मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ | Khabarhub Khabarhub

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछी मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।

सडकको बायाँपट्टि ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरीथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो ।

ढोरपाटन नगरपालिका–९ का होमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्य किसानको अध्ययन गर्ने थलोका रुपमा विकास हुँदै गएको छ । मस गाउँसहित ढोरपाटनको नवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखि स्याउखेती थालिएकामा अहिले उत्पादनमा किसान केन्द्रित हुन दिन थालेका हुन् । 

अहिले गाउँका अन्य किसानले पनि नयाँ प्रविधिको प्रयोग गरि स्याउखेती गर्न थालेका छन् । पछिल्लो समय रैथाने खेती गर्ने किसानले पनि व्यावसायिक खेतीप्रति चासो दिन थालेका हुन् ।

ढोरपाटन–९ का होमलाल भुसालसहित चिरन घर्ती, कमानसिंह बुढा,  झिरमती घर्ती, रुद्र घर्ती र चकेन्द्र घर्तीले सुरु गरेको स्याउ खेतीलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि लगानी गरेको छ । उनीहरुले एक वर्ष अघि एक हजार तीन सय बिरुवा इटालीबाट ल्याएर लगाएका थिए। कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदानमा बिरुवा पाउने भएपछि दुई वर्ष अघिदेखि स्याउखेती गर्न जग्गा भाँडामा लिएर सम्याउने काम गरेको होमलालले बताए । 

उनले बिरुवा लगाएको एक वर्षमा करिब एक लाख ५० हजारको स्याउ उत्पादन भएको भन्दै अब केही दिनमा टिपेर बजार पठाउने जानकारी दिए । 

भुसालले भने, ‘र असारमा लगाएको बिरुवाले अहिले फल दिएपछि हामी धेरै खुसी भएका छौँ, हामीले थालेको स्याउखेतीमा ज्ञान केन्द्रले पनि सहयोग गरेकाले सहज भएको छ । इटालीबाट बिरुवा आएको हो, यस वर्ष यति परिणाममा फल्ला भन्ने लागेको थिएन, अर्को साल धेरै फल्ने अपेक्षा गरेका छौँ ।’

किसान चिरनकुमार घर्तीले गाउँमा खाली रहेको जग्गालाई सदुपयोग गरी व्यावसायिक स्याउखेती थालेको बताए। हालसम्म व्यक्तिगत रुपमा २० लाख र कृषि ज्ञान केन्द्रको अनुदानसहित २७ लाख लगानी भएको उनले जानकारी दिए।

एक हजार तीन सय बिरुवा लगाएकामा करिब एक हजारले फल दिएको भन्दै अझै १० हजार बिरुवा लगाउने योजना रहेको घर्तीले जानकारी दिए। सामूहिक रुपमा करिब एक सय रोपनी जग्गा भाँडामा लिएर उत्तरगङ्गा अर्गानिक एग्रो प्रालि दर्ता गरेर खेती सुरु गरेको उनले उल्लेख गरे।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मस गाउँमा इटालियन स्याउ उत्पादन हुने राम्रो हावापानी भएकाले किसानलाई प्रोत्साहन गरी व्यावसायिक बनाउन थालिएको बताए । कृषि निर्देशनालयले इटालीबाट ल्याएको गोल्डेन, गाला, फूजी र रेड जातको स्याउका बिरुवा सहयोग गरेको भन्दै केन्द्रले स्याउलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, मल, सिँचाइलगायतमा सहयोग गरेको उनले जानकारी दिए।

केन्द्रले यहाँ चाहिने आवश्यक प्राविधिक सहयोगसमेत निरन्तर गर्दै जाने प्रमुख सिलवालले बताए। परीक्षणका लागि लगाइएको स्याउ राम्रो फलेपछि थप बिरुवा सहयोग गर्दै जाने उनले उल्लेख गरे। 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : ४५ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ