सरकारबाट किन फिर्ता भएन रास्वपा ? « Khabarhub

सरकारबाट किन फिर्ता भएन रास्वपा ?

असार २८ पछि प्रतिपक्षमा जाने



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पार्टी स्थापनाको दिन असार ७ मा भनेका थिए, ‘प्रधानमन्त्रीज्यू, डेलिभरी हुने काम नभए रास्वपाका मन्त्रीहरूले राजीनामा दिन्छन् । पत्र बोकेर हिँडिरहेका छौँ, त्यसमा मिति लेखेर बुझाउन बाँकी छ।’

उनले सरकार कर्मकाण्डी रूपमा मात्रै चलेको अनुभव सुनाउँदै जुनसुकै बेला रास्वपा सरकार छाड्न तयार भएको बताएका थिए । त्यसको दुई सातापछि १९ गते नयाँ समीकरणका लागि कांग्रेस–एमालेबीच सहमति भयो । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकजना व्यवसायीका घरमा मध्यराति पुगेर सहमति पत्रमा हस्ताक्षर गरे ।

त्यसपछि नेकपा एमाले र अशोक राई नेतृत्वको जसपा सरकारबाट बाहिरिसकेका छन् ।तर, रास्वपा र नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म राजीनामा बुझाएका छैनन् । उनीहरूले प्रचण्डलाई नै समर्थन गरिरहेका छन् । यो समर्थन असार २८ गतेसम्म नै कायम रहने रास्वपा उपसभापति तथा श्रम मन्त्री डोलप्रसाद अर्याल डिपीको भनाइ छ ।

रास्वपा नेता विराजभक्त श्रेष्ठले भने तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने पार्टीमा धारणा राखेका थिए । तर, उनलाई सभापतिले थामथुम पारेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार सभापति लामिछाने सहकारी प्रकरणमा मुछिएपछि छानबिन भइरहेको र कांग्रेस एमाले सरकार बन्न लागेकाले रास्वपाले राजीनामा दिएर सरकार बनाउन बाटो खोलिदिनुपर्ने खेलकुद मन्त्री श्रेष्ठ र शिक्षा मन्त्री सुमना श्रेष्ठको जोड छ । तर खबरहबसँगको कुराकानीमा भने उनीहरूले यो कुरा बोल्न चाहेनन् ।

रास्वपाले किन मन्त्रीहरू फिर्ता नबोलाएको भन्ने प्रश्नममा उपसभापति अर्यालले भने, ‘हामीले सरकारलाई समर्थन गरेर स्थायी सरकार हुन्छ भनेर मन्त्रीहरू समेत पठाएर सरकारमा सहभागी भएका थियौँ । अहिले प्रधानमन्त्रीज्यूलाई अप्ठ्यारो पर्दा हामीले साथ नदिने भन्ने हाम्रो राजनीतिक संस्कारभित्र पर्दैन। हिजो जुन समझदारी भएको थियो, त्यही समझदारीमा हामी सरकारमा छौँ। प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा हामीले राजीनामा दिएर समर्थन फिर्ता लिने हो भने त कहाँबाट विश्वास हुन्छ र ? हामी अरू दलजस्तो धोकेबाज होइन ।’

उनले रास्वपा राजनीतिलाई सफा गर्न आएको बताउँदै दूषित राजनीति गर्न कांग्रेस एमालेलाई आफूहरूले स्पष्ट रूपमा चिनेको बताए ।

रास्वपा सांसद शिशिर खनाल पनि सबै पार्टीका नेताहरूकै सहमतिमा रास्वपा सरकारमा रहेको समेत दाबी गर्छन् । ‘अप्ठ्यारोमा साथ दिनुपनि हाम्रो ठूलो जिम्मेवारी हो । भोलि यो एमाले कांग्रेसलाई पनि पर्छ । नेपालको संविधान अनुसार त प्रधानमन्त्री र सरकार चल्न पाउनुपर्छ नि,’ उनले खबरहबसँग भने, ‘सत्ता परिवर्तन र सरकार परिवर्तनको खेलमा हामी छैनौँ। हामीले स्थिर सरकार दिनका लागि सरकारमा सहभागी भएका थियौँ तर एमाले जस्ता ठूला दलले धोका दिए । यति छिटै यस्तो हुन्छ भन्ने जानेको भए हामी सरकारमा जाने थिएनौँ ।’

उपसभापति अर्याल  रास्वपाले भ्रष्टाचारका फाइल खेल्ने डरले एमाले सरकारको साथ छाडेर हिँडेको दाबी गर्छन् । उनी भन्छन् ‘हामीले त सबै फाइलहरू खोलेर अनुसन्धान हुनुपर्छ भनेका थियौँ तर उहाँहरू आत्तिनुभयो। कांग्रेस एमाले रास्वपाको सरकारमा उपस्थितिले आत्तिएर सरकार परिवर्तनको खेलमा लागेको हामीलाई अवगत नै छ । नत्र  विचार, सिद्धान्त केही नमिल्ने ठूला दल किन सरकारमा जानुपर्ने थियो र ? मिलेर खान त हो नि ।’

एमाले सरकारबाट बाहिरिसकेपछि गृहमन्त्री रवि लामिछानेले पनि रास्वपाले गरेको सकारात्मक कार्यले एमाले आत्तिएर फसिन्छ कि भन्ने डरले सरकार नै परिवर्तन गर्न तातिएको बताएका थिए ।

यता अर्याल पनि सभापतिकै भाषा दोहोर्‍याउँछन् । उनी रास्वपा नैतिकवान र क्षमतावान पार्टी भएकाले कांग्रेस र एमाले डराएको दाबी गर्छन्।

कांग्रेसको प्रश्न : नैतिकवान मान्छे किन सरकारमा बसेको ?

कांग्रेसले दुई महिनासम्म संसद् अवरोध गरेर रवि लामिछानेसँग जोडिएका सहकारीसहित २९ वटा सहकारीको विषयमा संसदीय छानबिन समिति बनाएर काम गर्न कार्य अगाडि बढिरहेको छ । अहिले छानबिन समितिले सभापति रवि लामिछाने जोडिएका सहकारीहरूको अनुसन्धान गरिरहेको छ ।  तर, सभापति गृहमन्त्रीमा बसेर छानबिनको दुरुपयोग गर्ने समेत संकेत देखिएकाले ठूला दल मिलेको कांग्रेस नेताहरूको आरोप छ ।

कांग्रेसका एक नेताले भने, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूले बनाएको पनि भत्काउँछ । हाम्रा नेपाली जनताले १–१ रुपैयाँ खाइ नखाई बचत गरेको पैसाले राजनीति गर्ने अनि अरूलाई रविजी ले पाठ पढाउने ? देश अस्थिरताबाट जोगाउन र जनताको पसिनाको सम्मान गर्न पनि कांग्रेस एमाले नमिलिकन भएन ।’

छानबिन हुँदा नैतिकताका आधारले पनि रविले राजीनामा दिएर सहयोग गर्नुपर्ने एमाले कांग्रेस नेता रमेश लेखकको तर्क छ ।

सहकारी ठगीको आरोप लागेका रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गर्दै उनी विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा वैशाख असार २० सुनुवाइ भएको थियो । सो सुनुवाइमा दुई न्यायाधीशको मत बाझिएको छ । उक्त इजलासमा न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुबेदीको मत बाझिँदा फैसला आउन सकेको छैन । लामिछानेले अदालतको मुद्दालाई सघाउन राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।

कांग्रेस नेता प्रदीप पौडेल पनि गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्री र पार्टीले यति हुँदा पनि राजीनामा नदिँदा जनतालाई ढाँटेको स्पष्ट देखिएको दाबी गर्छन् । उनी भन्छन्, ‘अरूलाई नैतिकताको पाठ पढाउने नैतिक वान मान्छेले त आफूले राजीनामा दिनुपर्‍यो नि । यतिका दिनसम्म उहाँले के हेर्नुभएको थियो ?’

रास्वपा उपसभापति अर्याल भने कांग्रेस एमाले नैतिकता देखाएको छन् र भन्दै प्रश्न गर्छन् । उनले थपे। ‘बेचन झा पक्राउ परेपछि कांग्रेस एमाले दुवै नेताहरू छटपटिएर रातारात व्यापारीको घरमा गएर सम्झौता गरे । यो कुरा जनताले चलाख भएर बुझेका छन् ।’

सरकार अल्पमतमा पर्दा पनि किन नछाडेको भन्ने प्रश्नमा मन्त्री अर्याल भन्छन्, ‘हामीले गरेको प्रगति र जनताको पक्षको कामले कांग्रेस-एमाले आत्तिएर नभएको दोष सभापतिलाई लगाए । ३० औँ वर्षबाट यो देशलाई अस्थिर र जनतालाई निराश पारे एमालेले अझ खेली खेली हामीमाथि ठूलो घात गरिएको छ । हामीमाथि खनिएर उनीहरू चोखो बन्दैछन् । हाम्रो उपस्थिति रोक्न चलखेल गरिरहेका छन्। हाम्रो सभापति निर्दोष हुनुहुन्छ।’

अर्याल अगाडि थप्छन्, ‘अदालतलाई हामी सम्मान गर्छौँ । अदालतले न्याय अन्याय छुट्उाउँछ भन्नेमा हामी ढुक्क छौँ। ठूला दलहरूले खान नपाएर हामीलाई रोक्न यो सब षड्यन्त्र गरेका हुन् । छानबिन समिति पनि एमाले कांग्रेसले बनाएको षड्यन्त्रको एउटा उपज नै हो। त्यहाँ निस्वार्थ मान्छे हुनुपर्थ्यो । उहाँहरूमाथि हामीलाई भरोसा त पहिलेबाट नै थिएन ।’

असार २८ पछि रास्वपा दरिलो प्रतिपक्षी भएर संसद्मा उभिने रास्वपा प्रमुख सचेतक सन्तोष परियार बताउँछन् । ठूला दल रास्वपाको काम र प्रभावका कारण अस्थिरतातर्फ धकेलिन खोजेको भन्दै अब रास्वपा दरिलो प्रतिपक्षी भएर जनताका सवालमा काम गर्ने बताउँछन् । उनले पार्टीमा समीक्षा गरेर कार्य प्रगतिको बारेमा पनि छलफल हुने बताए ।

सचेतक परियार रास्वपामा बाहिर आएजस्तो कुनै विवाद नभएको महामन्त्रीको असन्तुष्टि यो खालको हुने गरी कुनै विवाद नै नभएको बताउँछन् । उनी सरकारबाट रास्वपा बिदा भए पनि ०८४ मा बहुमत सहित पुनः सरकारको बागडोर सम्हाल्ने दावी गर्छन् ।

यो पनि-

हे भगवान् ! रास्वपाको रक्षा गर !

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : २४ बजे

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी