फ्रान्समा नयाँ सरकार गठन गर्न वार्ता शुरू | Khabarhub Khabarhub

फ्रान्समा नयाँ सरकार गठन गर्न वार्ता शुरू


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चुनावी नतिजाले वाम, केन्द्र र अति दक्षिणपन्थी दलहरूबीच व्यवस्थापिका विभाजित भएपछि सरकारको बहुमतलाई एकजुट गर्ने वार्ताका लागि नवनिर्वाचित सांसदहरू फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा भेला भएका छन् ।

पेरिस ओलम्पिक सुरु हुन तीन साताभन्दा कम समयअघि राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्ना प्रधानमन्त्री गेब्रियल एटललाई दैनिक कार्यहरू सम्हाल्न जारी राख्न आग्रह गरेका छन्‌ । म्याक्रोन नाटो शिखर सम्मेलनका लागि बुधबार वासिङ्टन जाँदैछन्‌ ।

आइतबारको निर्वाचनले कुनै पनि गुटलाई सरकार बनाउन आवश्यक बहुमतको नजिक पुर्‍याएन । यसबाट युरोपेली सङ्घ (ईयु) को दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र ठप्प हुने जोखिमलाई बढाएको छ । यद्यपि युरोपमा विभाजित संसद् अमान्य नभए पनि फ्रान्सको आधुनिक इतिहासमा यो अवस्था अभूतपूर्व छ ।

सबैभन्दा धेरै सिट जितेको वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टका नेताहरूले आफूले सरकार बनाउनुपर्ने बताएका छन् । गठबन्धनका तीन मुख्य दलहरू कट्टर वामपन्थी फ्रान्स अनबोड, सोसलिस्ट र ग्रिन्सले प्रधानमन्त्रीको उम्मेदवार खोज्न वार्ता सुरु गरेका छन् ।

उनीहरूको वार्ता आन्तरिक गुटबन्दीले जटिल छ । केहीले कट्टर वामपन्थी छविलाई जोड दिइरहेका छन् भने अन्यले मध्य–वामपन्थी नजिक बढी सहमत व्यक्तिलाई प्राथमिकता दिन्छन् । संसद्प्रति उत्तरदायी रहने फ्रान्सको प्रधानमन्त्रीलाई अविश्वासको मतमार्फत हटाउन सकिन्छ ।

फ्रान्स अनबोड र ग्रिन्सका सदस्यहरू मङ्गलबार बिहान नेसनल एसेम्बली पुगेका छन् । पूर्वराष्ट्रपति फ्राँस्वा ओलान्डलगायत सोसलिस्ट सांसदहरू दिउँसो भेला हुने भएका थिए ।

सोसलिस्ट पार्टीका शीर्ष वार्ताकार जोहान्ना रोल्यान्डले भावी प्रधानमन्त्री जिन–ल्युक मेलेनचोन नहुने बताए । धेरै नरमपन्थीहरूलाई क्रोधित तुल्याउनुभएका ल्युक मेलेनचोन फ्रान्स अनबोडका विभाजनकारी कट्टर वामपन्थी संस्थापक हुन्‌ ।

मङ्गलबार फ्रान्स २ टेलिभिजनमा बोल्दै रोल्यान्डले वामपन्थी गठबन्धनले सम्भवतः म्याक्रोनको गठबन्धनको केन्द्र–वामपन्थी सदस्यहरूसँग काम गर्नसक्ने सुझाव दिए । “हामी खुला हुनेछौँ”, उनले भने ।

आधिकारिक नतिजाअनुसार फ्रान्सको दुई विधायिका सदनमध्ये सबैभन्दा शक्तिशाली ५७७ सिटको नेसनल एसेम्बलीलाई नियन्त्रण गर्न आवश्यक दुई सय ८९ सिट प्राप्त गर्न सबै तीन मुख्य ब्लक धेरै नै कम छन् ।

नतिजाअनुसार न्यु पपुलर फ्रन्ट वामपन्थी गठबन्धनलाई १८० भन्दा केही धेरै सिट प्राप्त भएको छ । म्याक्रोनको मध्यमार्गी गठबन्धनलाई १६० सिट प्राप्त भएको छ भने मरिन ले पेन र उहाँका सहयोगीहरूको अति दक्षिणपन्थी नेशनल र्‍यालीले तेस्रो स्थान हासिल गरेको छ ।

उसले १४० भन्दा धेरै सिट जितेको छ । सन् २०२२ मा उक्त पार्टी ८९ सिटमा विजयी भएको थियो । म्याक्रोनको राष्ट्रपति कार्यकाल तीन वर्ष बाँकी छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : २४ बजे

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६

धादिङ र तनहुँमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर