सांकेतिक तस्बिर

अपराध

कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

By खबरहब

September 09, 2024

काठमाडौं– प्रहरीले कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ गरेको छ ।

कैलालीको जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २४ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ उच्च गोलौरी बस्ने १९ वर्षीय रबिन चौधरी र १९ वर्षीय राजेन्द्र महतो रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै झापाको झापा गाउँपालिका-४ ग्रामथानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५९ मिलिग्राम सहित शिवसताक्षी गाउँपालिका-३ बस्ने २१ वर्षीय पाण्डे भन्ने थरेन्द्र गुरुङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुरुङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।