कस्तो थियो हिटलरको मान्छे मार्ने कारखाना ? | Khabarhub Khabarhub

कस्तो थियो हिटलरको मान्छे मार्ने कारखाना ?



पोल्याण्डको पुरानो राजधानी क्रकोवदेखि ६१ किलोमिटर टाढा मान्छे मार्ने कारखानाको रुपमा परिचित एक सङ्ग्रहालय छ । जसलाई ‘आश्वित्ज संग्रहालय’ भनिन्छ । द्वितीय विश्वयुद्धताका भय, आतंक, त्रास र मृत्युको अर्को नाम नै यो संग्रहालय थियो ।

सन् १९४० मा विभिन्न देशका राजनीतिक बन्दी, यहुदी, पोल र जिप्सीहरूलाई एकै ठाउँमा स्वाहा पार्ने उद्देश्यले यो मान्छे मार्ने कारखानाको निर्माण गरिएको थियो । जसका निर्माता थिए– एडोल्फ हिटलर । यसखाले जघन्य उद्देश्य प्राप्तिका लागि यो ठाउँ चुन्नुका पछाडि दुई कारण भेटिन्छन् । पहिलो यो शहरको पूर्वी युरोपका सम्पूर्ण देशसँग रेलमार्ग सम्पर्क कायम भएको छ भने दोस्रो चारैतिर पहाडले घेरिएबाट सुरक्षाकवच प्राप्त थियो ।

सन् १९४० को जून महिनामा तारनोबबाट प्रहरीले राजनीतिक बन्दीहरूको प्रथम डफ्फा यहाँ ल्याएका थिए । मान्छे मार्ने कारखानाका पहिलो कमाण्डर थिए– रुडोल्फ हेस । यही समयदेखि कैदीलाई क्रूर ढंगले मार्ने काम आरम्भ भयो । यो क्रम पाँच वर्षसम्म निरन्तर रह्यो ।

तत्कालिन सोभियत संघ, चेकोस्लोभाकिया, युगोस्लाभिया, हंगेरी, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, हल्याण्ड आदि देशका कैदीहरू यहाँ ल्याइन्थे । आरम्भमा २० कोठा निर्माण गरियो । कैदीका लागि भने ६ कोठा छुट्याइएको थियो । सन् १९४१–४२ मा कैद गरिएका कैदीहरूको श्रम उपयोग गरेर अन्य ८ कोठा बनाइए ।

भान्सा, भण्डार कक्षसमेत गरी सम्पूर्ण कोठाको संख्या २८ पुगेको थियो । कैदीका निम्ति छुट्याइएको आधा दर्जन कोठामा १६ हजारसम्म कैदी कोचिन्थ्यो । कैदीलाई दराजमा राखिएका किताबको शैलीमा राखिन्थ्यो । कैदीको संख्या बढेको खण्डमा बाँकीलाई त्यहाँबाट तीन किलोमिटर टाढा बजेजी गाउँमा रहेको बन्दीगृहमा पठाइन्थ्यो । जसलाई आश्वित्ज–२ नाम दिइएको थियो । सन् १९४२ मा अन्य ४० शाखा थपिए । यी सबै आश्वित्ज–३ कहलिए । सम्पूर्ण बन्दीगृह कलकारखानाको नजिकै निर्माण गरिएको थियो । कैदीहरूको निःशुल्क श्रम लिन सकियोस् भनेर यसखाले निर्णय भएको थियो ।

विभिन्न प्रलोभन दिएर बन्दीगृहमा ल्याइएका कैदीलाई अनेकौँ उपाय लगाएर मारिन्थ्यो । भोक, अत्यधिक परिश्रम, क्रूर चिकित्सा, शास्त्रीय प्रयोग र सामूहिक मृत्युदण्डबाट अधिकांश कैदी कालको मुखमा पुर्‍याइन्थे । यहाँ उपलब्ध रजिष्टरको आधारमा १२ हजार सोभियत, २१ हजार जिप्सी कैदी बन्दी बनाइएको स्पष्ट हुन्छ । यीमध्ये ८ हजार तीन सय २० रुसी र सम्पूर्ण जिप्सी मारिएको प्रमाण छ । मारिएका सम्पूर्ण कैदीहरूको बाहना भने फरक फरक देखाइएको छ । मारिनेमध्ये यहुदीको संख्या दर्ता थिएन । यहुदीहरूलाई दर्ता नगरी एकैचोटि ग्यास चेम्बरमा लगेर मृत्यु उपहार दिइन्थ्यो ।

नाजीहरूलाई राम्रो व्यापार व्यवसायको लोभ देखाएर ल्याइन्थ्यो । आश्वित्जबाट लगभग २४ किलोमिटर पर उनीहरूलाई कैद गरिन्थ्यो । दश दिनसम्मको पैदल यात्रा अवधिभर उनीहरू खानाबाट पुरै वञ्चित हुन्थे । गन्तव्य पुग्नुअघि नै धेरैजसो बुढाबुढी केटाकेटीको प्राण पखेरु उडिसक्थ्यो । बाँकी रहेकाहरूमा पनि भोक, थकानका कारण प्रतिरोध गर्ने क्षमता हुँदैनथ्यो । काम लिन सकिने खालका कैदीहरूलाई कारखानामा पठाइन्थ्यो ।

लुला, अशक्त, बुढाबुढी, अपाङ्गता भएका बाँकीलाई सम्पूर्ण कपडा उतारेर ग्यास चेम्बरमा पठाउने काम गरिन्थ्यो । ग्यास चेम्बर बाथरुम जस्तो थियो । जसको छतमा सानो प्वाल पारिन्थ्यो । बाहिरबाट सम्पूर्ण ढोका बन्द गरेर नाजी सैनिक त्यसै छिद्रबाट ‘साइक्लोन बी’ नामको ग्यास छोड्थे । १५–२० मिनेटको बीचमा सम्पूर्ण कैदी निष्प्राण हुन्थे । मरेका सम्पूर्ण कैदीको कपडा उतार्ने र कपाल खौरिने काम समाप्त गरेपछि देह भट्टीमा जलाइन्थ्यो । जलेको खरानी मल र खाल्डो पुर्ने काममा उपयोग गरिन्थ्यो ।

सन् १९४४ मा कुनै कैदीद्वारा गोप्य रुपमा लिइएको तस्वीर आज पनि संग्रहालयमा सुरक्षित छ । जसमा केही महिलाहरूलाई ग्यास चेम्बरतर्फ लगिँदै गरेको चित्र अंकित छ । कालान्तरमा अनुसन्धान क्रममा ‘साइक्लोन बी’ का हजारौँ खाली तथा बन्द बट्टा भेटिए । उक्त बट्टामा ‘गिफ्ट ग्यास’को लेबल लगाइएको थियो । रुडोल्फ हेसले पछि दिएको बयानअनुसार १५ हजार मान्छे मार्न ५–७ किलो ग्यास पर्याप्त हुन्छ ।

१९४२–४३ मा २० हजार किलोग्राम ग्यासको प्रयोग गरिएको थियो । क्याम्पमा जम्मा भएपछि सम्पूर्ण कैदीले आफ्नो सामान जम्मा गर्नुपर्थ्यो । ती सामानमध्ये कतिपय जर्मनी पठाइन्थ्यो भने बाँकी शिविरका सिपाहीलाई बाँडिन्थ्यो । त्यसलगत्तै सम्पूर्ण कैदीको कपाल काटिन्थ्यो । शरीर सफा गरेपछि १ नम्बरको लोगो भिराइन्थ्यो । १९४३ देखि नम्बर टाँस्ने कामको आरम्भ गरिएको थियो । कैदीहरूलाई लगाउन सैनिकको तर्फबाट नाम मात्रको हल्का कपडा दिइन्थ्यो । तर पोल्याण्डको चिसो हावापानीका लागि उक्त कपडा अपर्याप्त थियो ।

आफ्नो कपडा धुने अनुमति कैदीलाई थिएन । उनीहरूलाई अपर्याप्त दुषित भोजन दिइन्थ्यो । कैदीले जमिनमा फिँजाइएको परालमाथि सुतेर रात कटनी गर्नुपथ्र्यो । उनीहरूले १५–२० घण्टासम्म श्रममा जोतिनु अनिवार्यजस्तै थियो । काम गर्दागर्दै कुनै कैदी थकाइ मार्न ठाडो उभियो भने सिधै ग्यास चेम्बरमा पठाइन्थ्यो । शिविरको चारैतिर पर्खालमा विद्युतीय करेन्ट प्रवाह गरिएको थियो । त्यहाँबाट भाग्न खोज्ने कैदी कि त करेन्ट लागेर मर्थे या सैनिकको बन्दुकबाट मारिन्थे ।

कैदीहरूको सुत्ने ठाउँ पनि अनौठो किसिमको थियो । किताब राख्ने दराज शैलीको फलामे दराजमा उनीहरूलाई राखिन्थ्यो । प्रत्येक कैदीले आफूसँग एउटा बच्चा राख्नु अनिवार्य थियो । कैदीको सुत्ने ठाउँ वरिपरि जालीले घेरिएको हुन्थ्यो । त्यस ठाउँको लम्बाइ चौडाइ करिब तीन फुट मात्र हुन्थ्यो ।

जब रुसी सैनिकले ती शिविरहरूबाट कैदीलाई मुक्ति दिलाए, भाग्दाभाग्दै भएपनि नाजीहरूले धेरै सामान तथा क्रूरताका प्रमाण नष्ट गरिदिए । सम्पूर्ण लिखित दस्तावेज डढाइ दिए । घरमा आगो लगाइदिए । रुडोल्फ हेस त्यहाँबाट भागेर बेलायत गई नाम फेरेर बसेका थिए । अन्ततः १९४७ मा उनलाई पक्राउ गरेर फाँसी चढाइयो ।

फाँसी चढ्नुपूर्व हेसले बर्बरताको सम्पूर्ण रहस्य खोलिदिए । जुन सुन्दा पनि कहालीलाग्दो थियो । आज पनि त्यस संग्रहालयभित्र मारिएका कैदीहरूका चश्मा, भाँडावर्तन, विभिन्न आकारप्रकारका जुत्ता, चप्पल, दाँत माझ्ने ब्रस, बच्चाका दूधदानी संकलन गरी सुरक्षित राखिएको छ । एक ठाउँमा त कैदीहरूको कपाल बट्टामा बन्द गरेर राखिएको अवस्थामा भेटिएको थियो । त्यो कपालको तौल ५ हजार किलो थियो । कपालबाट बनेका सयौँ जोर कपडा पनि सुरक्षित राखिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : ०२ बजे

सबैभन्दा धेरै बजेट शिक्षामा जाँदा निःशुल्क स्यानिटरी प्याड कटौती !

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१–८२ का लागि १८ खर्ब ६०

फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं- साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’को नयाँ पोस्टर

बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य

अध्यक्ष चन्द्र ढकालको प्रतिक्रिया : आर्थिक विकासका लागि बजेट सकारात्मक

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको

आजका समाचार : आगामी वर्षलाई १८ खर्बको बजेटदेखि सिरोहिया हेलिकप्टरबाट काठमाडौंसम्म 

सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन सहकारी