ब्रेकिङ स्टोरी

पार्टीमा प्रचण्डको ब्रिफिङ- सरकारमा नगई नहुने बाध्यात्मक परिस्थिति बन्न सक्छ

By खबरहब

September 09, 2024

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी निर्माणका लागि जनतामा जानुको विकल्प नरहेको बताएका छन् ।

सोमबार कोशी प्रदेश परामर्श बैठकलाई उदयपुरको बेलकामा सम्बोधन गर्दै उनले बाध्यताबाहेक सरकारमा जाने कुरामा चासो नरहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले माओवादीले अहिले सरकारमा जानेबारे चासो नदेखाएको बताए । तर जानै पर्ने अवस्था सिर्जना हुन सक्ने उनको दाबी थियो ।

प्रचण्डले पार्टी निर्माण र समाजवादी राज्य व्यवस्थाको आधार निर्माणमा ध्यान दिन पनि नेता-कार्यकर्तालाई आग्रह गरे ।

‘सरकारमा चासो देखाएर हामी नजाने, पार्टी बनाउन जनतामा जानुपर्छ । देश र जनताको हितका लागि माओवादी सरकारमा नगई नहुने परिस्थिति आउनसक्छ’, उनले बैठकमा भने, ‘यो सरकार स्वार्थपूर्तिका लागि बनेको हो, जग बलियो छैन । एकअर्काको स्वार्थ पूरा भएपछि हामी गएर सरकार बनाउनुपर्ने बाध्यात्मक परिस्थिति पनि बन्न सक्छ ।’

कोशी प्रदेश परामर्श समितिको बैठकमा ७० जनाले मौखिक र तीन जनाले लिखित धारणा राखे । बैठकलाई अध्यक्ष प्रचण्डसहित ९ जनाले सम्बोधन गरे ।

पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिएका थिए ।

सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादमा जाने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्ने पनि नेताहरूको सुझाव थियो ।

पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले अहिलेसम्म कोशी प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बाँकी छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।