मिर्गौला गुमाएका स्वास्थ्यकर्मी जयरामको अनुभव- ‘रोगभन्दा कानुनी जटिलता पीडादायी’ | Khabarhub Khabarhub

मिर्गौला गुमाएका स्वास्थ्यकर्मी जयरामको अनुभव- ‘रोगभन्दा कानुनी जटिलता पीडादायी’

ब्रेनडेथले कानुनी मान्यता नपाएसम्म समस्या ज्यूँका त्यूँ’


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

मृगौला फेल भएपछि डायलासिस र प्रत्यारोपणका लागि याचना गर्दै काठमाडौंका गल्ली गल्लीमा रोगीहरू गीत गाइरहेको भेटिनु नौलो होइन । यिनीहरू उपचार गर्दागर्दै खर्च धान्न नसकेर सडकको बासमा पुगेका हुन् ।

सरकारले डाइलासिसमा निःशुल्क सुविधा दिएको बताए पनि त्यो सुविधा अधिकारका रूपमा स्थापित हुन सकेको छैन । अझ काठमाडौं बाहिरबाट आएर मृगौलाको उपचार गर्न झन् कठिन छ । पहिलो मृगौलादाता भेटिदैनन्, भेटिएकासँग पनि कानुनी र क्रसम्याचको समस्या छ ।

सबै थोक मिलाउँदा महिनौँ वर्षौं लाग्छ । यो ढिलाइ भनेको बिरामीको ज्यान जोखिममा पर्नु नै हो । जयराम अधिकारीले दशकौँ स्वास्थ्य क्षेत्रमै आफ्नो जीवन बिताए । औषधीका विषयमा धाराप्रवाह ज्ञान छ । वैयक्तिक स्वास्थ्यका हरेक विषयमा विवेक राख्दाराख्दै आफ्नो मृगौलाले काम गर्न छोडेको उनले पत्तै पाएनन् । उनै अधिकारी डायलासिसदेखि प्रतयारोपणसम्म पुग्दाको पीडादायी घडी सम्झिन पनि चाहँदैनन् ।

नियम कानुन, सामाजिक, शारीरिक, पारिवारिक  असुरक्षाका आरोहअवरोहसाँग संघर्ष गरेपछि बहिनीले दिएको मृगौलामा अहिले उनको ठीकठाको जीवन चलिरहेको छ ।  फ्रन्टलाईन अस्पताल काठमाडौमा फार्मेसी इञ्चार्जको रूपमा कार्यरत अधिकारीको भोगाई उनकै शब्दमा जस्ताको तस्तै ।

होशियारीले गरेन काम 

अहिले मिर्गौलाको रोग ठूलो समस्याका रूपमा रहेको छ । उमेर पुगेका भन्दा पनि युवावस्थाकै धेरै मान्छेहरू यो रोगबाट पीडित छन् । त्यसमध्ये म पनि एउटा हो । लामो समयदेखि स्वास्थ्य क्षेत्रमै अझ औषधीकै विज्ञ भएर काम गरिरहेकै अवस्थामा थाहै नपाई ४० वर्षको  कलिलै उमेरमा मैले मिर्गौला गुमाएँ ।

पुर्ख्यौली घर चितवन भई हाल काठमाडौंको थानकोटमा मेरो बसोबास छ । विगत २४ वर्षदेखि विभिन्न अस्पतालहरूमा काम गरिरहँदा बेलाबेलामा आफ्नो चेकजाँच पनि गराइरहेकै थिएँ । स्वास्थ्य अवस्था सामान्य नै थियो । तर काम सुरु गरेको १९ वर्षमा अर्थात् आजभन्दा ३ वर्ष अगाडि स्वास्थ्यमा समस्या आउन थाल्यो । एक्कासि टाउको दुख्ने बिसन्चो हुने जस्ता समस्या देखिन थाले ।

सुरुमा यसलाई सामान्य टाउको दुखेको रूपमा लिएँ । सामान्य टाउको दुखेको विषय त्यसै पनि हामी कसैका लागि गम्भीर बन्दैन ।

लकडाउनको समयमा एकरात एक्कासि सहनै नसकिने गरी टाउको दुख्यो । सुत्न खोज्दा पनि सकिन । आफैँ गाडी चलाएरै थानकोटबाट माइतीघरमा रहेको आफू कार्यरत अन्नपूर्ण न्युरो अस्पतालमा पुगेर सीटीस्क्यान, एमआरआई लगायत सबै चेकजाँच गरेँ । तर केही देखिएन, दुखाई कम गर्ने सुई लगाएर घर फर्किएँ ।

भोलिपल्ट राती फेरि त्यस्तै असह्य दुखाई दोहोरियो । रातको ३ बजे अस्पताल आएर एडमिट भएँ । त्यहाँ पनि विभिन्न परीक्षण भयो । अस्पताल भर्ना भएको पाँच दिनपछि ब्लड प्रेसर अत्यधिक बढ्यो ।  यसले मिर्गौलामा समस्या छ भन्ने थाहा भयो ।

हुन त मिर्गौलाको रोगलाई खानपानसंग जोडेर हेर्ने गरिन्छ । तर मेरो सन्दर्भमा त्यो भएन म आफै पनि स्वास्थ्य क्षेत्रको मान्छे । खानपान मेरो स्वस्थकर नै थियो । मदिरामा मेरो लत थिएन । कहिलेकाहीँ साथीभाइ भेटघाट हुँदा औपचारिकता निभाउने खालको खुवाई हो ।  २०७८ साल जेठ २१ गते मेरो मिर्गौला फेल भएको थाहा भयो । मैले त्यही वर्ष भदौ महिनामा प्रत्यारोपण गर्न भनेर सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र (एचओटिसी) मा भर्ना भएँ ।

मेरी श्रीमतीको मिर्गौला प्रत्यारोपण गर्ने निधो भइसकेको थियो । सबै आवश्यक चेकजाँचहरु गरेर ११ गतेको समय लिइसकेका थियौँ ।  सबै कुरा मिल्यो । अन्तिममा आएर क्रसम्याच मिलेन । त्यसपछि भारतको अनलाइन कन्सल्टेशनमा बसें  । उनीहरूको तालिकाअनुसार पथपरहेजमा रहेर मैले जीवन बिताइरहेको थिएँ । मलाई अन्य कुनै समस्या थिएन । २ वर्ष उपचारको आसमा नै बित्यो ।

रोगभन्दा कानुनी अड्चन खतरनाक !

तिहारको समयमा मलाई डेङ्गु भइसकेपछि भने सुजनको समस्या आउन थाल्यो । डाइलासिसमा जानुपर्ने भयो । डाइलासिसमा जानुअघि नै प्रत्यारोपण गर्न खोज्दा पनि नमिलेपछि डाइलासिस गराउन थालें । डाइलासिस गराइरहँदा शुरुवाती अवस्थामा काम पनि गर्दै गरेको थिएँ । बिहान अफिस आएर ३ बजेपछि डाइलासिस गराउँथे ।

प्रत्यारोपणको आशा पनि छोडिन । त्यसको प्रयास पनि गरिरहेँ । आफन्त साथीभाई, ब्रेनडेथको केशहरु सबैमा प्रयास गरिरहेको थिएँ । प्रत्यारोपणका लागि नेपालको कानुन एकदमै असजिलो छ ।

कागजपत्र मिलाउनमा त्यस्तै झन्झट हुन्छ । सामान्य परिवार त्यसैमाथि उपत्यका बाहिरबाट आउने मान्छेहरूले प्रत्यारोपण गर्छु भन्दा कागजपत्र जुटाउँदा जुटाउँदै ज्यान गुमाउनुपर्ने अवस्था छ ।

यसमा सहजता हुनुपर्ने हो । जस्तै प्रत्यारोपणका लागि आवश्यक सबै कुरा मिल्यो भने जोसुकैले, जसलाई पनि आफ्नो इच्छाले दिन पाउनुपर्ने हो । तर सरकारले यसमा किन यति धेरै कडाइ गरेको छ, त्यो त कानुन बनाउने विज्ञहरूलाई थाहा होला । तर यसभित्रका जटिलताले प्रत्यारोपणलाई धेरै कठिन बनाएको छ ।

त्यस्तै कागजात मिलाउने कुरामा त्यस्तै झन्झट खेप्नुपर्ने अवस्था छ । जस्तै मिर्गौला दान गर्ने मान्छेसँग नाता प्रमाणित गर्नुपर्ने हुन्छ । नाता प्रमाणित गर्न जुन ठाउँको मान्छे हो त्यहीँ जानुपर्ने हुन्छ । त्यही अनुसार म चितवन जानुपर्ने भयो । नाता प्रमाणितलगायत आवश्यक कागजातहरू ल्याएर बुझाउँछु । ती कागजात यताको वकिलले उता मेल गर्छ । उसले हेरेर रिप्लाई गरेपछि मात्रै पास हुन्छ ।

मिर्गौलाको रोग भनेको यस्तो रोग हो, जसका कारण बिरामी मात्रै नभएर घरपरिवार नै पीडित भइसकेको हुन्छ । म पो स्वास्थ्य क्षेत्रकै मान्छे सबै कुराको ज्ञान थियो । सबै सेवा सुविधाको पहुँचमा थिएँ र गर्न सकेँ । तर दुर्गम ठाउँबाट उपचारका लागि आएर बसेको मान्छेलाई कति सकस हुन्छ होला, त्यो सहजै अनुमान गर्न सकिन्छ ।

सरकारले चाह्यो भने यसलाई सहज बनाउने ठाउँ धेरै छ । जस्तै नाता प्रमाणितकै कुरा गर्ने हो भने पनि श्रीमतीले दिन चाहेर नाता प्रमाणित गरियो र तत्काल प्रत्यारोपण हुन सकेन भने फेरि दोहोर्‍याएर नाता प्रमाणित गर्न पठाउँछ । किन त भन्दा त्यो बीचमा श्रीमतीले छोडेर गएको पनि हुनसक्छ रे ! यस्तो नचाहिने कुराहरू पनि हाम्रो कानूनमा छ ।

डाइलासिसमा समस्या

डाइलासिसमा धेरै नै समस्या छ नेपालमा । सरकार भन्छ– डाइलासिस निःशुल्क छ । यो सही हो । सबै कागजात मिलाएपछि सरकारी अस्पतालमा निःशुल्क नै हुने गरेको छ । शुरुको ३ पटक पैसा तिरेर गर्नुपर्छ । चौथो पटकदेखि निःशुल्क हुने अस्पतालको भनाइ छ । सधैँ डाइलासिस गराइरहेको अस्पतालमा कुनै कारण गर्न नमिल्ने भयो र अन्यत्र जानुपर्ने अवस्था आयो भने पहिले बनाएको कार्डले हुँदैन ।  त्यहाँ फेरि पैसा तिरेर गराउनु पर्छ ।

आइसीयुमै बसेर डाइलासिस गर्नुपर्ने भयो भने त्यसको अस्पताल अनुसार छुट्टै चार्ज लाग्छ । सामान्य अवस्थाको मान्छेले सधैँ गरिराखेको ठाउँमा जाँदा मात्रै निःशुल्क हो ।

असुरक्षित चेकजाँच र उपचार विधि

कुनै अस्पतालमा चेकजाँचको लागि जाँदा धेरै जनालाई लगाउन एउटै गाउन दिइन्छ । जस्तै म एउटा अस्पतालमा सिटीस्क्यानको लागि गएँ, त्यहाँ बिरामीको लागि प्रयोग गर्न एउटा मात्रै गाउन थियो ।

सिटीस्क्यान गराउने बिरामीले दिनभर प्रयोग गरेको गाउन मलाई लगाउन भनियो । अर्को बिरामीले प्रयोग गरेको कपडा लगाउनुपर्ने बाध्यता छ ।  अझ त्यो बेला कोभिडको त्रास थियो । कोभिड मलाई टेष्ट गर्न लगाइयो । तर दिनभर प्रयोग गरेको लगाउन दिइयो । अनि कसरी सुरक्षित हुन्छ ?

त्यस्तै डाइलासिस गराउँदा पनि विभिन्न सामानहरू रियुज हुने गरेको छ, जसबाट बिरामीलाई जोखिम हुने सम्भावना धेरै हुन्छ । सरकारले निःशुल्क डाइलासिस गर्नुस् त भनेको छ । तर के–कसरी भइरहेको छ भन्ने कुराको अनुगमन भएको पाइँदैन ।

मासिक ४० हजार उपचारमा

सरकारले डाइलासिस निःशुल्क गराएको छ भने अन्य खर्च बिरामीको अवस्था अनुसार हुन्छ । कसैलाई प्रेसर हाइ छ भने प्रेसरको औषधी खानुपर्ला, सुगर छ भने सुगरको औषधी खानुपर्ला । बिरामीमा अन्य कुनै समस्या छैन, मिर्गौलाको मात्रै समस्या हो भने त्यही अनुसारको खर्च हुन्छ ।

मेरो सन्दर्भमा  मैले ८ महिना मात्रै डाइलासिस गराएको हो । त्यो अवधिमा ६ महिना त महिनाको ३ पटकसम्म अस्पताल भर्ना भएरै उपचार गर्नुपर्ने अवस्था हुन्थ्यो । त्यो पनि आइसीयुमै बस्नु पर्थ्यो । मैले त प्राइभेटमै गराएको भएर खर्च धेरै हुन्थ्यो । त्यही उपचार सरकारीमा अलि कम भए पनि औषधी त किन्नै पर्ने हुन्छ । जसले गर्दा ३० देखि ४० हजार अनिवार्य खर्च हुन्छ ।

डाइलासिस जति लामो समयसम्म गरायो, त्यति नै समस्या थपिन्छ । यसो हुनु भनेको खर्चको वृद्धि नै हो ।  त्यसैले सकेसम्म डाइलासिसमा नगएरै प्रत्यारोपण गर्नु यसको प्रभावकारी उपचार हो । डाक्टरहरूले पनि त्यही नै भन्छन् । तर सबैको हकमा यो सम्भव नै छैन ।

मृगौलादाता पाउन फलामको चिउरा ! 
मैले नेपालमै प्रत्यारोपण गरेको हो । श्रीमतीको मिर्गौला नमिलेपछि मेरी बैनीले मलाई मिर्गौला  दिइन र मैले नयाँ जीवन पाएँ ।

मिर्गौला प्रत्यारोपणका लागि भनेर सरकारले ४ लाख रुपैयाँ सहुलियत दिएको छ । सरकारी अस्पतालहरू सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र (एचओटीसी), वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा प्रत्यारोपण गर्दा ४ लाख सरकार र २–३ लाख आफ्नो गरेर ७–८ लाख सम्ममा प्रत्यारोपण गर्न सकिन्छ ।

मैले प्राइभेटमै गर्दा पनि १५ लाख जति खर्च भएको हो । तर प्रत्यारोपणको खर्च भन्दा पनि त्यहाँसम्म पुग्ने बाटो महँगो र अप्ठेरो छ । त्यो बाटोलाई सहज बनायो भने प्रत्यारोपण गर्न गाह्रो छैन । सबैभन्दा पहिले त दाता पाइँदैन, दाता पाएपछि पनि क्रसम्याच देखि सबै कुराहरू मिल्नु प¥यो । १ जना दाताको चेकजाँच गर्न १ लाख जति खर्च लाग्छ । कागजातहरू मिलाउन त्यस्तै झन्झट हुन्छ । यी कुराहरू सरकारले सहज बनाइदिनु पर्छ ।

यत्ति कुराहरू सहज भयो भने प्रत्यारोपणकै लागि चन्दा उठाउनुपर्ने, सडकमा माग्दै हिँड्नुपर्ने अवस्था आउँदैन । त्यही प्रत्यारोपण हामीले भारतमा गएर गरायौँ भने १ करोडसम्म खर्च गरिएका केश मैले देखेको छु । मैले नै ८० लाखमा डिल गरेर जान खोजेको थिएँ । केही गरी बाँच्न सकिने बाटो छ भने त कोही पनि मर्न चाहँदैन । सबैलाई बाँच्न मन हुन्छ ।

‘ब्रेनडेथ’ क्रियाशील बनाउन आवश्यक 

सरकारी तहबाट गर्ने हो भने मैले देखेको डाइलासिस निःशुल्क दिनु पनि पर्दैन ।  प्रत्यारोपणको लागि भनेर सरकारले दिने गरेको ४, ५ लाख रुपैयाँ त्यो पनि दिनु पर्दैन । सबैभन्दा राम्रो भनेको ब्रेनडेथलाई क्रियाशील बनाइदिने हो भने मान्छेले जसरी भए पनि प्रत्यारोपण गर्छ ।

तर हाम्रो सबैभन्दा ठूलो समस्या भनेको एउटा त मिर्गौला पाउनै कठिन छ ।  सबैको परिवारमा मिर्गौला दिन सक्षम व्यक्ति हुँदैन । कतिपय कुराहरू नमिल्ने पनि हुन्छ । त्यस्तो अवस्थामा ब्रेन डेथको केश भए त मिल्थ्यो होला नि । ब्रेनडेथकै भरमा प्रत्यारोपण गर्छु भनेर कम्तीमा पनि १ हजार मिर्गौला पीडित अहिले पनि लाइनमा छन् । तर अहिलेसम्म जम्मा ४ ओटा ब्रेन डेथ केशमा ८ जनाले मिर्गौला पाएका छन् ।

सरकार यो कुरा अनिवार्य रुपमा लागु गर्नु पर्‍यो । जस्तै कुनै अस्पतालमा ब्रेनडेथको बिरामीको मृत्यु भयो भने दान गर्न मिल्ने अंगहरु दिनै पर्छ भन्ने लागू गर्नुपर्‍यो । बाहिरी देशको कुरा गर्ने हो भने जीवित डोनर भनेको १ प्रतिशत मात्रै हुन्छ  । ९९ प्रतिशत ब्रेन डेथ नै हुन्छ । तर नेपालमा शून्य दशमलव १ प्रतिशत मात्रै ब्रेनडेथ छ । बाँकी जीवित डोनर नै हुने गरेका छन् ।

कुनै पनि अस्पतालमा ब्रेन डेथका कोही बिरामी छन् र उनीहरूले अंगदान गरेका छन् भने त सहज हुन्छ । यदि अंगदान गरेको छैन भने पनि ब्रेनडेथ भएको बिरामीको केही समयमा त मृत्यु हुन्छ नै । त्यो समयमा परिवारका सदस्यहरूको सहमतिमा ६–७ ओटा अंगहरु निकाल्न सकिन्छ । त्यसको लागि मृतकका परिवारलाई केही सहयोग गर्न सकिन्छ । यस्ता एजेण्डामा सरकारले सोच्नु पर्छ ।

सुरुवाती अवस्थामा कुनै पनि काम सहज हुँदैन । तर सरकारले नियम नै बनाइदिएर लागु गर्‍यो भने केही सहज होला । नभएर मिर्गौला प्रत्यारोपण सहज छैन । मृत्युपश्चात् अंगदान गर्ने परिवारलाई २ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ । यो एउटा राम्रो सुरुवात हो ।

त्यस्तै अस्पतालले पनि आफ्नो तर्फबाट सहयोग गर्न सक्छन् । जस्तै कोही बिरामी अस्पतालमा भर्ना भएको छ । त्यही समयमा ब्रेनडेथ भयो । त्यस्तो अवस्थामा अस्पतालको बिलमा केही सहुलियत दिने  । त्यस्तै यसरी निकालिएको मानव अंगहरु चाहिएको मान्छेले लिँदा त्यो व्यक्तिले पनि दाताको परिवारलाई केही सहयोग गर्न सक्छ । यस्ता विषयलाई सरकारले अवैधानिक मानेको छ । म त भन्छु– यसलाई वैधानिकता दिनुपर्छ ।

केहीले यो कुरा नस्वीकार्लान् त्यो आफ्नो ठाउँमा छ  । मरिसकेपछि जलाएर फालिने चिजले कसैको जीवन फर्कन्छ भने त्यसलाई अवैधानिक किन मान्ने ?

प्रत्यारोपणपछि पनि छैन सहज
मिर्गौला प्रत्यारोपणपछि केही समयसम्म चिकित्सकको सल्लाहअनुसार बिरामीको अवस्था हेरेर १ हप्ता १५ दिनमा अस्पताल जानुपर्छ । त्यसपछि औषधी नछुटाई बाचुञ्जेल खानुपर्ने हुन्छ । औषधीको मात्रै मासिक १० हजार जति खर्च हुन्छ ।

अहिले पनि १, २ महिनाको फरकमा चिकित्सकसँग परामर्श लिएर त्यही अनुसारको जीवनयापन गरिरहेको छु । प्रत्यारोपण गरेको १ वर्ष पूरा भयो । अहिलेसम्म त्यस्तो समस्या केही पनि आएको छैन ।

यसको लागि बिरामी आफैले पनि खानपान तथा जीवनशैलीमा ध्यान दिने, औषधी समयमा खाने लगायतका कुराहरूमा ध्यान दिनुपर्छ  । र अर्को कुरा म बिरामी छु भनेर घरमै बसिरहने गर्नु हुँदैन । मैले प्रत्यारोपण गरेको २१ दिनदेखि नै आफ्नो काम सुरु गरेको हो । सबैको हकमा त्यही नै हुन्छ भन्ने हुँदैन । कसैलाई अन्य समस्या पनि आउन सक्छ ।

तर बिरामीले आफै पनि मलाई निको भइसक्यो, म आफ्ना सामान्य काम आफैँ गर्न सक्छु भनेर आत्मविश्वास राख्यो भने जीवन सहज बनाउन सकिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ३८ बजे

झिनो अंकले बढ्यो नेप्से, फाइनास समूहमा गयो पहिरो  

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

दिलिपको छोरी दिव्या भन्छिन्- ‘स्टारकिड’ लाई फिल्ममा आउन सजिलो, स्थापित हुन गाह्रो

काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा नयाँ ‘स्टारकिड’को आगमन भएको छ

६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक

काठमाडौं– नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू

हाइड्रोलाई आईपीओमा ल्याउँदा छुटै कार्यविधि बनाउन ऊर्जा व्यवसायीको माग 

काठमाडौं– हाइड्रो कम्पनीहरूलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्दा

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ, गौशाला वृत्त लगियो

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी