अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् । राष्ट्रिय सोनाम ल्होछार–२८६० का अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताएका छन् ।

‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस्’, प्रधानमन्त्रीले भने, ‘फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।’

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गर्दै उनले अहिले सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन्।

यसअवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै प्रधानमन्त्री दाहालले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिए। 

प्रधानमन्त्री दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गरे । सोनाम ल्होछार पर्व मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने बताए । 

उनले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे। उनले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरे।

नेपाल तामाङ घेदुङ मुल समारोह समितिका अध्यक्ष वीरबहादुर योञ्जनलगायतले तामाङ समुदायको इतिहास, राज्यमा पुर्‍याउँदै आएको योगदानलगायतका विषयमा जानकारी गराएका थिए । 

तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको छ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्गका रुपमा रहेको छ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । 

नेपालमा मात्र नभई चीन, मङ्गोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । 

सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोजसाँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् ।

महोत्सवका अवसरमा तामाङ समुदायको वेशभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँ भन्दा बढी प्रदर्शनी कक्ष राखिएको थियो । महोत्सवमा कुलागी, लुकुनी, स्यान्थापलगायतका पराम्परागत पोसाकामा सजिएका युवायुवती डम्फूटुङ्गाको धुनमा नृत्य प्रस्तुत गरेका थिए ।

 काठमाडौँ वरपर काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, नुवाकोट, मकवानपुर, रसुवा र धादिङलगायत जिल्लामा बसोबास रहेको तामाङ समुदायको जनसङ्ख्या करिब १६ लाख रहेको बताइएको छ । यस वर्षको सोनाम ल्होछार बिरालो वर्षको बिदाई र ड्रागनको स्वागत गरेर उक्त समुदायले मनाएको छ । बागमती प्रदेशले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ३२ बजे

निर्वाचन : ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ

स्मार्ट बटन र वास‍+सहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

काठमाडौं– सेनसेईले  नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३| १० केजी) नेपाली बजारमा सार्वजनिक

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो

निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड

काठमाडौं– नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचनलाई बाल

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान 

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर