‘प्रचण्डको भाइ’ भन्दा पीडा हुन्छ : नारायण दाहाल | Khabarhub Khabarhub

‘प्रचण्डको भाइ’ भन्दा पीडा हुन्छ : नारायण दाहाल

प्रचण्डको छनोटमा परिवारवाद


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले ०७८ चैत २५ गते आफ्ना भाइ नारायण दाहाललाई राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषदबाट मनोनित गराएका थिए । यस्तो निर्णय लिँदा प्रचण्डमाथि उतिबेलै परिवारवादको आरोप लागेको थियो ।

जनताको आलोचनाप्रति पूरै बेवास्ता गर्दै दाहालले आइतबार उनै १३ दिने भाइलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय पार्टीबाट गराएका छन् । प्रधानमन्त्री दाहालको यो छनोटले संवैधानिक परिषदमा राजनीतिक हस्तक्षेपको जोखिम बढाएको छ ।

किनभने, संविधानको धारा २८४ अनुसार राष्ट्रियसभाको अध्यक्ष संवैधानिक परिषदको समेत सदस्य रहने व्यवस्था छ । ६ सदस्यीय परिषदमा प्रधानमन्त्री अध्यक्ष रहन्छन् भने प्रतिनिधिसभाको सभामुख र उपसभामुख पनि सदस्य हन्छन् । विपक्षी दलको नेता र प्रधानन्यायाधीशसमेत सदस्य हने भएता पनि अब फागुन २९ पनि संवैधानिक परिषदमा सत्तापक्ष हाबी हुने स्पष्ट छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना तीनैजना सत्तापक्षका हुन् । अब नारायण दाहालले जितेमा ६ मध्ये ४ जना सत्तापक्षबाट रहनेछन् ।

राष्ट्रियसभाको वर्तमान अंकगणित हेर्दा सभा सदस्यहरुले स्वतन्त्र विवेक प्रयोग गरेनन् भने नारायण दाहाल राष्ट्रियसभाको अध्यक्षमा विजयी बन्ने लगभग निश्चित छ । किनभने दाहाललाई सत्तारुढ दल नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा उठाउने चर्चा गरिएको थियो । तर, नजित्ने सम्भावना देखेपछि पुराना नेता युवराज शर्मालाई उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले छनोट गरेका नारायण दाहाल को हुन् ? उनको योग्यता र विगत कस्तो छ ? यसबारे चर्चा गर्नुपूर्व राष्ट्रियसभाको अंकगणितको विश्लेषण गरौं ।

राष्ट्रियसभाको अंकगणित

राष्ट्रियसभामा कुल ५९ जना सांसद रहने संवैधानिक प्रावधान छ । एमालेबाट मनोनित विमला राईको पदावधि सकिएपछि मनोनित कोटाको एक स्थान रिक्त रहेकाले अहिले ५८ जना सदस्य छन् । फागुन २९ मा हुने अध्यक्षको चुनावमा ५८ जनाले मतदान गर्नेछन् ।

राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । उसँग १८ सांसद छन् । सो संख्यामा उपाध्यक्ष उर्मिला अर्याल र मन्त्रिपरिषदबाट मनोनित सांसद नारायण दाहाल पनि समावेश छन् ।

माओवादीका १६ सांसदहरुमा गोपी अछामी, गंगा बेल्बासे, जगप्रसाद शर्मा, जगतबहादुर पार्की, झक्कुप्रसाद सुवेदी, तारामान स्वाँर, नरबहादुर विष्ट, नारायणकाजी श्रेष्ठ, भुवनबहादुर सुनार, मनरुपा शर्मा, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, रेनु चन्द, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारी र सुरेश आलेमगर छन् ।

नेपाली कांग्रेसबाट १६ सांसद राष्ट्रियसभामा छन् । कांग्रेस दोस्रो ठूलो दल हो । कांग्रेसबाट आनन्द ढुंगाना, कमला पन्त, किरणबाबु श्रेष्ठ, कृष्ण पौडेल, कृष्ण सिटौला, कृष्णबहादुर रोकाया, गोपाल बस्नेत, जीतजंग बस्नेत, दुर्गा गुरुङ, नारायणदत्त भट्ट, नारायणदत्त मिश्र, पदमबहादुर परियार, बलदेव बोहोरा, युवराज शर्मा र विष्णुकुमारी सापकोटा राष्ट्रियसभामा प्रतिनिनिधित्व गर्छन् ।

त्यस्तै तेस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमालेसँग राष्ट्रियसभामा १० सांसद छन् । इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसा दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, रुक्मिणी कोइराला, विमला घिमिरे, शारदादेवी शारदादेवी भट्ट, सुमित्रा बीसी र सोनाम गेल्जेन शेर्पा एमालेका सांसद हुन् ।

एकीकृत समाजवादीबाट राष्ट्रिय सभामा ८ सांसद छन् । सो पार्टीका सांसदहरुमा उदयबहादुर बोहोरा, गोमादेवी तिम्सिना, घनश्याम रिजाल, जयन्ती राई, बेदुराम भुसाल, मनकुमारी शाह, राजेन्द्रलक्ष्मी गैरे र शावित्री मल्ल छन् ।

राष्ट्रिसभामा जसपाबाट पूजा चौधरी, मृगेन्द्रकुमार सिंह र मोहम्मद खालिदसहित तीनजना सदस्य छन् ।

लोकतान्त्रिक समाजवादीबाट शेखरकुमार सिंह एकजना सदस्य राष्ट्रियसभामा छन् । राष्ट्रिय जनमोर्चाका एक सांसद तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभामा छन् ।

त्यस्तै, मनोनित तर्फबाट वामदेव गौतम र नारायण दाहाल राष्ट्रियसभामा छन् । पूर्वएमाले नेता वामदेव नेकपाबाट मनोनित हुन् भने प्रधानमन्त्री प्रचण्डका भाइ नाता पर्ने नारायण दाहाल माओवादीको कोटाबाट मनोनित सांसद हुन् ।

यो अंकगणित अनुसार सत्ता गठबन्धनसँग माओवादीका १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ मत छ । यदी सत्ता गठबन्धन इमान्दार रहेमा प्रचण्डका भाइ नारायण दाहालले जित्ने पक्काजस्तै छ । नेकपाबाट मनोनित सांसद वामदेवले पनि सत्तापक्षलाई मतदान गरेमा दाहालको पक्षमा ४० मत पर्न सक्छ ।

कांग्रेस उम्मेदवार युवराज शर्मा र माओवादी उम्मेदवार नारायण दाहाल

नेपाली कांग्रेसतर्फ भने उसको १६ भोट भने लोसपाको १ र राष्ट्रिय जनमोर्चाको १ मत गरी १८ मत मात्र पर्ने सम्भावना छ ।

यो स्थितिमा दलगत आधारमा नभई राष्ट्रियसभाका सदस्यहरुले आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्ने सम्भावना कमै भएकाले नारायण दाहालको जितलाई कसैले रोक्न नसक्ने देखिन्छ ।

राष्ट्रियसभा अध्यक्षको गरिमा

नेपालमा संविधान बनेपछि नेकपा एमालेले गणेशप्रसाद तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्ष बनायो । उनले संवैधानिक परिषदमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘यस म्यान’ बनेर भूमिका खेले । फलस्वरुप, संवैधानिक आयोगहरुमा ५२ जनाको नियुक्तिमा मनपरीतन्त्र हावी भयो, जुन मुद्दा अहिलेसम्म सर्वोच्चमा विचाराधीन छ । यतिसम्मकि तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई समेत संवैधानिक आयोगमा नियुक्ति गराउने काम गरे ।

न्याय क्षेत्रका जानकारहरु राजनीतिक दलले संवैधानिक परिषदको समेत सदस्य रहने राष्ट्रियसभा अध्यक्षमा कानून र न्यायसम्बन्धी जानकार एवं आत्रापालन भन्दा पनि विवेक प्रयोग गर्न सक्ने न्यायिक मन भएको व्यक्ति आउनुपर्ने माग गर्दै आइरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले आफ्नो भाइलाई राष्ट्रियसभा अध्यक्षमा पठाउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भाइ भएर मात्र होइन, नारायण दाहालको छविसमेत माओवादीभित्रै विवादित रहँदै आएको सो पार्टीका कतिपय नेताहरु स्वीकार्छन् । खासगरी उनले कर्मचारी सरुवा–बढुवा आदिमा पार्टीका लागि भन्दै रकम असुल्ने खराब संस्कार पार्टीभित्र बिजारोपण गरेको चर्चा माओवादीभित्र छ ।

संगठनको क्षेत्रमा पनि दाहाल संकीर्ण एवं गुटवादी नेताका रुपमा परिचित छन् । उनले अध्यक्ष बनेपछि आफ्नो पुरानो बानी सुधारेनन् भने यसको प्रत्यक्ष असर संवैधानिक परिषदमा पर्ने र सर्वोच्च अदालतका साथै संवैधानिक अंगहरुमा राजनीतिक हस्तक्षेपको जोखिम अझ बढ्ने सरोकारवालाहरुको दाबी छ ।

प्रधानमन्त्री दाहालले आम जनमानसको भावनालाई ख्याल नगरी भाइलाई प्राथमिकता दिएको भन्दै उनकै पार्टीभित्र समेत असन्तुष्टि देखिएको छ । पार्टीभित्र झक्कु सुवेदी र उर्मिला अर्यालको पनि नाम चर्चामा थियो ।

एमालेसँगको समेत सहकार्यमा सरकार चलाएको अवस्थामा दाहालले गरेको छनोटप्रति एमाले नेताहरु पनि सन्तुष्ट नरहेको बुझिएको छ । तथापि उम्मेदवार मनोनयन नभइसकेकाले प्रधानमन्त्री यो निर्णयबाट ‘ब्याक’ हुने समय भने सकिएको छैन ।

को हुन् दाहाल ?

प्रधानमन्त्री प्रचण्डका सहोदर भाइ बेलायतमा बसोबास गर्छन् । नारायण दाहालचाहिँ उनका १३ दिने दाजुभाइभित्र पर्छन् । प्रचण्ड र नारायणका हजुरबुबाहरु दाजुभाइ हुन् । दुबैको घर चितवनको शिवनगर नै हो ।

सहोदर भाइ नभएता पनि नारायण दाहालले प्रचण्डलाई हरेक कुरामा साथ दिँदै आएका थिए । त्यसैको पुरस्कार स्वरुप प्रचण्डले अरु काबिल नेताहरुलाई पछि पार्दै उनलाई राष्ट्रियसभा सदस्य बनाए र अहिले अध्यक्ष बनाउन लागेका हुन् ।

नारायण दाहाल नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । प्रचण्डले उनलाई शान्त् िप्रक्रियामा आएपछि सांसदमा मनोनित गर्न छुटाएका थिएनन् । संविधान जारी भएपछि ०६४ को चुनाव जितेर उनी तल्कालीन चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य बने । ०७० को चुनावमा भने उनी पराजित भए ।

प्रचण्ड पहिलोचोटि प्रधानमन्त्री भएका बेला उनी प्रशासनिक सल्लाहकार बनेका थिए । त्यसबेला उनले कर्मचारीहरुको सरुवामा चलखेल गरेको आरोप छ । उनी सल्लाहकार हुँदा छोरा समिर दाहाल पनि प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत थिए ।

६७ वर्षीय दाहालका १ छोरी र २ छोरा छन् । उनकी श्रीमती क्यासर रोगी रहेको माओवादीका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी बताउँछन् । उनी पार्टी जीवन र सिद्धान्तप्रति प्रतिबद्ध मान्छे भएको अधिकारीको दाबी छ ।

सङ्कटकालका बेला भारतका साथै जाजरकोट र सुर्खेत बसेर दाहालले काम गरेको माओवादी नेताहरु बताउँछन् । शान्ति प्रक्रियापछि दाहाल केही समय कास्कीको पार्टी इञ्चार्ज बनेका थिए । त्यस्तै, बागमतीको अध्यक्ष, सचिव र सह–इन्चार्ज समेत रहेका उनी उच्च छवि भएको नेता रहेको अधिकारीले दाबी गरे ।

मैले न्याय पाएँ : दाहाल

यसैवीच राष्ट्रिय सभा अध्यक्षका उम्मदेवार बन्न लागेका सांसद दाहालले आफूलाई प्रचण्डको भाइ भन्दा पीडा हुने बताए । पार्टीले उम्मदेवार बनाउने निर्णय गरेर आफूमाथि न्याय गरेको उनको भनाइ छ ।

दाहालले खबरहबसँग भने, ‘मलाई प्रचण्डको भाइ भनेर केही काम गर्न खोजे पनि पीडा दिइरहन्छन् तर मैले इमानदार भएर पार्टीमा काम गरेको छु । अहिले पार्टी पदाधिकारीको बैठक बसेर मलाई न्याय गरेको छ ।’

दाहालले २०२७ जेठ १ गते प्रचण्डसँगै अखिलको सदस्यता लिएको बताए । ०३६ सालमा सानोठिमी क्यापसबाट शिक्षाशास्त्रमा स्नातक सकेको उनले बताए ।

पढाइ पूरा गरेपछि ०३६ सालको मंसिरबाट होलटाइमर बनेको उनी बताउँछन् ।

आफ्नो सम्पूर्ण परिवारले पार्टीमा योगदान पु¥याएको बताउँदै दाहाल भन्छन्, ‘छोरा समीर, दिनेश र बुहारीहरू पनि पार्टी बनाउन खटिरहेका छन् ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ९ : ३७ बजे

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित