म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म « Khabarhub

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो ।

रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले यहाँ उत्पादित टिमुर स्वदेशका साथै विदेशबाट पनि माग आएको बताए। 

‘विभिन्न देशमा रहेका नेपालीले जन्मथलो आउँदा र आफन्तमार्फत उपभोगका लागि टिमुर लैजानुहुन्छ । पछिल्लो समय व्यावसायिक रूपमा माग आउन थालेको छ’ उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गरेर उपभोगयोग्य प्रमाणित गरिएको टिमुर विदेश पठाउने गरेका छौँ ।’

बेनी–९ घतानको फरकफरक ठाउँमा उत्पादन भएको २० किलो काँचो र दुई किलो सुकाएको टिमुर परीक्षणका लागि गत साता काठमाडौँस्थित गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाएको बानियाँले जानकारी दिए। प्रयोगशालाको प्रतिवेदन आएपछि बिक्री गर्ने तयारी भइरहेको भन्दै उनले अहिले यहाँका किसानले उत्पादित टिमुर टिप्न थालेका बताए।

गत वर्ष घतानमा उत्पादन भएको एक हजार छ सय किलो टिमुर प्रतिकिलो रु तीन हजारका दरले बिक्री भएको थियो । योमध्ये विदेशी बजारमा करिब दुई सय किलो बिक्री भएको बानियाँले बताए। धेरैजसो टिम्मुर मुस्ताङका होटल सञ्चालकहरूले अग्रिम भुक्तानी गरी खरिद गर्ने गरेका छन् । 

घतान क्षेत्रमा यस वर्ष करिब दुई हजार किलो टिमुर उत्पादन हुने अनुमान गरिएको भूमेसिद्ध टिमुर सञ्जालले जनाएको छ । बेनी–९ ढावाका नरबहादुर राईले २० हजारको टिमुर बिक्री गरिसकेको जनाउँदै थप रु ४० हजार बराबर फल बिक्रीका लागि तयार भएको बताए। 

‘खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछी यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन्’, किसान राईले भने, ‘फलाउन र टिप्न सक्नुपर्‍यो, टिमुर बिक्रीका लागि बजारको समस्या छैन, घरबाटै बिक्री हुन्छ ।’

बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए। 

‘बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो’, उनले भने, ‘म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको हाम्रो तथ्यांक छ ।’

पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपाली टिमुरको उत्पादन दोब्बरले बढेको ढावाकी जमुना राईले बताए। 

‘एउटै रूखमा दुई किलोसम्म टिमुर फलेको छ’, उनले भने, ‘यसपाली छ किलो बिक्री गर्ने तयारी गरेकी छु ।’

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान बताउँछन् ।

‘काँडाधारी रूख हुने भएकाले टिमुरको फल टिप्न दुःख हुन्छ । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने जोखिम पनि हुन्छ’, किसान राईले भने।

भूमेसिद्ध टिमुर सञ्जालमा आबद्ध किसानलाई दुई वर्षअघि लुपथान्सा एयरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालले टिमुर टिप्न र बोट काँटछाँट गर्न जर्मनीमा विकास भएको ४० थान सिकेचर र आरा उपलब्ध गराएको थियो । डिभिजन वन कार्यालयले टिमुर प्रशोधन गर्ने औजार उपलब्ध गराएको छ । 

जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । डिभिजन वन कार्यालयले गत वर्षमा २० हजार टिमुरका बिरुवा निःशुल्क वितरण गरेको थियो । जिल्लास्थित उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : १८ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु