प्रतिनिधिसभा : सुरक्षित यात्रा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

प्रतिनिधिसभा : सुरक्षित यात्रा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले नजिकिँदै गएको चाडपर्वमा सुरक्षित यातायात सेवा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद बिजुला रायमाझीले आउँदै गरेको चाड दसैँमा काठमाडौँ उपत्यकाबाट लाखौँको सङ्ख्यामा नागरिक बाहिरिने उल्लेख गर्दै लामो दूरीको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले सवारीसाधन दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सडक मर्मत र सम्भार गर्न माग गरिन्  ।

‘मनसुनका कारण पहाडका सडक क्षतविक्षत भएका छन् । लामो दूरीका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ’, सांसद रायमाझीले भनिन्, ‘लामो समय जाममा बस्नुपर्ने बाध्यता छ । अब दसैँका समयमा काठमाडौँबाट बाहिरिने यात्रु यही सडकमा हिँड्दा अवस्था के होला ?’

सांसद रामकृष्ण यादवले चाडपर्व नजिकिँदै गर्दा अहिल्यै दैनिक उपभोग्य खाद्यान्नको मूल्य वृद्धि हुनु राम्रो सङ्केत नभएको बताए । उनले अत्यावश्यक सेवा तथा उपभोग्य बस्तुको महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

‘चाडपर्व लक्षित कालोबजारी र कृत्रिम अभावको नियन्त्रण गर्न सरकारसँग आग्रह गर्छु’, सांसद यादवले भने ।

शून्य समयमा बोल्दै सांसद रेखा शर्माले चाडपर्वको समयमा सडकको स्तरोन्नति नहुँदा सडक दुर्घटना बढ्नेप्रति सचेत गराइन् । उनले बुटवल–नारायणगढ सडक पुनः निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै चाडपर्व लक्षित गरेर उक्त सडक खण्ड तत्काल मर्मत सम्भार गर्न माग गरिन् ।

सांसदद्वय रोशन कार्की  र रुक्मणी राना बराइलीले दसैँको मुखमा खाद्यान्नको मूल्यवृद्धि र अभावले आम नागरिकलाई चार्डपर्वप्रतिको मनोविज्ञानमा डर पैदा गरेको गुनासो गरे । उनीहरूले बजारको अनुगमनसँगै सडक सुरक्षाका लागि आवश्यक सबै प्रकारको तयारी थाल्न सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा सांसदहरूले सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको बागमतीसहितका नदी किनारमा निर्माण निषेधित क्षेत्र तोक्ने मापदण्डसम्बन्धीको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे ।

बागमतीसहितका नदी किनारामा २० मिटर खाली छाड्नुपर्ने फैसलाले धेरै परिवार प्रभावित हुने उल्लेख गर्दै सांसद रामहरि खतिवडाले उक्त फैसलामाथि सरकारले छिट्टै पुनरावलोकन (भ्याकेट) मा जान माग गरे ।

‘सर्वोच्च अदालतको फैसलाका कारण उपत्यकावासी जो नदी किनारमा बसोबास गरिरहेका छन्, उनीहरूको उठिबास हुने भएको छ । सरकारले भ्याकेटमा गएर जनतालाई सहज हुने काम गर्नुपर्छ’, सांसद खतिवडाले भने । उनीसँगै सांसद मेटमणी चौधरीले पनि उक्त फैसलाको भ्याकेटमा जान माग गरे ।

शून्य समयमा सांसद लालप्रसाद सावा लिम्बुले लालपुर्जा वितरणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारको लक्ष्यका बाबजुद पनि ठोस उपलब्धि हासिल नभएको भन्दै अधिकार सम्पन्न आयोग गठन गर्न माग गरे ।

‘अठार वटा भूमि आयोग गठन र विघटन भए पनि १३ लाख भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न सकेका छैनन’, सांसद लिम्बुले भने ।

सांसद भगवती चौधरीले मोरङ र सुनसरीस्थित बुढीखोला करिडोर योजना निर्माण अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराइन्  ।

सांसद भीमप्रसाद आचार्यले इनरुवा क्षेत्रको सडक निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरे  ।

सांसद मनिष झाले धनुषा जिल्लामा पर्यटनको सम्भावनाका विषय उल्लेख गर्दै अध्यागमन कार्यालय र इलाका प्रशासन कार्यालयको यथाशिघ्र व्यवस्थापन गर्न माग गरे ।

सांसद माधव सापकोटाले दोलालघाटदेखि तातोपानीसम्मको सडक मर्मत एवं स्तरोन्नति गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा सदनमा उठेका विषयप्रति सरकार जवाफदेही हुनुपर्ने सुझाव दिइन् ।

सांसद मङ्गलप्रसाद गुप्ताले भारतीय पर्यटकको सवारी साधनमाथि लाग्ने कर वृद्धिले पर्यटकलाई हतोत्साहित गरेको बताए  ।

सांसद रणकुमारी बलम्पाकी मगरले मुलुकको समृद्धिका लागि सकारात्मक प्रयास र उदाहरण छाँयामा परेको गुनासो गरिन् ।

सांसद रणेन्द्र बरालीले सत्तापक्ष र प्रतिपक्ष मुलुक निर्माण गर्न एक हुन सुझाव दिए ।

सांसद रेखा यादवले खेलाडीमाथि सरकारले लगानी बढाउन जोड दिइन् ।

सांसद लक्ष्मी तिवारीले मङ्कीपक्सबारे सतर्कता अपनाउन देशका विभिन्न सीमा क्षेत्रमा विशेष सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन सरकारसँग माग गरिन् ।

सांसदहरू मुक्ताकुमारी यादव, मेनकाकुमारी पोखरेल, रमा कोइराला पौडेल र राजेन्द्र बजगाईँले मुलुकको समग्र विकास एवं समृद्धिका लागि सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमा नेपाली कांग्रेसका सांसदहरूले बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा उनको स्मरण गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४१ बजे

पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट ३९२ किलो गाँजा बरामद

हेटौँडा– मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट ३९२ किलो गाँजा

उदयपुरलाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न एमालेको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी एमाले जिल्ला कमिटी उदयपुर  जिल्लालाई बाढी

कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

काठमाडौं– गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

काठमाडौं– काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले

बाढीपीडितलाई नगद सहयोग

धरान– यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद