समाचार

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

By खबरहब

September 09, 2024

राँझा– राप्तीसोनारी गाउँपालिका–१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर जस्तापाता लगाएपछि आगलागीलगायत विपद्का घटनामा कमी आएको छ । 

खरको छाना भएको घरमा आगलागीको जोखिम हुने भएकाले वडाभित्र रहेका विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी आगलागीजस्ता विपद्बाट जोगाउन खरको छानामुक्त अभियान सञ्चालन गरेको वडाध्यक्ष यमबहादुर खड्काले जानकारी दिए।

‘खरका छानामा हिउँदको समयमा आगलागीको डर हुने र वर्षायाममा पानी चुहिने समस्या भएकाले वडावासीको सुरक्षाका लागि खरको छाना हटाउने काम सुरु गरेका छाैँ’, उनले भने, ‘खरको छाना विस्थापित कार्यक्रम लागू भएपछि वडामा आगलागीका घटनामा कमी आएको छ ।’

वडामा रहेका सबै खरका छानालाई मुक्त गर्ने लक्ष्यका साथ सुरु गरिएको अभिायनअन्तर्गत हालसम्म एक सय ११ घरलाई खरको छानामुक्त गरिसकेको छ । चालु आर्थिक वर्षमा ५३ घरपरिवारलाई खरको छानामुक्त गर्ने योजना रहेको वडाध्यक्ष खड्काले बताए।

वडाध्यक्ष खड्का २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा रहेका विपन्न तथा सीमान्तकृत समुदायको घरका छानालाई खरमुक्त गरी जस्तापाता लगाउन सुरु गरेका थिए । आर्थिक वर्ष २०७९-८० मा रु २० लाख विनियोजन गरी ६५ घरपरिवार, आव २०८०-८१ मा १५ लाख विनियोजन गरी ४६ घरपरिवार र चालु आवमा रु १५ लाख विनियोजन गरी ५३ घरपरिवारलाई खरको छानामुक्त कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष खड्काले बताए।

कार्यक्रमको सूचीमा परेका लाभग्राही नागरिकलाई १० फिट लम्बाइ र ३२ गेज मोटाइ भएको २२ थान जस्तापाता वडा कार्यालयले प्रदान गर्ने गरेको वडाध्यक्ष खड्काको भनाइ छ । राप्तीसोनारी गाउँपालिका–१ साविकको खासकुस्मा गाविस छिमेकी जिल्ला दाङसँग जोडिएको छ । 

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले वडा नं १ मा गरिएको खरको छाना हटाउने अभियान प्रभावकारी भएको बताउँदै अन्य वडाका गाउँबस्तीमा पनि खरको छाना हटाउनका लागि आफूले पहल गरिरहेको बताए।