राष्ट्रियसभा अध्यक्ष : प्रचण्डको रोजाइ नारायण दाहाल, के गर्लान् सिटौला ? | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्ष : प्रचण्डको रोजाइ नारायण दाहाल, के गर्लान् सिटौला ?



काठमाडौं–फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति छ । यस्तै उपाध्यक्ष भने नेकपा एमालेलाई दिने निधो भएको छ । 

चार दलले हस्ताक्षर गरेर पत्र जारी गर्दै यस्तो सहमति भएको सार्वजनिक गरिसकेका छन् । अध्यक्षको निर्वाचन यही २९ गते हुँदैछ ।  यता प्रतिपक्षी बनेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर राष्ट्रियसभामा आफ्नो पार्टीबाट उम्मेदवारी दिने निर्णय गरेको छ । तर उपाध्यक्षमा भने कुनै निर्णय गरेको छैन । 

एमालेबाट अध्यक्ष बनेका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिम्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भइसकेका छन्  । यसो हुँदा अब माओवादीले अध्यक्षमा उम्मेदवारी  दिने छ । 

माओवादीबाट तीन पात्र अगाडि, प्रचण्डको चाहानामा दाहाल 
अध्यक्ष पाउने भएपछि माओवादीले तीन वटा नाम अगाडि सारेको छ । स्थायी कमिटी बैठकमा नारायण दाहाल, झक्कु सुवेदी र हालका राष्ट्रियसभा  उपाध्यक्ष उर्मिला अर्यालको नाम चर्चामा छ । 

माओवादीका पदाधिकारीले भने, ‘नारायण र झक्कु सुवेदीमा झगडा पर्ला जस्तो भयो र कुरा नमिलेको खण्डमा उर्मिला अर्याललाई चिट्ठा पर्न सक्छ । सिनियर नारायण दाहाल भएकाले उहाँको  सम्भावना छ ।’

सुवेदीले माधव नेपाललाई हराएको हुनाले उनी चर्चित छन् । उनले हालसम्म लाभको पद नपाएको हुनाले उनलाई समेट्नुपर्ने माओवादीका एकथरि युवा नेताको मत छ । 

यस्तै, उर्मिला अर्यालले अहिलेको पदमा पटक–पटक असन्तुष्टि जनाउँदै प्रधानमन्त्री प्रचण्डलाई मन्त्री मागेका कारण उनलाई अध्यक्ष दिने कि भन्ने बारेमा पनि छलफल चलेको थियो । तर उनी नहुने लगभग निश्चित जस्तै छ । 

यता सिनियर नेताहरुरले भने नारायण दाहाललाई नै अध्यक्ष बनाउनुपर्ने मत जाहेर गरेका छन् । 

माओवादी महासचिव देव गुरुङ भने अहिले नै यसबारे निर्णय नभएको बताउँछन् । उनले भने, ‘हाम्रो भागमा परेको छ । पात्रको विषय प्रवेश भएको छैन । जो भए पनि एक जना आउनुहुन्छ ।’ 

तर अध्यक्ष प्रचण्डले नारायण दाहाललाई नै अध्यक्ष बनाउने योजना गरेको बताइएको छ । अध्यक्ष प्रचण्ड निकट नेताले भने, ‘सिनियर र अवसर नपाएका नेता हुनाले दाहालको सम्भावना बढी छ ।’ 

नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादीले उठाएको उम्मेदवारलाई भोट हाल्नुपर्ने गठबन्धनको निर्णय छ ।

यसबारे पार्टीका उपाध्यक्ष ईश्वर पोखरेलले भने, ‘अध्यक्षमा माओवादीको उम्मेदवार र उपाध्यक्षमा एमालेको उम्मेदवारलाई पाँच दलले भोट हाल्ने हो ।’ उपाध्यक्षमा को उठाउने एमालेको योजना छ भन्ने प्रश्नमा पोखरेलले भने, ‘यतातिर छलफल गर्न  समय नै मिलेको छैन । बसेर छलफल हुन्छ ।’ 

शनिबार माओवादी संसदीय दलको बैठक बसेको थियो । त्यहाँ पनि राष्ट्रियसभा अध्यक्ष निर्वाचन र पात्रबारे केही छलफल भएको थियो ।
बैठकमा उपस्थित एक नेताले खबरहबलाई भने, ‘सुवेदीलाई बनाउनुपर्छ भन्नेमा तीब्र मत छ । तर दाहाललाई यो पटक अवसर दिने कि भन्नेमा नेतृत्वको चाहना छ ।’ 

कांग्रेसबाट सिटौला कि अन्य ?
शनिवार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठक बसेर अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए । 

उनका अनुसार  विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा सहयोग खोज्ने बताइएको छ । 

हाल गठबन्धनको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी छन् । उनीहरुसँग पनि छलफल गरेर प्रतिपक्षीको एउटै उम्मेदवार बनाउन पहल गर्ने कांग्रेसको निर्णय छ । तर उनीहरू मिलेपनि सत्ता गठबन्धनको मतभार बलियो छ । 

हालको गठबन्धनमा कुनै उथल पुथल नआए राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा गठबन्धनबाट माओवादीका उम्मेदवार नै विजयी हुने देखिन्छ ।   यता, कृष्ण सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने निर्णय गरेको कांग्रेसले सत्ता समीकरण परिवर्तन भएसँगै उनलाई नउठाउने कि भन्ने आवाज पनि उठेको बताइन्छ । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले खबरहबलाई भने, ‘हार्ने भएपछि सिनियर नेता नउठाउने कि भन्ने आवाज छ । तर उहाँबाहेक अरूको नाम आएको छैन  ।’

काङ्ग्रेसले शनिबार सिटौलालाई काङ्ग्रेसबाट राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेको छ । यसो हुँदा उनलाई नपठाएर अन्य जुनियर नेतालाई पठाउने कि भन्ने एकथरिको मत छ ।

दलीय अंकगणित 
५९ सदस्यीय राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल  हो । एमालेबाट १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना तथा वामदेव गाैतम गरी ५८ सांसद छन् । एकजना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

यसरी वर्तमान गठबन्धनमा रहेका पाँच दल माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा अध्यक्षको पक्षमा ३९ मत झर्छ । तर राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि २९ संसदको मत मात्र चाहिन्छ । यता विपक्षमा १९ मत मात्र छ । एक सांसदलाई राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ । त्यो नियुक्त गर्ने पात्र नयाँ गठबन्धनले अगाडि सारेको छैन । 

कांग्रेस सहितको गठबन्धन बन्दा जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको नाम अगाडि आएको थियो । तर एमालेसँगको गठबन्धन बनेपछि उनको ठाउँमा अन्य नाम आउन सक्ने बताइएको छ । यदि केसी यो गठबन्धनमा मिसिन नआए एमालेले राष्ट्रपतिबाट नियुक्त हुने भाग खोजेको छ ।

 याे पनि…

राष्ट्रियसभाले पायो १९ सांसद, कोशीमा एमालेलाई चिठ्ठा, माओवादीलाई धक्का

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : ४८ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३