नायक अनमोलको आत्मसमीक्षा : मेरो प्रतिस्पर्धा भुवन केसीसँग हो | Khabarhub Khabarhub

नायक अनमोलको आत्मसमीक्षा : मेरो प्रतिस्पर्धा भुवन केसीसँग हो

छड्के–२ ले अझै मिहिनेत गर्ने ऊर्जा दियो


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी नेपाली फिल्मका सफल र महँगा नायकमध्ये एक हुन् । उनले लिने पारिश्रमिक नै फिल्म प्रचारको मसला बन्छ ।

पहिलो पटक ५० लाख पारिश्रमिक बुझ्ने नेपाली नायक पनि अनमोल नै हुन् । उनले करिअरको सातौँ फिल्म ‘ए मेरो हजुर’बाट उक्त पारिश्रमिक बुझेका थिए । त्यसयता उनले त्यही आसपास पारिश्रमिक बुझ्दै आएका छन् । तर उनले डेब्यू फिल्म ‘होस्टल’बाट डेढ लाख पारिश्रमिक बुझेर अभिनय यात्रा थालेका थिए ।

अहिलेसम्म अनमोलका ९ फिल्म प्रदर्शन भए । तीमध्ये ‘छड्के–२’ बक्स अफिसमा फ्लप भयो । अन्यमा उनले असफलता बेहारेका छैनन् । त्यसअर्थमा उनी पछिल्लो पुस्ताका सर्वाधिक रुचाइएका ‘स्टार’ हुन् ।

अनमोलको ‘स्टारडम्’ फिल्म प्रदर्शनको सुरुवाती दिनको ‘बक्स अफिस कलेक्सन’बाटै थाहा हुन्छ । उनी अभिनित फिल्मको ‘ओपनिङ कलेक्सन’बाट सायदै मेकर असन्तुष्ट छन् ।

उनको ‘स्टारडम्’ फिल्म छायांकनमा पनि देख्न सकिन्छ । ‘फ्यान’को भिडले समयमै छायांकन सकिएको अनुभव उनीसँग कमै छन् ।

अनमोल भन्छन्, ‘मलाई भेट्न र फोटो लिन फ्यानहरु आउनुहुन्छ । आउटडोर सुटिङमा सधैँ ढिला हुन्छ । तर, त्यसलाई मायाका रुपमा लिएको छु ।’

छड्के–२ को असफतापछि बक्स अफिसमा ‘कमब्याक’ तयारीमा रहेका अनमोलको फिल्म ‘फर्कीफर्की’ जेठ १० बाट प्रदर्शनमा आउँदैछ ।

अनमोलको अभिनय यात्रा :

होस्टेलमा कैद

३० वर्षअघि काठमाडौंमा जन्मिएका अनमोलको बाल्यकाल सिनामंगलकेन्द्रित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुकुलो सुरक्षाको फाइदा उठाउँदै उनले बाल्यकालमा ‘रन वे’मै खेलेको रमाइलो क्षण पनि छ ।

नायक भुवन केसीको छोरो भएकाले उनले बाल्यकालमा अभाव र उतारचढाव खेप्नु परेन । तर, कक्षा १ देखि नै होस्टेल बसेर पढेकाले परिवारसँग स्मरणीय क्षण बिताउन नपाएको अभाव खड्किन्छ । यसको अर्को कारण हो– बुबा भुवन र आमा सुस्मितको सम्बन्धविच्छेद ।

‘ड्याडी–ममी म २ मा पढ्दा छुट्टिनुभयो । अहिले पनि सँगै भइदिए मज्जा हुन्थ्यो जस्तो लाग्छ,’ उनी भन्छन्, ‘अहिले पनि ड्याडी र म एकै ठाउँ बस्छौं । तर, भेट हुनै मुस्किल पर्छ, ममीसँग नभेटको दुई वर्ष भयो ।’

बाल्यकालमा बुवाले ‘स्कुल’ नै छुटाएर फिल्म छायांकन हेर्न लगेको यादगार क्षण उनीसँग ताजै छ । बुबाले ‘हिरो बन्नुपर्छ’ भनेको उनलाई सम्झना छैन ।

उनले राजधानीका महँगा स्कुल चहार्दै स्कुले जीवन कटाउन पाए । सानैदेखि फिल्ममा अफर आइरहे । यसको जस उनी बुबालाई दिन्छन् ।

संगीतमा लगाव भएकाले उनले फिल्मका धेरै अफर अस्वीकार गरेका थिए । ‘८ मा पढ्दा चारजना साथी मिलेर ब्यान्ड खोल्यौं । म गायक थिएँ । त्यही भएर धेरै फिल्म अस्वीकार गरेँ । कलेज पढ्दा ५ फिल्ममा लिड रोल अस्वीकार गरेँ ।’

होस्टलदेखि होस्टलसम्म

कलेजमा पुगेपछि स्कुलको ‘म्युजिक ब्यान्ड’का साथीसँग भेट पातलिएको थियो । बुबा नायक र प्रोडक्सन हाउसका मालिक भएकाले धेरै चलचित्रर्मीसँग सहज भेट भइरह्यो ।

यसैबीच उनले चारवटा फिल्म अस्वीकार गरे, तर होस्टलको स्क्रिप्ट हात परेपछि नायक बन्ने सोच हाबी भएको अनुभव उनीसँग छ ।

उनी यसका तीन कारण सुनाउँछन् । उनी ती कारण सुनाउँछन्– होस्टेलको कथा मेरो भोगाइसँग मिल्दो थियो, साथी र शिक्षकलाई भन्न नपाएको कुरा फिल्ममार्फत् भन्ने अवसर थियो, युवा पुस्ताले रुचाउने कथा लाग्यो ।

डेढ लाख पारिश्रमिक लिएर फिल्ममा अनुबन्ध भए । तर अभिनय नसिके पनि आफूसँग सम्बन्धित कथा भएकाले सहजै छायांकन भएको उनी बताउँछन् ।

‘ड्याडीले कहिलेकाहीँ अभिनय गर भन्नुहुन्थो, उहाँका निर्देशक साथीहरुले ड्याडीको फिल्को भूमिका गर भन्नुभयो, ममीले पनि ड्याडीको फिल्मका हिरोइनसँग नचाउनु हुन्थ्यो,’ उनी भन्छन्, ‘उहाँहरुले गराएको अभिनयले नै मेरो अभ्यास भएछ । सुटिङ हेर्न जाँदा काम कसरी गर्ने भनेर त मलाई थाहा भएकै थियो ।’

‘प्लस टू’ सक्नेबित्तिकै खेलेको यस फिल्मले उनको नामअगाडि चलकेटी हिरोको फुर्को जोडिदियो । यो फिल्बाट उनी स्थापित उनले पछाडि फर्केर हेर्नु परेन ।

उनी भन्छन्, ‘ड्याडीका कारण धेरै दर्शकमाझ पुग्न सजिलो भयो । दर्शकबाट माया पाएपछि फिल्मबाट टाढा जानु हुँदैन भन्ने लाग्यो ।’

विशेष फिल्म ‘जेरी’

अनमोलका लागि जेरी फिल्म विशेष छ । विशेष हुनुको प्रमुख कारण हो– धेरै दर्शकले माया दिनू । यही फिल्मबाट नायकका रुपमा परिचित मात्रै नभएर मुस्ताङसँग पनि उनको विशेष सम्बन्ध जोडियो ।

जेरीको सुटिङ भएपछि मुस्ताङको दुम्बालाई ‘जेरी लेक’ र मार्फा गाउँको एक गल्लीलाई ‘जेरी गल्ली’ नामकरण गरिएको छ । यी कुरा अभिनयले दिएको उपलब्धि बुझेका छन् उनले ।

‘जेरीबाट मुस्ताङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्यो । त्यसपछि स्थानीयले फिल्मको नामबाट ठाउँको नाम राख्नु मेरा उपलब्धि हो’, उनी भन्छन् ।

यही फिल्मले अनमोलको पारिश्रमिक बढाउन सहयोग गर्यो‍, उनी नेपालका महँगा स्टार सावित भए ।

‘कृ’ को मिहिनेत

‘कृ’ अनमोलको पाँचौँ फिल्म हो । यसअघि ‘लभर बोइ’को भूमिकामा देखिएका उनले यसपटक नयाँ प्रयोग गरे । यो फिल्ममा उनी ‘एक्सन बोइ’का रुपमा देखिए ।

‘कृ’मा उनले ३० लाख पारिश्रमिक लिएको चर्चा चल्यो । त्यसअगािड कुनै नायकले यति पारिश्रमिक लिएका थिएनन् ।

उनी भन्छन्, ‘मैले मागेको होइन, निर्माताले दिनु भएको हो । मैले मिहिनेत पनि गरेको थिएँ । ८ महिना दैनिक ८ घण्टा जिम र मार्सल आर्टको अभ्यासमा खर्च गरेँ ।’

उनको ‘स्टारडम’ले यो फिल्म पनि हिट भयो, तर छायांकनको कष्ट उनले बिर्सिन सकेका छैनन । ‘सुटिङमा घाइते हुने, ढाडको लिगामेन्ट च्यातिने, किलाहरु ढाडमा छिर्ने, हड्डी फुस्किने जस्ता घटना धेरै भए । शारीरिक कष्ट धेरै भोगेँ ।’ उनले सुनाए ।

यद्यपि फरक प्रयोग गर्ने ‘नायकको भोक’ मेटाउन सकेकोमा उनी सन्तुष्ट छन् ।

आलोचना भएका फिल्म

अनमोलले आलोचन खोप्नु परेका दुई फिल्म छन् । ती हुन्– क्याप्टेन र छड्के–२ । क्याप्टेनले लगानी सुरक्षित गरे पनि छड्के दुई ‘फ्ल्प’ भएको उनी स्वीकार्छन् ।

क्याप्टेनमा प्राविधिक त्रुटी धेरै भएको उनको बुझाइ छ । भन्छन्, ‘मैले त प्रशिक्षकसँग फुटबल पनि सिकेँ, मिहिनेत गरेँ, तर भीएफएक्समा चुक्यौँ ।’

छड्के–२ नराम्ररी ‘फ्लप’ भएको उनी स्वीर्काछन् । उनले जीवनमा पहिलो पटक असफलताको स्वाद लिए ।

तर, त्यसबाट आगामी १० वर्ष मिहिनेत गर्ने ऊर्जा मिलेको उनी बताउँछन् । ‘मेरा सबै फिल्म हिट थिए । त्यसले मलाई धरातल देखाइदिएर अझै मिहिनेत गर्ने बाटो देखायो ।’

यद्यपि छड्के–२ मा ‘मेनडग’को भूमिकामा देखिन मिहिनेत गरेको उनी सम्झन्छन् । ‘लामो समय वर्कसपमा बसेँ । चितवनमै गएर संवादको शैली सिक्न पनि मिहिनेत गरेँ, तर फिल्म सफल भएन ।’

सल्लाह र मिहिनेत

अभिनयमा जति भिज्दै गयो, उति गाह्रो लाग्ने अनुभव अनमोलसँग छ । नेपाली भाषाको समस्या हटाउन लकडाउनलाई सदुपयोग गरेको उनी बताउँछन् ।

कोरोना महामारीको समयमा भाषामा सुधार गर्न वर्णमाला किनेरै क, ख, ग पढेको उनी बताउँछन् । ‘स्क्रिप्ट पनि नेपालीमा आउँछ, पढ्नै गाह्रो भयो । संवाद बोल्न पनि समस्या हुने भयो,’ उनले सुनाए, ‘त्यही भएर नेपाली भाषा राम्रोसँग पढ्ने निर्णय गरेँ । क, ख, ग र क, का, कि, कीबाटै पढेँ ।’

फिल्ममा अनुबन्ध हुन एकल निर्णय नलिने बानी उनले सुनाए । पहिला थिएटर सकर्लका साथी र बुबासँग सल्लाह लिएर मात्रै फिल्ममा अनुबन्ध हुने रणनीति रहेको उनी बताउँछन् ।

‘हाम्रै उमेरकाले रुचाउने फिल्म धेरै दर्शकले मन पराउने लागेर साथीहरुलाई सुनाउँछु,’ उनी भन्छन्, ‘ड्याडीसँग पनि लामो अनुभव छ, सोध्छु । अनि मेरो राम्रो चाहने निर्देशकहरुसँग पनि सल्लाह लिन्छु ।’

अनमोल आफ्नै रणनीतिमा अघि बढिरहेका छन् । उनले नायक प्रदिप खड्कालाई आफ्नो प्रतिस्पर्धी मान्न तयार छैनन् । उनी भन्छन्, ‘मेरो प्रदीप खड्कासँग छ भन्छन्, तर मलाई त्यस्तो लाग्दैन । उहाँ मेरो प्रतिस्पर्धी नै होइन । मेरो ड्याडी मेरो प्रतिस्पर्धी हो, उहाँको फिल्मले सय दिन मनाउथ्यो । सय दिनका लागि म उहाँसँग प्रतिस्पर्धा गर्न चाहन्छु ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ०१ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये