचना भयो । यहाँसम्म कि कार्टरलाई मानिसहरुले ‘त्यहाँ दुईजना गिद्ध थिए’ भनेर कमेन्ट गरे । एक पंक्षी गिद्ध र अर्को पत्रकार गिद्ध । निर्मम आलोचनाका अघिल्तिर कार्टरको व्यावसायिकता हार्‍यो । पुरस्कारको लोभमा बालकको उद्धार नगर्नु गल्ती भएको ठहर गरे । कार्टरले पुरस्कार जितेको चार महिनापछि आत्महत्या गरेका थिए।

माथिका घटनाले मानिसहरूबाट विवेक हराउँदै गइरहेको प्रस्ट्याउँछ । जीवजन्तुले समेत एक अर्कोलाई समस्यामा पर्दा सहयोग गरेको देखिन्छ । तर चेतनशील प्राणी मानवबाट सहयोग र उद्धारको भाव हराउँदै गइरहेको छ । प्रविधिको उच्चतम् प्रयोगसँगै मानिसमा भाइरलको भूत चढेको देखिन्छ । 

यस्ता घटनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता सरिता तिवारी लेख्छिन्–मानिसहरू मर्न लागेकाको रक्षा र उद्धार गर्नुभन्दा तिनको फोटो, भिडियो खिचेर भ्युअर्स बटुल्न, कमाउन कतिसम्म तल गिर्न सक्छन् ?

मुम्बई लोनावला गएका पर्यटकहरूलाई बाढीले घेरिएर बगाएको दृश्यले एकदमै विचलित गरायो ? पैसाको लागि मानवताको यो हदसम्म बिजोक पुँजीवादी समाजको मान्छेहरूले मान्छेको मासु खानेु दिनको दस्तक हो ।

साङकेन बान्तवा लेख्छिन्, – त्यो भिडियो हेर्दा म निस्सासिएँ । काखको सानो बच्चा र स–परिवार कोही आउला र बचाउला भनेर खुट्टा दह्रो गरि हिम्मत राख्दै उभिँदाको उनीहरूको पल हेरेर रोएँ । हिम्मत गरेर बचाउन चाहेको भए किनारमा उभिएर हेर्ने बलियो ज्यान भएका पुरुषहरुले मानव साङ्लो बनाएर नि बचाउँथे होलान् सोचे ।

हरेक नागरिक बर्दीबिनाको प्रहरी : एसपी अधिकारी

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले हरेक नागरिक बर्दीबिनाका प्रहरी भएको बताए । 

उनी भन्छन्, ‘यो समाजको हरेक विकृति र विसङ्गतिविरुद्ध सचेत गर्ने र गराउने एक असल नागरिकको कर्तव्य हो ।’

‘कुनै दुर्घटना हुने सम्भावनालाई उद्धार गर्न छोडेर भिडियो कैद गर्दै बस्ने भनेको मानवले परिकल्पना नगरेको दानवता हो । अपराध देखेर त्यसलाई रोक्न नखोज्नु वा प्रयासै नगर्नु पनि अपराध हो’, उनले भने ।

अधिकारीले मानवीय संवेदनशीलता कानुनभन्दा पनि माथि हुने बताए । ‘कानुन भनेको अनुशासन हो । अनुशासनमा नबस्नेहरुका लागि कारवाही गर्नुपर्ने वा अन्यायमा परेकाहरूलाई न्याय दिने सहज बाटो हो’, उनले भने । 

 असहयोगलाई कानुनले कसुर मान्दैन : अधिवक्ता


अधिवक्ता विकास गिरी कसैलाई असहयोग गर्नु कानुनतः कसुर नभएको बताउँछन् । तर नैतिकता भने कानुनभन्दा माथि रहेको उनको बुझाइ छ । 

उनी भन्छन्, ‘समस्यामा परेकालाई सहयोग गर्नु मानिसको नैतिकता पनि हो । जुन कानुनभन्दा पनि सर्वश्रेष्ठ भनेर व्याख्या गरिएको छ ।’

तर अहिलेसम्म अप्ठ्यारोमा परेकालाई असहयोग गरेको वा उद्धार नगरेकै कारण कोही कारवाही नपरेको अनुभव उनी सुनाउँछन् । ‘कानुनले कसुर नभनेको विषय अपराध होइन’, खबरहबसँग गिरीले थपे, ‘तर प्रहरीले चाहेको खण्डमा दुरुत्साहन मुद्दा चलाउन सक्छ । त्यस घटनाबाट लाभ लिएको सन्दर्भ भएमा प्रहरीले आपराधिक लाभ वा दुरुत्साहनमा मुद्दा लैजान मिल्छ ।’

प्रविधिको प्रयोगबारे पढाइ पुगेन 


समाजशास्त्री सविता प्रसाईंले नेपालीहरूले प्रविधिलाई मनोरञ्जनका रुपमा मात्रै प्रयोग गरेको सकेको बताइन् । 

उनी भन्छिन्, ‘पहिले एसएलसीको रिजल्ट हेर्न तीन दिन लाग्थ्यो । अहिले छिनभरमै हातको मोबाइलबाट हेर्न सकिन्छ । आफ्नो भौतिक तथा बौद्धिक उत्पादन विश्वभर बेच्न सक्छौँ ।’ 

प्रविधि वरदान हो तर अरुको संवेदनशीलतालाई मतलब नगर्ने हो भने यो अभिशाप बन्ने प्रसाईं बताउँछिन् । 

‘मानिस एक्लै रमाउने र परिस्थिति आफूअनुकूल बनाउनेमा केन्द्रित देखिन्छ । यसले मानवता लोप गराउँदै गएको छ’, उनले भनिन् ।

‘सम्पत्ति आर्जन गरेर मान्छेलाई हिजो पनि पुगेको थिएन र आज पनि पुगेको छैन ।अहिले तपाईंको सम्पत्ति भनेको भ्यूज हो’, प्रसाई थप्छिन्, ‘छोटो र सस्तो सफतलाको खोजीमा छन् मान्छे । सहयोग गर्नुभन्दा भिडियो बनाएर हाल्दा भ्यूज आउँछ भन्ने छ । मानिसमा नाफाकेन्द्रित हुने चरित्र हावी भएको छ ।’

अर्को व्यक्तिले परिवारबाट र समाजबाट कस्तो संस्कार पाएको त्यसले प्रभाव पार्ने उनी बताउँछिन् । ‘रमिता मन पराउने र अरुले दु:ख पाएको हेर्न मन पराउने बानी सिकाइले प्रभाव पार्छ र अर्को वंशाणुगत पनि हुन्छ’, उनले भनिन्। 

मानवता सिकाइको विषयको भएको उनले बताइन् । प्रविधिको सदुपयोग र दुरुपयोगबारे अब विद्यालयको पाठ्यक्रममा नै समावेश गरेर पढाउनुपर्ने उनले सरकारलाई सुझाएकी छन् । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ५६ बजे

पीडितलाई न्याय महसुस हुनेगरि कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर

वर्तमान सत्ता समीकरण ८४ सम्म कायम रहन्छ : विमलेन्द्र निधि

जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, कम्तीमा तीजनाको मृत्यु

लखनऊ- भारतको उत्तरप्रदेश राज्यमा बिहीबार दिउँसो एउटा रेल लिकबाट उत्रिएको

बिजुलीको साढे ८ अर्ब नतिर्ने यी हुन् ५७ उद्योग (सूचीसहित)

काठमाडौं- शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको सपथ खाएका प्रधानमन्त्री केपी

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने